राजनीतिक सिंहालाप

  • आनन्दराम पौडेल

anandaram-paudel-33434सुवाशचन्द्र नेम्बाङजीले डाकेको मिटिङ र अरु एकदुइटा मिटिङ सकेर फर्कंदा पचण्डको अनुहार मलीन थियो । खाजा मँगाए। ग्लासमा एक पेग हाले र चुस्की लिनथाले । चुस्कीसँगै सोच्नथाले, “आज सुवाशले अँचेटेरै कुरा राखे । सभामुखको भूमिका पूरा गरेनन् भनेर तिनीमाथि आरोप छ। हुनपनि सम्बिधानसभा नियमावलीले सभामुखलाइ पर्याप्त अधिकार दिएको छ । त्यो नियमावलीपनि आखिर हामीले नै बनाएको होक्यार ! त्यही अधिकारपनि तिनले प्रयोग गर्न सकेका छैनन् । अधिकार प्रयोग नगरेको, हस्तक्षेप गर्न नसकेको, गतिहीनतालाइ चीर्न नसकेको भनेर चौतर्फी आलोचना भैरहेछ । त्यही आलोचना छल्नको लागि सुवाशले यो नौलो प्रस्ताव अगाडी सारेका हुन् भन्ने वुझ्न कठिन पर्दैन ।

हुन त लुङ्घालीको अकर्मण्यताको सर्वाधिक लाभ हामीले लिइरहेछौं । तराईका मधेशवादीहरु र हामीले मिलेर उछलकुद गर्न र हडकम्प मच्चाउन पाइरहेछौं  । कांग्रेस र एमालेलाइ ‘थाल खाउँकि भात खाउँ’ पारिरहेकै छौं  । सुवाशको प्रस्तावलाइ हामीले भन्दा चर्को विरोध कृष्णप्रसाद सिटौलाले नै गरिरहेछन् । उनले त, ‘सभामुखले हामीलाइ बोलाएर यो प्रस्ताव राख्नुअघि हामीसँग सोध्नुपर्थ्यो’ भने । उनको यो तर्कचाहीं अनौठो लाग्यो । सुवाशले जे सोचे, सोच्नासाथ सर्वप्रथम हामीलाइ बोलाएर हाम्रोसामु राखिहाले । यस्मा सोध्ने ठाउँ कहाँ रह्यो ?

हाम्रा कृष्णप्रसाद सिटौला पनि कस्ता अडवाङ्गे तर्क राख्छन् भने सुन्दै उदेक लाग्छ । द्वन्दबाट खुला राजनीतिमा आएपछि पिए (निजी सचिव) को स्वाद यिनै सिटौलाको सङ्गतबाट पाएको हुँ । सिटौलाजीको तुलनामा अहिलेका यी मेरा पिएहरु त केहीपनि होइनन् । सिटौलाजी त्यति पर्फेक्ट पिए बनेर काम गर्थे । कृष्णप्रसाद सिटौलाकै सहयोग पाएर राष्ट्रघाती नागरिकता ऐन बनाइयो । बाहुन, क्षेत्री, दशनामीलाइ किनारा लगाइयो । यिनीहरुलाइ आरक्षणबाट बञ्चित गरियो । जातजातीको सूचीमा ‘अन्य’ मा फालियो  ।  भोट हाल्न काम लाग्छ भनेर त्यसबेला कस्ताकस्तालाइ नागरिकता दिइएछ, अहिले देखिंदैछ । आरक्षणको नतिजा, असर, प्रभावपनि देखिनथाल्यो । आरक्षणको यो ७ बर्षको अनुभव कस्तो रह्योभने जातको नाममा हुनेखाने, ठूलाठालु, सम्भ्रान्तहरुले मात्र आरक्षणको लाभ लिइरहेका छन् ।

कर्णालीका पाँचै जिल्ला तथा भेरी र राप्तीका पहाडी जिल्लाका गाउँबस्ती घुम्दा त्यहाँका जैसीबाहुनहरु, क्षेत्रीहरु र ठकुरीहरुको समेत् गरिबी, अभाव र कन्तबिजोग देखें । १० ठाउँमा टालेका लुगाले जसोतसो आङ ढाकेका छन् । छाप्रो घरभित्र अभावको बीचमा दयनीय आँखाले टुलुटुलु हेरिरहेका कलिला नानीहरुको अनुहार हेर्दा मेरो आँखा रसाएको थियो । ‘२४० बर्षदेखि लुट्ने, खाने यी बाहुन-क्षेत्रीहरु’ भनेर हजारौं पटक कुर्ले हुँला । यिनीहरुलाइ राज्यको अवसरबाट बञ्चित गर्न नीतिनियममै फेबदल गरियो । त्यहाँ ती नानीहरुले मतिर फर्केर टुलुटुलु हेरिरहँदा, तिनीहरुले यही प्रश्न गरिरहेको, त्यो प्रश्नले मेरो मुटु छेडिरहेको र नाजवाफ भएर लुत्रुक्क परेको अनुभव मैले गरेको थिएँ। ”

