किन उदाय बिप्लव ?
- दिनेश आचार्य
नेकपा माओवादीको पालुङटार भेलाले के कार्यदिशा तय गरेको थियो ? शान्ति र जनसंविधान निर्माणमा अवरोध भए विद्रोहमा उत्रने । पहिलो संविधान के भयो ? किन भंग भयो ? मुख्य दोषी माओवादीनै थियो । पहिचान सहितको जनसंविधान बनाउने बहुमत रहँदारहँदैपनि प्रचन्ड र बाबुराम भट्टराई मिलेर पार्टीमा निर्णय समेत नगराई संविधान सभा भंग गराए । तर पार्टीको पालुङटार ब्रिहद भेलाले पारिद गरेबिरुद्द नेकपा माओवादी संसदिय धारमा र्याल चुहाउँदै बस्यो । उबाट जनताका पक्षमा बिद्रोह नहुने भयो । दोस्रो संविधान सभामा जाने निर्णय गर्यो । वर्ग सङ्घर्षबाट उ चुक्यो । उ संसदिय पार्टी बन्नैमा रमायो, एमाले र नेपाली कांग्रेस जस्तो ।
हो, वर्गसंघर्षको लाईन समातेर क्रान्ति गर्नका लागि न हिजो नेकपा माओवादी फुटेको थियो । जनवादी क्रान्ति गर्नकालागी न हिजो नेकपा माओवादी फुटेर क्रान्तिकारी नेकपा-माओवादी बनेको थियो । क्रान्तिकारी पार्टी निर्माणका लागि न उ फुटेको थियो । सशस्त्र क्रान्ति गर्ने भन्दै न उ फुटेको थियो । संसदिय रछ्यानबाट बाहिर निस्किएर क्रान्ति गर्नकोलागी न उ नेकपा माओवादीलाई तथानाम गाली गर्दै बाहिर निस्किएको थियो । हिजो एकिक्रित नेकपा माओवादीबाट अलग्गिएर नेकपा-माओवादीमा समाहित हुनेहरू को थिए ? वर्ग संघर्षका पक्षधर । क्रन्तिकारीहरू । शसस्त्र संघर्ष पक्षधरहरू । बिशाल मन र आँटिला मुटु भएकाहरू । हिजो दश वर्षे जनयुद्दले कमाएका उपलब्धीहरुलाई संस्थागत गरेर अगाडी बढ्नुपर्छ भन्नेहरू ।
तर एकिक्रित नेकपा माओवादीबाट अलग भएपछि नेकपा-माओवादीको हालत के भयो ? उही बोलि, नाम र दस्तावेजमा नेकपा-माओवादी । नारामा अलग क्रान्तिकारी । तर सारमा उही पुरानै माओवादी । एकिक्रित नेकपा माओवादीभन्दा केही अलगअलग काम गरेर देखाउन सक्यो ? सकेन । उसले अलग पहिचान देखाउन सक्यो ? क्रान्तिकारी काम र संघर्षशिल पहिचान ? उही नारामा क्रन्तिकारी । तर काम र ब्यवहारमा यथास्थितिबादी । मात्र एक अर्को नामको कम्युनिष्ट । एकिक्रित नेकपा माओवादीबाट अलग बनेपछि यो ड्यास माओवादी उही अलग पदकालागि मात्रै बनेको जस्तो भयो । पार्टी अस्तित्वकै लागि लर्खरिइराख्यो । संसदिय दलको आलोचना गर्ने । नेकपा माओवादीको उचाई ताछ्न खोज्ने । सबैलाई खराब र प्रतिक्रियाबादी देख्ने । तर आफू केही नगर्ने, यथास्थितिवादी कम्युनिष्ट ।
यस्तो अवस्थामा के कोहि जाग्नु, उठ्नु, नेत्रित्व दिन तयार हुनु पर्दैन ? देश यस्तो राष्ट्रिय समस्याले घेरिएको छ । जनता आकुल छन् । बिदेशि हस्तक्षेप तिब्र छ । यस्तो बेला क्रान्ति गर्ने भनेर अलग्गिएको पार्टी अस्तित्वकै लागि छट्पटिएर के नेपालमा जनवादी क्रान्ति गर्न सक्छ ? पार्टीमा अस्तित्वकै लागि मरिमेटेर बिताउने हो भने किन फुटेको नेकपा माओवादी ? नेपाली जनताको काम अलग् नाममा नेपालका कम्युनिष्ट नामधारी नेता पाल्ने मात्रै हो ? कम्युनिष्ट नेता र पार्टीका नाममा आशावादी मात्रै बन्ने, अलमलिने, नेता पाल्ने, ठगिने, धोका खाने मात्रै हो ? किन एकिक्रित नेकपा माओवादीका नेताहरुलाई संसदिय र्यालमा मरेको भन्दै गाली गरेर अलग्गिएको नेकपा-माओवादीका नेता ? जनतालाई हामी जनवादी क्रान्तिको कार्यदिशामा हिँड्छौं भनेर किन ढाँटेको ?
हिजो सशस्त्र क्रान्ति गर्ने, जनवादी क्रान्तिकोलागी तयारि गर्ने भन्दै अलग् पार्टी निर्माण गर्ने नेकपा-माओवादीका नेताहरू आज बिप्लवले जनवादी क्रान्तिको झण्डा उचाल्दा आलोचना गरिरहेका छन् । आज जनवादी क्रान्ति गर्ने साहस बोकेर निस्किँदा केटौले निर्णय भनेर आलोचना गरिरहेका छन् । यी जनवादी क्रान्तिका दुस्मन् हुन् । जनताको जनवादी क्रान्तिका यी पर्खाल हुन् । यी पर्खालहरूलाई भत्काउनु पर्छ । यी जनवादी क्रान्तिको नारा मात्रै बोकेर बस्ने यथास्थितिवादी हुन् । यी आफूपनि केही गर्दैनन र अरुलाइपनी केही गर्न दिँदैनन । हिजो जनवादी क्रान्ति गर्ने नाममा पार्टी फुटाएर नेकपा-माओवादी निर्माण गर्नेहरूले जनवादी क्रान्तिको झण्डा उठाउनेलाई आलोचना र बिरोध गर्न मिल्छ ? क्रान्ति गर्ने नाममा अलग पार्टी निर्माण गर्नेको नैतिकता हुन्छ ? जनवादी क्रान्ति गर्नु थिएन, वर्षौं कुर्नु थियो भने किन फोडे यिनले एकिक्रित नेकपा माओवादी ?
बिप्लवले नेकपा-माओवादी फोरेर नेकपा माओवादी बनाउनुको औचित्य सावित गरेका छन् । उनले पार्टी फोर्दा के कसम खाएका थिए, जुन लाईन लिएका थिए त्यसलाई लागू गरेका छन्, ब्यवहारमा उतारेका छन् । जनतालाई दिएको आश्वासन पूरा गर्ने हिम्मत् गरेका छन् । बिप्लव कति सफल होलान् नहोलान आफ्नो ठाउँमा छ । भविष्यले बताउला । तर जनवादी क्रान्ति गर्ने भनेर नेकपा-माओवादी बनाएर बिप्लवको आलोचना गर्नेहरू जनवादी क्रान्तिका दुस्मन् जस्तै हुन् । तिनको नैतिकतापनि रहन्न त्यसरी आलोचना गर्न ।
(आचार्य रेडियो पत्रकार हुन् )




