करोडौं कुम्ल्याउने काइते कामरेडका काण्ड

चर्चित नेपाली सिनेमा बलिदानको ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा…’ बोलको गीत कम्युनिस्ट कार्यकर्ताबीच निकै लोकप्रिय छ । माओवादी नेता–कार्यकर्ताले जनतालाई लडाइँमा आकर्षित गर्नसमेत यो गीत गाउँदै हिँडे । तर, अब जमाना फेरिएको छ । अहिले एकथरी नेता–कार्यकर्तालाई देखाएर अर्काथरी माओवादी कार्यकर्ताले गाउन थालेका छन् ‘कोही त भने…।’ आइतबार एमाओवादी सचिव टोपबहादुर रायमाझीले ५ सय बढी पाहुना बोलाएर छोराको बिहे गरिरहँदा प्युठानका पूर्वमाओवादी कार्यकर्ता रमन थापा भने विदेश लाने नाममा म्यानपावरले ठगेको भन्दै कहिले श्रम विभाग र कहिले प्रहरी कार्यालयतिर हारगुहार गर्दै थिए ।

टोपबहादुर भौतिक योजना र शान्तिमन्त्री बन्दा भ्रष्टाचार गरेबापत चरम विवादमा तानिएका थिए । उनी लेनिन विष्टसँग मिलेर शान्ति मन्त्रालयबाट अयोग्य लडाकुलाई दिइएको रकम बाँड्न खोज्दा विष्टले मन्त्री निवासबाटै गाडी लिई फरार भएको काण्डमासमेत तानिएका थिए । छोराको बिहेमा भारु नोटको माला लगाउने उनी आफू रामनामी ओढेर सार्वजनिक भएपछि थप विवादित बनेका छन् । बाबुराम भट्टराईनिकट मानिन्छन् । 

भट्टराईका अर्का निकट सहयोगी देवेन्द्र पौडेल लडाइँकालमै पोखराको सुनकाण्ड र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुँदा छोरीको जन्मदिनमा सिंगापुर घुमाउने र रातो कार उपहार दिने कामबाट चर्चित भएका थिए भने निजी सहयोगी विश्वदीप पाण्डे बिहेमा हेलिकोप्टर चार्टर र १५ सय बढीलाई भोज खुवाएर चर्चित बनेका थिए । अर्का माओवादी कार्यकर्ता शिव कोइराला ज्वालाले त प्रचण्डलाई समेत चक्मा दिएर एकैदिन तीनथरि बिहे र भोज आयोजना गर्न सफल भए । प्रचण्डपुत्र प्रकाश दाहालले सत्ता र शक्तिको आडमा बहुविवाह गर्दासमेत कानुनी दायराबाट उम्कन पाइरहेका छन् । प्रचण्ड, उनीनिकट पासाङ, प्रभाकर, अनन्त, हरिबोल गजुरेल, बलदेवलगायत शिविरको अर्बौं भ्रटाचार र पार्टीको रकम हिनामिना आरोपमा पटक–पटक कार्यकर्ताको आलोचनामा पर्दै आएका छन् । हिसिला यमीको नियुक्ति, सरुवा, बढुवामा प्रिपेड ‘गँड्यौला’ मागेर पटक–पटक विवादमा पर्ने गर्थिन् ।

प्रचण्डपुत्रसहित शान्तिप्रक्रियापछि पैसा कमाउन सफल केही कार्यकर्ता सुँगुर, कुखुरादेखि तरकारी खेतीसम्ममा लागेर अवैध कमाइलाई वैध बनाउने काममा लागेका बेला व्यापार व्यवसाय गर्ने, विदेश जाने हैसियत नभएका कार्यकर्ता र पूर्वलडाकु भने लडाइँकालमा जानेको सीप प्रयोग गरेर नेताजस्तै छिट्टै धनी बन्न लुटपाटमा संलग्न हुन थालेका छन् । त्यसरी लाग्नेमा एमाओवादी, वैद्य माओवादीदेखि चार दिनअघि खोलिएको विप्लवको नयाँ पार्टीका कार्यकर्तासमेत छन् । लुटपाट र गैरकानुनी धन्दामा संलग्न उच्च माओवादी नेतामा एमाओवादी केन्द्रीय सदस्य कालिबहादुर खाम ‘विविध’ पहिलो नम्बरमा छन् । विविध जनसेनाको पूर्वडिभिजन कमान्डरसमेत हुन् । रक्तचन्दन तस्करी, गैँडाको खाग बेचबिखन, यार्चागुम्बा लुटपाटलगायत काण्डका फरार अभियुक्त हुन् । उनीसँगै लागेर यार्चागुम्बा व्यापारीको ६ करोड ३९ लाख रकम लुटपाटमा संलग्न रुकुम लुकुमका संगम रोका र भाइ नवीन अत्याधुनिक एम–१६ सहित पक्राउ परी जेल चलान भएका छन् । संगम गोर्खा जेल ब्रेक गर्ने माओवादी ब्रिगेड कमाण्डर कमला नहर्की ‘सपना’का श्रीमान् हुन् ।

सोमबार मात्रै पोखराको मेगा सहकारी र रौतहटको बैंक लुटपाटमा संलग्न रौतहटका माओवादी कार्यकर्ता सुशीलकुमार दुलाल पक्राउ परेका छन् । पोखरा र रौतहट लुटपाटको घटनाका मुख्य योजनाकार भनेर दुलाललाई देखाइए पनि पूर्वव्रिगेड कमान्डर विजय केसी ‘विकल्प’ उक्त घटनाका प्रमुख योजनाकार रहेको बताइन्छ । विकल्प लालसलाम सिनेमाका हिरोसमेत हुन् । शिविरमा रहँदै आफ्नै भान्जी पर्ने युवती लिएर फरार उनी पछिल्लो समय वैद्य माओवादी सम्बद्ध जनस्वयंसेवक ब्युरोको केन्द्रीय सदस्य थिए । हाल विप्लवको पार्टीमा लागेको बताइन्छ । यसरी विप्लवले क्रान्ति गर्ने भनेर नयाँ पार्टी खोलिरहेका बेला यस्तो आपराधिक चरित्र भएका र कमाउ धन्दाका लागि पार्टी प्रयोग गर्नेबाट कति बच्न सक्लान् चौतर्फी प्रश्न उठ्न थालेको छ ।

(हिजो बुधवारको जनआस्थाबाट)

तपाइँको प्रतिक्रिया