राजाबिनाका १०४ वर्ष
- लक्ष्मण देवकोटा / पोर्चुगल
ग्रीकका आदिम ढुंगे जातिबाट सभ्यता हुर्कँदै गएको मानिने पोर्चुगलमा १०४ बर्ष पुग्यो, सयौं बर्षको राजतन्त्र ढलेर गणतन्त्र स्थापना भएको । कुनै बेलाको साम्राज्यबादी देश भएपनि भूगोल, कृषि, पर्यटनका हिसाबले नेपालसंग धेरै कुरा मिल्छ । यत्ति हो, उनीहरुसँग लामा समुद्री किनारहरू छन् जसले बर्षेनी लाखौं युरो कमाइ गर्छन । हामीसँग हिमाल भए जस्तै । सयौ* बर्षको शासन र प्रतिक्रान्तिका प्रयासहरुले जन्माइदियो तानाशाहलाई । सालाजार नामका पादरी दिक्षा प्राप्त यी कडा शासकले ४० बर्षे दमन त गरे तर आफ्नो लागि केहि जम्मा गरेनन् । न बिबाह, न धन सम्पति । गणतन्त्रको यति लामो यात्रामा पहिचानको बिषय प्रारम्भका दिनहरुमा जबर्जस्ति उठ्यो । फ्रान्स, जर्मन, अंग्रेज र अरबी प्रभावबाट मुक्त भएका भेकहरूमा ति प्रभावका अंश हुने नै भए ।
अरबी प्रभावी दक्षिणको समुद्री तटलाई पुरै क्रिस्चियन पुन स्थापित गर्ने बिषयमा ति देशहरु एकमत भए । भाषा पोर्चुगिज नै भएपनि बोल्ने तरिका, रहनसहन, खानपिन उत्तर दक्षिणको अझैपनि फरक छ । तर यो बिबिधताको सन्तुलन स्थानीय स्रोत साधनमा स्थानीयकै पहुँचको कडा नियमले सम्भव भयो । सबैलाई बराबरी नियम, बराबरी अवसर र कानुनमा बराबरी दण्ड सजायको व्यवस्थाले सम्भव भएको हो ।
गणतान्त्रिक मुलुक भएपनि यो संघीय राज्य होइन । राजा बिस्थापित भएपछी संघीय राज्य बनाउने अभियान चलेको रहेछ । तर फ्रेन्च, जर्मन र अंग्रेजको चलखेल कायम नरहोस् भन्नको लागि संघीय पद्दति अस्वीकृत भएको छ । पहिचान के हो ? आम मानिसहरुमा राज्यले सबै जनतालाई बराबरी शिक्षा र स्वास्थ्यमा बराबर अवसर दिने र प्रहरी प्रशासन, न्याय पद्धति सुध्रिने हो भने व्यक्तिले आफ्नो पहिचान आफैं बनाउन सक्दछ । स्थानीय प्राकृतिक साधन, स्रोतमा केहि मुट्ठीभर मानिसको होइन आम जनताको पहुँच हुनुपर्छ । स्थानीय निर्वाचित सरकार जति बलियो हुन्छ, जनता उत्तिकै बलिया हुन्छन् । आम धारणा छ यस्तो ।
तानाशाही शासनको ४० बर्षमा जेल नेल खाने कम्युनिस्टहरु अस्तित्व रक्षाको निम्ति संघर्षरत छन् । सन् १९७५ को संग्रामका बेला माओबादी युबा नेता जोसे मानुएल बारोसो दक्षिणपन्थी कित्तामा गएर प्रधानमन्त्री र युरोपेली संघको प्रमुख पनि भैसके । ७५ को क्रन्तिपछी खुलाबजार अर्थ ब्यबस्थामा प्रवेश गरेको हो पोर्चुगलले । युरोपेली देशहरुको निर्बाध लगानी र पछिल्लो चरणमा चिनियाँ लगानीले धानिएको छ अर्थतन्त्र । सरकार प्रमुख प्रधानमन्त्री र देशको मूली सेरेमोनियल रास्ट्रपति हुने प्रावधान छ । संसद सार्वभौम छ । न्यायपालिका र प्रहरी निर्बाध रूपमा काम गर्न स्वतन्त्र छन् । न्यायालयमा छिसिक्क पनि राजनीतिक हस्तक्षेप छैन । रास्ट्रपति जनताले सोझै भोट हालेर ५ वर्षमा एकपल्ट चुन्छन् । प्रधानमन्त्री २३० सदस्य रहेको संसदले चुन्छ । कानून बनाउने र सरकारका काम कारबाहीको अनुगमन संसदले गर्छ ।
पूँजीवादी अर्थ ब्यवस्थामा निम्न बर्गीय जनताका पीडा यता पनि उस्तै छन् । बजेटमा केन्द्रीकरण, बेरोजगारी समस्याले ग्रस्त दक्ष जनशक्ति अरु धनि देशहरुमा काम गर्न गएका छन् । युरोपेली संघले सहज बनाइदिएको छ । अखबारका स्तम्भ र रेडियो टेलिभिजनमा उही गुनासो सुनिन्छ, ब्यबस्था जे भए पनि नेताहरु खाली आफ्नै मात्र पेट भर्छन् । मुद्रा कोष र युरोपेली बैंकको ऋण तिर्दा तिर्दा हायलकायल भएका छन् पोर्चुगिजहरु । पोर्चुगिज कम्निस्ट पार्टीका उत्तर कमान्डर भन्दै थिए, ठूला ब्यापारीहरुले राज्यको आडमा लुटेकै छन् । अंग्रेजी साहित्य, अंग्रेजी सिनेमा, अंग्रेजी गीत । हामी र हाम्रोपन अमेरिकी सांस्कृतिक साम्राज्यले ध्वस्त पार्यो । हामी बल्ल आफ्नो पहिचान खोज्ने बेलामा छौ ।




