कसरी तुहियो गोलमेचको कथा ?

golmech-sammaylanसंवत ५० को अन्त्य र ६० को दशकको सुरुमा नेपाली राजनीतिमा गोलमेच सम्मेलन चर्चाको शब्द बनेको थियो । त्यही मौका छोपेर लोकगायक बमबहादुर कार्कीले ‘गोलमेच सम्मेलन’ नामक दोहोरी गीतको एल्बम निकाले । सशस्त्र संघर्ष चर्काइरहेको नेकपा–माओवादीको मागअनुसार गोलमेच सम्मेलन त भएन नै ! कार्कीको गोलमेच सम्मेलन पनि खासै फापेन । दशकपछि अचानक गोलमेच सम्मेलनको चर्चा सुरु भयो । संविधानसभाबाहिर रहेको माओवादीलाई सहमतिमा ल्याउन सर्वपक्षीय राजनीतिक सभा अर्थात् बोलीचालीको भाषामा ‘गोलमेच’ सम्मेलन आयोजना गरिएको थियो । तर, यसपटक पनि गोलमेच सम्मेलन बस्दै नबसी तुहियो ।

माओवादीसहितका ४१ दल (३३ दलीय मोर्चामा अहिले ४१ पुगेका छन्) लाई संविधान लेखनमा सहमति जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको ल्होत्से हलमा सम्मेलनको सबै तयारी पूरा भएको थियो । बिहान ९ बजे बोलाइएको सभाका लागि १० बजेसम्म लगभग सबै दलका नेता आइसकेका थिए । माओवादी नेतृत्वको मोर्चामा रहेको साना दलका नेता पनि टाई, सुट लगाएर बानेश्वर पुगेका थिए ।

तर, गोलमेच सम्मेलनको माग गरेको नेकपा–माओवादी नआउने भएपछि सम्मेलन स्थगन भयो । मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा नेकपा–माओवादीले सभमा सहभागी हुनुअगावै सहमति गर्नुपर्ने प्रस्ताव गरेपछि सहमति भाँडिएको हो । बिहानको बैठकमा अध्यक्ष मोहन वैद्यले ‘राजनीतिक सभामा बस्नुपहिले लिखित सहमति गrau*’ भनेपछि प्रधानमन्त्री झस्किएका थिए । जवाफमा प्रधानमन्त्री कोइरालाले ‘सबै कुरा त्यहीँ राख्नुस्’ भनेपछि माओवादी नेताहरू पार्टीमा सल्लाह गरेर आउँछौं भन्दै हिँडे ।

बालुवाटारबाट बुद्धनगर पुगेपछि नेकपा–माओवादीले प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको महासभालाई देखाउन मात्र सम्मेलन गर्न राजी भएको निष्कर्ष निकाल्यो । पार्टीमा छलफल गरेर आउने भन्दै माओवादी नेता बुद्धनगर गएपछि आइसिसी भवनमा दलका नेता एक घण्टा भलाकुसारी गरेर बसे । संविधानसभामा रहेका सबै दलका नेता आइसकेपछि प्रधानमन्त्रीले माओवादी अध्यक्ष मोहन वैद्यलाई फोन गरे । वैद्यले पहिला चार दलबीच लिखित सम्झौता गर्नुपर्ने भन्दै आउन अस्वीकार गरे । सत्तारुढ दलले माओवादीलाई समेत सहभागी गराएको भन्न पाउने र नेकपा माओवादीले आफूहरुले राखेका माग संबोधन नभएको भन्दै आन्दोलनमा जाने निhu**को रुपमा गोलमेच सभालाई दाउपेचको विषय बनाएको भए पनि सभा त्यत्तिकै तुहिएको छ ।

‘गोलमेचको सट्टा गोलमेस’

golmech-sammelan

गोलमेच सम्मेलनका लागि अन्तर्राष्ट्रिय सम्मेलनको ल्होत्से हलमा गोलाकार रूपमा कुर्सी राखिएको थियो । सहभागीका लागि खाजा र ‘भिआइपी’ लञ्चको व्यवस्था थियो । सम्मेलन व्यवस्थापनको जिम्मा लिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयले सहभागी दलका नेता, कर्मचारी र सुरक्षाकर्मी गरी पाँच सय जनाका लागि खानाको व्यवस्था गरेको थियो । प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, फोरम अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलगायत अधिकांश दलका नेताले संसद्को क्यान्टिनमै बिहानको भान्सा गरे । उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनका कारण माओवादी पार्टी शोकमा रहे पनि सचिव टोपबहादुर रायमाझी कुखुराको मासु लुछिरहेका थिए । लामो समयपछि एकै ठाउँ बसेर खाना खाएका मधेसी दलका नेता ठट्टा गर्दै थिए, ‘गोलमेच नभए पनि गोलमेस’ सम्पन्न भयो ।

यसअघि देशभरका आन्तरिक प्रशिक्षणमा भाग लिएर अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्द सोमबार काठमाडौं फर्किएका थिए । फरक मत कार्यकर्तासमक्ष राख्न वैद्य र चन्द सँगसँगै देश दौडाहामा थिए । सोमबार बुटवलको प्रशिक्षण सकेर वैद्य र थापा अपराह्न काठमाडौं उत्रिए । उनीहरूले खुलामञ्च पुगेर एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई श्रद्धाञ्जली दिन भ्याए । सचिव चन्द भने सोमबार साँझ मात्रै आइपुगे । मंगलबार बिहानै सर्वदलीय बैठकका लागि भेला भएका ३३ दलीय घटकका नेता वैद्य माओवादीका नेतालाई कुर्दाकुर्दै थाकेपछि ११ बजे लाखापाखा लागेका थिए भने वैद्य माओवादीको पदाधिकारी बैठक बसेको थियो । बैठकमा विप्लवले गोलमेचले के गर्ने, के नगर्ने भनेर जिज्ञासा राखे । प्रतिउत्तरमा चार दलबीच भएको बहसबारे अन्य नेताले ब्रिफिङ गरे । कांग्रेस–एमाले नेताले लिखित सहमति गरेर जान नसक्ने धारणा राखेपछि गोलमेचको औचित्य सकिएको निष्कर्षमा पुगेको माओवादी अध्यक्ष मोहन वैद्यले मंगलबार दिउँसो जनआस्थासँग भने ।

(हिजो बुधवारको जनआस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया