बादल र विप्लवले चाहिँ मर्न हुँदैन ?
● अनिल शर्मा विरही
राष्ट्रिय सम्मेलनमा अल्पमतमा पर्ने स्पष्ट भएपछि, अधिवेशन रोक्दै केन्द्रीय समितिको बैठकसमेत आयोजना गर्न किरण–बादल पक्ष तयार नभएपछि ‘कपिलवस्तु भेला’ आयोजना गरेका हौँ । किरण पक्ष मंसिरभित्र अधिवेशन गर्न तयार भए त्यसको सामना गर्ने निर्णय भयो । अधिवेशनबाट बहुमत हुनेमा ढुक्क थियौँ । तर किरण पक्ष भने जालझेल र षड्यन्त्रमा लिप्त रह्यो । अधिवेशन आफ्नो बहुमत नहुन्जेल नगर्ने, सिसी बैठक नबोलाउने, हामी कपिलवस्तु गएको समय पारेर बैठक राखी बैठकमै आएनन् भन्ने, बैठक अस्वीकार गरेपछि बैठकमा आइदिनुपर्योम भनेर रोइकराई गर्ने गरिरहे । उनीहरू एमबिकालीन दुईलाइन संघर्षको अनुभव प्रयोग गर्दै थिए । षड्यन्त्रको माकुरे जालो बुन्दै थिए । हामी भने जालको गाँठो खोल्दै समय बिताउने पक्षमा नभएर बञ्चरोले ड्यामड्याम हानी षड्यन्त्रको जालो एकै पटक ध्वस्त पार्ने रणनीतिमा थियौं । ‘सुनारको सय चोट, लोहारको एकै चोट’ भनेझैँ अधिवेशन र सिसि बैठक रोक्ने षड्यन्त्रलाई कपिलवस्तु भेलामार्फत ध्वस्त पारियो । केन्द्रीय समिति बैठकमा भण्डाफोर गरी सिनो झैं किरण–बादल गुटलाई बगरमा फालेर अर्को बञ्चरो हान्यौं । अर्थात् एमबी स्कुलिङको षड्यन्त्र च्यात्यौं । स्पष्टीकरणसमेत नसोध्ने भनेर रोइकराई गरेको स्थितिमा आफ्ना विचार र भावना सबैलाई सुनाउन मात्र हामी बैठकमा गएका थियौं । बैठकमा जाँदा नै अलग अलग पार्टीजस्तो अनुभूति भइसकेको थियो । बुद्धनगर कुनै भूतबंगलाजस्तो लाग्दै थियो ।
विचार फरक भएपछि भावनात्मक दूरी पनि बढ्दै जाँदो रहेछ । बैठक भवन कुपण्डोलमा पुग्नासाथ एकजना नेतापत्नी ‘भेट हुँदैन कि भन्ने लागेको थियो’ भन्दै थिइन् । मैले ‘जेलमा वा अखवारमा मरेको समाचारसँग त भेट भैहाल्थ्यो नि’ सहजतापूर्वक भनेको थिएँ । बैठकको सुरुमै क. बादलले बैठक अलिलामो समय जान सक्छ भन्दा म भने खिसिक्क हाँसेँ । अब किरण–बादलबाट क्रान्तिकारी आन्दोलनको नेतृत्वको अपेक्षा गर्नु ‘गोरु ब्याउला र बिगौती खाउँला’ भनेझैँ थियो । हामी कतिपय इमान्दार साथी र मध्यमार्गीलाई आफ्नो योजना खुला र स्पष्ट भन्न मात्र बैठकमा गएका थियौं । किरणले अझ ८ महिना अधिवेशन नबोलाउने अडान कायम राखेकै थिए । त्यस्तो स्थितिमा एक सातासम्म गनगन गरेर बस्ने योजनामा थिए । क. किरणले फुटपरस्त, गुटपरस्त, बिसर्जनवादी, सुधारवादी प्रस्ताव पेस गरेपछि त्यतैका कैयौंले ‘फुटपरस्त दस्ताबेज’ भनेका थिए । किरण पक्षले पार्टी कार्यालयको ब्यानरमुनि गुट