सुशील’दाले हेरे भ्रष्टाचार

आनन्दराम पौडेल

journalist-ananda-ram-paudel-32345पहिचानको आवरणमा जातपातको राजनीति गर्नेहरुले सम्विधान निर्माणमा अवरोध गरेकाले तिनीहरुसँग माथापच्चि गर्दागर्दै आज सुशील कोइरालाको दिन टेन्सनमै वितेको थियो । बेलुका आराम गर्ने विचारले सबै भेटघाट रद्द गरेर बसेका थिए । सोफामा बसेर चिया पिउँदै टिभी हेर्नथाले । ट्रान्सपेरेन्सी इण्टरनेशनलले रिपोर्ट सार्वजनिक गरेको समाचार आयो । भ्रष्टाचार नियन्त्रणमा ३० भन्दा कम अङ्क आएकोले नेपाल अति भ्रष्टाचार व्याप्त मुलुकमा परेछ । दक्षिण एसियामै अफगानिस्तानपछि नेपाल सर्वाधिक भ्रष्ट मुलुकमा दरिएछ । पोहोरसम्म नेपाल औसत भ्रष्ट मुलुक थियो । यस्पाली एक्कैचोटी १० ग्रेड तल झरेछ । यो समाचारपछि टिभी हेर्न मनलागेन । टिभी बन्द गरेर गम्भीर भए । सोचे, “छिमेकी राष्ट्र भारत र श्रीलङ्काले ३८ अङ्क प्राप्त गरी औसत भ्रष्ट र भूटानले ६५ अङ्क प्राप्त गरी कम भ्रष्ट मुलुकको स्थान पाइरहेको स्थितिमा नेपालको लागि यो समाचार लज्जास्पद मात्र हैन गम्भीर नै हो । यदि यो राष्ट्रमा नागरिक समाज सचेत, सशक्त, जागरुक र सङ्गठित भएकोभए यो ठूलै होहल्लाको बिषय बन्थ्यो  । तर, नागरिक समाजका अगुवाहरु दातृराष्ट्र र आइएनजिओबाट पालितपोषित भैरहेका र पार्टीहरुसँग भित्री सम्बन्ध र साँठगाँठमा रहेकाले नागरिक समाज खोक्रो छ । त्यसैले, यो समाचारले खल्बलि मच्चाउने छैन ।”

यहाँ आइपुगेर सुशील कोइराला निश्चिन्त, ढुक्क भए । जति ढुक्क भएपनि अन्तर्आत्माको छटपटी यथावत रह्यो । अन्तर्आत्माको छटपटीले पुन गम्भीर बनायो । सोचे, “कार्यकारी प्रमुखले, ‘मैले लोभलालच, भ्रष्टाचार गरेको छैन क्या’रे’ भनेर सुख नपाइने रहेछ । त्यसो त, मलाइ भ्रष्ट भनेर कसैले औंल्याउँदैनहोला ! आफ्ना सहयोगी र वरिपरीका सबैले ब्रह्मलूट गरिरहेको टुलुटुलु हेरिबस्छ भने स्वत त्यो दोषको भागी त बन्नैपर्ने हुन्छ ।

बाबुराम भट्टराईले पनि त आफैंले त भ्रष्टाचार गरेका थिएनन् नि ! तर, हिसिला यमीले दुबै हातले सोहोरेको घिनलाग्दा दृष्य कस्को नजरबाट छिपेको थियो र ! सिंचाई मन्त्री महेन्द्र यादवले प्रिपेड रिचार्ज भनेर हाक्काहाक्की घुस मागिरहेका थिए । विजय गच्छेदारले हदै गरेका हुन् । बाबुरामको कार्यकालसँग तुलना गर्दा त्यहीबेलाको सरकार नै बढी नाङ्गिएको भनेपनि मेरो कार्यकालमा पनि भित्रभित्रै कम भ्रष्टाचार भएको छैन ।”

सोफामा बसेको धेरैबेर भएछ । गोडा निदाएछ । उठेर एकछिन टहलिए । पुन फर्किएर सोफामै बसे । र सोच्नथाले, “मैले चाहेरपनि भ्रष्टाचार नियन्त्रण गर्न सकुँला जस्तो लाग्दैन । हाम्रा मन्त्रीहरु ठूलै रकम पाइने भयोभने सचिवले निर्णय गर्ने विद्युत लाइसेन्स जस्ता फाइलसमेत् अख्तियारबाट
बच्नको लागि, मन्त्रीपरिषदको बैठकबाट निर्णय गराउँछन् । पार्टीका एकएक कार्यकर्ता भ्रष्टाचारको लागि लालायित छन् । धेरैभन्दा धेरैलाइ पद बाँड्न पाइन्छ भनेर सम्विधानसभा सदस्य सङ्ख्या बढाएर ६०१ पुर् याइयो । विकासे पकेटखर्च भनेर प्रत्येक सभासदलाइ बार्षिक १० लाख दिने गरियो । त्यो १० लाखमै  मनपरी गरेको देख्दादेख्दै थपेर १५ लाख दिन थालियो । अन्तर्आत्मादेखि नै भ्रष्ट भएपछि सुरसाले मुख बाएजस्तो हुँदोरहेछ, जतिभएपनि नपुग्ने । ५ करोड नदिए सबै काम ठप्प पारिदिन्छौं, बजेट पास हुन दिन्न भन्दै आफ्नै पार्टीका सांसदहरुको अगुवाईमा लबिङ गरे ।

