मलेखुको माछा
● आनन्दराम पौडेल
“आज म अलि बढी नै जङ्गिएँकि क्या हो ?” साँझ एकान्तबासमा राजकुमार प्याकुरेलले मनमनै भने। आज दिउँसो होटेल निरीक्षण गर्न आएको टोलीसँग राजकुमारजीले बेला-बेलामा आक्रोश पोखेका थिए । निरीक्षण टोलीलाइ बिदाई गरेपछि धार्के र मलेखुका टलव्यवसायीहरुसँग एकछिन भलाकुसारी गरे । दौडधुप, टेन्शन र आक्रोशले थाकेका राजकुमारजीले आराम गर्ने विचार गरे । आफ्नै कान्तिपुर होटेलको माथिल्लो तलामा चीसो बियर र सितन ल्याउन लगाएर बिहङ्गम समीक्षामा घोत्लिएका थिए । सोचे, “हैन, मलाइ झोंक चलेको त जिल्ला प्रशासन कार्यालय, धादिङका सहायक प्रजिअ नन्दलाल शर्मासँग हो । लाइनका (राजमार्गका) होटेल के यही धादिङ जिल्लामा मात्र पर्ने हो र ? तर, अरु जिल्लाका प्रशासनले त यसरी तारन्तार निरीक्षण गरेर हैरान गरेको छैन नि ?
यी नन्दलाल शर्मालाइ यसअघि पटक-पटक भनेको थिएँ । जम्बो टोली नलिईकन खत्रक्क आएर सर्लक्क निरीक्षण गरे त भैहाल्यो भनेको थिएँ । हल्लाखल्ला र चर्चापरिचर्चाको बिषय किन बनाउने ? भन्नेपनि मेरो आग्रह थियो । असोज ७ गतेका दिन पहिले त नन्दलाललाइ मात्र देखें । बुद्धि पुर्याएछन् भन्ने लाग्यो । त्यसैले, स्वागतपनि गरें। तर, के हुन्थ्यो ? जब सँगसँगै फियान नेपालका प्रतिनिधि, खाद्य अधिकार जिल्ला सञ्जालका प्रतिनिधि, जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारी, खाद्य अनुसन्धान अधिकृत कर्णबहादुर चन्द र वाणिज्य अधिकृत राजेन्द्र कार्की समेतको टोली नै होटेल अनुगमनमा आएको देखें तब म रनक्क रन्किएको थिएँ । जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाइ त मैले भनिपनि दिएँ । ‘म कान्तिपुर होटेलको मालिकमात्र हैन, जिल्ला होटेल सङ्घको अध्यक्ष पनि हुँ । तपाईं-हामी व्यवशायी । जिल्ला होटेल सङ्घपनि उद्योग वाणिज्य सङ्घमा आवद्ध भएकोले हामी एउटै परिवारका ह्वौं । तपाईंहरुले प्रशासनको पछि-पछि लागेर हामीलाइ कस्न सुहाउँछ ?’ भनिदिएँ ।”
सितन सकिएछ । एक प्लेट तास मगाए । सँगसँगै १ बोतल बियर थपे । निरीक्षण टोलीलाइ सम्झँदै सोचे, “सादा खानाको रु.१५० सम्म लिएको, १ बोतल पानीको रु.३० सम्म लिएको, कोकाकोलाहरु १ बोतलको रु.४५ सम्म लिएको भनेर टिपिरहेका थिए । ढाकछोप गर्दागर्दै पनि हाम्रो मलेखुको सपना होटेल, मुक्तिनाथ होटेल एण्ड लज, भद्रकाली होटेल, मिलन होटेल, नमस्ते नेपाल, शुभकामना होटेल र खुद मेरै कान्तिपुर होटेललाइ समेत् कैफियत जनाउँदै पत्र थमाए । म्याद नाघेको भनेर कोल्ड ड्रिङ्क्स फाल्न लगाए । धन्न तिनीहरुले बासी भाततिर ध्यान दिएनन् । सरसफाइ त जहिलेपनि कैफियतमा जनाइरहने हुन्, यस्पालिपनि जनाए । अर्काको खोट देखाउन जति सजिलो छ, साँच्चै काम गरेर देखाउन र होटेल चलाएर फाइदा लिन कति गाह्रो छ ! यिनीहरुले ६ महिना चलाएर देखाउन् त ! भयङ्कर कम्पिटिशन छ । बस आफ्नो होटेलको दैलामै रोक्न लगाउन ड्राइभरलाइ पूजाअर्चना गर्नुपर्छ । ड्राइभर र कण्डक्टरलाइ सित्तैमा मीठोमसिनो खुवाउनुपर्छ । दक्षिणा टक्र्याउनुपर्छ । दक्षिणा पहिलेपहिले रु.५०० दिए पुग्थ्यो । अहिले प्रतिस्पर्धाले गर्दा एउटाले एक हजार दिए अर्कोले बाह्र शय दिन्छ ।”
तास सकिएछ । अझै भोक मेटिएन । प्रन र बियर मँगाए । सोचे, “भयङ्कर भोक लागेको रहेछ । तिनीहरुलाइ पनि त भोक लागेको थियो होला ! एक कप चियासमेत् नख्वाई पठाएँ । मलेखु र धार्के ओहोरदोहोर गर्दा, कराउँदा, टेन्शन र आक्रोशले गर्दा थिलथिलो भैसकेछु । तिनीहरु पनि त थाकेका थिए होलान् । मिल्नेमिलाउने गरी सहज पाराले आएकोभए तिनीहरुको लागि हामी मलेखु र धार्केका होटेल व्यवशायीले व्ल्याक लेभल नै फोर्थ्यौं । भोको पेटमा खरिखोटी सुनाएर पठाइयो । तिनीहरुको कर्मअनुसार ठीक्क भयो ।”
बस्दाबस्दै गोडा निदाएछ । उठेर कोठाभित्रै एकछिन टहले । पुन आफ्नो कुर्सिमा बसे । प्रन टोक्दै र बियर घुट्क्याउँदै मनोवादमै रमे । सोचे, “निरीक्षण टोली त छँदैछ, पल्लो छेउमा कुनातिर पत्रकार रामेश्वर कार्कीलाइ देखें । यिनलाइ देख्नासाथ पत्रकारले क्षति पुर् याएका बिबरण सम्झें । मलेखुमा हाम्रो होटेल व्यवसाय ध्वस्त पार्न यिनीहरुकै प्रमुख भूमिका रह्यो । मलेखुको माछा खान भन्दै टाढा-टाढाका ग्राहकहरु आउँथे । मलेखुको माछाले पुग्दैनथ्यो । जनकपुरदेखि माछा ल्याएर मलेखुको माछासँग मिसमासगरिन्थ्यो । ग्राहकहरु सन्तुष्ट नै थिए। यिनै पत्रकारहरुले बढी जान्ने भएर सब् छारष्ट पारिदिए । युवायुवती घुम्न आउँथे । ३-४ घण्टाको लागि रुम बुक गर्थे । युवायुवतीको रसबसमा यिनीहरुले चियाउनुपर्ने र चियोचर्चो गर्नुपर्ने नै होइन ।
बिषयबस्तुलाइ तन्काएर, बढाएर ‘मलेखुका होटेलमा यौनधन्दा’ भनेर लेखे । जति आउँथे सबकासब गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड मिलेर आउँथे । आफ्नै ब्वाइफ्रेण्डसँग कोठामा बस्नु, एकाध घण्टा सँगै सुत्नुलाइ पनि कहीं यौनधन्दा भन्न मिल्छ त ? यी पत्रकारहरु सङ्कीर्ण पुरातनपन्थी रहेछन् । मोहन बैद्य ‘किरण’ को भाषामा ‘जडसूत्रवादी’ । यो सबै सम्झँदा हुलुक्क-हुलुक्क भयो । अनि पत्रकार रामेश्वर कार्कीलाइ झम्टें । ‘तपाईं धादिङकै रैथाने हैन ? धादिङबासीको नाताले तपाईंले धादिङकै उन्नति, प्रगति र समृद्धिको पक्षमा लेख्नुपर्ने हैन ?’ भनिदिएँ ।”
तर, आक्रोशको बेग थामिएको थिएन । त्यसैले, उपर्खुट्टी लाएर सजिलोगरि बसे, र सोचाईको शिलशीला अघि बढाए । सोचे, “राष्ट्रले धान्न नसक्ने त्यत्रा भयङ्कर बदमासी भैरहेछन्, तर सबै हामीमाथि खनिएका छन् । यातायात व्यवसायीहरुले सिण्डिकेट बनाएर आफ्नो एकाधिकार कायम गरेका छन् । ‘यातायात क्षेत्रको सरकार हामी नै हौँ’ भनेर यातायात ब्यवसायी महासङ्घका अध्यक्षले कारोवार दैनिकमा अन्तर्वार्ता दिए । सरकारले पेट्रोलियम पदार्थ कुन फिलिङ स्टेशनबाट ल्याउनु पर्छ र कति भाडा दिनुपर्छ भनेर ट्याङ्कर ब्यवसायीले तोकिरहेका छन् । गिट्टी, बालुवा व्यवसायीको अगाडी सरकार लुत्रुक्क परेर झुक्छ । एलपी ग्याँस व्यवसायीले, ‘२२ हजार टन कोटालाइ बढाएर ३० हजार नपुर् याए हामी देखाइदिन्छौं’ भन्नासाथ सरकार थर्कमान हुन्छ । स्थिति यस्तो छ, हामीलाइ मात्र ङ्याकेर हुन्छ भन्या ? सङ्गठन बलियो बनाएर हामीपनि देखाइदिन्छौं ।”
राजकुमार प्याकुरेलजी जुरुक्क उठे । जिउ तन्काए र बेडरुमतिर लम्के ।




