केन्द्रकै अनुशरण कास्कीमा
● आनन्दराम पौडेल
२०७१ कात्तिकको चौथो हप्ता लाग्दा पोखरामा चीसो बढ्न थालिसकेको थियो । जीवनशैलीमा मौसमी फेरबदल आइसकेको थियो । मान्छेहरु तातो-न्यानोतिर आकर्षित भएका थिए । पोखराबासीले सिरक निकालिसकेका थिए । बृद्धबृद्धाहरु बिहानको घाममा आङ तताउन निस्कन थालेका थिए । कात्तिक २६ गते बिहान जिल्ला प्राविधिक कार्यालय, कास्कीको कार्यालयप्रमुखको क्वार्टरमा न्यानो घाम लागिसकेको थियो । पियनले कौसीमा कुर्सीटेबुल राखिसकेको थियो ।
कार्यालयप्रमुख नारायणप्रसाद श्रेष्ठजी कुर्सीमा बसे र न्यानो घामको आनन्द लिनथाले । पियनले तात्तातो चिया र ताजा अखबार टेबुलमा राखिदिए । नारायणप्रसाद श्रेष्ठजीले अखबारमा सर्सर्ति नजर लगाए । एक सुरुप् चियाको घुट्को लिए । हिजो २५ गते गरेको काम सम्झे । सोचे, “८-१० दिनको तैयारीमा हिजो एउटा कामलाइ ट्र्याकमा ल्याउन सकें । एक कप चियासमेत् नखाइ निर्माण व्यवसायीको ‘घ’ वर्गको इजाजतपत्र दिने र नविकरण गरिदिने गरिएको रहेछ ।
सोझै इजाजतपत्र दिने गरिएको ठाउँमा एउटा सानो प्रकृया थपिदिएँ । अब उप्रान्त नेपाल निर्माण व्यवसायी सङ्घ, कास्कीको सिफारिश लिएर मात्र इजाजतपत्रको प्रकृया अघि बढाइने छ भनेर निर्णय गराएँ । यहाँ आफूलाइ राज पत्राङ्कित द्वितीय श्रेणीको सिनियर अफिसर भन्छन् । त्यहाँमाथि कार्यालयप्रमुख भइया छ । आमा, बुबा, श्रीमति र छोराछोरीले समेत् निकै आशा गर्छन् । तलबचाहीं जम्माजम्मी २६ हजार छ । त्यस्मापनि सञ्चयकोष र नागरिकलगानी कोष कटाएर २२ हजारजति हात पर्छ । त्यसबाहेक एकसुको चुनदाम केही छैन । छोराछोरी पढाउने स्कूल फी नै त्यति महँगो छ । आमाबुबाको औषधिपचार खर्च र घरव्यवहार सबै चलाउन त्यो रकमले छोपपनि लाग्दैन । म निकै सकसमा थिएँ । भुङ्ग्रोमा परेको माछाजत्तिकै छट्पटिईरहेको थिएँ ।
एक साँझ नेपाल निर्माण व्यवसायी सङ्घ, कास्कीका रविचन्द्र खनालजीसँग खानपिन गरेर बसेको थिएँ । उनैले यो प्रस्ताव राखे । ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजतपत्र दिंदा र नविकरण गर्दा सङ्घको सिफारिशलाइ अनिवार्य गरिदिनुहोस्, यथोचित सहयोग पाउनुहुन्छ भने । यति गर्न पाए सङ्घबाट निरन्तर पाइने सहयोगले घरव्यवहारको सङ्कट टार्न सकिने ठानेर मसक्कै आँटेको हुँ । तर, मैले बुद्धि पुर्याएको छु । यो निर्णय कार्यान्वयन गर्दा भोलि थरिथरिका प्रतिकृया आउने सम्भावनालाइ ख्याल ग रें। हाम्रा मन्त्री र सचिवहरुले हातलागी हुने यस्तै स्वार्थपूर्ण काम गर्नुपर्योभने, आफूसँग पूर्ण अधिकार हुँदाहुँदैपनि, आफूले निर्णय नगरी क्याबिनेटमा पु-याएर निर्णय गराउँछन् । सुडान, डाफर काण्डमा कृष्णप्रसाद सिटौलाजीले त्यही गर्नुभएको थियो ।
