श्रीलंकामा मान्छे मारिँदा पेरिसका पसल बन्द !

krishna-gopal-paris_020

 

अस्ति मंगलबार कान्तिपुर दैनिकका पत्रकार गोपाल खनाल र नयाँ पत्रिका दैनिकका सम्पादक क्रिष्ण ज्वाला देवकोटा पेरिस आए । बेल्जियमबाट पेरिसको रेल स्टेशनमामा ओर्लेका उनीहरुलाई लिन गएको थिएँ म । भेटघाट र सामान्य औपचारिकतापछि उनीहरुलाई घुमाउन लैजानकै ध्याउन्न भयो । एक रात भन्दा फूर्सद छैन, भोली उडान छ भन्छन् । अनि पेरिसपनि घुम्नु पर्ने रे । कहाँ लैजाने ? दुबैका हातमा एक एक वटा सुटकेश थिए । त्यो सुटकेश लिएर लतार्दै कहाँ कहाँ दौडाउने ? घरमै पुर्‍याएर आउँदा झन समय जाने भयो । कतै श्रीलंकन वा  भारतिय रेस्टुरेन्ट वा पसलमा राख्न पाए छुट्किलो भएर घुम्न पाइन्थ्यो भन्ने लाग्यो। लतार्ने कि के गर्ने त साथीहरु भनेको, ‘हैन पाएसम्म त कतै राखौं’ भने ।

 

पेरिसको गार् दु न (gare du Nord) भन्ने स्टेशन बाहिर सबै श्रीलंकाली र भारतिय पसल र भोजनलय छन् । यसो हिन्दी पाटङपुटुङ बोलेपछि त नाथे एक दिनलाई सुटकेश राख्न दिहाल्छन् नी भन्ने लाग्यो । बाहिर निस्कियौं । सुटकेश लतारेर हेर्दै हिँडियो । सयौं पसल र रेस्टुरेन्ट सब बन्द छन् । मंगलबार पसल र रेस्टुरेन्ट बन्द रहने दिनपनि होइन । अचम्मै लाग्यो । हेर्दै हिँडियो । निकै कट्दापनि उहि पारा । अनि आफैंले चिनेका केहि पसल हेर्दा त त्यहाँ कालो झण्डा झुण्ड्याइएको रहेछ । हेर्दा हेर्दा त निकै पसलमा रहेछ ।

 

भएको के रहेछ भने अघिल्लो दिन अर्थात सोमबार श्रीलंकाली सरकारी सेनाले एक हजार ८ सय तमिल बिद्रोहीहरुलाई एकै ठाउँमा मारेछ । त्यहि हत्या बिरुद्द तमिलहरुले एक दिन सारा पसलमा कालो झण्डा टाँगेर बिरोध जनाएका रहेछन्। उनीहरुले फ्रान्सेली भाषामा लेखेर राखेको पर्चा पढेर मैले क्रिष्ण ज्वालालाई यस्तो भाको रैछ भने । अनि उनले ‘ए श्रीलंकामा तमिल मारिए भनेर यहाँ पो पसल बन्द गरेछन्?’ भने अलि अनौठो झैं मानेर । मलाई हामी आफैंले पारश शाहलाई कालो झण्डा देखाएको याद आयो उनी पेरिस आएका बेला । ‘हामीलेपनि त पारस शाह यहाँ आउँदा कालो झण्डा देखायौं, प्रदर्शनी गर्‍यौं नी’ भनेको त उनले गज्जबको जवाफ दिए ‘बिरोध गर्‍यौं तर पसलै त बन्द गरेनौं नी होइन’ ?

 

यस्तरि पसल झ्याप्पै बन्द गर्ने निकै रहेछन् कि के हो तमिलहरु भनेर यसो खोज खाज गरेको त आफैंलाइ अचम्म्म लाग्यो । फ्रान्समा मात्रै ७० हजार तमिलहरु रहेछन् । तिनले श्रीलंकाको तमिल बिद्रोहलाई सञ्चालन गर्न दिनको एक जनाले एक यूरोका दरले उठाउने रहेछन् । फ्रान्सेली गुप्तचर संस्थाले केहि अघि के पत्ता लगाएको रहेछ भने यहाँका तमिलले केहि समय अघि मात्रै १० करोड यूरो स्विस बैंकमा लगेको रहेछ । यहाँको कानुनले समात्ला र उता श्रीलंकामा पनि आफन्तहरुलाई झन बढि दमन गर्ला भनेर तिनले गुपचुप उठाउने रहेछन् ।

 

बेलायत, अमेरिका र क्यानडामा भएको भए उनीहरुले यसरि तमिल बिद्रोहीका नाममा बन्द र हडताल गर्न पाउने थिएनन् । किनभने ति देशमा तमिलहरुलाई आतंककारीको सूचीमा राखिएको छ । तर यूरोपेली परिषदले भने नराखेकाले तमिल बिद्रोहीका नाममा गतिबिधी गर्छन् । तमिलहरुले त फ्रान्सबाट भूउपग्रह मार्फत रेडियोसमेत चलाएका रहेछन् । र श्रीलंकाली सरकारले त्यो बन्द गराउन आग्रह गरेको रहेछ फ्रान्सेली सरकारसँग ।

तपाइँको प्रतिक्रिया