तिहार र छठको शुभकामना
● आनन्दराम पौडेल
“माझीको सल्लाहले नौ गाउँ डुब्यो” भैरहेछ नेपालमा सम्बिधान । तीन दलका नेताहरुवीच स्वार्थ र अहंको टक्कर बढ्दै गैरहेछ र सम्बिधान असान्दर्भिक भएको छ । नेपालका पार्टीका नेताहरुमा दुइटा विशेषता प्रष्ट देखियो । १. आन्दोलन र क्रान्ति गर्न सफल, तर व्यवस्थापन गर्न असफल देखिए । २. विगतबाट पाठ सिक्न र अरुको अनुभव शेयर गर्न असमर्थ पाइए । विगतबाट पाठ सिक्थे र अरुको अनुभव शेयर गर्थेभने पञ्चायतप्रति जनतामा वितृष्णा किन बढेको थियो भनेर वुझ्थे, र आफूलाइ सुधार्थे । सबैलाइ थाहा छ, दरबारमा पहूँच बनाएकाहरुले सत्तामा मनपरी गर्न पाउने र उनीहरुको सातखत माफ हुने परिपाटी खपिनसक्नु भएर जनता आक्रोशित भएका थिए । २०४७ सालको परिवर्तनपछि वहुदलीय नेताहरुले त्यस्ता विकृतिबाट आफूलाइ मुक्त राख्न कोशीस गर्नुपर्थ्यो । तर, “झिकिदे गाँडभन्दा थपिदे गाँड” पो भयो ।
पार्टीका नेताहरुले आफन्त र गुटका कार्यकर्तालाइ ‘भक्कूको राँगो’ सरी फुक्काफाल छाडे । सिष्टम बस्न नदिने र सिष्टम बसेको रहेछ भने तोड्ने गर्थे । चौगुना भ्रष्टाचार र दशगुना पक्षपात बढ्यो । पार्टी र नेताका गलत कार्य र व्यवहारबाट जनता आजीत, दिक्क र आक्रोशित भैराखेको देखेरै २०५९\ ०६\ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ताको लगाम आफ्नो हातमा लिने आँट गरेका थिए । राष्ट्रको नेतृत्व हाँक्न र राज्यव्यवस्थामा सुशासन कायम गर्न यी पार्टीहरु असफल भएकाले ज्ञानेन्द्रले वहुदलविरुद्ध कदम चाल्दासमेत् जनता विरोधमा उत्रिएका थिएनन् ।
तर, ज्ञानेन्द्रले पनि जनभावना वुझ्ने चेष्टा गरेनन् । नेपाली नागरिकता च्यातेर राष्ट्र त्यागेका, धर्म-संस्कार परित्याग गरेका तुलसी गिरी जस्ता व्यक्तिहरु खोज्ने र त्यस्तै व्यक्तिलाइ मात्र काखिच्याप्न थालेकोले शुरुबाटै ज्ञानेन्द्रप्रति जनता सशङ्कित भए । दाज्युको सम्पति ट्रष्टमा राख्लान् र लोककल्याणकारी कार्यमा प्रयोग गर्लान् भनेर धेरैले अपेक्षा राखेका थिए । यहाँपनि जनअपेक्षाविपरीत कार्य हुनथाल्यो । दाज्युको परिवारको नाममा भएका सम्पति आफ्नो परिवारको नाममा सारे । राजपरिबारमा सदस्य संख्या घटिरहेको स्थितिमा राजपरिबारको लागि सरकारी बजेट ३ दोब्बर बढाए । न त माओवादी हिंसाबाट राष्ट्रलाइ त्राण दिने प्रयत्न गरे, न त जनताका समस्यालाइ सम्बोधन गर्ने चेष्टा गरे । राजकाजको ज्ञान नहुनु, सिक्ने प्रयास नगर्नु, योग्य र सही व्यक्तिको छनौट नगर्नु र अरुको सल्लाह र सुझाव ग्रहण नगर्नु जस्ता अक्षम्य भुलका कारणले गर्दा सत्ता टिकाउनै सकेनन् ।
२०६२-०६३ को जनआन्दोलनले पुनर्स्थापित गरिदिएका यी पार्टीका नेताहरुले चेतेका होलान् भनेर सबैले विश्वास गरेका थिए । २०६३ बैशाख ११ पछि बनेका सरकारहरुले अपराधीलाइ संरक्षण गर्न प्रतिस्पर्धा नै गरे । अपराधलाइ राजनीतिकरण र राजनीतिलाइ अपराधीकरण गर्न कस्सिएरै लागे । २०६२-६३ को आन्दोलन राजतन्त्रविरुद्ध थियो, समाजलाइ जात, सम्प्रदायमा विभाजित गरेर भिडाउनको लागि थिएन । स्थानीय निकायलाइ सक्षम, सुदृढ र अधिकारसम्पन्न बनाउने चाहना जनताको थियो, तर भैरहेको अधिकारसमेत् कटौति गर्न पो लागे ।
२०६४ सालमा नेपाली जनताले यी पार्टीलाइ सम्बिधान निर्माण गर्ने एकमात्र ‘होमटास्क’ दिएका थिए । सम्बिधान निर्माण गर्नेतर्फ केन्द्रित नभएर नेपाली समाजलाइ जात-जातमा विभाजित गरेर भिडाउने खेलमा पो लागे । समस्यालाइ सुल्झाउन हैन बल्झाउन थाले । तीललाइ पहाड बनाए । सरललाइ जटिल तुल्याए । एकथान सम्बिधान बनाउन जनताले २ बर्षको म्याण्डेट दिएका थिए । आफैंले आफैंलाइ ‘ग्रेस’ थप्दै (कृपाङ्क दिंदै) तन्काएर ४ बर्ष पुर् याए। मूलकर्म छाडेर तपसीलका खुद्रामै अल्झेर ४ बर्ष बिताए ।
अहिलेपनि यी पार्टीका नेताहरु राष्ट्र र जनतालाइ बिर्सेर सत्तामा नजर गढाइरहेछन्, र अनेकौं प्रपञ्च रचिरहेछन् । एकथरीचाहीं लोकतान्त्रिक विधि र प्रकृयाविरुद्ध खडा भएका छन् । लोकतान्त्रिक विधि र प्रकृयालाइ दुत्कारेका मात्र छैनन्, घृणा नै गरिरहेछन् । सम्बिधान निर्माणबाहेक अर्थोक गरिरहेछन् । जिम्मेवारीवोधसहित सम्वेदनशील हुनुपर्ने राजनीति यिनीहरुकै व्यवहारले गर्दा उद्दण्ड बन्दै गएको छ । जबसम्म यी नेताहरुले पार्टीगत र गुटगत स्वार्थलाइ थाँति राखेर राष्ट्र र जनतालाइ केन्द्रमा राख्दैनन्, तबसम्म यिनीहरुले सम्बिधान निर्माण गर्दैनन्। सम्बिधान निर्माण सम्पन्न नहुञ्जेल कुत्सित स्वार्थलाइ तिलाञ्जली दिउन्, सदबुद्धि पलाओस् भनेर तिहार र छठको यही शुभकामना प्रदान गर्दछौं ।




