बिप्लव आमसभाको सन्देश
बैध्य माओवादीबाट फुटेर अर्को दल (नेकपा माओवादी) बनाएर संयोजक बनेका नेत्रबिक्रम चन्दले आज काठमाडौंको खुला मञ्चमा आमसभा गरे । आज माओ दिवश । माओका सकारात्मक पक्षमा केन्द्रित हुने, संझिने, माओका योगदानको कदर गर्ने दिन । तर बिप्लव किन यहि दिन शक्ति प्रदर्शनको रुपमा प्रस्तुत हुन चाहे ? आमसभामा किन माओ दिवशमा भन्दा बढी नेपालकै समसामयिक राजनीतिक परिस्थितिमा उनी केन्द्रित भए ? बैध्य माओवादीको भेलाकै दिनमा किन उनले खुला मञ्चमा आमसभा गर्न चाहे ? के यो संयोग हो ? पक्कै होईन । उनले आज माओ दिवसकै दिन र खुला मञ्चबाटै केहि सन्देश दिन खोजेका हुन् ।
धेरै मानिसहरू उनलाई मातृका यादवको जतिपनि शक्ति नभएको ठान्थे । किनभने सार्वजनिक रुपमा उनी माओवादी जनयुद्द र शान्ति संझौताका प्रक्रियामा पनि मुख्य भूमिकामा जनमानसमा देखिएनन् । त्यसैले उनलाई आफू जनमानसले सोचे जस्तो कमजोर नरहेको देखाउनु थियो । त्यसकालागि एकिक्रित नेकपा माओवादीको माओ दिवश कार्यक्रम र उनको प्रतिद्वन्दि पार्टी बैध्य माओवादीको भेलाकै दिन शक्ति प्रदर्शन गरेर केही देखाउनु, चुनौती दिनु र आफ्नो पक्षमा जनमानस रहेको देखाउनु थियो । सबै खाले माओवादीले कार्यक्रम गरेकै दिन आज उनका लागि अवशर थियो । उनले त्यहि गरे । अरु दिन गरेको भए एकिक्रित नेकपा माओवादी र बैध्य माओवादीका फूर्सदिला कार्यकर्ता आमसभामा आएका हुन् भन्ने पर्थ्यो । त्यसलाई चुनौती दिन चाहे उनले । त्यसमा उनी सफल देखिए ।
शान्तिवार्ता र संझौतामा आएको माओवादीका उनीपनि एक घटक हुन् । शान्ति संझौता एकिक्रित नेकपा माओवादीको एकलौटी झैं व्याख्या गरिएकाले उनले त्यसलाई स्पष्ठ पार्न चाहन्थे । शान्ति संझौता पालना नगरिएकाले त्यसमा आफूहरूको असहमती रहेको, शान्ति संझौताको एक मुख्य घटक बाहिरै रहेको उनले एकिक्रित नेकपा माओवादी, प्रमुख संसदबादी दल, सर्व साधारण र कूटनितिज्ञहरुसामु स्पष्ठ पार्न चाहन्थे । हिजो खुला मञ्चबाट उनले त्यसलाई स्पष्ठ पार्न खोजे ।
संघियताका बारेमा उनले कस्तो निति लिन्छन भन्ने कौतुहलता सबै माओवादी, एमाले, नेपाली कांग्रेस, भारत लगायतका मित्र राष्ट्र, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघसम्म स्पष्ठ थिएन । जनजातिका नेताहरूसमेत स्पष्ठ थिएनन् । उनले संघियता र प्रदेशको बिबाद निरर्थक रहेको स्पष्ठै बताए । ‘जनताको शासन मुख्य कुरो हो, संघियता ठूलो कुरो होईन’ भनेर त्यसलाई खुलस्त पारिदिए । संविधान सभा बारेमा त उनले झन् अचम्मसित व्याख्या गरिदिए ‘यो संविधान सभा केराको बोक्रो जस्तो हो । केरा अरुलेनै खाइसक्यो, बोक्रोमा नेता र संसदबादी दलहरू लडाईँ गरिरहेका छन् ।’
