पहिचान र संघियताबारे बेल्जियमबाट केहि सिक्ने की ?
- सोमना थनेत थारु / बेल्जियम
रोजिरोटीको खोजी वा अन्य बिभिन्न कारणले होस्, नेपालीहरु संसारका बिभिन्न मुलुकमा स्थाई र अस्थायी रुपमा बसोबास गरिरहेका छौ । बेल्जियममापनि थुप्रै नेपालीहरु छौ । त्यसको एक सदस्य मपनि हुँ । यहाँ बसेपनि नेपालको राजनीतिक, सामाजिक र अन्य बिषयमा नजिकवाट हेरिरहेका छन यहाँका नेपालीहरुले । पछिल्लो समयमा खासगरी देशमा गणतन्त्रको स्थापनासँगै संबिधान सभाको निर्वाचन बारे यहाँका नेपालीहरुले नेपालको राजनीतिक अवस्थाबारे अझ बढी चासो राख्नु स्वभाविक नै हो । नेपालको नयाँ संबिधान लेखनको प्रकृया र देशमा संघियता र पहिचानको मुद्दामा अहिले देश विदेशमा निकै ठुलो बहशको बिषय बनिरहेको स्थितीमा त्यो चासो अझ बढेको छ ।
हामी नेपालीहरु बेल्जियम जस्तो संघिय मुलुकमा नयाँ घरजम गरेर बसिरहेका छौ । यहाँको संघिय ढाँचा के कस्तो छ ? भाषा, क्षेत्र, भौगोलिक पहिचानको आधारमा संघिय ढाँचा भएको यो मुलुकका जनताले के, कस्तो प्रजातान्त्रिक तथा स्वायत्त अधिकार प्राप्त गरेका छन । यसबाट हामी नेपालीले के शिक्षा लिन सक्छौं हाम्रो देशकालागी ? यसको बारेमा यहाँ छोटो जानकारी दिने प्रयास गरिएको छ । बेल्जियममा बसोवास गर्नु हुने अथवा बेल्जियमको संघियताको बनावटबारे अझ अरु ज्ञान हुने मित्रहरुले सुझाव दिन अनुरोध पनि गर्दछु ।
बेल्जियम युरोपको उत्तर पश्चिममा अवस्थित एउटा सानो मुलुक हो । यो मुलुक भौगोलिक हिसाबले नेपाल भन्दा लगभग पाँच गुणा सानो छ । यसको क्षेत्रफल ३०,५२८ वर्ग किमी मात्रै छ । यहाँको जनसंख्या ११०,०५५४ छ । यहाँ फ्रेन्च, डच (नेदरल्याण्डस) र जर्मन भाषा बोलिन्छन । डच भाषी र फ्रेन्च भाषीहरुको तुलनामा जर्मन भाषीहरु नगन्य छन । यो देशको पुर्वमा जर्मनी, पश्चिममा उत्तरी महासागर, उतरमा नेदरल्याण्ड, दक्षिणमा फ्रान्स र पुर्व दक्षिणको कुनामा लग्जेम्वर्ग पर्दछ । बेल्जियमा युरोपियन युनियनको संस्थापक राष्ट्र पनि हो । राजधानी ब्रसेल्स हो । यहाँ नाटोको मुख्य कार्यालय, युरोपियन युनियनको मुख्य कार्यालय लगायत अन्य विभिन्न अन्तरराष्ट्रिय स्तरका प्रमुख कार्यालयहरु छन ।
विगतमा यो देशलाई कहिले कुन देशले आफ्नो नियन्त्रण लिएको थियो भने कहिले कुन देशले । अर्काको अधिनमा गुज्रिनु पर्दा यहाँका जनताले निकै दु:ख सास्ती भोग्नु पर्यो । उनीहरुले ति शासकहरुबाट निकै उत्पीडन भोग्नु पर्यो । ति उत्पीडन, दुख कष्टबाट मुक्ति पाउन एउटै बाटो र निकास थियो, बिद्रोह । बिद्रोहबाट स्वतन्त्र भएर आत्म सम्मानकासाथ बाँच्ने । सन १८३० मा बेल्जियमका न्यायप्रेमी जनताले विद्रोहले गरे । यही विद्रोहले देश नेदरल्याण्डको अधिनबाट मुक्त भयो । विद्रोहको लगतै भएको राष्ट्रिय सम्मेलनले बेल्जियमलाई औपचारिक रुपमा एक स्वतन्त्र राष्ट्र घोषणा गर्यो । त्यही सम्मेलनले बेल्जियमलाई एउटा अधिराज्य घोषणा गर्यो । प्रथम राष्ट्रिय सम्मेलनले लेओपोल्ड प्रथमलाई यहाँको पहिलो राजा घोषणा गर्यो । उनको पुरा नाम लेओपोल्ड जोरिस क्रिस्चियन फ्रेदेरिक भन् साकेन कोबुर्ग गोथा (Leopold Joris Christiaan Frederik van Saksen-Coburg Gotha थियो । बेल्जियम स्वतन्त्र भएको दिन २१ जुलाईलाई यहाँ स्वतन्त्रताको दिनको रुपमा मनाइने गरिन्छ । यो दिन यहाँ सार्वजनिक विदा हुने गर्दछ ।
एकात्मक राज्य
स्वतन्त्रता पछि बेल्जियम एकात्मक राज्यको रुपमा स्थापित भयो । स्वतन्त्रता पछि यहाँको फ्रेन्च भाषीको बाहुल्य रहेको क्षेत्रमा व्यापक रुपमा औध्योगीकरण भयो । औध्योगिक क्रान्ति नै भयो । उध्योग कलकारखानाहरुको स्थापना भारी रुपमा भयो । ठूल्ठूला उद्योग धन्दा जस्तै स्टिल कारखाना, फलाम कारखाना, कोइलाखानीहरु वालोनियामा स्थापित भए । ठूल्ठूला कलकारखाना, उध्योगधन्दाका मालिक (फ्रेन्चभाषी ) वालोनहरु नै भए । राज्यका हर्ताकर्ता पनि वालोनहरु भए । यसले गर्दा त्यहाँका जनताको जीवन स्तर समुन्नत भयो । देशमा फ्रेन्च भाषीहरुको हालीमुहाली भयो । राज्यमा फ्रेन्च भाषा सबैले सिक्नु र जान्नु अनिवार्यता भयो । विद्यालयहरु मा फ्रेन्च भाषा अनिवार्य भयो । राज्यको प्रमुख निकायमा कुनै जिम्मेवारी ग्रहण गर्न फ्रेन्च भाषा जान्नै पर्ने स्थिती थियो । यस कारणले फ्रेन्च भाषीहरु वा वालोन समुदायको राज्यको हरेक निकायमा हालिमुहाली थियो । यहाँ धेरै समय सम्म वालोनहरुको हैकम चल्यो । त्यति बेला डच भाषी जनताहरु प्राय खेती किसानी गर्दथे । यिनिहरुलाई वालोनियाका फ्रेन्च भाषीहरुले हेयको दृष्टिले व्यवहार गर्दथे । तिनिहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन्थ्यो ।
भाषिक अधिकारको संघर्ष
यसरी आफूमाथि भएको उत्पीडन र अन्यायको विरुद्ध डच भाषीहरुले आवाज उठाए । राज्यमा आफ्नो पनि समान प्रतिनिधित्वको माग गरे । डच भाषीहरुले समान हक र अधिकारका कुरा उठाए । अन्याय र थिचोमिचोको कुरा उठाए । स्वायत्त शासनको कुरा उठाए । यो कुराले डचभाषी र फ्रेन्चभाषी समुदायविच द्वन्दको सुरुवात भयो । देशमा संकट र द्वन्द हुने खतराका लक्षणहरु देखा पर्न थाले । यो द्वन्दले भर्खरै स्वतत्न्त्र भएको देश फेरी विभाजनको संघारमा पुग्यो । देशलाई विभाजन हुनबाट बचाउन बेल्जियमले यहाँको जातिय तथा भाषिक समुदायलाई सम्बोधन गर्ने बिषयलाई बहशमा ल्यायो । बेल्जियम एउटा सानो मुलुक भएको र यहाँ भाषिक र क्षेत्रिय विविधता छ । यस्तो अवस्थामा पनि सबैका मुद्दालाई सम्बोधन गर्नु पक्कै सजिलो बिषय होइन । तै पनि यहाँ सबै जाति ,भाषालाई हक र स्वायत्त अधिकार प्रदान गरिएको छ । वास्तवमा यहाँको संघिय संरचना अत्यन्तै जटिल र मौलिक प्रकारको छ । यस कारणले कसै कसैले यसलाई आवश्यकताले जन्माएको संघियता पनि भन्ने गर्छन् । साथै यहाँका कतिपय नेताहरुले बेल्जियममा अझै संघियता नभएको समेत भन्ने गर्दछन । र प्रादेशिक संघहरुमा अझै बढी अधिकारको माग उठान गरिरहेका छन ।
