यूरोप आउँदै हुनुहुन्छ ? पर्ला नी बगरको बास !

dscf0015

 

हामी नेपाली यूरोप, अमेरिका छिर्ने भनेपछि शरिरमा भएको लुगा र नाडीमा भएको घडीपनि मिल्काउँछौ । आ, उहिँ गएर कमाईन्छ डलर र यूरो अनि लगाइन्छ नी दामी। थोत्रो मोत्रो के लगाउने ? यस्तै भनेको सुनिन्छ । यूरोप छिरेपछि त तत्कालै छालापनि अर्कै होला झैं । न भाषा बोल्न आउँछ यहाँको न गतिलोसित अंग्रेजी । यूरोप छिरेपछि त ल त्यहाँ त जहाँ टेक्यो त्यहिँबाट बुरुरु यूरो निस्कन्छ झैं गरेर कुनै सम्पर्क, मेसोमेलो, ज्ञान नलिइ पस्छौं । अनि यहाँ आइपुगेपछि एक हजार मिटर गहिरो ईनारभित्र एक्लै परे जस्तो हुन्छ कसले गन्छ यहाँ ? कहाँ पाइन्छ भन्दा बित्तिकै काम ? अनि कोहि नेपाली भोकै पर्छन् । अनि मुटु पोल्छ । मन आत्तिन्छ । आँखा रसाउँछन् । बिदेश आ उँदाको ऋण सम्झिँदा ह्रिदय भक्कानिन्छ । हाम्रो नेपालमा झैं बाटोमा बिचरा परेकालाई आउनुस हजुर, जे छ बसौंला, खाउँला भन्दै पाखुरामा समाउँदै घरभित्र हुलेर कसैले स्वागत गर्दैन । कहिँ कतै उपाय लाग्ला झैं देखिँदैन । अनि उपाय के ? कोहि भूमिगत रेल गुड्ने स्टेशनमा झोलाको सिरानी हालेर रात कटाउँछन् । कोहि दिनभरि पार्कमा औंला गनेर दिन काट्छन् । दिनभरि बिदेश आउँदा काढेको ऋण सम्झियो । मन अमिल्यायो । झोक्राएर बस्यो । घामले खुट्टा क्षितिजतिर ओराल्न थालेपछि लौ आज कहाँ सुत्ने हो भन्ने चिन्ता हुन्छ । काम खोजौं एक त काम गर्ने अनुमती छैन । अर्को कुरा भाषा बोल्न नआएपछि केहि पाइदैन । पैसा कमाउने त कुरै छोड्नुस । सुत्ने ठाउँपनि पाइदैन । अनि भएन बिजोक ?

san-habitation-001यहाँ आउने बिदेशीलाई मात्रै हो र ? यहिँकै स्वदेशीलाई मुस्किल छ बस्ने ठाउँ पाउन । हेर्नुस त यो तस्बिर । यो पहिलो तस्बिर मैले त्यस्तै घरबार नभएर पेरिस शहरको मध्य भाग बाट बग्ने सेन नदीको किनारमा पाल टाँगेर बस्नेहरुको खिचेको हुँ । दोस्रो तस्बिर ‘हामीलाई बस्ने ठाउँ देउ’ भन्दै वालवालिकाले फ्रान्सकै बोर्दो नगरपालिका भवन अगाडि पाल टाँगेर सरकार समक्ष बिरोध जनाएका हुन् ।
नदी किनारमा पालमा बस्नेहरुको सायद जागिर होला तर घर छैन । कहाँ बस्ने ? बाबु बाजेको भएपनि यहाँ छोराछोरीलाई दिनै पर्छ भन्ने छैन । अपार्टमेन्ट किन्न महँगो पर्छ । सानोतिनो कमाईले सकिने होइन । भाडामा लिनपनि थोरै कमाईले पुग्दैन ।

सरकारी सुबिधाको घर लिन दशौं वर्षमा बल्ल पालो आउँछ । अनि के गर्ने ? हो, यस्तै कन्तबिजोक हुन्छ धेरैको । त्यस्ता मानिसहरु खुब देखिन्छन् यता र उति यस्तैमा सुतेको । यस्तोमा सुतेर रात कटाउनु पर्‍यो भने भएन बेहाल ? कमाएर गँठरि पारौंला। अँठ्याउँदै बैकमा गएर महिनै पिच्छे भकाभक लाखकालाख पठाउँला । पैसा नेपाल पठाएको देखेर बैंकको मान्छेपनि छक्क परोस् न भन्ने सपना सहजै पूरा हुँदैन । अनि यूरो कमाएर नेपालमा भवन ठड्याउने सपना हुँदैनन् त चकनाचुर ?

अहिलेनै पेरिस आइपुगेका थुप्रै नेपालीको हालत त्यस्तै भएको छ भन्ने सुनिन्छ । बस्ने ठाउँ नपाएर रेल स्टेशनमा सुत्नेपनि छन् भनिन्छ । त्यसैले यूरोप स्वर्ग होइन । झन हरिबिजोक हुन्छ बिचार नगरि आएमा । तपाइहरु पनि होस गर्नुस् है मोज मस्ति गर्ने र दाम कमाउने सपना बोक्दै यूरोप छिर्दा होला नी बगरको बास !! (दोस्रो तस्बिर मेट्रो दैनिकको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया