जनसेनासित किन तर्सेको नेपाली सेना ?

coas02राष्ट्रिय खेलकूद परिषदले जनमुक्ति सेनालाई पाँचौ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागि गराउने निर्णय गर्‍यो । यो निर्णय हुनासाथ नेपाली सेनाले अकस्मात आफ्ना खेलाडीहरु फिर्ता लगेर राष्ट्रिय खेलकूद बहिष्कार गरेको छ । के जनसेना यो देशका नागरिक होइनन र ? जन सेना र नेपाली सेनामा देशको हरेक विषयमा बिभेद हुनु पर्छ ? के नेपाली सेनाले अब देशमा गणतन्त्र आइसकेपछि पनि उहि एक दलिय राजतन्त्रात्मक आँखाले मूल्यांकन गर्ने हो आफुलाई सधैं ? नत्र राष्ट्रले पहिचान दिएको जनसेना खेलकूदमा सहभागि हुँदैमा मैदान छोडेरै भाग्नुपर्छ ? यो मुलुकमा नेपाली सेनाको जति अधिकार छ त्यति राष्ट्रका हरेक गतिबिधीमा भागलिने अधिकार छैन जन सेनालाई ?

 

नेपाली सेनाको कुनै कार्यक्रममा जनसेनालाई सहभागि गराउने निर्णय गरेको भए त्यसमा नेपाली सेनाको भावनालाई बुझ्न सकिन्थ्यो । तर यो त राष्ट्रिय खेलकूद प्रतियोगिता हो राष्ट्रले आयोजना गरेको । यसमा जनसेना मात्रै होइन राष्ट्रका अन्य क्षेत्रबाटपनि प्रतिनिधित्व भएको छ । अनि जनसेनालाई मात्रै तारो बनाउनुको तुक के ? रहस्य के ?

 

फेरि ब्रिहद शान्ति संझौतालेनै जनसेनालाई नेपाली सेना सरह मान्यता दिएको छ । अनमिन सहितको संझौतामा त्यहि छ । त्यो सहमती र संझौता गर्ने नेपालका सबै राजनितिक दल हुन् । दुई भिन्ना भिन्नै आँखाले हेर्नु थियो भने नेपाली सेना र जनसेनालाई किन समान मान्यता दिएको ? त्यस्तो संझौता गर्ने बेला राजनितिक दलका आँखामा के मोतीबिन्दू भएको थियो ? बुद्दीको भाँडो पुरै घोप्टिएको थियो ? बिबेकको धोक्रो पुरै रित्तिएको थियो ? कि लाखे नाच भैरहेका बेला कसैले ल्याएको खोस्टामा ल्यास्स ल्याप्चे धस्काए ? नत्र राष्ट्रले जुन मान्यता दिएको छ त्यसलाई खुरुखुरु सबैले पालना किन नगर्ने ?

 

होइन खेलकूदमा कमजोर छन् जनसेना भन्ने लाग्छ भने नेपाली सेनाले जनसेनालाई हरेक खेलमा पछारेर देखाओस न । जहापनि जनसेनालाई शुन्य का शुन्य पारेर धुलो चटाएर पठाओस त । अनि पो नेपाली सेनाको वाहि वाहि हुन्छ त । कि एक्लै दौडिएर प्रथम हुने बिचार थियो नेपाली सेनाको ? जनयुद्दसेना सहभागि हुने भएपछि हारिन्छन् भन्ने डरले मैदान छोडेका त होइनन् ? नत्र जनसेना सहभागि हुँदैमा किन खेल नै बहिस्कार गर्नुपर्‍यो ? जनसेनालाइ त अन्य यस्तै क्रियाकलापमा ल्याएर न हत्या र हिंसाबाट टाढै राख्न सकिन्छ । हतियारको मोहबाट बिमुख गराउन सकिन्छ । नत्र सधैं ब्यारेकमा हतियार र गोलीगठ्ठासित मात्रै खेल्न दिने, रमाउन दिने हो भने शान्तिपूर्ण गतिबिधिमा आकर्षित गराउन सकिन्छ र ?

 

नत्र यो नेपाली सेनाले के गर्न खोजेको हो मलाई कोहि बेलामा अचम्मै लाग्छ । यो नेपाली सेना भनिन्छ । नाम छ हामी नेपालीसंग जोडिएको । भन्छ उसले नेपाल र नेपालीका भलाईका लागि । अनि भनिन्छ, नेपाली सेनापनि सरकारकै निर्देशनमा चल्छ । तर उसको ब्यवहार हेर्दा लाग्छ नेपाली सेना न त नेपालीको हितका लागि हो । न यसले सरकारको निर्देशन मान्छ । न यो प्रिथ्वी भन्ने जहाँ हामी बस्छौं त्यहाँनै बस्छ । यो सेना त कतै अन्तै ब्रिहस्पती वा मंगल ग्रहमा बस्छ । अनि प्रिथ्वी लोकका मानिससित जब उसले कुनै संबन्ध गर्नुपर्ने हुन्छ तब उ आफु बिटिलो भएको ठान्छ । उसमा बन्दुकको हाँक छ । बलको धमास छ । पुरानै राजतन्त्रात्मक धङ्धङीमा रमेको छ । उ बन्दूकको भाषामै रमाउन चाहन्छ। पाखुरा सुर्काउन चाहन्छ । यत्र बिधी नेपालीको रगत बगेर बल्ल थामिएको शान्ति वार्ताप्रति उ जिम्मेवार हुन चाहँदैन । नत्र सरकारी निर्णयलाई सधैं धोती लगाउनु । अनमिनकै संझौतालाई पनि नटेर्नु । सरकारको निर्देशनलाई कुल्चिनु  । जनसेनालाई सधैं बहिस्कार गर्नु । शान्ति संझौतालाई दखल पुग्ने ब्यवहार गर्नुको औचित्य के ?

तपाइँको प्रतिक्रिया