भेला, बैठक, सुधारवादी–संसदवादी कार्यक्रम गरिरहेको बेला हामीले ब्यानरबाहिर क्रान्तिकारी काम र संगठनात्मक गतिविधि गर्यौं् । त्यसो त फरक फरक दस्तावेज भएपछि आ–आफ्नो दस्तावेजको पक्षमा जनमत बनाउनका लागि अलग अलग संगठन आवश्यक पर्न जान्छ । क. किरणले आफू प्रचण्डजस्तै नभएको दाबी गरेका छन् । राजनीति र विचारमा किरण–बादल प्रचण्डसँगै छन् । एउटै राजनीति, फरक संगठन किन चाहियो ? शायद त्यसैले होला उनीहरू छिट्टै प्रचण्डतिर डोलायमान हुँदैछन् । शर्तसहित प्रचण्डसँग जानुपर्ने किरणपक्ष कमजोर भएर विनासर्त जानुपर्ने मतवाला बादलपक्ष हावी हुनेछ । बैठकमा प्रचण्डसँग जान घोषित रूपमा दबाव परिसकेको छ ।
किरण–बादल मण्डलीसँग सहमत नहुनु नै सामूहिकता होइन भन्ने उनीहरूको बुझाइ छ । सामूहिकता नेताबीच मात्र होइन नेता–कार्यकर्ताबीचमा पनि हुन्छौ । घोषित अधिवेशन रोक्ने, केन्द्रीय समितिको बैठक माग गर्दा ‘सबैले मलाई रोक्छन्, नमिलेसम्म बोलाउँदिन’ भन्नेहरूले जनवाद र सामूहिकताको कुरा गर्न लाज मान्नुपर्ने हो । कार्यकर्ताको भावना र समस्या क्रान्तिकै समस्या हो । त्यसलाई नबुझ्ने, संबोधन नगर्ने नेता जनताको नेता हुन सक्दैन । क्रान्तिकारी महत्वाकांक्षा नहुने मान्छेले राजनीति होइन वृन्दावन रोज्नुपर्छ ।
हामीले समानान्तर सत्ताको नारा लगाएका छौँ । समानान्तर सत्ता संक्रमणकालीन नारा हो । नयाँ सत्ता र पुरानो सत्ता टेबुलमा रहँदाको नारा हो । यो नारा पालुङटार भेलामा क. विप्लवले उठाएका थिए । गोलमेच सभा हुने भएपछि क. किरणले सुर्खेतमा क. विप्लवलाई सत्ता साझेदारीको विषय जोडदार रूपमा राख्नुपर्योे भनेका थिए । तर तिनै किरण सत्ता साझेदारी प्रचण्ड बन्ने नारा हो भन्छन् । यो त घोर अनैतिक खेल भयो ।
किरणको वरपर हरियो झिँगाझैं दिल्लीका दूतहरूले फन्को मारिरहेका छन् । तिनले बुद्धनगरको सूचना उता ओसारिरहन्छन् र आफ्नो अपराध छोप्न अरुलाई चोर औंला ठड्याउँछन् । उनीहरू आफ्नो कुरा आफैं भन्न सक्दैनन् र दारुवाल सञ्चारकर्मीलाई छद्मनाम वा बेनामे समाचारमा पस्कन्छन् । प्रचण्डको नुनपानी तिर्न बाबुराम र रविन्द्र श्रेष्ठको कुरा दोहोर्या इरहन्छन् । हरेक माओवादीलाई थाहा छ नेपाली क्रान्तिमा धोका, गद्दारी र क्षति रविन्द्र या बाबुराम होइन प्रचण्डबाट भएको हो । रविन्द्रलाई मार्ने षड्यन्त्र भएपछि उनी बिच्किएका हुन् । बाबुराम त सुरुदेखि नै आजकै रूपमा प्रकट थिए । बाबुराम भारतपरस्त, दक्षिणपन्थी, प्रचण्डचाहिँ क्रान्तिकारी, देशभक्त भन्ने झूठो भ्रमलाई स्थापित गरेर