पद्मरत्नको अभियानमा मेरो समर्थन् नभएको किन ?

  • राजकुमार लेखी

Raj-kumar-lekhiपदमरत्न तुलाधरजीको नेतृत्वमा समिति बनेर आदिवासी जनजाति आन्दोलन गरिने सुन्दा आश्चर्य लागेको छ। उहाँहरुको अभियानमा म राजकुमार लेखीको समर्थन किन छैन, किन उहाँहरुको जमातमा म देखा पर्दिन भनेर आउने प्रश्नहरुबाट झनै आश्चर्य लाग्ने गरेको छ।

म स्पष्ट शब्दमा भन्न चाहन्छु, उहाँहरुको आन्दोलनमा मेरो समर्थन असम्भव छ। यसको कारण उल्लेख गर्न चाहन्छु :

१) तराई भड्खालामा गए पनि जाओस्, जेसुकै होस् तर पहाडमा हामीले भनेजस्तो प्रदेश बन्नुपर्छ, त्यसका लागि थारु सहितका तराईका आदिवासी जनजातिले समर्थन गर्नैपर्छ भन्ने मानसिकता त्याग्नु आवश्यक छ। तराईका आदिवासी जनजातिको पक्षमा प्रदेश बन्नुपर्छ भनेर फिटिक्कै आवाज नउठाउने, समानजस्तै जनसंख्या भएको पहाडमा भन्दा तराईमा थोरै प्रदेश बन्नुपर्छ भन्ने तपाईहरुको धारणाको उद्देश्य के हो ? पहाडमा भन्दा तराईमा थोरै प्रदेश हुनुपर्छ भन्ने तपाईहरुको धारणासँग सहमत हुन सकिँदैन। पहाडमा जति प्रदेश बनाए पनि अर्थतन्त्रले थेग्ने तर तराईमा बहुप्रदेश बनाउँदा देशको अर्थतन्त्रले थेग्दैन भन्नुको उद्देश्य के हो ?

२) आदिवासी जनजाति आन्दोलन नै नेपालको मूलधारको आन्दोलन हो र यो नै लोकतान्त्रिक आन्दोलन हो भन्नेमा म दृढ छु। आदिवासी जनजाति आन्दोलनले समग्र नेपाल बोक्नुपर्छ र बोल्नुपर्छ भन्ने मेरो धारणा रहँदै आएको छ। आदिवासी जनजाति आन्दोलनले यो समुदायको मात्र माग मुद्दा बोक्छ भन्ने मान्यता संकुचित हो । एक्काइसौं सदीको नेपाल आदिवासी जनजातिको हो भन्ने मान्यतासाथ नेपाल बोक्ने माग मुद्दा आजको आवश्यकता हो ।

३) पहाडका आदिवासी जनजातिको मात्र मुद्दा बोक्ने आन्दोलनमा मेरो कुनै समर्थन हुन सक्दैन। म हिमाल पहाड र तराई बोक्ने, समग्र नेपालको हित गर्ने आदिवासी जनजाति आन्दोलनको पक्षमा रहँदै आएको छु र रहने छु। पहाडका आदिवासीका मात्र माग मुद्दा उठाएर त्यसमा थारु लगायत तराईका समुदायको समर्थन खोज्ने काम आदरणीय पदमरत्न तुलाधरजीले कसरी गर्नुभयो ? म आश्चर्यमा परिरहेको छु ।

४) आदिवासी जनजाति आन्दोलन फुट्ने होइन जुट्ने अभियानमा लाग्नुपर्छ । नेपाल आदिवासी जनजाति महासंघ साझा र छाता संगठन हो र यसको सहभागिता नभएको मोर्चा बनाएर आन्दोलन गर्नु ठिक हुँदैन । पहाडका आदिवासी जनजातिको मात्र हित हेरेर माग र मुद्दा उठाउनु राष्टिय हितका दृष्टिले ठिक हुँदैन ।

५) उहाँहरु एकल जातीय राज्य या प्रदेशका लागि आन्दोलन भन्नुहुन्छ तर नेपाल एकल जातीय राज्यको रुपमा रहँदै आएको हुनाले आदिवासी जनजाति आन्दोलन, अन्य किसिमका लोकतान्त्रिक आन्दोलन थारु आन्दोलन, दलित आन्दोलन लगायत विभिन्न आन्दोलन भएका हुन् । एकल जातीय राज्य विरुद्ध आन्दोलन गर्दै आएका हामीले एकल जातीय प्रदेशको समर्थन कसरी गर्न सक्छौं ? नेपालका आदिवासी जनजातिको माग भनेको समावेसी संघीय राज्य हो ।

६) तपाईहरुले जे निर्णय गर्नुहुन्छ, जे माग मुद्दा उठाउनु हुन्छ तराईका हामी आदिवासी जनजातिले त्यसलाई समर्थन गर्नुपर्छ भन्ने छैन । साझा माग र मुद्दामा जानुपर्छ कि पर्दैन ? तराईका आदिवासी जनजातिलाई पहाडी समुदायका मुठीभर दसबीस जना आदिवासी जनजाति नेताहरुले कमैया सरह ठान्ने गरेका छन् । तराईका आदिवासी जनजातिलाई चौथो पाँचौं दर्जाको नागरिक ठान्ने सामन्ती मान्यताबाट माथि उठिदिन सबैमा विनम्र आग्रह छ ।

(लेखीले सामाजिक सञ्जालमा ब्यक्त गरेका बिचार)

तपाइँको प्रतिक्रिया