ब्रसेल्स एयरपोर्टमा प्रधानमन्त्री : राष्ट्रिय झन्डा खोइ ?
- लक्ष्मण देवकोटा
(कांग्रेसको मात्रै झण्डा बोकेर प्रधानमन्त्रीलाई स्वागत गर्न पुगेका ठूलो मनका कांग्रेसीहरु)
प्रधानमन्त्री सुशील कोइरालालाई घिच्याएरै भएपनि कहिले फेसबुकमा फोटो टाँगे। स्वाभिमानी नेपालीले देशको प्रमुख राजनेतामाथि भएको अभद्र ब्यबहारको चर्को बिरोध पनि गरे । भर्खर क्यान्सरको उपचार गरेर तन्ग्रिँदै गरेका प्रधानमन्त्रीलाई उचित ब्यबहार भएन भन्ने सबैलाई जस्तै यो लेखकलाई पनि लागेको थियो । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँगको बार्तामा पाकिस्तानको मात्र झन्डा हुनु, प्रधानमन्त्रीकि सल्लाहकार मृदुला कोइराला कट्टु साइजको मिनी स्कर्टमा कुटनीतिक मर्यादा नाघेर उभिनु जस्ता कुराले देशको प्रतिबिम्ब धमिलिन सक्छ। यो प्रधानमन्त्री र देशको माया हुनेले भन्ने कुरा हो ।
युरोपेली संघका प्रमुख ब्यक्तिहरु सँग भेट्ने औपचारिक कार्यक्रम सहित देशका प्रधानमन्त्री कोइराला बेल्जियमको राजधानीमा हुनुहुन्छ। नेपालीहरुले मात्र हैन भर्खर गणतन्त्र संस्थागत गर्न संबिधान लेखनमा मथिंगल घुमिरहेको हिमाली राज्यप्रति चासो राख्ने यूरोपेली देशहरुले पनि प्रधानमन्त्रिका एजेन्डालाइ चाख पूर्बक हेरेका छन् । जनजाति गतिविधिमा बिशेष चासो र सहयोग दिएको आरोप लाग्ने युरोपेली संघका प्रमुखसँग हाम्रा प्रधानमन्त्रीको बार्तालाप के होला भन्ने चासो चेतनशील राजनीतिक नेपालीले राख्नै पर्छ । यो हाम्रो दायित्व पनि हो ।
तर संघका निम्ति तोकिएका नेपाली राजदूत राममणि पोख्रेलको अगुवाइमा प्रधानमन्त्रिको स्वागत गर्न गएको लावा लस्करको पारा हेर्दा छक्कै परियो ।
त्यहाँ कांग्रेसका नेता कार्यकर्ता सबै थिए । आफ्नो पार्टीको सभापति र देशको कार्यकारी प्रमुख आउँदा खुसीले स्वागत गर्नु कसैले नराम्रो भन्छ भने त्यो भन्ने पुर्बग्रहि हो । तर त्यो जमातले बुझ्नु पर्ने कुरो त् के हो भने, कोइराला पहिले आम नेपालीका प्रधानमन्त्री त्यसपछि पार्टीका सभापति हुनुहुन्छ ।
बेल्जियमका नेपालीहरु देशका हरेक घटनाक्रमसँग साक्षात हुने कुरामा अघि नै छन् । सबै दलका भात्री संगठन छन् । साहित्य, संस्कृति, जाति जनजातिका आफ्नै संस्थाहरु छन् । लोकतान्त्रिक प्रक्रियामा यो राम्रो र सुन्दर पक्ष हो । अझै जनयुद्ध चर्केको बेला नेपाललाई बेचिन लागेको हतियार बेच्न नदिएर लोकतन्त्र र जनतन्त्रको निम्ति बेल्जियमबासी प्रबासी नेपालीले ठूलो गून लगाएका छन् नेपाल आमाका निम्ति ।
त्यस्तो इतिहास भएको ठाउँमा प्रधानमन्त्रीको अगाडी एक खेप जात्रा देखाइयो । मैले पढेसम्म बेल्जियममा राजनीतिक गतिबिधि समायोजन गर्न एउटा सात दलीय संयन्त्र पनि गठन गरिएको छ । दोश्रो बिश्वयुद्धका क्रममा बीरगति प्राप्त गरेका नेपाल आमाका सन्तानहरुको सम्मानका निम्ति बलियो समिति पनि बनाइएको छ । नेपाली मुटु र समबेदना छुने इपर भएको देशमा जहाँ हाम्रा बिर नेपालीहरुको रगतको खोलो बगेको छ, त्यहाँ प्रधानमन्त्री जस्तो संस्था आउँदा खाली चारतारे झन्डा हल्लाइनु अनि चन्द्र सुर्य अंकित झण्डाको नामो निशान नदेखिनुलाई कसरि बुझ्ने ?
मलाई चारतारे झन्डा प्रति कुनै आग्रह पुर्बग्रह छैन । नेपालको इतिहासमा यसको आफ्नै पहिचान छ । नत त्यहाँ सहभागी स्वागत्कर्मीप्रति । फगत मैले त्यति धेरै नेपालीहरुको बसोबास रहेको बेल्जियममा चन्द्र सुर्य अंकित राष्ट्रिय झन्डा बोकेर सबै विचार आस्था भएका मित्रहरुको हार्दिकता मात्रै खोजेको थिएँ । के अरु विचारधारा प्रति आस्थावान मानिसहरुको जमघटले बिटुलिएलान पार्टी सभापति ?
भलै यूरोपेली मेडियामा नेपालका प्रधानमन्त्रीको आगमनले कुन स्थान पायो ? भोलि बिहान त्यसको जानकारी हुनेनै छ । त्यत्रा नेपालीहरुको बलिदानी भएको ठाउँमा स्वाभिमानयुक्त किल्ला, स्तम्भ बनाउन प्रधानमन्त्रीको ध्यान तान्नु पर्ने, युरोपका आम प्रबासी नेपालीको बास्तबिकता दर्साउनु पर्ने यो अवसरलाई केवल कांग्रेस पार्टीको मात्रै कार्यक्रम बनाउँदा सबै नेपालीलाई मर्का पर्न जान्छ ।
शक्ति र सत्तालाई सर्वस्व ठानेर अरुलाई प्रदर्शित गर्दा आफ्नो पनि वजन बढ्छ भन्ने गलत मानसिकता नहटे सम्म यो क्रिया निरन्तर चलिरहनेछ । अनि इपरको स्मारक बनाउने जस्तो महत्वपूर्ण मुद्धा ओझेलमा पर्छ । यसले देशको प्रमुख कार्यकारीलाई पनि एउटा दलको घेरा भित्र साँघु पारिदिन्छ, मलाई त यस्तै लाग्छ, तपाइलाई कस्तो लाग्छ कुन्नि ?
शक्ति र सत्तालाई सर्वस्व ठानेर अरुलाई प्रदर्शित गर्दा आफ्नो पनि वजन बढ्छ भन्ने गलत मानसिकता नहटे सम्म यो क्रिया निरन्तर चलिरहनेछ । अनि इपरको स्मारक बनाउने जस्तो महत्वपूर्ण मुद्धा ओझेलमा पर्छ । यसले देशको प्रमुख कार्यकारीलाई पनि एउटा दलको घेरा भित्र साँघु पारिदिन्छ, मलाई त यस्तै लाग्छ, तपाइलाई कस्तो लाग्छ कुन्नि ?





