नेपालका आदीवाशी जनजाति र आजको आवश्यकता
- रामबहादुर गुरुङ / वेल्जियम
नेपालको आदीवाशी ‘कुन कुन समुदाय हुन ?’ भन्ने विषयमा एक खाले वौद्धिकहरुले हिन्दुहरुनै भएको तर्क पेश गरेका छन । ति हिन्दुहरु प्राचिन नेपाल खाल्डो अथवा वर्तमान काठमाडौं उपत्यकामा परापूर्वकाल देखी बसोबास गरेको आधार बनाएका छन । प्राचिनकालमा काठमाडौं उपत्यकानै नेपाल थियो । तर वर्तमान नेपाल त पृथ्विनारायण शाहले गरेको सामारिक एकिकरण पछिनै बनेको हो । यसकारण वर्तमान नेपाल बन्नुपूर्व यो भुगोलको बिभिन्न क्षेत्रमा बिभिन्न खाले समुदायले आफ्नो राज्यसत्ता संचालन गरेका थिए । यद्दपी ती राज्यसत्ताहरु विकासको क्रममानै थिए भने कुनै निक्कै बिकसित पनि थिए ।
ती आदीवाशी जनजातिका राज्यसत्तामा उनिहरुले आफ्नै भाषा,धर्म,संस्कृतीको विकास गरेका थिए । यद्दपी त्यो विकास उतिवेलाको भारतमा विकसित सभ्यताको तुलनामा निम्नकोटीकोनै थियो होला । तर त्यसको पूर्ण विकास नहुँदै तत्कालिन भारतमा मुगल आक्रमण झेल्न नसकी आफ्नो ज्यान बचाउन तराइको घना जंगल पार गदै यो पहाडी भुगोलमा शरणार्थीको रुपमा विचरण गर्न थालेका हिन्दू रजौटाहरुले पछि विस्तारै कौटिल्य निती प्रयोग गर्दै आदीवाशी जनजातिहरुको राज्य हड्पेर उनिहरुनै शासक हुन थालेको र आदीवाशी जनजातिहरु चाहीँ रैती हुन पुगेको घटना गोर्खा लिगलिगको घले राज्यलाइ द्रव्यशाहले जालझेल गरेर हडपेको इतिहांसले प्रमाणित गर्दछ ।
यस भन्दा अघिका आदीवाशी जनजातिका राज्यहरु मगरात, तमुवानहरु लगायत अन्यलाइ पनि त्यसै गरि हडपेको थियो भने पछिल्लो चरणमा निक्कै शक्तिशाली मानिएको लिम्वुवानलाइ सैन्यवलबाट मात्र अधिनमा पार्न नसकेपछि अनेक जालझेल र तिकडम गरेर पृथ्विनारायणशाहले किपट प्रथा (जुन एक प्रकारको स्वशासन प्रणाली थियो) लागु गरेर लिम्वुवानलाइ नेपालमा गाभेको थियो भन्ने इतिहांसमा उल्लेख छ । यती लामो भुमिका किन बाँध्नु परेको हो भने नेपालको यो भुभागमा आदीम कालदेखी आदीवाशी जनजातिहरु थिए भन्नको लागी हो । दुर्भाग्यवश नेपालको एकिकरण पश्चात आदीवाशी जनजातिहरु मध्ये राष्ट्रको रुपमा विकसित भइसकेका समुदायहरुलाइ उनिहरुको धर्म,भाषा तथा संस्कृतीलाइ हिन्दू उच्च ब्रहामणवादी हैकमले कुल्चँदै वलपूर्वक हिन्दु वर्णाश्रम धर्म अनुशार नेपाललाइ हिन्दु राष्ट्र र नेपाली भाषालाइ राष्ट्र भाषाको रुपमा लाद्ने काम भयो ।
