बेवारिसे राष्ट्रको अनाथ मामला
- आनन्दराम पौडेल
“आफ्नै राष्ट्रमा हामीलाइ अनाथ बनाइएको रहेछ ।” आफूलाइ संयमित राखेर कृष्ण खत्रीले भने । कृष्ण खत्री लाइ गाउँघरदेखि साथिभाइ सबैले शिष्ट व्यक्ति भनेर चिन्थे । उनी झोक्किएको, रिसाएको र अरुलाइ च्वास्स बिझ्नेगरी घोचपेच गरेर बोलेको कसैले देखेको थिएन । त्यस्तो भद्र व्यक्तिलाइ आक्रोशित मुद्रामा देखेर नन्दराम चकित भए । सोधे, “आफ्नै राष्ट्रभित्र हामीलाइ अनाथ बनाइएको रहेछ भन्नुभयो। कस्ले बनायो तपाईंलाइ अनाथ ? कसरी यस्तो महसुस गर्नुभयो ?” नन्दरामले सोधे ।
“पक्षपात र अपमानका घाउचोटहरु धेरै छन् । ती सबै सहँदै आएको थिएँ । तर, अहिलेको पछिल्लो घटनाले मेरो धैर्यको बाँध टुट्यो । सहनुको पनि सीमा हुन्छ, सहनैनसकिने भयो ।” कृष्ण खत्रीले भने ।
“पहिला यो पछिल्लो घटना नै बताउनुहोस् त, जस्ले तपाईंको धैर्यको बाँध टुटायो ?” “केही दिनअघि मेरो मावली मेलुङ -५, दोलखा गएका थियौं। मेरी ८१ बर्षकी हजुरआमा (आमाको आमा) ललितामाया खँड्कालाइ सामान्य दम आउनथालेको रहेछ । अलि-अलि खुट्टा सुन्निएको देखें । र, हिंड्नुहोस् डाक्टरलाइ देखाउँ भनेर काठमाडौं ल्यायौं । यहाँ ललितपुरमा हामी बसेको ठाउँबाट नजिक पर्ने भएकोले मङ्सीर ५ गते शुक्रबार बिहानै ललितपुर, ग्वार्को स्थित किष्ट मेडिकल कलेज अस्पतालमा लग्यौं । डाक्टरले, ‘अलि राम्ररी चेकजाँच गर्नुपर्छ । बृद्धालाइ ल्याउन-लैजान कठिनाइ हुन्छ । बरु, अस्पतालमै यहीं भर्ना गर्नुहोस्’ भने ।
हुन त त्यस्तो कठिनाइ केही थिएन । त्यस्तो साह्रोगाह्रो नभएकोले हजुरआमा हिंडेरै अस्पताल जानुभएको थियो । तैपनि, डाक्टरको सल्लाह मानेर अस्पताल भर्ना गराएँ । अस्पताल भर्ना गराउने बेलामा पनि यहाँका कर्मचारीहरुले दिनभर अल्मल्याएर राखे । कहिले कुन शाखाको मान्छे छैन भन्छन् । कहिले एकाउण्टेण्ट छैन भन्छन् । यस्तै दशथरी अडङ्गा लगाएर अल्मल्याउँदै दिन बिताइदिए । साँझ पर्न लागेपछि डाक्टरहरुकहाँ गएर कराएँ, र बल्ल बेडमा राख्नपाएँ । मेरी आमा (मैना खँड्का खत्री) ले पनि राती बिरामीसँगै बस्न खोज्नुभएको थियो । कुरुवामा १ जना मात्र बस्नुपर्ने भनेकाले आमालाइ डेरामा पठाइदिएँ । त्यो रात हजुरआमा मस्तले निदाउनुभएको थियो । बरु म आफैं निदाउन सकेको थिइन । बिहान, उज्यालो नहुँदै, झिसमिसेमा बिउँझिनुभयो । ट्वाइलेट जानुभएको थियो । धेरैबेरसम्म ननिस्केपछि ट्वाइलेटको ढोका ढक्ढक्याएँ । ढोकामा चुकुल लगाएको रहेनछ । भित्र हेरें, हजुरआमालाइ देखिन । अर्को ढोका खोल्छु भनेको त त्यहाँ बडेमानको भ्वाङ देखें । केही आवाज आइरहेको सुनेर भ्वाङनजिकै कान थापें । ‘ऐया ! ऐया !!’ भनेको सुनें । स्वर चिनें । त्यो मेरै हजुरआमाको स्वर थियो ।”
यति भन्दाभन्दै भक्कानो छुटेकोले कृष्ण खत्रीको बोलि रोकियो । एकछिन वतावरण स्तव्ध रह्यो । स्थिर भएको वातावरणलाइ चिर्दै नन्दरामले सोधे, “यो दुर्घटनाले तपाईंलाइ गहीरो चोट पुर् याएछ । दुःखद घटनाले मानसिक आघात पुर् याउनु स्वाभाविकै हो । त्यसैले, तपाईं आक्रोशित हुनुहुन्छ । मैले वुझें ।”
