वीपी विचारयात्राको समापनमा

  • आनन्दराम पौडेल

anandaram-paudel-33434विचारयात्रा समापन गरिएको दिनको साँझ रामचन्द्र पौडेल भेटघाटमा धेरै अल्मलिएनन् । आराम गर्ने सूरले राती चाँडै बेडरुमभित्र छिरे । सुत्ने तरखर गर्दैथिए, बेडरुमको छेउमा वीपी स्वयं विराजमान भैराखेको देखे । रामचन्द्र एकपल्ट झस्के, तुरुन्तै सम्हालिए र वीपीलाइ प्रणाम गरे । पलङमा बस्नलागेका थिए, फेरि के सोचेर दरीमा बसे । र वीपीतिर टुलुटुलु हेरिरहे । वीपीले नै मुख फोरे – तिमीहरुले ‘वीपी विचारयात्रा’ भनेर देशव्यापी दौडाहा गर्यौ ।

तिमीले त वुझेका छौ नि, मेरो विचारको सारतत्व के हो ?”

“समाजवादी अर्थतन्त्र र लोकतान्त्रिक संस्कृति नै तपाईंको विचारको चुरो हो । यतिसम्म त प्राय सबैले वुझेका छन् ।” रामचन्द्र पौडेलले भने । “वुझ्न त ठीक वुझेका रहेछौ । तिमीहरु आफुलाइ वीपी विचारका अनुयायी ह्वौं भनेर दाबी गर्छौ । के यो विचारलाइ कार्यान्वयनमा लगेका छौ ?” वीपीले झ्याप्पै सोधे । 

“शुरुमै यस्तो खरो प्रश्नको सामना गर्नुपर्ला भनेर रामचन्द्र पौडेलले अनुमान गरेका थिएनन् । यो खरो प्रश्न रामचन्द्रको मस्तिष्कमा गोलि बनेर पस्यो र मस्तिष्कलाइ हुँडल्यो । समाजवादको बिषयमा छलछाम गर्ने ठाउँ छैन, घामजत्तिकै छर्लङ्ग छ । लोकतान्त्रिक संस्कृति त तुरुन्तै देखिने ठोस बस्तु ह्वैन क्यार । यस बिषयमा मिलाएर कुरा राख्नुपर्ला भनेर मनमनै सोचे, र  भने – “रामशरण महतले गिरिजाबाबुलाइ कन्भिन्स्ड गरेछ । गिरिजाबाबु

कन्भिन्स्ड भएपछि उस्ले ‘समाजवादी अर्थतन्त्र’ लाइ पोको पारेर अँध्यारो कुनातिर थन्क्याइदियो । ‘खुल्ला वजार – अर्थतन्त्र’ को नाममा सम्पूर्ण शक्ति लगाएर ‘उग्र पूँजिवादी अर्थतन्त्र’ लाइ जवर्जस्ति लागु गर्यो । वाँकि रह्यो – लोकतान्त्रिक संस्कृति । लोकतान्त्रिक संस्कृतिलाइ हामीले वचाएरै राखेका छौं, र अगाडी बढाइरहेछौं ।”

रामचन्द्र वाजेले जिब्रो चपाएर भनेका काँठे कुरामा कहाँनिर छलछाम भयो, वीपीले वुझिहाले । थोरै कठोर मुद्रामा हप्काउँदै भने, “यस्ता पाल्सी कुरा नगर । समाजवादी अर्थतन्त्रलाइ त्यागेको बिषय त सत्यसाँचो भन्यौ । लोकतान्त्रिक संस्कृति निर्माण र स्थापना गर्ने अभियानलाइ तिमीहरुले अलपत्र पारेको दुनिञाले देखेका छन् । तिमीहरुको ढाँटढुट गर्ने बानि बसेको, मलाइपनि ढाँट्यौ ।”

वीपीले कुरोको चुरो पक्डेका थिए। तैपनि रामचन्द्र वाजे गलेनन् । प्रतिरक्षाको मुद्रामा बोले, “हैन, मानवीय सभ्यतालाइ नै असर पर्नेगरी लोकतान्त्रिक संस्कृति विरुद्धका काम त हामीले गरेका छैनौं नि ?”

“किन गरेनौ ? सामन्ती व्यबहार र हुकुमी शैलि विरुद्ध जीवनभर लड्यौ भन्छौ, तर आफूपनि हुकुमी शैलिमै काम गर्छौ । २०६३ सालको अन्ततिर एकदिन तिमीहरु ७ दलका ७ जना एउटा बन्द कोठाभित्र बस्यौ । त्यहींबाट, ‘हामी ७ जनाले नेपालको राज्यसंरचना आजै तय गरिदिईसक्यौं। भोलि निर्वाचन भएर बन्ने सम्बिधानसभाले आज हामीले तोकेअनुसारको राज्यसंरचना बनाउनुपर्ने छ । दायाँबायाँ, तलमाथि गर्नपाइने छैन । सम्बिधानसभाले अरु सबै काम छाडेर पहिलो बैठकको पहिलो दिन नै हाम्रो आदेशलाइ अनुमोदन गर्नुपर्ने छ’ भनेर हुकुमी शैलिमा फरमान जारी गरिदियौ ।”