क्रान्तिकारी प्रवृत्तिलाई भ्रमित गर्ने र प्रचण्डको निगाह बक्सको वातावरण बनाउने कार्य भइरहेको छ । तर बाबुरामको कार्यदिशामा प्रचण्डको यात्रा हो भन्ने कुरा सबैलाई थाहा छ । विवादित सीमा क्षेत्रमा जनमत संग्रह गर्नेजस्तो घोरराष्ट्रघाती प्रस्ताव हेटौंडा अधिवेशनमा प्रचण्डबाटै प्रस्तुत भएको हो । देशभक्त कार्यकर्ताले त्यसप्रकारको राष्ट्रघाती प्रस्ताव पारित हुन दिएनन् । अन्यथा भयानक खतरा संस्थागत हुनसक्थ्यो ।
आफ्नो नेतृत्व भएपछि ६ बुँदे मात्र होइन १२ बुँदे गर्न पनि प्रचण्डलाई कुनै कठिनाई हुनेछैन । लागू नगर्ने/गर्नु नपर्ने जति शर्त मान्न पनि तयार हुनेछन् । प्रचण्डसँगको सहमतिमा नाक जोगाएर जानका लागि ६ बुँदे पेश गरिएको थियो । प्रचण्डसँग बसेर योजना बनाई पार्टीमा लड्न आउने हर्कत जारी थियो । हेटौंडा अधिवेशनपछि एमाले र एकीकृतका बीचमा कुनै वैचारिक/राजनीतिक अन्तर छैन । प्रचण्डसँग एकताको कुरा गर्नेले एमालेसँग पनि एकता गर्न तयार हुनुपर्छ । विचार र राजनीति एउटै, संगठन फरक किन ?
राष्ट्रियताको प्रश्नमा प्रचण्ड समूह एमालेभन्दा धेरै पर पुगेको छ । गच्छदारजस्ता दिल्लीपरस्त र अपराधी चरित्रका सामन्तसँगको यात्राले त्यसको पुष्टि गरिरहेको छ । प्रचण्डको संघीयताको मुद्दा कांग्रेस, एमालेको भन्दा राष्ट्रघाती, जनघाती छ । सर्वहारा वर्गको नेतृत्वबाहिरको संघीयता घोर प्रतिक्रियावादी चरित्रको हुन्छ । नेपालजस्तो भूराजनीतिक परिवेशमा त यो भारत र पश्चिमी शक्तिको खेलमैदान बन्न सक्छ । विश्व अनुभवतिर हेर्ने हो भने सन् १९१७ सम्म पनि लेनिनले संघीयतालाई प्रतिक्रियावादी प्रस्ताव भन्नुभएको थियो । सन् १९१८ को मध्यमा मात्रै उहाँले सर्वहारावर्गको नेतृत्वमा संघीयतालाई स्वीकार गर्नुभएको हो ।
प्रचण्डबाट अलग भएपछि किरण लगातार भित्र लड्नुभयो । हामीले बाहिर लड्न चाहेका थियौं । अहिले पनि अन्तरसंघर्ष विस्तारित गरेर वर्ष संघर्षबाट विमुख हुने रणनीति बनाइयो । कार्यकर्ता र जनताले उठाएका प्रश्नको जवाफ प्रचण्डले देऊन् भन्ने चाहना थियो । बाबुरामसँग हिजो पनि आशा गरिएको थिएन । हामीले क. किरणले वर्ग संघर्षले मागेको प्रश्नको जवाफ देउन् भन्ने चाहेका थियौं । तर त्यो नभएपछि अगाडि बढ्छौँ भन्दा केही मान्छे आफ्नो घरखेत खान आएझैं पागलपन प्रदर्शन गर्दै छन्, किन ? क्रान्तिकारीका कारण सिर्जित पार्टी प्रतिष्ठालाई दक्षिणपन्थीहरूले उपभोग गरिरहेका थिए । अब त्यसरी नाजायज दुरूपयोग गर्न नपाउने स्थिति बनेपछि असहिष्णु बन्न पुगेका छन् । नयाँ र स्वतन्त्र ढंगले वर्ग संघर्षमा जाने, नयाँ प्रयोग गर्ने सोचप्रति कुनै पनि इमानदार व्यक्ति असहिष्णु हुन सक्दैन ।
प्रचण्डले आजभोलि ‘म बाबुरामको पछि लागेर आएको होइन । खारा हारेर आएको हो’ भन्दै छन् । आफ्नै योजनामा आएको हो, बाबुरामको योजनामा आएको होइन भन्दै गर्दा यता किरण–बादल थपडी बजाउँदै छन् । किरण–बादल पक्षधर केन्द्रीय सदस्यहरू आधाभन्दा बढी त ‘बल प्रयोगको राजनीति’ कै विरुद्ध छन् । माक्र्सवादका आधारभूत मान्यताको विरुद्ध रहेका कार्यकर्ताहरू प्रोत्साहित गरिनु र क्रान्ति चाहनेहरू निरुत्साहित गरिनुका पछाडि किरणको बादलको वैचारिक, राजनीतिक स्खलन जिम्मेवार छ ।
खारा मोर्चाको विषयमा अलग बहसको खाँचो छ । खारा मोर्चा प्रचण्डको गलत भूमिकाको कारण हारेको निष्कर्ष क. विप्लवको छ । खारा मोर्चाको कमाण्डर (प्रथम) पासाङ र सहकमाण्डर (दोस्रो) प्रभाकर थिए । कमिसार क. विप्लव स्वयं । पासाङ एकै रात मोर्चा सक्ने पक्षमा थिए । तर प्रभाकार दुई रात (एक दिन दुई रात) को पक्षमा थिए । प्रचण्डले निश्कर्ष दिएनन् । दुईवटा रणनीतिसहित जनसेना मुभ भयो । पहिलो रात प्रभाकरको टोलीले बंकर खन्दै गर्दा पासाङको टोली मूलद्वारबाटै हमला गर्दै थियो । त्यस्तो अवस्थामा शाही सेनाले जनसेना विकेन्द्रित योजनामा रहेको बुझ्ने भैहाल्यो । सम्पूर्ण शाही सेना पासाङतिर फक्र्यो । पासाङको टोलीले सपोर्ट पाएन । दुई घण्टामै झण्डै ४० जनाको क्षति भयो । त्यसपछिको बैठकमा क. पासाङलाई कारबाही गर्नुपर्ने प्रश्न पनि नउठेको होइन । तर, खारा मोर्चाका कमिसार क. विप्लवले नेतृत्वले पासाङ र प्रभाकरसँग फरक फरक कुरा गरेको अर्थात् विषय अन्योलमा छोडेका कारण समस्या भएको र त्यसमा पासाङ दोषी नभएको भनेपछि कारबाही नगरिएको दाबी छ ।
खारा मोर्चापछि पनि पिली, बुटवल, कपिलवस्तु, मलंगवा, थानकोटजस्ता थुप्रै मोर्चा जितिएकै हो । रणनीतिक प्रत्याक्रमण भनिएकै हो । त्यसबेला शाही सेनाको हविगत कस्तो थियो भन्ने कुरा ‘अपरेशन मुस्ताङ’ र पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको नयाँ पुस्तक हेर्दा सहजै बुझ्न सकिन्छ ।
२०४८ सालको एकता महाधिवेशनमा पारित दस्तावेजले ‘नेपाली क्रान्ति गृहयुद्धको प्रक्रियाबाट अगाडि बढेर राष्ट्रिय मुक्ति युद्धद्वारा पूरा हुनेछ’ भनेको थियो । शाही नेपाली सेना हार्ने क्रममा भारत र पश्चिमी सेनाको भूमिका बढ्दै थियो । नेपाली जनयुद्ध साम्राज्यवादसँग टक्कराउन थाल्दै थियो । त्यस्तो अवस्थामा जनयुद्धले वैचारिक, राजनीतिक र प्राविधिक क्षेत्रमा नयाँ संश्लेषण र विकासको माग गर्दै थियो । नेतृत्वसहित जनताले थप जोखिम मोल्नुपर्ने भएको थियो । गृहयुद्धको नेतृत्व गरेका प्रचण्डले राष्ट्रिय मुक्ति युद्धको नेतृत्व गर्न सकेनन् । पछाडि फर्किनुका कारण पैदा भएका समस्यालाई ढाकछोप गर्न खोजेर प्रचण्ड दलदलमा फस्दै गएका छन् ।