“हैन । तपाईंले गलत तवरले वुझ्नुभयो । हजुरआमाको मृत्यु भयो, त्यस्ले मलाइ आक्रोशित पारेको ह्वैन । मेरी हजुरआमा भ्वाङबाट खसेर तल वजारिएको ठाउँमा रगतको आहाल जमेको रहेछ । भ्वाङबाट खसेर ५ घण्टासम्म ‘ऐया ! ऐया !!’ भनिरहनुभएको थियो । त्यस्तो कारुणिक अवस्थामा यो किष्ट मेडिकल कलेज अस्पतालका नर्सहरु र डाक्टरले जेजस्तो व्यवहार गरे त्यस्ले मेरो हृदयलाइ छिया-छिया पारेको छ ।” कृष्ण खत्रीले बिलौनाको लवजमा भने ।
“अलि विस्तृत खुलाएर भन्नुहोस्। तिनीहरुले के त्यस्तो व्यवहार गरे जस्ले तपाईंको हृदयलाइ छियाछिया पार् यो ?” नन्दरामले उत्सुकता जगाए ।“ऐया ! ऐया !! भनिरहेको आफ्नो हजुरआमाको स्वर चिनेपछि म दौडँदै नर्सहरु भएको ठाउँमा गएँ । सबै नर्सहरु फेसबुकमा तल्लीन हुनुहुन्थ्यो । घटनाबिबरण सबै बताएँ । उनीहरुसँग रोइकराई गरें । सुनेनन्, पटक्कै सुनेनन् । उनीहरुकै अगाडी सुँक्क-सुँक्क गरेर धेरै रोएँ । मेरो रुवाइ अरण्यरोदन मात्र भयो । मेरो बिलौनाले यी पाषाणहृदयीहरु टसमस हुँदैनन् भन्ने वुझेपछि टर्च माँगें । ‘टर्च त दिनुहोस्’ भनेर अनुनयविनय गर्दा झन् झर्किएर ‘कति डिस्टर्ब गरेको ?’ पो भने । त्यहाँका पाले, चौकिदारहरुसँग हारगुहार माग्दासमेत् वास्ता गरेनन् ।
त्यत्तिकैमा मेरी आमा र बहिनी ईश्वरी आइपुगे । ‘बिरामी पछारिएको ठाउँमा जाने बाटोसम्म त बताइदिनुहोस्’ भनेर मेरी आमाले तिनै नर्सहरुसँग सोध्नुभयो । ती नर्सहरु पहिले त बोल्दैबोलेनन् । मेरी आमाले पटक-पटक सोधेपछि, ‘खोई थाहा छैन’ भनेर रुखो जवाफ दिए । मेरी आमाले चोटाकोठा चाहारेर एकजना डाक्टर ल्याउनुभयो । त्यो डाक्टरले माथिबाटै यसो हेर यो, ‘मान्छे मरिसकेको जस्तो छ’ भनेर हिंड्यो ।” व्यथा ओकल्दाओकल्दै कृष्ण फेरी टक्क रोकिए । एकपल्ट नन्दरामको मुखमा हेरे । हृदयविदारक वृतान्त सुनेर नन्दरामपनि स्तव्ध भएका थिए । तैपनि, खालि समयको सदुपयोग गर्दै नन्दरामले सोधे, “दया, माया, करुणाको खानि हुनुपर्ने नर्स र डाक्टरहरु नै क्रुर नरपिचाश बनेपछि विक्षिप्त हुनु स्वाभाविकै हो । हामी सुन्नेलाइ त यत्रो आक्रोश पैदा गरिरहेछ भने तपाईं भुक्तभोगीलाइ कस्तो परेको होला ? हामी अनुमान गर्न सक्छौं ।” नन्दरामले सहानुभूतिको लवजमा भने ।
“हैन । यी डाक्टर र नर्सको दुष्टतापूर्ण व्यवहारले मलाइ आक्रोशित बनाएको ह्वैन । यो घटनाले पारेको घाउचोट बोकेर सिंहदरबार गएँ । यो व्यथा सबैसँग राखें । ध्यान दिएर कसैले सुनेन । सुनेर सहानुभूतिसम्म दिएनन् । पार्टीका नेताहरुसँग भेटें । हाम्रो पीडाब्यथा सुन्न कोही तैयार छैन । ‘तपाईं पार्टीको सदस्य हो ?’ भनेर पो सोध्नथाले । राष्ट्रका अगुवाहरु यतिसम्म आत्मकेन्द्रित भएर राष्ट्र र जनताप्रति चरम उदासीन हुने भएपछि हामी बेवारिसे, अनाथ भयौं कि भएनौं ? मेरो चिन्ताको बिषय यो हो ।” कृष्णले चिन्ताको चुरो नै अगाडी राखिदिए ।
कृष्णले चिन्ताको जुन चूरो अगाडी राखेका थिए, त्यो अत्यन्तै गम्भीर बिषय थियो । यो सम्वेदनशील बिषय भएकोले नन्दराम झन् गम्भीर भए । त्यही गम्भीरता बोकेर हिंडे ।




