टुटेका सपना जोड्ने एकीकृत क्रान्तिको बाटो
“लेभी, कार्यालयको नाममा ल्यापटप आदि इत्यादी बेल्जियमबाट फर्किँदा नमाग्ने नेता कम नै हुने गर्थे । बिप्लवले चाहिँ साथीहरुले टिकट किनिदिनु भएको छ । आउन जान भैगयो । यहाँ खान बस्न, यताउता जान तपाइहरुले व्यवस्था गर्नुभएको छ । त्यसैले किन युरो चाहियो ? भो मलाई पर्दैन” भन्नु भयो । युरोपको नेपाली जनप्रगतिशील मंच र मोर्चाको इतिहासमा यो पहिलो घटना हो, कोहि नेताले युरो नलिएको ।
- प्रेम पाठक / बेल्जियम
गत फेब्रुवरीको महिना । युरोपको जाडो । जीवनयापनको लागि काम सकेर साधारण सभाको तयारीको लागि खट्यौं । मुख्य काम सकिएपछि सुत्ने तरखर गरिरहेका साथीहरुलाइ बिहान सात बजे ब्रसेल्स एअरपोर्ट अनिवार्य पुग्ने सहमति गरेर रात कटाइयो । सात बजे एयरपोर्टमा झन्डै सबै साथीहरु एकै समय भेला भइयो । सबैको नजर आगन्तुक कक्षतिर हुने नै भयो । हामीले पर्खेको विमान अवतरण भएरपनि त्यसभित्रका सबै यात्रु बाहिर आइसके । हामीले कुरेका मान्छे अब त आउलान भन्यो । हेर्यो । छैन । फेरी हेर्यो । फेरीपनि देखिएनन ।
साथीहरुको बिचमा सल्लाह भयो, पक्का केहि समस्या उब्जिएर होला । यसो सम्बन्धित सुरक्षा निकायमा सोधेको उसले केहि प्राबिधिक कारणले रोकिएको जानकारी दियो । केहिबेरमै सबै प्रक्रिया पुरागरी हाम्रा प्रमुख अतिथि किरण र बिशेष अतिथि देव गुरुङ हामी सबैका बिच आउनुभयो । सहभागी सबैले परिचय सहित आदर सम्मान गर्दै निर्दिस्ट स्थानमा आइपुगियो । वस्तुस्थितिको अवगत गरायौं । युरोपका विभिन्न देशबाट आउनु भएका सबै साथीहरुको बिचमा वहाँहरुले पार्टीगत राजनैतिक धारणा राख्नु भयो । अर्को दिनको साधारण सभाका प्रमुख आकर्षण रहेका कामरेडहरुको विचार नेपाली समुदाय र भाईचारा संगठनका सहभागीहरूले सुन्नपाए ।
बेल्जियमको नेपाली समुदायको उपस्थिति र प्रस्तुतिले नेपालको झल्को दिएको अनुभूति गर्नुभयो नेताहरुले पनि । साधारण सभा सानदार रुपमा सफल गर्नुभयो भन्दै ढाडस दिए सबैले । बाँकि केहि दिन युरोपका मुख्य देशहरुको बिकास संरचना हेर्ने योजना अनुसार फ्रान्सको आइफल टावर देखि स्विजरल्याण्डका बिबिध रमणीय स्थल हिँडियो । जर्मनीका हिटलरको ग्याँस चेम्बरदेखि कार्लमार्क्स जन्मेको घर सहितको म्युजियमको भ्रमण गरेर बेल्जियम आयौं । दुइदिन पछि जनजाती सरोकार मंचको अधिवेसन सकी कामरेडहरु नेपाल फर्कनु भयो ।
यसरी, हाम्रो बसाई झन्डै ११ दिन नेकपा – माओवादीका अध्यक्ष क. किरण र सचिव देव गुरुङ सँग बित्यो । समयको हिसाबले यो बसाइ कुनै लामो होइन नै । तरपनि यसले राजनीति बुझाई र संगठन गराईको लागि दुरगामी प्रभाव पर्न गएको अनुभव हामीले गर्यौं ।
बेल्जियमले बिशिष्ठ समयमा वरिष्ठ नेताहरुलाई चाहे अनुसार प्राप्त गर्न नसकेपनि अरु देशका नेपालीले भन्दा बढि नै प्राप्त गर्न सकेको महसुस हुन्छ । जनयुद्ध कालमा दुई जना नेता पालेको बेल्जियमले शान्ति प्रक्रियामा आएपछि पनि भिन्न भिन्न नेताहरुलाई यहाँ ल्याई जनयुद्दमा जनाएको ऐक्यवद्द्ताको पुस्टि गरेका छन् ।
त्यसअघि र पछिपनि विभिन्न समयमा नेताहरु आउने जाने क्रम जारी रह्यो । यसै क्रममा कामरेड बिप्लव २००९ मा नेपाली जनप्रगतिशील मंचको साधारण सभाको अवसर पारेर बेल्जियम आइपुग्नुभयो । उहाँको करिब एक हप्ताको युरोप बसाइमा नेपाली जन प्रगतिशील मंच, बेल्जियमको साधारण सभाको सम्बोधनका क्रममा केही मन्तब्य सुन्न पाइयो ।
मन्तब्य त छोटो समयभित्रै राख्नु भएको हो, बिप्लवले । तैपनि समग्र राजनैतिक पार्टीको गलत प्रबिर्तिको भद्र आलोचना गर्दै समग्र युवालाई सत्यको पछि लाग्नको लागि आह्वान उहाँले त्यतिबेला गर्नुभएको थियो । साधारण सभा सकियो । भाइचारा पार्टीका सहभागीसँगको भेटमा अंग्रेजी बुझेपनि अलि प्रस्टताको लागि अनुवादकको सहयोग लिनुभयो । क्रान्तिको लागि सहयोग र बिस्वासको अपेक्षाको अपिल उहाँले गर्नुभयो । उहाँ आउनुभएको अनुकुलतामा पोर्तुगलको साथीहरुको माग अनुसार त्यहाँको संगठनलाइ सम्बोधन गर्न उहाँ पोर्चुगल पुग्नुभयो । मार्क्सको जन्मथलो लगायत अन्य केहि एतिहासिक स्थलको अवलोकन गरि आफ्नो कार्यक्षेत्र नेपाल फर्किनुभयो ।
किरण कमरेड र बिप्लव कामरेडलाइ प्रमुख अतिथिको रुपमा बेल्जियम आउँदा पाएको सकारात्मक पाटा मध्ये एक आर्थिक पक्ष हो । किरण कामरेड बेल्जियमको १६ फर्वरीको कार्यक्रम सकी १७ मा हामी युरोपका केहि देश घुम्न गाडीमा निस्कियौं । पहिलो दिन फ्रान्स घुमियो । अर्को दिन स्विजरल्याण्ड जाने योजना बन्यो । स्विजरल्याण्डमा होटल महँगो पर्ने । खर्चले पाँच जनालाई धन्न अलि गाह्रो । त्यसैले बिगतमा संगै भएका तर प्रचण्डपक्षसित राजनीतिक संवन्ध बिच्छेद पछिपनि प्रचन्ड पक्षतिरै रहेका केहि अति मिलनसार साथीकोमा बास बस्ने योजना बनेको थियो ।
फ्रान्सबाट जाँदा जाँदै अति ढिला भो । तिब्र गतिको हाइवे समातेको भन्ने सोचियो । तर परेछ कम गतिमा कुदाउनुपर्ने लोकल लहाइवे । त्यसैले योजना भन्दा अति ढिला पुगियो । रातको १२, १ बज्ने देखियो । हुन त बाटोमा आवस्यकता अनुसार खानेकुरा खाएकै थियौं । फेरिपनि हामी नेपाली बिदेशीले पचाउनको लागि डीजर्ट (खिउनी) खाएजस्तै हामीले भोक मार्न एक गास भएपनि भात खानैपर्ने । जसले स्विसको राजधानी बेर्नमा हामीलाई भेट्नुपर्ने हो वहाँलाइ बाटोको कारण ढिला भएको अवगत त गराईयो । हामी गाडीमा भएकाहरुबिच सल्लाह भो, ‘अब खान के गर्ने ? हाम्रालागिपनि पकाएको भए त ठिकै हो । यदि नपकाएको भए भोकै भईन्छ । खाएर जाउँ भने कहाँ खाने ? के खाने ? भात पाइँदैन । फेरि उता भात पकाएर बसेका भए हामी खाएर जानु पनि नराम्रो । उतै खाउँला भनेर जाउँ भने पकाएका रहेनछन भने भोकै परिने भो । द्विविधामा परियो ।
हामीलाई त केहि थिएन । जसोपनि टर्दो हो । किरण कामरेड भोकै हुने । स्वास्थ कम्जोर । दमका बिमारी । खुल्ला सल्लाह गर्नु राम्रो सम्झी किरण कामरेडसंग बस्तुस्थितिको अवगत गराइयो । त्यो हाम्रो प्रस्ताव पछि किरण कामरेड को सटिक अनि सरल सुझाव आयो । ‘अब यो राति कहाँ के खाने ? पाउने कुरा नि भएन । महँगोपनि त्यस्तै अचाक्ली । त्यसैले सरासर त्यहि जाउँ । पाकेको रहेछ भने खाउँला । यदि पाकेको रहेनछ भने दुख दिने कुरा भएन । हामि खाएर आएका छौं, बरु एक कप चिया खाउँ भनि चिया खाएर सुतौंला ।’ देब गुरुङ र हामी सबै चुप भयौं । मनमनै भने ‘धन्य हो तिम्रो विचार । कति सरल । कति ब्यबहारिक । कुनै अहं, माग अनि बैभव रहित । आयोजक तथा आमन्त्रित सहित उनको पार्टीको सदस्य भएकोमा गर्व महसुस भयो । सायद निस्वार्थी भावको कारण हो कि सन्जोग हो कुन्नि । हामीलाई हाम्रा नेतामा गर्व लाग्छ ।
यस्तै भयो कमरेड बिप्लव आउँदापनि । सबै कार्यक्रम चन्दा अनि सहयोगले नै हुने गर्दछन यता । यसैक्रममा हाम्रो निमन्त्रणामा आउने प्राय नेतालाइ टिकट खर्च पहिल्यै पठाउनुपर्ने हुन्थ्यो । बिप्लवजी भने विमान भाडा आफै खर्च गरेर टिकट लिएर आउनु भयो । आफुले बोलाएको नेताको आतेजाते खर्च सम्बन्धित संगठनले व्यहोर्नुपर्ने आम नियमजस्तै बनेको छ । सोहीअनुसार जब बिप्लवजी यहाँको गतिविधिमा सरिक भएर फर्कने बेला भो, हामीले संगठनको तर्फबाट आउने जाने टिकट खर्च जम्मा गरेर टिकटको पैसा कति दिनुपर्ने हो भनि सोधीयो । वहाँको सरल उत्तर आयो ‘मलाई पार्टीले आउन जानको लागि टिकट दिएको छ । तपाइहरु यहाँ बसेर काम गर्नु भएको छ । खर्च छ के दिनुहुन्छ ? भेटघाट गर्ने, युरोपको बारेमा अध्यन गर्ने मौका दिनु भयो । खर्च चाहिन्न, धन्यवाद ।
हामी सबै अचम्म भयौं । किनकी टिकट त साधारण कुरा भो । लेभी, कार्यालयको नाममा ल्यापटप आदि इत्यादी बिदेशबाट फर्किँदा नमाग्ने नेता कम नै हुने गर्दथिए । उहाँले त केहि पर्दैन भन्दै अझ थप्नुभयो ‘अहिले पार्टी शान्ति प्रक्रियामा आएको छ । यो बेलामा दश बिस लाख कोहि पनि केन्द्रिय कामरेडले कमाउन खोज्यो भने त्यो सामान्य कुरा हो । तर मुख्य कुरा आफ्नो भविष्यको ब्यक्तित्व, अनुशासन र छबि कता लाने भन्ने हो । अर्थ कि राजनीति ? त्यसैले मलाइ तपाइहरुको आर्थिक सहयोग पर्दैन । साथीहरुले टिकट किनिदिनु भएको छ । आउन जान भैगयो । यहाँ खान बस्न, यताउता जान तपाइहरुले व्यवस्था गर्नुभएको छ । त्यसैले किन युरो चाहियो ? भो मलाई पर्दैन । सोध्नु भएकोमा धन्यवाद ! हामी सबै दंग पर्यौं । मन मनै खुसिपनी । हामीले त्यो दुरगामी विचार भन्दा पनि ऋण र लेबी उठाउन परेन भन्ने भो त्योबेला । हजार पन्ध्र सय युरो थप उठाउनुपर्ने भार काम भो भनेर हामी खुसि भयौं ।
पछि थाहा भयो, कुरा त्यसो रहेनछ । यसमा पैसा बचेको होइन रहेछ नेता बचेको रहेछ । बिप्लवले आर्थिक मामलामा सफा छबि बनाउन सक्नुको कारण त त्यो पो रहेछ । आज बिप्लव सेवा र सुबिधाबाट टाढा रहेका छन् । बिना आर्थिक दाग नलगाइ बस्न सफल भएका छन् । आज धेरै नेताको बर्ग उठान लेबी र संगठनको नाममा अर्थ संकलन पो भएको रहेछ । युरोपको नेपाली जनप्रगतिशील मंच र मोर्चाको इतिहासमा यो पहिलो घटना हो, कोहि नेता ले युरो नलिएको ।
प्रवासमा बसेका हामीहरुको मुख्य उद्देश्य समग्र सामाजिक जीवन भन्दापनि आफ्नो नितान्त पारिवारिक जीवनको उचित व्यवस्थापनको लागि सुखद भबिस्यको आशा गर्दै बिदेसिएका हौं । हामीले आफ्नो यहाँको पूर्ण समय अर्थ आर्जनमा मात्रै लगाउने हो भने संगठनमा हिँडेका अधिकांश व्यक्तिहरुले अहिले भन्दा सुखद र सहज जीवन जिउन सक्ने छन् । फेरिपनि हिजोको आफ्नो आस्थाको कारणले नेपाली समाजमा चलेको उखान ‘न गरि खानु न मरी जानु’ भने जस्तै । न त आफुलाइ पार्टीकोलागि पूर्णकालिन कार्यकर्ता बनाउन सकियो न केवल अर्थ आर्जनमा मात्रै सिमित गर्न सकियो ।
यो बिदेशीएको बेल्जियमको नेपाली समाजमा दिनभरी काममा जोतिएर राति नसामा सुत्ने र बिहान अलार्मको भरमा उठ्नेहरू नभएका होइनन । अर्कोतिर हरेक सप्ताहन्तमा मनोरन्जनको लागि ट्रेनमा भेटिने गोरेहरुको बिचमा आफ्नो त्यो संगठनमा हिँड्दाको समय अर्थ आर्जन, चन्दा, यातायात तथा पकेट खर्चको जोहो गर्दै आफु भने नेपाली समाजहरुको गतिविधिमा सहभागी हुन हिडेको होस् वा संगठनको मिटिंगमा हिडेको किन नहोस । खल्लो कहिल्यै महसुस भएन । यो सबै आस्थाको कारण थियो । यसमा हाम्रो नितान्त कुनै व्यक्तिगत उद्देश्य केहि छैन । केहि छ भने सानो अंश किन नहोस देश र जनताको पक्षमा हो । समग्रमा भन्दा नेपाल र नेपालीकै सुखद परिवर्तनको लागि सानो योगदान न हो ।
माथिनै दुइ नेताहरुको बारेमा लामो भूमिका दिई सकियो कि नेतामा हामीलाई कुनै समस्या होइन । हाम्रो ति सबै नेतालाई सम्मान अनि आदर भाव उत्तिकै छ । जसले हिजोका दिनमा जे सके देश र जनताको लागि निस्वार्थ भावले सेवा गरे । आफ्नो जीवनको अमुल्य समय यसैमा खर्च गरे । भावनामा आएर कसैले कसैलाई व्यक्तिगत रुपमा मान र आदर गर्न सक्दछ । तर संगठन र बिचारको लागि त भावना प्रधान नहुने रहेछ । यो त तिनले दिएको नीति र कार्यक्रममा पो हुने रहेछ । हिजो त्यति आदर र सम्मान गरेका नेता जब आफुले भनेका कुरा ब्यबहारमा लागु गर्न काम्ने गर्छन । अनि के गर्ने ? अवस्यपनि विकल्पको माग गर्दो रहेछ परिवर्तन चाहनेले । बिद्रोह ! कमरेड किरणले सिकाएको यहि हो । बिप्लवले सिकाएको पनि यहि हो । यस्तै भयो, कमरेड किरणसँग । जसलाई प्रमुख अतिथिको रुपमा बोलाएका थियौं, ति सबैले पूर्ण रुपमा किरणजीले लिएको बाटोले नेपाल र नेपाली जनतालाई निकास नदिने भनि युरोपका सम्पूर्ण संगठनले सामुहिक रुपमा एक मतले सम्बन्ध बिच्छेद गर्न पुगियो ।
जब एनेकपा माओवादीसँग जनयुद्दका मुल्य्र, मान्यता, आदर्श र सिद्दान्त त्यागेर सत्ता प्राप्तिको नाममा पुजिबादमा बिलिन हुनपुगे । पद र पैसाको लागि राष्ट्र घातमा ल्याप्चे लगाउन तयार भए । त्यसैले शहिदको रगतको मुल्यको कसम खादै लाल गद्दारको घोषणा गरेको पार्टी किन झन्डै साँढे दुइ बर्ष मौन रहन पुग्यो ? जनयुद्दको जगमा जनबिद्रोह भन्ने । तर त्यसको आवश्यक तयारी कहिल्यै नगर्ने किन ? कुन दिन त्यसको लागि तयारी गर्यो पार्टीले ? कुन दिन आम कार्यकर्तामा छलफल गर्यो ? त्यहि सदस्यसँग मासिक लेबी उठाउन अनिवार्य गर्ने । तर बिद्रोहको लागि सहभागी हुन संस्थागत कहिल्यै माग नगर्ने किन ? यो सबै ‘कुरामा क्रान्तिकारी व्यवहारमा सुधारवादी’ लाईन हो । हामीलाइ सुधारवाद होइन परिवर्तन चाहिएको हो । जनताको मुक्ति चाहिएको हो । जनयुद्दले उठाएका बर्ग, लिङ्ग, जाति, क्षेत्र, दलित, मुस्लिम, अल्पसंख्यक समुदायको हितमा हुनेगरि पहिचान र सामर्थ्य सहितको संघीय जनगणतन्त्र चाहिएको हो । संबिधान सभा त रणनीति प्राप्तिको लागि लिइएको कार्यनीति थियो । यो आज प्रतिक्रियाबादीको कित्तामा पुगेको छ ।
हिजो शान्ति र सबिधानको नारा लगाउने संसदबादीहरु आज शान्तिको कुरा बिर्सेर संबिधानको मात्र कुरा गर्न पुगेका छन् जुन आफैमा अपूर्ण छ । यो अपूर्णताले समग्र नेपाल र नेपालीको हितमा काम गर्न सक्दैन । रोल्पा देखि १२ बुँदे हुँदै सबै सहमति बिर्सेर आजको किनिएको दलाल पुँजीपतिको प्रभुत्व रहेको संबिधान सभामा दुइ तिहाईको बैधानिकताको हवाला दिएर संबिधान जारी गर्ने कुरा भैरहेको छ । यसरि हेर्दा आज हिजोको दुइ सत्ता र दुइ शक्तिको कुरा सकिएको अवस्था हो । समग्रमा संक्रमणकालको अन्त भएको छ । प्रतिक्रान्ति भएको छ । यस्तो अवस्थामा निरिह भएर बाँच्नु र संक्रमणकाल सकिएको छैन भन्नु सरासर यथास्थितिवाद हो । झन् अब जनयुद्द सम्भव छैन भनेर भन्नु कोहिपनि क्रान्तिकारीहरुलाई स्वीकार्य हुनै सक्दैन । त्यसैले नेकपा–माओवादीबाट सम्बन्ध विच्छेद गरेर कमरेड विप्लवको नेतृत्वमा ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी’ निर्माण भइसकेपछि सहयोद्धाहरु पनि दुवैतिर बाँडिनु स्वाभाविक हो ।
सामाजिक सञ्जाललगायतका विभिन्न सञ्चारमाध्यममा एक अर्काप्रति हिलो छ्याप्ने गरि टीका टिप्पणी नगर्नु नै राम्रो । यो कसैको निजी मामिला होइन । यो विचारको प्रश्न हो । यो अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न हो । मूल रुपमा यो महान जनयुद्धको कार्यभार कसले र कसरी पूरा गर्ने भन्ने प्रश्न हो । हाम्रा प्रहारका निशाना प्रतिक्रियावादी शिविरतिर सोझ्यानुपर्नेमा आफूआफूमा सत्तोराप गर्ने काम नगर्दा उपयुक्त होला । यसको लागि ‘एकीकृत क्रान्ति’ को वैचारिक बहसमा सहभागी हुँदै वास्तविक रुपमा माओवादलाइ आत्मसाथ गर्नेहरु पुन गोलबन्द हुन जरुरि छ । एकीकृत क्रान्तिले सपना पुरा गराउन सके नसकेपनि टुटेका सपनालाइ जोड्ने काम अवश्य गरेको छ । माओ जयन्तिको अवसरमा खुला मंचमा आयोजना गरेको कार्यक्रमले रणनैतिक महत्व प्रदान गर्दै प्रतिक्रियावादीहरुको केन्द्र देखि विस्तारवादको राजधानीसम्म कम्पनयुक्त तरंग पैदा गरेको छ ।
त्यसैले, जुन पार्टी जनताका मुद्दाहरुलाई निस्वार्थ भावले सम्बोधन गर्दै सम्झौता हिन संघर्ष गर्छ । त्यो पार्टीसित हाम्रो संगठनले उठाउदै आएका एजेन्डाहरु मेल खान्छ । त्यहि पार्टीले लिएका नीति र कार्यक्रममा हाम्रो सहयोग र समर्थन रहनु पर्दछ । स्वाधीनता सहितको समुन्नत नेपालको निर्माणमा नै प्रवासी नेपालीको उज्वल भबिस्य छ । त्यहि पार्टी र नीतिप्रति हाम्रो मोर्चाको ऐक्यबद्दता रहने छ ।
(पाठक जनप्रगतिशिल मोर्चा, बेल्जियमका अध्यक्ष हुन् )