खिलराज पौडेलहरुको नेपाल

 ● आनन्दराम पौडेल 

anandaram-paudel-33434“नेपालीहरु कुनैपनि बिषयलाइ गहिरिएर मनन गर्दैनन्। ‘त्यस्ले कुस्त कमायो’ त भन्छन्, तर, पैसा कमाउन कति गाह्रो छ, कति पापड बेल्नुपर्छ, कति बुद्धि लगाउनुपर्छ, त्यसतर्फ सोच्दैनन् ।” आज खिलराज पौडेलजी आत्मचिन्तनको मुडमा देखिए । गार्डेन रेष्टुराँको कुनाको टेबुलमा बसे । रेडवाइनको चुस्कीसँगै आफ्नै जीवनभित्र पसेर बिहङ्गम दृष्टि लगाए। सोचे, “म बाग्लुङ जिल्लाको पनि मूलपानी गाविस, रातामाटा, रुम्टा गाउँको मान्छे। बाउआमाले त्यति पढाउन सकेकापनि ह्वैनन् । शक्तिकेन्द्रमा पहूँच भएको मान्छे भनेपछि त्यस्को चाकरी गर्न थालिहाल्थें । त्यसबेला शाही नेपाली सेनाका कर्णेलहरुको पनि चाकरी गरें । मेरो चाकरीबाट रिझिएर, दरबारसम्म पहूँच पुर्याएका एकजनाले मलाइ कर कार्यालयमा जागिर लगाइदिनुभएको थियो । त्यसबेला मसँग थोरैपनि पढेलेखेको सर्टिफिकेट भएकोभए सुब्बा, खरदार वा केही नभए मुखियामा सजिलै नियुक्ति पाउँथें । सर्टिफिकेट नभएको कारणले त्यसबेला पियन पदमा नियुक्त हुनुपर्यो । पछि, अलिअलि पढ्दै, यताउता गरेर सर्टिफिकेट हात पारें । र, मुखिया, खरदारसम्म भएँ । पद ठूलो ह्वैनरहेछ, ठाउँ ठूलो हुनेरहेछ । सानैमा कर कार्यालय पसें, र ५८ बर्षसम्म करमै बसें । हाकीमहरुलाइ राम्ररी रिझाएकोले करबाट बाहिरिनुपरेन । अहिले सामाखुसी र धापासीमा ३-४ करोड मूल्य पर्ने दुइटा घर छ। काठमाडौंमा सबै मिलाएर ५० रोपनी जति घडेरी छ र चारवटा कम्प्लेक्स भवनहरु छन् ।”

बेयराले चीजपकौडा ल्याएर टेबुलमा राखिदिइसकेको रहेछ । दुइटा पकौडा खाए र रेडवाइनको चुस्की लिंदै पुन आत्मसमीक्षामा लीन भए । सोचे, “मूल्य, नैतिकतामा आधारीत आदर्श जीवनको अभ्यास गर्ने युवराज पाण्डे जस्ता नमुनाहरु पनि छिटपुट भेटिन्छन् । सुदूरपश्चिममा घर भएका पाण्डे थरका (हरिदत्त पाण्डे ?) सहसचिव र पुरानो बानेश्वर (भीमसेनगोला) मा घर भएका कृष्ण आचार्य उपसचिव थिए । युवराज पाण्डे पछि सचिवपनि भए । कृष्ण आचार्यले त जागिर खाँदै पिएचडी गरिसकेका थिए । थोत्रो आदर्श काखि च्यापेर बस्नेहरुको कस्तो हविगत हुँदोरहेछ भन्ने उदाहरण यिनीहरु भएका छन् । रिटायर्ड भएरपनि कृष्ण आचार्यले कलेजतिर काम खोजिरहेका थिए । सचिव भैसकेका युवराज पाण्डेले ४ बर्षपछि बल्ल पोहोर एउटा जागिर भेट्टाए। म सानो पदको जागिरे भएरपनि ३-४ जना युवराज पाण्डेहरुलाइ जागिर दिनसक्ने हैसियत राख्छु ।

आदर्शलाइ अब कहाँ स्थान छ ? कस्ले गर्छ आदर्शको कदर ? २०४८ सालमा हेटौंडामा रामेश्वर साह नामका सिडिओ थिए । त्यहीं रिटायर्ड भए । हेटौंडाकै महाशक्ति सोप एण्ड केमिकल इण्डस्ट्री मा जागीर खान थाले । म त्यो इण्डस्ट्रीमा जाँदा त्यस्को मालिकले मलाइ कस्तो सम्मान गर्थ्यो, तर तिनै रामेश्वर साहसँग नोकरलाइ भन्दापनि तुच्छ व्यवहार गर्थ्यो । जब समाजले आदर्शलाइ तिरस्कार गरिरहेको छभने थाङ्नु भैसकेको यस्तो आदर्श काखिच्यापेर हुन्छ भन्या ? जमानाअनुसार पनि चल्न जान्नुप-यो नि ? जब जमानाले ऋषि धमलालाइ रोजिरहेछभने गुणराज लुईंटेल बनेर काम लाग्छ ?”

खिलराज पौडेलले स्वास्थ्यको ख्याल राख्थे। खानपिन, अहारविहारमा ध्यान दिन्थे । समरमा १० बजे र हिउँदमा सवा-नौबजे सुतिसक्थे। आजकाल रेडवाइन २ पेगमात्र लिनथालेका थिए । बेलुका गरिष्ठ खाना खाँदैनथे । बिहान योगा गर्थे । साँझ घरमा खाना नखाने सूर कसे। एक बौल मसरुम-सुप मगाए । रेडवाइन अर्को एकपेग थपे । र, सिंहावलोकनमै गहिरिए । सोचे, “कमाउन  जानेर मात्रै पुग्दैन, जोगाउनपनि जान्नुप-यो नि ? आजकालका जागिरेहरु कमाउन त हतार गर्छन् तर जोगाउन जान्दैनन्। बुद्धि लगाउनुपर्छ । चनाखो हुनुपर्छ । चौतर्फी ध्यान दिनुपर्छ । कमाउनेसँगै आफू कसरी जोगिने भन्नेमा ध्यान दिएकोले नै आज मैले ढलिमलि गर्न पाएको छु । ७ पुस्तालाइ पुग्नेगरी कुस्त कमाएको सम्पति सुरक्षित राख्न सफल भएको हुँ । म उद्देश्य र सरोकारभन्दा बाहिर कसैको मतलब गर्दिन । अख्तियारका लिम्बुजीसँग सम्बन्ध राम्रो बनाएको थिएँ । उनैको सल्लाह मानेर मैले जोडेको सम्पति श्रीमति, छोरीज्वाईं, छुट्टिई भिन्न बसेकी सौतेनीआमा, भाइहरु र बहिनीहरुको नाममा राखें । छोरीज्वाईंहरु अमेरिकामै छन् । छोरीज्वाईंकै सहयोग लिएर अमेरिकाको बैंकमा खाता खोलेर केही (करोडभन्दा कम) डलर रकम राखें । त्यस्तै केही रकम भारतको बैंकमा राखें । ८ बर्षअघि देशै माओवादीमय भएको देखेर माओवादी पार्टीको ‘देशभक्त गणतान्त्रिक मञ्च’ भित्र जिम्मेवारी सम्हालेरपनि बसें ।”

सधैं २ पेगको नियम बसालेका थिए । आज नियम भङ्ग गर्ने विचार गरे । अर्को १ पेग थपे । र, पुन आत्मसिंहावलोकनमै लीन भए । सोचे, “म अनावश्यक प्रचार र होहल्लाबाट आफूलाइ टाढै राख्छु । त्यसैले, कतिपय पत्रकारहरुको गर्जो टारिदिने गर्छु । हेटौंडा, नवलपुरतिरको एउटा स्तम्भलेखकले १ महिनाअघि संक्षिप्तमा भएपनि मेरो बारेमा फेसबुकमा लेखेछ । यो स्तम्भकारका भाइभतिजाहरु सबै पोखरामा रहेछन् । त्यहाँ गैरहँदोरहेछ । त्यहीं जाँदा एउटा प्रसङ्गमा मेरो कुरा चलेछ । त्यहीं तुरुन्तै लेखिदिएछ । ‘फेसबुकमा लेखेर के हुन्छ र !’ भनेर पहिले त मतलब गरेको थिइन । तर, त्यो स्तम्भकारको फेसबुक-वालमा लेखेको त एक्कैचोटी १० हजार पाठकको वालमा पुग्दोरहेछ । पत्रिकामा छापिएको भन्दा बढी प्रचार भयो । अख्तियारका लोकमानको नोटिसमा समेत् पुगिसक्यो भन्ने सुनें । लोकमानसँग कसरी कनेक्शन जोड्ने होला भनेर अहिले म छट्पटिएको छु । लिम्बुजीसँग सहयोग मागें । उहाँले, ‘यो लोकमानसँग मेरो केही लाग्दैन, हामीलाइ टेर्दैन’ भने ।

ज्ञानेन्द्रकालमा शाही आयोगका भक्तबहादुर कोइरालासँग त सम्बन्ध बनाउन सफल भएको थिएँभने लोकमानचाहीं कुन ड्याङका मुली हुन् र ? जीवनको उत्तरार्धमा लोकमानजी धार्मिक संस्थातिर बढी जानथालेका छन् भन्ने सुनेकोले ‘राधास्वामी सत्सङ्ग व्यास’ भन्ने धार्मिक संस्थामा सकृय भएको छु । अब हेरौं, कुनै-न-कुनै उपाय कसो ननिस्केला ? यो नेपाल हो, नेपाललाइ मैलेजति कस्ले चिनेको छ ?”   तन्द्राबाट विउँझेसरी उठे । आँग ताने । बेराले ल्याएको बीलमा दस्तखत गरिदिए । र, गाडी भएतिर हिंडे ।

तपाइँको प्रतिक्रिया