मोदीभ्रमणको राजनीतिक लाभ
● आनन्दराम पौडेल
“आखिर, नरेन्द्र मोदीको जनकपुर भ्रमणलाइ रोकाएरै छाड्नुभयो । किन रोकाउनुभएको ?” नन्दरामले सोधे ।“रोकेकै त भन्नुभएन। हामीले रोक्नैखोजेका त थिएनौं नि !” रामचन्द्र झाले भने । “मन्दिर छेउमै जनसभा र अभिनन्दन गर्न सम्पूर्ण तैयारी भैसकेको थियो । त्यो जनसभा हाम्रो पार्टीले तोकेको ठाउँमा हुनुपर्छ । हामीले तोकेको ठाउँमा हुँदैनभने ‘सुरक्षाघेरा तोड्छौं, पुत्ला जलाउँछौं, नेपाल बन्द गर्छौं’ भनेर हल्ला गर्नुभयो । हल्ला मच्चाउनु मात्र भएन नाराजुलुस नै निकाल्नुभयो । भारतीय काउन्सेलरलाइ ज्ञापन दिनुभयो । यतिको होहल्ला गरेपछि भ्रमण त रद्द हुने नै भयो।” नन्दरामले प्रश्नको व्याख्या गरे ।
“अलि बढी नै गरेछौं भनेर अहिले हामीलाइ पनि लागिरहेको छ । हामीले ठूलै कोकोहोलो मच्चाएछौं । वाधाविरोधको यत्रो तैयारी गरेपछि भ्रमण रद्द हुनु स्वाभाविकै थियो । तर नन्दरामजी, एउटा कुरामा तपाईंहरु पनि प्रष्ट हुनुहोस्, शुरुमा हामीले भ्रमण रद्द गराउने मनशाय राखेका थिएनौं ।” “एनेकपा माओवादी मोदीको जनकपुर भ्रमण होस् भन्ने पक्षमा थियोभने यत्रो बखेडा किन खडा गर्नुभयो त ? के मोदीको भ्रमणले जनकपुरबासीलाइ नोक्सानै नोक्सान हुन्थ्यो ?”
“जनकपुरलाइ केही नोक्सान हुने थिएन, बरु फाइदैफाइदा हुन्थ्यो । सबैभन्दा ठूलो लाभ त जनकपुरको बिषयमा विश्वमै चर्चा हुन्थ्यो । जनकपुरतर्फ धेरैको ध्यान केन्द्रित हुन्थ्यो । यस्ले चीरकालसम्म जनकपुरलाइ फाइदा पुर्याउँथ्यो । जनकपुरको विकासको लागि मोदीले ठूलै धनराशी प्रदान गर्नेभएका थिए । जनकपुरको मुहार नै फेरिन्थ्यो । ठूलो लाभको कुरा पो थियो त ?” रामचन्द्रजीले यथार्थ नै राखे ।
“जब यत्रो लाभ हुनेवाला थियोभने किन अडङ्गा खडा गर्नुभयो त ?” “कुरोको चुरो नै यहींनिर छ। जनकपुरको विकास हुन्थ्यो । जनकपुरबासीले लाभैलाभ पाउँथे । यहाँसम्म त ठीकै छ। तर, यस्को जस कस्ले पाउँथे ? यस्को जस त सोझै कांग्रेस र एमालेले पाउँथे । एनेकपा माओवादी र माओवादीको पछि लागेका २२ दलको खातामा त श्रेयको एक अंशपनि नजानेभयो । समस्याको चुरो नै यही हो । कांग्रेस र एमालेले अलि उदार भएर यो जसको हिस्सा माओवादीको खातामा पनि जाओस् भनेर विवेकविचार पुर्याइदिएकोभए यो नौबत आउनेथिएन ।” पार्टीलाइ खट्केको गुनासो यहाँ पोखे ।