कसैले ढोकामा ‘नक’ गरेको सुनेर ढोका खोले । खाजा ल्याएको रहेछ । हाँसको छोइला, लोकल कुखुराको ग्रेभीमासु र एउटा ट्राउट माछा रहेछ । डाक्टरले रातो मासु नखानु भनेकाले उनको मेनुमा यो हटेको थियो । कर्णालीका तथा भेरी र राप्तीका पहाडी जिल्लाका ती भोकानाङ्गा किशोर-किशोरीको दयनीय अनुहार झलक्क सम्झन पुगे । सर्वहाराको नायक भनिएको आफ्नो बिलासी जीवनशैलीसँग तुलना गरे । ‘यस्तै हो,  हुँदैगर्छ’ भनेर ब्ल्याकलेभलको चुस्कीसँगै सितन कपाकप खानथाले । सँगसँगै चिन्तनलाइ निरन्तरता दिए । सोचे, “हुन त २०६३ बैशाख ११ गतेको शाहीघोषणालाइ हामीले इन्कार मात्र गरेनौं कि त्यस्लाइ खारेज नै गरेका थियौं । यो घोषणाकै विरुद्ध आन्दोलन चर्काउने निर्णय गरी राती नै प्रेसबिज्ञप्ति जारी गरेका थियौं । सिङ्गै राष्ट्र र पूरै जनता घोषणाको पक्षमा उर्लेर आएकाले हाम्रो विरोधको स्वर त्यत्तिकै हरायो, कसैले सुनेन । हाम्रो विरोध नचल्ने पक्का भएपछि हत्त-न-पत्त विरोधका कार्यक्रमहरु सबै प्याकअप गरेर हतार-हतार संसद पुनर्स्थापनामा मिसिन आइहालेका थियौं । केही दिनअघि माओ दिवसका दिन आमासभालाइ सम्बोधन गर्दै जे बोलें त्यो मेरो अन्तर्आत्माको आवाज थियो । हामी कम्युनिष्टहरु टुट्ने, फुट्ने, टुक्रिने, छरिने र एकले अर्कोलाइ सत्तोसराप गरेर सिद्धिने भयौं भनेको थिएँ । सत्तोसराप त अझ एमाले फुट्दा देखिएको थियो ।

माले पार्टीतिर लाग्ने साथीहरुलाइ सिद्ध्याउनका लागि उनीहरुका विरुद्ध घिनलाग्दो अभियान चलाएका थिए । उनीहरुका विरुद्ध बिषय केही नभेट्टाए त्यो ‘जासुस, सिआइडी, गुप्तचर’ भनेर व्यापक प्रचार गरे । अरुलाइ के भन्नु, आफ्नै पार्टी टुट्दैफुट्दै ५ टुक्रा भैसक्यो । २०६४ को निर्वाचनमा त्यत्रो सिट पाएर सिंह बनेको पार्टी २०७० को निर्वाचनमा खुम्चेर बिरालो भयो । ५ महिनापछि उपनिर्वाचनमा त झन् ठाडै खस्केर मुसो बनिसकेको थियो । २०७० को निर्वाचन अघिसम्म त नेपाली राष्ट्रिय राजनीतिमा हामी सिंह नै थियौं । त्यसबेला राजनीतिक क्षितीजमा हाम्रो सिंहगर्जन मात्रै सुनिन्थ्यो । हामीले जे चाह्यो त्यही हुन्थ्यो । त्यसबेला भनेजति सिट आउँदैन कि भनेर निर्वाचनको तिथि नै तीनपटक सार्यौं । निर्वाचन लगत्तै टुँडिखेलको आमसभामा कांग्रेस-एमालेलाइ औंल्याउँदै, ‘यी हरुवाहरु भाग माग्न आउँछन्’ भनेर गर्जेको आवाज अझै कानमा गुन्जिरहेछ ।”

खाजा त अघि नै सकिइसकेको थियो, ग्लासपनि रित्तिइसकेछ । एक पेग पुन थपे, र चिन्तन प्रवाहलाइ अघि बढाए । सोचे, “२०६९ जेठ २ गतेका दिन मैले नै बालुवाटारमा बैठक बोलाउन लगाएको थिएँ । त्यसदिन मैले राखेकै प्रस्तावमा कांग्रेस र एमाले सहमत भएका थिए । त्यही अनुसार सम्बिधान जारी हुने कुरामा कुनै संशय, द्विविधा थिएन । त्यसबेला आफूलाइ मधेशवादी भन्ने तराईका नेताहरुले ‘यो सम्झौता भङ्ग गर्नुपर्यो’  भनेर मलाइ चर्को दबाब दिए । घेराबन्दी नै गरे । त्यसबेला म धर्मसङ्कटमा परेको थिएँ । सम्झौता भङ्ग गर्ने निहुँ केही नभेट्टाएर एकातिर बाहुन, क्षेत्री, दशनामीलाइ उचालें । ‘तपाईंहरुलाइ अन्याय भएको छ। तपाईंहरु सङ्गठित हुनुहोस् र आवाज उठाउनुहोस्’ भनेर उचालें । अर्कोतिर आदिवासी, जनजाति भन्नेहरुलाइ बोलाएर, ‘बाहुन-क्षेत्रीले सडक कव्जा गरिसके, तपाईंहरु के हेरिरहनुभएको ?’ भनेर उकासें ।

गिलासमा रहेको अन्तिम घुट्को पिए । डाक्टरले २ पेगभन्दा बढी नलिनु भनेको थियो, एक पेग बढी भएछ। पार्टी सकियो, हैसियत सकियो । सबै सकिंदै गएपछि स्वास्थ्यको ख्याल गर्ने इच्छापनि मर्दोरहेछ । चिन्तन-मनन सबै प्याकअप गरेर जुरुक्क उठे, र बगैंचामा टहल्न थाले ।

 

तपाइँको प्रतिक्रिया