खुला रूपमा नभने पनि किरण बादल पक्षधर कामरेडहरू प्रचण्डको ‘खारा कथा’ बाट प्रभावित भएकै कारण प्रचण्डतिर डोलायमान भइरहेको हो । विश्व परिवेश र नेपालको सामाजिक आधार (अर्थतन्त्र) मा दलालपुँजीपति वर्गको बर्चश्व भएका कारण राजाको स्थानमा दलाल पुँजीपति वर्ग बस्न पाउनुपर्छ भन्ने भित्री आशय बाबुराममा ०५२ भन्दा अगाडि नै रहेको ठानिन्थ्यो । आज त्यो भएपछि त्यसलाई उनले क्रान्ति पूरा भएको भन्दैछन् । त्यसो हो भने आफ्नो कुरा नलुकाउनु नै नैतिक हुन्छ । एकीकृत माओवादीको हेटौंडा महाधिवेशनले त्यसलाई संस्थागत गरेको छ । जनयुद्धको समग्र संश्लेषण आवश्यक छ तर वर्गसंघर्षको भुमरी बाहिरबाट त्यसो गर्न सकिन्न । जहाँसम्म राजनीतिक आन्दोलनको स्वरूपको प्रश्न हो, हिंसात्मक र शान्तिपूर्ण स्वरूप भन्ने कुरा परिस्थिति सापेक्ष विषय हो । नेपालका सबैजसो ठूला शक्तिहरू एमाले, कांग्रेस र राजतन्त्रसमेत रगतको आहालमा टेकेर उदाएका हुन् ।
आज विश्वमा एउटा प्रतिक्रियावादी शक्तिको स्थानमा अर्को प्रतिक्रियावादी गुट आउनसमेत हिंसा अनिवार्य बन्दै गएको छ । क. किरणको कार्यदिशा निर्मल लामाको नयाँ संस्करणबाहेक केही होइन । नयाँ गर्नुपर्छ भन्ने– नयाँ नसोच्ने, पुरानो पनि नगर्ने भएको छ । लामा आफ्नो कार्यदिशाप्रति इमान्दार थिए । २०४८ सालमा दर्जनौं नागरिक मारिएको, त्रसित वातावरणमा पनि हामीले क. आलोक र क. निर्मल लामालाई जुलुसको अग्रभागमा पाउँदा भरोसा हुन्थ्यो । पाटे अल्छी नेताहरूले निर्मल लामाबाट समेत सिकेजस्तो लाग्दैन । आफ्नै कार्यदिशाप्रति पनि इमानदार नहुनेले नयाँ आविष्कार गर्नसक्ने सम्भावना हुँदैन ।
चीनमा गृहयुद्ध चलिरहेको समय माओले सोभियत संघमा जसरी विद्रोहको कार्यदिशा लागू हुँदैन ‘दीर्घकालीन छापामार युद्ध’ मा जानुपर्छ भन्दा विश्वमा कहीं नभएको हावादारी कार्यदिशा भनियो । माओलाई भाग्न खोजेको भन्दै पिबिबाट हटाइयो । लिलिशान र वाङमिङले अपमान गरे । आज नेपालमा लिलिशानका धर्मपुत्रहरूले हामीलाई धार्मिक अदालतमा उभ्याएर ‘जनयुद्ध वा जनविद्रोहमध्ये एउटा भन’ भन्दै कोर्रा लगाइरहेका छन् । चीन र रुसी कार्यदिशाभन्दा फरक नयाँ कार्यदिशालाई अभिव्यक्त गर्ने पदावलि पनि नयाँ प्रयोग गर्दा राम्रो होला भन्ने हाम्रो भनाई हो । पुराना पदावलीले पुरानै सारतत्व अभिव्यक्त गर्न सक्छन् । कार्यदिशा भनेको लड्ने तरिका हो । सार्वभौम र निरपेक्ष विषय होइन ।