“एनेकपा माओवादी र उस्को पछि लागेका २२ दलको खातामा पनि जसको हिस्सा पुगोस् भन्नाको खातीर, तपाईंको विचारमा, कांग्रेस-एमालेले के गर्नुपर्थ्यो ?” नन्दरामले नरमसँग सोधे । “मन्दिरबाहिर जनसभाको तैयारी भैसकेको थियो, तापनि हामीले भनेपछि खुरुक्क त्यताको कर्यक्रम रद्द गर्न लगाएर हामीले तोकेको ठाउँमा हामीले भनेमुताविक कार्यक्रम गर्नुपर्थ्यो । त्यो योजना भङ्ग गरेर यता आइदिएकोभए र हाम्रो आयोजनामा उनीहरु मिसिईदिएकाभए यो जसको हिस्सा हाम्रो भागमा पनि पर्नेथियो ।”
“उनीहरुले उताको आमसभालाइ बन्द गरेर तपाईंहरुले तोकेको ठाउँमा, तपाईंहरुले आयोजना गरेको कार्यक्रममा मिसिन आउँदैमा तपाईंहरुले जसको हिस्सा कसरी पाउनुहुन्थ्यो ?” नन्दरामले खोतले ।
“सम्पूर्ण तैयारी हाम्रो हुन्थ्यो । कार्यक्रमको सेटीङ हामी मिलाउँथ्यौं । कस्लाइ अगाडी सार्ने, कस्लाइ किनारा लगाउने, सभापति को हुने, कस्ले कति बोल्ने ? यो सबै सेटीङ हाम्रो हातमा हुन्थ्यो। फ्रण्टमा हामी हुन्थ्यौं । यत्रो ठूलो मासले हामीलाइ देख्थ्यो । मोदीको भ्रमणसँगै जनकपुरले पाउने लाभ दीर्घकालीन हुन्थ्यो । त्यो दीर्घकालीन लाभको प्रभावमा हामीपनि कहीं-न-कहीं भैरहने थियौं ।” रामचन्द्र झाले खोतलखातलै पारे ।
“तपाईंहरुकै बाधा, विरोध र अडङ्गाको कारणले मोदीभ्रमण रद्द हुन पुग्यो । यतिसम्म त तपाईंले स्वीकार्नुभयो । यहाँसम्म त ठीकै छ । फेरि, भ्रमण कार्यक्रम रद्द भएको विरोधमा बन्द, नाराजुलुस निकाल्दैहुनुहुन्छ ! योचाहीं अलि वुझ्नसकिएन ?” नन्दरामले कौतुहल राखे।
“यो त झन् आवश्यक पर्नगयो । मिथिलाञ्चलमा मात्र हैन, नेपाल राष्ट्र र भारतमा समेत् एउटा सन्देश जवर्जस्त प्रवाह भयो । एनेकपा माओवादीले वाधाविरोध गरेको र अनेक अडङ्गा लगाएको कारणले मोदीको जनकपुर भ्रमण रद्द हुनपुग्यो भनेर दुनिञाले वुझे । यस्ले त हाम्रो इमेज झन् ध्वस्तै बनाउनेभयो । तुरुन्तै उपचार नगरे हाम्रो बचेखुचेको साखपनि सकिनेभयो भनेरमोदी भ्रमण रद्द भएको विरोधमा बन्द, नाराजुलुस गरेका ह्वौं ।” रामचन्द्र झाले कारण बताए ।
“नाराजुलुसले नपुगेर बन्द नै किन गर्नुपर् यो त ?” “यस्मा दुइटा कारण पर्यो । एउटा कारण त केभने यति गरेपछि बल्ल मेडियाले स्थान दिन्छन् । मेडियाले प्रचारप्रसार गरिदिएपछि जनताले थाहा पाउनेभए ।
माओवादीको अडङ्गा र बाधाविरोधको कारणले मोदीभ्रमण रद्द भएको होइन कि भन्ने भ्रम पार्न सकिनेभयो। अर्को कारण केभने हाम्रो गौरवशाली, महान पार्टीले गर्न जानेको पनि त यत्ति न हो।” रामचन्द्र झाले आज पार्टीको अन्तरिक रहस्य नै खोले ।
रामचन्द्र झाजीले अन्तर्मन देखी नै पार्टीका भित्री रहस्यसमेत खोलखाल पारेर राखिदिएपछि नन्दरामले यस प्रकरणमा वुझ्न अब केही वाँकि देखेन । धन्यवाद टक्र्यायो, र बिदाबादी भएर हिंड्यो ।