एक महिनामा ३-४ वटा यस्ता निर्णय हुँदारहेछन् । यहाँ जिल्लामा मन्त्रीपरिषद नभएपनि त्यस्तै क्याबिनेट बसाल्छु भनेर सोचें । एक्लै खायोभने भोलि पचाउनपनि गाह्रो हुन्छ । बरु, ‘भागशान्ति जयनेपाल’ गरुँला, सबैलाइ मिलाएर गर्नुपर्छ, बढी लोभ गर्नुहुँदैन भन्ने निस्कर्षमा पुगें । सम्बन्धित सबैको लिष्ट बनाएँ । सरोकारवाला कार्यालयका प्रमुखहरु तथा आफ्नै कार्यालयका कर्मचारीहरु समावेश गरें । एलडीओ तारानाथ अधिकारीसँग सल्लाह गरें । यस्ता बिषयमा किन पछि हट्थे, तुरुन्त तैयार भैहाले । क्षेत्रीय अनुगमन तथा सुपिवेक्षण कार्यालयका इञ्जिनियर शिवहरि आचार्यलाइ केही बताइरहनै परेन ।एउटै वर्गको भएकोले इञ्जिनियरको मनशाय अर्को इञ्जिनियरले भावभङ्गिमाबाटै ‘आँ..’ गर्दा ‘अलङ्कार’ वुझिहाले । कुनैपनि काम बिगार्ने, भत्काउने भनेका खासमा आफ्नै कार्यालयका कर्मचारी हुन्छन् । त्यसैले, ‘भागशान्ति जयनेपाल’ योजनामा आफ्नो अफिसका कर्मचारीलाइ पनि समावेश गर्ने विचार गरें ।
यसरी, एलडिओ तारानाथ अधिकारी, सुपरिवेक्षण कार्यालयका इञ्जिनियर शिवहरि आचार्य, निर्माण व्यवसायी सङ्घका रविचन्द्र खनालसँगै मेरो आफ्नो कार्यालयका कर्मचारीहरु नासु तारानाथ सुवेदी, लेखापाल रामजीप्रसाद न्यौपाने, सहलेखापाल कृष्णप्रसाद बराललगायत तिलुमाया पोखरेल, मिठु शर्मा र ऋषिराम पौडेलसमेतको संयुक्त बैठक बसालेर हिजो कात्तिक २५ गते बकायदा माइनटीङ नै गरिदिएँ ।”
घामको तातोले न्यानो आनन्द दिईरहेको थियो । तारतम्य मिलाएर काम अघि बढाउन सफल भएकोमा आफ्नो बुद्धिलाइ धन्यवाद दिए । बाहिर ढाडमा घामको न्यानोले आनन्द दिईरहेको थियोभने, भित्र सफलताले मनै दङ्ग पारेको थियो । एक कप चिया थप मँगाए । र, चिया पिउँदै सोचाईको सृङ्खला अघि बढाए । सोचे, “त्यो ‘जस्ट इन टाइम’ कन्स्ट्रक्शन’ को सञ्चालक गणेशबहादुर थापा एउटा अलि बाउँठिएको छ । त्यस्ले उजुरी गर्ने भनेको सिडिओ साहेब कहाँ हो । सिडिओलाइ त मिलाइसकेकै छु । लोकमानले अख्तियारको क्षेत्रीय कार्यालय यहाँ ठुँसिदिएका
छन् । अख्तियारको त्यो क्षेत्रीय प्रमुखसँग भेटघाट गर्न पाएको छैन ।
अख्तियारका कर्मचारी भएपनि सबैको अवस्था उही होक्यार ! मुख र पेट नभएका कोही छैनन् । परिवार, केटाकेटी, घरव्यवहार सबै त्यही हो ! अख्तियारकै कर्मचारीहरुले समेत् हाक्काहाक्की घुस खाइरहेको फेला परेकै छन् । मिलाउनुपर्ला ।” नारायणप्रसाद श्रेष्ठ ढुक्क भए । पियनले थप अखबार ल्यायो । पुलकित भएर अखबार पढ्न थाले ।
हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस्
https://www.facebook.com/nepalplus
https://twitter.com/nepalplus
फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्
https://www.facebook.com/nepalplusenfr
https://twitter.com/nepalplus