क. किरण क्रान्ति नाती–पलाँतीले गर्ने विषय हो भन्ने गर्छन् । उधारो क्रान्तिको कुरा त प्रचण्ड–बाबुरामले पनि गरेकै हुन् । बङ्करको धम्की त प्रचण्डले पनि दिएकै छन् । हामी कांग्रेस नेतृत्वको कुलिन वर्गलाई वाकओभर दिने पक्षमा छैनौं । आज हामीले क्रान्तिको कुरा गर्दा आदरणीय नेता चारु र चे गुएभेराको फोटो तथा दमनको फोटो राखेर कार्यकर्तामा भय श्रृजना गर्न खोजिएको छ । आफू राजनीतिक रूपमा परास्त भएपछि दक्षिणपन्थी कायरहरूले सत्ताको बन्दुक देखाएर भयवाद श्रृजना गर्छन् । जनयुद्धको समयमा लामा र एमबी त्यसै गर्थे । हामी भन्छौं तिमीहरू डाँगे र ज्योति बसुलाई सिरफुलझैं शिरमा राख, हामी चारु र चेलाई आदर्श मान्छौं । कृष्ण सेन, रीतबहादुर, सुरेश आलेदेखि १५ हजार जनताका छोराछोरी मर्न हुन्छ भने किरण, बादल या विल्पव मर्नै हुँदैन भन्ने छैन ।
हामीलाई थाहा छ नक्सलवादी आन्दोलनको जगमा भाकपा (माओवादी) को जग बसेको हो । डाँगे र ज्योति बसुको जगमा होइन । माओवादी नेताहरूलाई ‘जित्ने वा मर्ने’ बाहेक अरुकुनै नैतिक विकल्प छैन । रोल्पा सहमतिबाट पछाडि फर्केर शान्ति प्रक्रियाको अधिकार खोज्ने हो भने फेरि नेपालमा सिंहदरबारभित्र कांग्रेसले खुम्चिनुपर्नेछ । दक्षिण अफ्रिकामा विद्रोही सेनाको प्रमुख सेनापति हुनसक्ने, नेपालमा पासाङ सेनापति हुन नसक्ने भएपछि त्यसलाई मान्न नेपाली जनता बाध्य छैन । ०४८ सालमा शान्तिपूर्ण संघर्षकै क्रममा देशको मुटु राजधानीमै दर्जनौं नागरिक मारिए । पहिलो गोली जनताले होइन काँग्र्रेसले चलाएको थियो ।
सत्ताधारीहरू २०४८ को पुनरावृत्ति गर्छन् भने २०५२ सालको पनि पुनरावृत्ति हुनसक्छ । माओवादीभित्र बुद्धनगरको फलकभित्र र जंगलभित्रका अन्तरक्रिया चर्चामा छन् । जनतालाई निराश बनाएर शासन गर्ने, परिवर्तन चाहनेलाई धम्की र दबाव दिने गरिएको छ । दलाल पुँजीपति वर्गले शहरमा फूल रोप्दै, कमिशन र हतियार बाँड्दै आएको छ । तर त्यो समाधान होइन । साम्राज्यवाद झनझन कमजोर र संकटग्रस्त हुँदै गएको छ । विदेशी हस्तक्षेप चरम भएको छ । देशभक्तधारा नेतृत्व विहीन छ । जनता बेसहारा छन् । मैदान खाली छ । प्रचण्डबाट छुट्टिएका एकथरी खेलाडीले उतैको नुन खाएर आत्मघाती गोल हान्लान् जस्तो छ । यस्तो समयमा ‘लड्ने र जित्ने साहस’ गर्नुपर्छ ।
(बुधवारको जनआस्थाबाट)