धेरैले अनुमान गरेका थिए ‘हरेक कम्युनिष्ट नेताहरू फुटेर गएपछि पूर्व पार्टी र त्यसका नेतालाई अनेक आरोप लगाउँछन्, गाली गर्छन् । बिप्लवलेपनि त्यसै गरेर आफू अशल देखिन खोज्लान् ।’ तर उनले त्यसो गरेनन । राष्ट्रिय स्तरको पार्टीको संयोजकको भूमिकालाई सहनशिल, बुझक्की बनाउन खोजे । उनले धेरै गाली गरेनन् । यस्तो गाली मात्रै गर्ने नेताले कहिँ देश चलाउन, नयाँ आन्दोलन, क्रान्ति गर्न सक्छ ? भनेर आलोचना नहोस् भन्नेमा उनले सतर्कता अपनाउन खोजे । उनले संविधान सभा नरहेको र त्यसमा आफ्ना नेताहरूको भूमिका प्रभावकारी हुन नसकेको बताएरै स्पष्ठ पार्न खोजे ‘जनताले माओवादी नेतालाई नायक बनाएर पठाएको थियो, ती ठूला ठूला महल र सूख सयलमा, पैसामा बिके कसको के लाग्छ ?’ उनले भने ।
अब यो बिप्लव समूहले ठोकिहाल्छ । जंगल पस्छ । भूमिगत आन्दोलन् शुरु गरिहाल्छ । आज खुला मञ्चबाट बिद्रोहको नारा लगाएर गुपचुप, भूमिगत हुन्छन् । यस्तो संशय धेरैमा थियो । तर उनले त्यसलाई अस्विकार गरिदिए । ‘हामी अहिलेपनि बार्ता र सहमतीका पक्षमा छौं । बार्ता र सहमति गरेरै अगाडी बढौं । माओवादीसित भएका संझौताहरू ईमान्दारिपूर्वक पालना गरौं’ उनले शान्ति संझौताबाट नभाग्ने प्रस्ताव राखेर आफूहरू शान्तिपूर्ण वार्ताबाटै समाधानका पक्षमा रहेको खुलाए ।
उनले अर्को सन्देशपनि दिन खोजे, उनी आम जनताका समस्याहरू समाधान हुन्छन् र शान्ति संझौता पालना हुन्छ भने शान्तिपूर्ण रुपमै समस्या समाधानको बाटोमा छन् । यदि शान्ति संझौता कुनै एक पक्षले, सरकारले, माओवादीको कुनै एक वा दुई पक्षले पालना गर्दैन भने अर्को पक्षलेपनि पालना गर्नु जरुरी छैन् । त्यसका बिरुद्द प्रतिबाद गर्ने अधिकार जनतासित सुरक्षित छ । उनले त्यसकालागि हतियार सहितको क्रान्तिको बाटो अबलम्बन गर्ने ठोकुवा त गरेनन् । तर त्यस्तो स्थितिमा जनवादी क्रान्तिका लागि हतियार नौलो नभएको बताएर आफ्नो लाईन स्पष्ठ पारे ।
आमशभामा उनी आक्रामक रुपमा प्रस्तुत हुन चाहेका थिएनन् । भद्र, शालिन र बौद्दिक, राजनीतिक हिसाबले सौम्य रुपमा प्रस्तुत हुन चाहेका थिए । तर युवाहरूको समूह, आम भिडले आक्रामक, खरो र कडा प्रस्तुति खोज्छ भन्ने जानेर होला प्रस्तुतिमा उनी आक्रामक देखिए । ब्याख्यामा सैयमता अपनाउने प्रयास गरे । त्यसैले उनले आम जनताका समस्याका बारेमा बिद्रोह बाहेक अर्को बिकल्प नभएको स्पष्ठ पार्न खोजे । उनको मुख्य आकर्षण भनेको युवा समूदाय थियो । उनले युवाहरूलाई प्रभाव पार्ने कोसिस गरे । युवाहरू जुझारु हुनाले, आक्रामक शैलि मन पराउने हुनाले आक्रामक शैलि अपनाए । उनलाई एकिक्रित नेकपा माओवादी, बैध्य माओवादी, नेपाली कांग्रेस र एमालेको राजनीतिक लाईनका बारेमा भ्रम चिर्नु, आफ्नो निति स्पष्ठ पार्नु, स्थापित गराउनु थियो । त्यसमा स्पष्ठ पार्न खोज्दा उनी आक्रामक देखिएका हुन सक्छन् ।