झण्डै अढाइसय वर्षसम्म आन्तरिक राष्ट्रियताका आदीवाशी जनजातिहरुलाइ सामन्तवादी राज्यसत्ताले भाषिक,धार्मिक तथा सांस्कृतिक उत्पिडनमा पार्दै आइरहेको कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । त्यति हुँदा हुँदै पनि प्रतिकृयावादी खेमाका वौद्धिकहरुले यो आन्तरिक राष्ट्रियताका आदीवासी जनजातिहरुलाइ हिन्दु वर्णाश्रम व्यवस्था अन्तर्गतनै राखेर जात जाति भनेर प्रचार गदै आएको मात्र नभइ उनिहरुको न्यायोचित मागलाइ नजरअन्दाज गर्न जात जातिको नाममा राष्ट्रको विखण्डन हुन दिन हुँदैन भन्दै आएका छन । तर यदी उनीहरुको मागलाइ यथोचित सम्वोधन गर्ने हो भने राष्ट्रको रुपमा विकास भैसकेका आदीवाशी जनजातिहरुलाइ अग्राधिकार सहित पहिचानको आधारमा राज्यमा उनिहरुको पहुंच हुने खालको संघिय प्रणालीको राज्यपुनर्संरचना गरिनु पर्दछ ।
पहिलो संम्विधानसभामा पनि यहीं विषयले प्रमुखता पायो र यहीं विषयलाइ टुंगोमा पुर्याउन यसैलाइ हिजोको दशवर्षे जनयुद्धमा पनि मुद्धा वनाएको राजनीतिक दल एमाओवादीले आत्मसमर्पणवादी चरित्रको कारण अडान लिन नसक्नाले यो विषयलाइ संम्विधानसभामा प्रकृयागत मतदानमा नल्याइ बिचैमा तुहाएरसंविधानसभा भाग एकको विघटन भयो । अहिले आएर संम्विधानसभा भाग २ मा यो विषयलाइ दह्रोसँग उठाएर राज्यपुनर्संरचनामा समावेश होला जस्तो पटक्कै देखिदैन । तर जहिलेसम्म यो मुद्धाको सही सम्वोधन हुँदैन तब सम्म नेपालको राज्यपुनर्संरचना अधुरै रहन्छ र यसको पुनरावृत्ती भइनै रहनेछ । यसले ठुल्ठला संघर्ष वा आन्दोलन पक्कै पनि निम्त्याउने छ ।
आदीवाशी जनजातीय मुक्तिको सवाल
नेपालको आदीवाशी जनजातिको विषय राज्यसत्ताले राज्यको बहुसंख्यक समुदायलाइ सदियौं देखी उत्पिडनमा पारिराखेको विषय हो । यो उत्पिडनको समस्यालाइ हेर्ने र समाधान खोज्ने दुइवटा दृष्टिकोण देखिन्छ । पहिलो निरपेक्ष जातिवादी आन्दोलन र दोश्रो वर्गिय दृष्टिकोण । पहिलो दृष्टिकोण अनुशार चर्को नस्लवादी साम्प्रादायिक नारालाइ अगाडी सारेर त्यो उत्पिडत समुदाय समग्रको ध्यानाकर्षण गर्दै शासक जाति भित्रको एउटा निश्चित जाति विरुद्ध घृणा फैलाउने गर्दछ जसले गर्दा उत्पिडत समुदायप्रती अन्य समुदाय भित्रबाट समर्थन वा सहानुभूती राख्ने न्यायप्रेमी भावनालाइ समेत निमोठेर ति जातीहरुबिच साम्प्रादयिक विभेद खडा गरिदिन्छ । त्यो अत्यन्त हानिकारक छ । तर दोश्रो वर्गिय दृष्टिकोण अनुशार यो जातिय तथा सामुदायिक उत्पिडन पनि अन्ततः वर्गियनै हुन्छ । यसैले सर्वहारा वर्गिय दृष्टिकोण अनुशार उनिहरु पनि सामन्तवादी राज्य सत्ताको शोषणमानै परेका हुन । यसकारण आदीवाशी जनजातिहरुको उत्पिडन विरुद्धको यो आन्दोलनलाइ वर्गिय मुक्ति आन्दोलनसंगै जोडेर सँगसँगै लैजानुपर्छ ।
आदीवाशी जनजातिहरुको यो उत्पिडन विरुद्धको आन्दोलनलाइ आमुल परिवर्तनकारी शक्ति अर्थात क्रान्तिकारीहरुले वर्गिय मुक्ति आन्दोलनमा जोडन चुक्यो भने वा पछाडी पर्यो भने यो आन्दोलनलाइ वुर्जवाहरुले षडयन्त्रपूर्वक ढंगले अनततः दलाल पूँजिपतीहरुको स्वार्थमा टुंद्याउने छन । जसरी हिजो गोरेवहादुर खपांगीले यो आन्दोलनलाइ राजदर्वारमा लगेर त्वम् शरण्म गराए । यसकारण यो जाति मात्र नभइ आन्तरिक राष्ट्रियता माथी राज्यले सदियौंदेखी गर्दै आइरहेको उत्पिडन विरुद्धको आन्दोलन भएकोले उत्पिडनवाट मुक्त हुन यसलाई वर्गिय आन्दोलनमै समाहित गर्नुपर्ने मालेमावादी मान्यता हो ।
यदी यो आन्दोलन वर्गिय मुक्ति आन्दोलनसँग जोडिएन भने नेपालको सन्दर्भमा माथी उल्लेख गरिसके जस्तै साम्प्रादायिक हुन जान्छ । यो आन्दोलन साम्प्रादायिक आन्दोलनको रुपमा विकास हुन गयो भने यो मुद्धाले अन्य न्यायप्रेमी जनसमुदायको समर्थन पाउन सक्दैन । जव यो आम जनताको समर्थनवाट कटेर जान्छ निसन्देह यस्ले पराजय तथा विघटन व्योहोर्नुपर्ने हुन्छ । नेपालको अहिलेसम्मको आदीवाशी जनजातिको आन्दोलनको इतिहांसले यहिंनै देखाएको छ ।
राष्ट्रिय स्वाधिनता र आन्तरिक राष्ट्रियताको अन्तरसम्वन्ध
अहिले नेपाल अन्तर्राष्ट्रिय गुप्तचरहरुको अखडा भयो भन्ने कुरा त बेलायती पत्रकार थोमस वेलको काठामाण्डु भन्ने पुस्तकमा उल्लेख भएर नेपाली पत्रपत्रिकाहरुमा प्रसारित भइसकेको छ । यसलेपनि नेपालको राष्ट्रियता संकटमा छ भन्ने विषयलाइ अझ प्रचार गरिदिएको छ । तर देशभक्त नेपालीहरुलाइ नेपालको राष्ट्रियताको विषयले धेरै पहिले देखी पिडा दिंदै आइरहेको छ । छिमेकी देश भारत र नेपालबिच भएको सन् १९५० को असमान सन्धिदेखि विप्पा सम्झौतासम्म आइपुग्दा भारतले नेपाललाइ अघोषित उपनिवेश वनाइसकेको भन्दा फरक नपर्ला । भारतिय सैन्य हस्तक्षेपमार्फत नेपाललाइ किन अधिनमा पार्नु पर्यो र जबकी यहाँका सेना, कर्मचारीतन्त्र र राजनीतिक दलका नेताहरुलाइनै भारतमुखी बनाइदिए पछि ?
