माओवादी नेताका नाममा किक बक्सिङ : मान की अपमान ?

posta-bahadur-bogari

एकीकृत माओवादीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृतिमा अन्तर्राष्ट्रिय स्तरको कराँते र किक बक्सिङ प्रतियोगिता हुने भएछ । ठूलै सम्मान दिन लागेझैं यो समाचारलाई माओवादी समर्थित मेडियालेनै प्रचार गरेका छन् । आयोजना गर्ने संस्था रहेछ, कठमाण्डुको गोंगबुमा रहेको ‘कराँते र किक बक्सिङ कम्ब्याट मार्सल आर्ट क्लब । माओवादी नेता बोगटीको यो किक बक्सिङसँग के नातो रहेछ ? के संवन्ध रहेछ कराँते र किक बक्सिङमा पोष्टबहादुर बोगटीको ? त्यो क्लबका प्रमुख प्रशिक्षक रणबहादुर बोगटी रहेछन् । थरपनी बोगटी भएकाले पोष्ट बहादुरका कोहि आफ्न्त, पारिवारका सदस्य पो रहेछन् की भन्ने लाग्छ । नाता परोस् की नपरोस्, दुखि गरिब, मजदूर, सर्वहारा वर्गको मुक्तिका लागि लडेका पोष्ट बहादुर् बोगटीको किक बक्सिङमा केही थियो की ?

माओवादी पार्टीले मजदूर, सुकुम्बासी, किसान, उत्पिडित वर्गको मुक्तिका लागि राजनिती गर्छ । उसको दस्ताबेजमा त्यहि छ । त्यहि भन्छ । फेरि माओवादी नेता पोष्ट बहादुर् बोगटी सदगी जिवन बिताउने । भ्रस्टाचारमा नमुछिएका । सामान्य जिवन शैलीका नेता मानिन्छन् । उनले देशमा रहेको बेमेल हटाउन, गरीब र दुखि जनताको सुखका दिन ल्याउन भन्दै लडे । परिवारका सदस्य गुमाए, दश वर्षे जनयुद्दकालमा । उनी खेलाडी थिए । तर राजनीतिक खेलाडी । किक बक्सिङ र कराँते उनको पेशा थिएन । सोख र लगनपनि देखिएको थिएन । राजनीति र दुखि गरीब जनताको मुक्तिबाहेक अर्को चाख र चासोपनि सायद थिएन । त्यसैले होला, पार्टीमा सुद्दिकरणकालागी उनले आवाज उठाइरहेको देखिन्थ्यो । जीवनमा कुनै सरोकारनै नभएको विषयसित उनको नाम किन जोडियो ?

उनको स्मरण गर्न, उनलाई सम्मान गर्न त उनैलाई चासो र चाख भएको बिषयमा पो ध्यान दिनुपर्ने होईन र ? दुखि जनताका नाममा लडेका उनको सम्मानका लागि कुनै गरीब, असहाय, आर्थिव अभावले शिक्षा लिन नपाएका कुनै गरीबलाई पढाइदिएको भए कति सम्मान हुँदो हो ? सडकका गल्लीमा स्वास्थ्य नपाएर छटपटिएका केही गरीबको उपचार गरिदिएको भए कति उदाहरणिय हुँदो हो ? बिकट पहाडी भेगमा बस्ने कुर्सी र किताब अड्याउने टेबल नभएर भुइँको चिसोमा पढ्न वाध्य वालवालिकाको लागि केही थान कुर्सी र टेबल, केही थान कलम र कापी दिन सकेको भएपनि कति सम्मान हुँदो हो ? गरिवका लागि आजिवन लड्ने नेताको नाममा गरिबकै लागि केही ब्यवस्था गरिदिन सकेको भए कति सान्दर्भिक, कति उचित हुँदो हो ?

आगामी पुस ४ र ५ गते नयाँबजारस्थित मार्सल आर्ट हलमा हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, जापानका गरी एक सय ५० खेलाडीले भाग लिँदै रहेछन् । ती खेलाडीले माओवादी नेताका नाममा यो खेल भएको भन्ने सुन्दा कस्तो मान्लान् ? जिन्दगीमा कराँते र मुड्कि, किक बक्सिङ र पाखुरा सुर्काउने खेलमा नलागेका, चासो नभएका ब्यक्तिका नाममा किक बक्सिङ प्रतियोगिता आयोजना गरेर के सन्देश दिन खोजिएको हो ? राजनीतिक खेलाडीका नाममा पाखुरा र मांशपेशी जुधाउने प्रतिस्पर्धा आयोजना गरेर के उनको सम्मान हुन्छ ? यसले उनको मान् भयो की अपमान ?

तपाइँको प्रतिक्रिया