प्रहरीको भावना वुझ्ने हिमाल र नवुझ्ने अब्दुल

anandaram-paudel-33434“अब्दुल रहमानमाथि त घनघोर अत्याचार गर्नुभएछ ?” नन्दरामले सोधे ।

“ए.. त्यो सप्तरी, पोर्ताहा-१ को अब्दुल ! उसमाथि अत्याचार हुनपुग्यो, बेग्लै बिषय हो । तर, त्यो कामकार्यवाही हाम्रो आवश्यकता अनुसार गर्न जरुरी थियो । त्यो कामकार्यवाहीबाट हामीले एक तीरले दुई शिकार गरेका छौं ?” दिनेश अमात्यले भने ।

सप्तरीका एसपी दिनेश अमात्य आज फ्रेस मुडमा भेटिएकाले नन्दरामले भलाकुसारी गर्न थालेका थिए । सोधे, “एउटा तीरले दुई शिकार गरेको भन्नुभयो, के गर्नुभयो त्यस्तो ?”

“सर्वप्रथम त के होभने कति तारतम्य मिलाएर नागरिक दैनिकको पूर्वेली संस्करणमा हाम्रो बिषयमा लेख्न लगाएका थियौं । नेपाली जनमानसमा प्रहरी जनमैत्री भएन, प्रहरी अपराधीसँग मिल्यो, पार्टीनेताको प्रभावमा परेर अपराधी छोड्यो, पार्टीनेताको चाकरी गरेर जनतालाइ पेल्यो भन्ने धारणा सेट भएर रहेको छ । त्यो धारणालाइ चीर्नुपर्यो भनेर प्रहरीले गरेका केही राम्रा कामहरु खोजेर प्रकाशित गर्न लगायौं । कति करकोशीस गरेर बल्लतल्ल यति गर्न सकिएको छ, त्यस्मा पानी फेर्ने काम गरेपछि झोक चल्नु स्वाभाविकै हो नि ? होकि ह्वैन त ? एउटा यो भयो ।

अर्कोचाहीं केभने, जहिलेपनि प्रहरीको कमिकमजोरी खोजिरहने पत्रकारहरु छन् । कुन प्रहरीले कुन नेतासँग साँठगाँठ जोड्यो । कुन नेताको निर्देशनमा कुन अपराधी छोड्यो । कुन अपराधीसँग कति रकम हात पारेर कुन मुद्दा कसरी मिलायो । यस्ता कुराहरु खोतली-खोतली निकाल्छन् र हामीलाइ चौबाटोमै नङ्ग्याइदिन्छन् । यो कार्यवाहीले यस्ता पत्रकारलाइ चेतावनी पनि हुने भएकोले एउटै तीरले दुई शिकार गरेको हुँ । यही सन्दर्भमा तपाईंहरु जस्तै पत्रकार पुनम पोखरेललाइ पनि पक्डेर ल्याएँ । बयान गराएँ । कार्यवाही हुनेभो भनेर निकै तर्सिन् । भयभित भइन् । अबउप्रान्त यस्तो कहिल्यै गर्नेछैन भनेर कागज गरिन्। कागज गराएर छाडिदिएँ।”  एसपी दिनेश अमात्यले एकसासमा वृतान्त कहे ।

“त्यो अब्दुल रहमानले गरेकोचाहीं के थियो त्यस्तो ?” नन्दराम छर्लङ्ग हुन चाहे ।

“हाम्रा केही राम्रा कामको बखान छापेको पत्रिकालाइ ट्याग गरेर फेसबुकमा हाल्न लगाएको थिएँ । ‘कहाँ सुध्रिएको छ प्रहरी ? चोरी भएको आफ्नै बाइक ल्याउन पैसा ख्वाउन परिरहेछ’ भनेर कमेण्ट लेखेछ । बल्ल एकपल्ट प्रहरीको प्रशंसा लेखेर छापेको पत्रिकालाइ ट्याग गरेको ठाउँमा यस्तो लेखिदिएपछि हाम्रो सम्पूर्ण प्रयास ब्यर्थ गएन भन्या ? अनि कसरी खप्नु ?”  एसपी दिनेश अमात्यजीको आक्रोश अझै सेलाएको रहेनछ ।

“अर्की पत्रकार पुनम पोखरेललेचाहीं के गरिछन् ?”  नन्दरामले खर् याकखुरुक्  सबै वुझ्न चाहे ।

“तिनले त त्यस्तो केही गरेकी थिइनन् । त्यही अब्दुलको कमेण्टलाइ ‘लाइक’ गरेकी थिइन् । पहिलो ‘लाइक’ गर्ने यिनै थिइन् ।”

“के अब्दुलको बाइक चोरी भएको थियो ?”

“हैन नि, १ महिना अघि उस्को छेमेकी वैद्यनाथ यादवको बाइक चोरिएको थियो ।  वैद्यनाथको बाइक पछि प्रहरीले फेला पार्यो । त्यही फिर्ता लिनजाँदा प्रहरीले थोरबहुत लियोहोला । बाइक फिर्ता ल्याउन प्रहरीलाइ पैसा ख्वाउनुपर्यो भनेर उस्को दिमागमा सेट भएर बसेको रहेछ । हामीले ट्याग गरेको ‘प्रहरी सुध्रिएको फिचर’ मुन्तिर कमेण्ट ठोकिदिएछ ।”  एसपी दिनेश अमात्यले भने ।

“तर, तपाईंले त अब्दुललाइ धेरै नै दुःख दिनुभयो भन्ने पो सुनेको थिएँ ।”  नन्दरामको जिज्ञाशा मेटिएन ।

“दुःख त दिएँ नि । तर, सबै प्रकृया पुर्याएर दिएँ । अदालतबाट म्याद लिएर र बाटो म्यादसमेत् भनेर २० दिन पूरै थुनें । त्यतिमात्रै हो र, त्यस्का परिवार, नाताकुटुम्बले भेट्न नसकुन् भनेर १० किलोमिटर पर रुपनी ठानामा थुनेर राखें । पुनरावेदन अदालतमा बन्दीप्रत्यक्षीकरण रीट हालेछन् । पुनरावेदन अदालतमा उपस्थित गराउनु भनेर ४ वजे आदेश आइपुगेको थियो, मेरो पालो त्यही दिन साँझ काठमाडौं चलान गरिदिएँ ।”

“फेसबुकमा तपाईंहरुले ट्याग गर्नुभएको स्टाटसमा कसैले एउटा वाक्य कमेण्ट लेखेको मात्र कारणले यत्रो मुद्दा लाग्छ र ? योपनि कुनै जघन्य अपराध हो र ?”  नन्दरामको खसखस मेटिएन ।

“तपाईंले भन्नुभएको ठीक हो । अरु बेलामा यो सामान्य हो । कत्रा-कत्रा डरलाग्दा जघन्य अपराध गरेका खुङ्खार अपराधीहरु हाम्रै अगाडी शानसँग डुक्रिरहेछन् । तिनका तुलनामा यो के अपराध हो र ? प्रहरीको प्रशंसामा बल्ल एकपल्ट छापिएको फिचरको  सम्वेदनशिलतालाइ त्यो अब्दुलले वुझ्नुपर्थ्यो । त्यति नवुझ्नाले खोरमा जाकियो। हरेक घटनालाइ हेर्ने तपाईंहरुको र हाम्रो नजरिया फरक हुन्छ । तपाईंहरु कि त आफ्नो स्वच्छ ब्रह्मबाट निर्देशित हुनुहुन्छ, कि त जनताको भावना भन्नुहुन्छ । तपाईंहरुले जनताको भावना भनेजस्तै हामीपनि प्रहरीको भावना भन्छौं । हाम्रो भावनालाइ वुझेरै, अरु सबुदप्रमाण तातोभुत्लो केही नभएको, यस्तो खोक्रो केसमा सप्तरी जिल्ला अदालतका न्यायाधीशले एकपल्ट ७ दिन र अर्कोपल्ट १० दिन थुनामा राख्न म्याद दिएका थिए । सरकारी वकील हिमाल त्रितालले एक लाख रुपैयाँ जरिवाना र ५ बर्ष जेलसजायँ ठेकिनेगरी मुद्दा बनाएका थिए । यो फरकलाइ तपाईंहरुले वुझिदिनुपर् यो।” दिनेश अमात्यले अहिलेभने गहीरो कुरा गरे ।

“काठमाडौं जिल्ला अदालतका न्यायाधीशले त अब्दुल रहमानलाइ सफाई दिएछन् त ?” नन्दरामले संशय व्यक्त गरे ।

“यो त सोझै वुझिने कुरो छ । यदि त्यो अदालत यहाँ सप्तरीमा भएकोभए र ती न्यायाधीश कुलप्रसाद शर्मा यहाँ कार्यरत भए यहाँका जिल्ला न्यायाधीश र सरकारी वकीलले गरेजस्तै हाम्रो भावना वुझेर काम गर्थे । त्यही अनुरुप फैसला हुन्थ्यो ।” दिनेश अमात्यले भित्री कुरोको चुरो नै खोलिदिए ।

यति सरल र सामान्य कुरोको चुरो पहिल्यै किन वुझ्न सकिन भनेर आत्मसमीक्षा गर्दै नन्दराम विदा भए ।

तपाइँको प्रतिक्रिया