संघियता पछिको स्थिती
सन् १९७० र १९९३ को विचमा भाषिक अधिकार ,सामुदायिक अधिकार र क्षेत्रिय अधिकारको सवालले गहन रुप लिदै गयो । अधिकारहरु थपिदै र विकसित हुँदै गए । अन्तत सन १९९३ मा बेल्जियम भाषा, समुदाय र क्षेत्रको आधारमा एक संघिय राज्य बन्यो । संघियताको ढाँचा बनाउँदा उनीहरुले केन्द्रमा मुख्य र साझा शासन तथा प्रदेशहरुमा स्वशासनको निती बनाए । सबै भाषी, समुदाय र क्षेत्रलाई विषेश अधिकार सुनिश्चित गरियो । सबै भाषा ,समुदाय र क्षेत्रबाट सोझै माथिल्लो संसदमा प्रतिनिधित्व हुन्छ । अहिले स्थितीमा परिवर्तन आएको छ । अहिले फ्रेन्च भाषा पढनै पर्ने अनिवार्यताको अन्त भएको छ । बरु राज्यको प्रमुखले पनि डच भाषा बोल्नु पर्ने स्थिती सृजना भएको छ । अहिले कोही कसैबाट उपेक्षित र उत्पीडित हुनु परेको छैन । सबैले आआफ्नै भाषामा पढन, लेख्न पाएका छन । संबिधानको धारा ३० ले देश भित्रका सम्पूर्ण भाषाहरुलाई राष्ट्रिय मान्यता प्रदान गरेको छ । सबैले आ आफ्नो भाषा स्वतन्त्र रुपले प्रयोग गर्न पाउने अधिकार दिएको छ । महिलाहरुले समान अधिकार प्राप्त गरेका छन । पैतृक सम्पत्तिमा महिलाहरुकोपनि समान अधिकार कायम भएको छ ।
आर्थिक स्थितीमा चौगुना सुधार
उध्योगहरूको बिकास र देशको राजनीतिमा प्रमुख वर्चश्व राख्न सफल वालोन क्षेत्रको आर्थिक अवस्था मजबुत थियो । यता डच भाषी क्षेत्रको आर्थिक स्थिती कमजोर थियो । यस कारण वालोन क्षेत्रवाट वर्षेनी ठुलो बजेट डच भाषी क्षेत्र भलान्डरनमा जान्थ्यो । पछिल्लो चरणमा अझ भनौ संघियतामा प्रवेश गरी सके पछि भलान्डरनले स्वायत्त शासनको अधिकार उपयोग गर्न पायो । यसबाट आर्थिक क्षेत्रमा ठुलो फडको मार्न सफल भयो । अहिले स्थिती लगभग उल्टिएको छ । पहिले वालोन क्षेत्रबाट भलान्डरनमा बजेट आउथ्यो भने अहिले भलान्डरनबाट वालोनमा बजेट जान्छ । समग्रमा भन्नु पर्दा स्वायत्त शासनको सहि प्रयोगले जनताको जीवन स्तर सजिलै बढाउन सकिने उदाहरण यहाँ देख्न सकिन्छ । पहिचान सहितको संघियताले राज्य शक्तिको सहि बाँडफाँड हुने र आर्थिक बिकासका ढोकाहरु खुल्ने उदाहरण यहाँ देखियो
राजधानी ब्रसेल्स
यो देश नेपाल भन्दा लगभग पाँच गुणा सानो छ । यहाँ पनि भाषीक विविधता भएको कुरा माथि नै भनी सकिएको छ । एक छिन राजधानी ब्रसेल्सको कुरा गरौ । देशको तथा युरोपियन युनियनकै राजधानी ब्रसेल्समा दुबै भाषी (फ्रेन्च र डच) को बसोवास रहेको छ । यसलाई समायोजन गर्न यहाँ दोभाषिक निती अपनाइएको छ । यहाँको सार्वजनिक सेवामा खटिने सबैले दुबै भाषा जान्नु पर्ने अनिवार्य गरिएको छ । बाटोघाटो, सरकारी कार्यालयका नाम आदि दुबै भाषामा उल्लेख गरिएका छन । यसले दुबै भाषालाई समान मान्यता दिइएको छ । साधारण जनताले दुबै भाषा जान्नैपर्ने बाध्यता भने छैन । तर आधुनिक जमानामा जति धेरै भाषामा दक्ष भयो उति नै अवसरको मात्रा बढी हुने भएकोले सके सम्म धेरैले अरुको भाषा पनि सिक्दछन र बोल्दछन् ।