अहिलेको संविधान सभामा आफ्नो आपत्ती रहेको, यसलाई नमान्नेपनि स्पष्ठ पारे । अहिलेको संविधान सभा पैसा हालेर किनिएको हुनाले यसलाई भंग गरिनुपर्ने । आम राजनीतिक पार्टीको सहभागिता र सहमतीमा सार्वजनिक राजनीतिक सभा आयोजना गरेर त्यसै मार्फत् आम जनताका अधिकार र मुक्तिको सहमति गरेको संविधान लेखिनुपर्ने स्पष्ठ पारे । यसबाट अब उनीहरू यो संविधान सभामा कुनैपनि तरिकाले रहँदैनन्, मान्दैनन भन्ने स्पष्ठ देखियो ।
उनले आजको जनसभा वा भनुँ आम सभाबाट के स्पष्ठ पार्न खोजेभने अहिलेको संविधान सभाले आम जनताले चाहेको, आम जनताको मुक्तिको संविधान बनाउन सक्दैन । त्यसैले अब देशमा आम शोसित पिडित आम जनताको मुक्तिको लागि फेरि अर्को बलिदान आवश्यक छ । त्यो बलिदानका लागि नेकपा माओवादी गठन गरिएको हो । नयाँ माओवादी पार्टी गठन गर्नुको औचित्य देखाउन खोजे । यो माओवादीले जस्तोसुकै बलिदान गर्नपनि तयार छ । एकिक्रित नेकपा माओवादी महल, सत्ता सुबिधा र धन दौलतमा फसेको हुनाले अब नेकपा माओवादी फेरि शक्ति आर्जन गरेपछि त्यहि बाटोमा लाग्छ की भन्ने शंका मेटियोस भनेर होला । उनले पटक पटक दोहोर्याए ‘हामीलाई जनताको मुक्ति र राष्ट्रियताको संरक्षण बिना अर्को स्वार्थ छैन् । हामी कुनैपनि हालतमा जनताको मुक्ति नभएसम्म नछोड्ने बाचा गरे ।
जे होस उनले आफूलाई एक कुशल नेता र आफ्ना पार्टी अन्य माओवादी भन्दा शक्ति र समर्थनमा बलियो रहेको देखाउन सफल देखिए । उनले आफूलाई केही होईन भन्ने आमसमूदायका बिचपनि स्थापित गराउने अवशरका रुपमा लिए । नेकपा माओवादी र यसका नेतालाई एक अलग बलियो राजनीतिक शक्तिका रुपमा उभ्याउन उनी सफल देखिए । संविधान सभामा शान्ति संझौताको अर्को पाटो बाहिरै रहेको र उसको संलग्नता बिना शान्ति संझौता मान्य नहुने सन्देश दिए । शान्ति संझौता गर्दाको माओवादीका मुख्य सहभागीलाई बिर्सिएर, भूलेर अर्को पक्षसित सहमति गर्दैमा त्यो पूर्ण हुन्न भन्ने सन्देशपनि उनले प्रतिपक्षी र सरकार सन्चालक दलहरूलाई दिएका छन् । यो चुनौती माओवादी र अन्य संसदिय दलहरू सबैकालागि दिएको बुझिन्छ ।
(तस्विरहरू जनप्रगतिशिल मोर्चा बेल्जियम, नन स्टप खबर डट कम र दिपक विष्टको फेसबुकबाट लिएको हो)
