हुन त खुमबहादुर खँड्काले भ्रष्टाचार गरेको भनेर विशेष अदालतले गरेको फैसलालाइ सर्वोच्च अदालतले सदर गर्दासमेत् हाम्रो आफ्नै पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध निर्णय गरेको थियो । भ्रष्टाचारीलाइ कार्यवाही गरेको भनेर हाम्रा कार्यकर्ताले विरोध कार्यक्रमहरु गरे । खुमबहादुर जेलबाट छुट्दा सिन्दुरजात्रा गरे । ४० किलोभन्दा बढी माला मात्रै थियो । २०६४ सालमा श्री चरेसानन्दजीलाइ उपराष्ट्रपति बनाउन हाम्रा सभासदहरु हर्षोल्लासका साथ लाम लागेका थिए । दिगम्वर झाजीले आयल निगम डुबाउन कम्ता मिहेनत गरेका थिएनन् । आयल निगम डुबाएर पार्टीका कार्यकर्तालाइ धेरै सहयोग गरेका थिए । त्यही योगदानलाइ सम्झेर हाम्रा साथीहरुले उनै दिगम्बर झाजीलाइ दूरसञ्चार प्राधिकरणको कार्यकारी प्रमुखमा विराजमान नगराउञ्जेल चैनको सास फेरेनन् ।

सन २००२ मा प्लाष्टिक पोलिमर नोट छाप्दा राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलकबहादुर रावल र नोट विभागका कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ६ लाख २७ हजार ७ सय ५५ अस्ट्रेलियन डलर ठाडै भ्रष्टाचार गरेको भनेर अस्ट्रेलियन फेडेरेशन अफ पुलिसले ४० पृष्ठ लामो प्रतिवेदन पठाएको धेरै भयो । उहाँहरुलाइ कसरी जोगाउने भनेर हाम्रा साथीहरु कसरत गरिरहेका छन् ।

मैले खानेपानि क्षेत्रमा काम गर्ने निर्माणव्यवसायी ठकेदारसँग कुरा गरेको थिएँ । १० प्रतिशत त कर्मचारीकै लागि छुट्याउनुपर्छ भनेका थिए । त्यो १० प्रतिशतमा २ प्रतिशत सोझै माथिल्लो तहको हाकीमलाइ, ३ प्रतिशत क्षेत्रीय निर्देशकलाइ, ३ प्रतिशत जिल्ला खानेपानी कार्यालयका प्राविधिक र लेखाका कर्मचारीलाइ र बाँकि २ प्रतिशत कोष तथा लेखा नियन्त्रक कार्यालय र लेखापरीक्षकलाइ दिनुपर्दोरहेछ । त्यही भएरहोला, महालेखा परीक्षकले प्रतिवेदनमा वदनियत काम गर्ने अधिकृतहरुको नाम नखुलाउने गर्दारहेछन् ।

विद्युत लाइसेन्स होल्ड गर्नेहरुले निकै ठूलो रकम खर्च गरेर लाइसेन्सको म्याद थपाउँदारहेछन् । हाम्रा सांसदहरुलाइ समेत् प्रभावमा पारेको प्रष्टै देखियो । ‘विद्युत लाइसेन्स होल्ड गर्नेहरुलाइ कार्यवाही गर’ भनि निर्देशन दियो ’रे भनेर हाम्रा सांसदहरुले लोकमानसिंह कार्कीलाइ संसदका समितिहरुले हप्तैपिच्छे पालैपालो बोलाएर झाँको झार्ने र सातो लिने सल्लाह गरेछन् । हाम्रा सभासदहरु र पार्टीका कार्यकर्ताहरु भ्रष्टाचार गर्न पाउनु अधिकारै हो भन्ठान्छन् । लोकमानसिंह कार्की अख्तियारप्रमुख भएपछि अख्तियार निकै सकृय भएको त हो, तर ठूलाबडाले गरेको र ठूलाबडा मुछिएका भ्रष्टाचारका केसमा हात हाल्न डराएको छ । क्याण्टोन्मेण्टमा लडाकुको नाममा गरेको ४ अरबको भ्रष्टाचार, भ्याटछलि, युवा स्वरोजगार कोषमा गरेका मनपरी, उच्च शासक र प्रशासकको अस्वाभाविक सम्पतिका बिषयमा आँटहिम्मत जुटाउन सकेको छैन । पर्यटन बोर्ड, गणेश थापाको फीफा, चमेलिया जलविद्युत योजनामा भएका भ्रष्टाचारमा अख्तियारले छानबिन गर्न अनिच्छा देखाएकोले उजुरकर्ताले संसदको सार्वजनिक लेखा समितिमा उजुर गर्नुपर् यो ।”

हाम्रो संस्कार बनेर सिष्टमभित्र रक्तसञ्चारको नसा-नसामा र स्वाशप्रस्वाशमा व्याप्त भ्रष्टाचारलाइ नियन्त्रण गर्न सकिंदैन भन्ने निस्कर्षमा सुशील’दा पुग्दा भए ।

तपाइँको प्रतिक्रिया