२००७ साल यताका सबै श्रृखलावद्ध घटनाक्रमहरुलाइ हेर्ने हो भने नेपालको शासक वर्गले फगत भारतको चाकरी गरिरहेको छ भने भारत नेपालको आर्थिक,सामाजिक र राजनीतिक सबै क्षेत्रमा हस्तक्षेपकारी निती लागु गरेर र अघोषित उपनिवेश बनाउँदै छ । अर्को तिर नेपालको सिमाना अतिक्रमण गरेर उसले नेपाल आमाको छातीमा वुट वजार्दै नांगो प्रदर्शन गरिरहेको छ भने हामी संसारमा वीर भनिने नेपाली उसको सामु निरिह बनिरहेका छौं । यसरी हाम्रो राष्ट्रियताले हरेक क्षेत्रमा घुँडा टेकिरहेको अवस्था एकातिर छ भने अर्कोतिर आन्तरिक राष्ट्रियता भित्रका आदीवाशी जनजातिलाइ नेपालका सामन्तवादी राज्यसत्ताले वृटिसकालिन भारतीय सेनामा बेचेर पहिलो, दोश्रो विश्वयुद्ध हुँदै मलेशिया र इण्डोनेशियाका न्यायप्रेमी जनता विरुद्ध प्रयोग गर्दै आदीवाशी जनजाति लगायत आम नेपाली जनतालाइ विदेशमा रगत पसिना बगाउने संस्कारको विकास गरायो ।
आज आएर लाखौंको संख्यामा नेपाली युवाहरु भारत लगायत खाडी मुलुकहरुमा मात्र जिविकाको लागी अत्यन्त जोखिमा ज्यान राखेर भौंतारिरहेका छन । तिनै बिदेशिने नेपालीको रगत पसिना बगाएर पठाएको पैसाले देशको अर्थतन्त्र धानीरहेको छ । देशका उद्योग धन्धा,कलकारखाना सबै बन्द गराएर सवै आयतित सामानमा देश परनिर्भर हुनपुगेको छ र मानव श्रमको अभावमा कृषि प्रधान भनिने देश आज खाद्यान्न समेत आयत गरेर निर्वाह गरिरहेको अवस्थामा छ । अरवौंको व्यापार घाटाले राष्ट्रिय अर्थतन्त्रमानै असामान्य खालको असन्तुलन आइरहेको छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण यो देस अहिले संसारको सवैभन्दा गरिव मुलुक भनेर चिनिएको छ । यसकारण अहिले राष्ट्रिय स्वाधिनताको विषय पहिलो प्रश्न भएर खडा भएको छ ।
राष्ट्रिय स्वाधिनतामा दखल पुर्याउने हाम्रो छिमेकी भारतको विस्तारवादी नितीको विरुद्धमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अन्य साम्राज्यावादी मुलुकहरुसँग देशभक्त नेपालीहरुले संघर्ष गरेर मात्र हामीले हाम्रो देशलाइ वास्तविक रुपमा स्वतन्त्र र सार्वभौम वनाउन सक्ने छौं । यो राष्ट्रिय स्वाधिनताको युद्धमा हामी सम्पूर्ण स्वाभिमानी देशभक्त नेपालीहरु एकजुट हुनु पर्दछ । यो राष्ट्रिय स्वाधिनताको विषय पनि आखिर वर्गिय मुक्ति संगै गासिएको हुनाले यो संघर्षमा आन्तरिक राष्ट्रियताका समुदायहरुलाइ पनि सामेल गराउन उनिहरुलाइ आन्तरिक राष्ट्रियताको वारे जागरुक वनाउंदै राष्ट्रिय स्वाधिनताको संघर्षमा संलग्न गराउनु पर्छ । राष्ट्रिय स्वाधिनताको समस्या वारे चाहीं कुरो उठाउने तर आन्तरिक राष्ट्रियताको समस्यामा चाहीं चुप्पि साँध्नु भनेको अर्को उपयोगितावाद हो जवकी आदीवाशी जनजातिहरु संधै उपयोगितावादको सिकार हुंदै आएको छ । यसकारण वाह्य राष्ट्रियताको संकटसँग लड्नको लागी आन्तरिक राष्ट्रियता पनि एकतावद्ध र सुदृड हुन जरुरी छ । यसो गर्न क्रान्तिकारी शक्तिहरुले आन्तरिक राष्ट्रियताको समस्या हल गर्ने स्पष्ट मार्गचित्र उनिहरुको विचमा लैजानु जरुरी छ । तबमात्र आदीवाशी जनजातिहरु राष्ट्रिय संकटको विरुद्ध दह्रो ढंगले उपस्थित हुने छन ।
राष्ट्रिय स्वाधिनतामा संकट खडा गर्ने तत्वहरु भनेको सामन्तवाद, नवसंसोधनवाद र नोकरशाह दलाल पूँजीपतीहरुनै हुन । यिनै तत्वहरुको माध्यमद्धारा विषेशगरि विस्तारवादी भारत लगायत साम्राज्यवादीहरुले नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा हस्तक्षेप गदै नेपालीहरुलाइ आधुनिक दास वनाउँदै लगेकाछन । यसकारण यो राष्ट्रिय समस्याबाट पार पाउन नेपाली जनताले आवश्यकता अनुसार जुनसुकै प्रकारको संघर्ष गर्नु पर्ने आजको आवश्यकता हो ।