“अँ हो, त्यसरी हुकुमप्रमाङ्गी गर्नैहुँदैनथ्यो। एकदमै गलत भएको हो । हामी धेरैलाइ चित्त वुझेको थिएन । केही मधेशीहरु कराएका रहेछन् । ‘कानै टट्टायो’ भन्नुभयो गिरिजाबाबुले । गिरिजाबाबु जत्तिको उच्च व्यक्तिको कान टट्टाउन नदिनको लागि हामीले मानिदिएका ह्वौं ।”  रामचन्द्र वाजेले अलि लत्रिएर बोले ।

“कुनै बिषयको सूचि बनाउँदा अन्तिममा ‘अन्य’ भनेर राख्छौ। यो ‘अन्य’ भनेको के हो ?”  वीपीले अर्को आइटम टिपे ।

“‘अन्य’ भनेको ‘आदि-इत्यादि’ हो । यो उल्लेखनीय छैन भन्न खोजेको हो ।” वीपीले कतातिर इङ्गित गर्न खोजेका हुन् वाजेले वुझेनन् । “जातजातीको सूचि बनाउँदा ब्राह्मण, क्षेत्री र दशनामीलाइ किन ‘अन्य’ मा राखेको ?”  वीपीले घाँटीको किल्किले नै पक्रे ।

“योपनि कान टट्टाएरै हो । यी ब्राह्मणहरु स्वभावैले घमण्डी, अहङ्कारी भए । एउटा बाहुनले अर्को बाहुनको उछित्तो काढ्ने भएकोले यिनीहरु एकआपसमा कहिल्यै मिल्दैनन् । यिनीहरु सङ्गठित हुने र एकढिक्का हुने सम्भावना छैन । अरु सङ्गठित भए । एकढिक्का भए । सङ्गठित भएकाले आवाज निकाल्न सक्छन् भनेर यी सबैलाइ नामनामेसी सहित् सूचिकृत गरियो। आफ्नै अहङ्कार र घमण्डले गर्दा छरिएर एक्लिएका यी बाहुनहरुलाइ ‘अन्य’ भनेर फालेको हो ।”

“ल भैगो, यो त वुझें । यी सङ्गठित हुनेहरुले गिरिजाबाबुको कान टट्टाइदिन सक्छन् भनेर पूर्वसतर्कता अपनाएका रहेछौ । फेरि, एक्लेवीर बन्नुपर्ने यी बाहुनहरुको अहङ्कार चुर्ण पार्नको लागि यति ओखतिउपचार गर्न जरुरी रहेछ । यतिसम्म त मैले मानें । अब भन त, आरक्षणको सिद्धान्त के हो ?”  वीपीले फेरि आइटम चेञ्ज गरे ।

“आरक्षणको सिद्धान्त त प्रष्टै छ नि, गरिबीको रेखामुनि रहेकामध्येपनि सीमान्तिकृत व्यक्ति र परिवारलाइ आरक्षण गरिन्छ । तिनीहरुलाइ कसरी राष्ट्रिय मूलधारमा ल्याउने भनि राज्यलाइ चिन्ता हुनुपर्ने भएकोले यो आरक्षणको सिद्धान्त प्रतिपादन भएको हो ।” रामचन्द्र वाजेले पाठ वुझाएसरी सैद्धान्तिक ब्याख्या गरे ।

“आरक्षणको सर्वमान्य सिद्धान्त यही हो । तर, नेपालमा कुन वर्गका कस्ता-कस्ताले आरक्षणको उपभोग गरिरहेछन् त ?”  वीपीले फेरि अप्टेरै प्रश्न राखे । “नेपालमा हुनेखाने वर्गका टाठाबाठाले आरक्षणको उपभोग गरिरहेछन् ।”  यहाँ रामचन्द्र वाजेले कत्तिपनि ढाँटेनन् ।

“ ‘आदिवासी’ कस्लाइ भन्ने हो ?” वीपीले फड्का मारेर सोधे । “जो पहिलेदेखि बस्दैआएको छ, त्यही आदिवासी भयो । यस्मा शङ्कै छैन नि ?” “नेपालमा शेर्पाहरु कहिलेदेखि छन् र बाहुनहरु कहिलेदेखि छन् ?” “बाहुनहरु १५०० बर्षभन्दा अघिदेखि छन् । शेर्पाहरु त नेपाल प्रवेश गरेको बल्ल ३०० बर्ष पुग्दैछ ।”

“यो हिसाबले को आदिवासी हुनुपर्ने ?” यो प्रश्नमा आइपुग्दा रामचन्द्र वाजे गल्याकगुलुक् भए । ‘तपाईंको आशय वुझें । हामी पथभ्रष्ट भएकै ह्वौं । क्षमा गरिदिनुहोस्’ भनेर हात जोडेर नतमस्तक हुँदा भए ।

(नेपाली आख्यान साहित्यका सर्जक स्वर्गीय विशेश्वर प्रसाद कोइरालाको अहिले जन्म शताब्दी परेको छ । सो अवसरमा बेल्जियममा पनि भोलि सोमबार अगस्ट ८ का दिन बृहत साहित्य गोष्ठीका साथ जन्म शताब्दी कार्यक्रमको आयोजना गरिएको छ । तिनै सर्जक, साहित्यकार, राजनितिज्ञको जन्म शताब्दीको अवशरमा यो लेख प्रकाशित गरिएको छ-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया