मध्यराति सुटुक्क किन नेपाल आयो त्यो जहाज ?
सत्र वर्षपछि छिमेकबाट ठूला पाहुना आए र नेपालीको मन जितेर फर्किए । अहिले सबैतिर यसैको चर्चा छ तर उनले आइतबार काठमाडौं टेकेकै मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको भारतीय वायुसेनाको ठ्याक्क दुरुस्तै विमान कुन प्रयोजनका निम्ति आयो र त्यसको पनि केही समयअगाडि सिन्धुपाल्चोकको प्राकृतिक प्रकोपमा नेपाललाई साथ दिन उतैबाट आएको एक अर्को विज्ञ टोलीको प्रवेशप्रति नेपाली सेनाले किन घोर आपत्ति प्रकट ग¥यो भन्नेबारे चाहिँ धेरैलाई थाहा नहुन सक्छ ।
के प्रधानमन्त्री नरेन्द्र मोदी चढेको बोइङ ७३७ (इण्डिया फोक्स्टर चार्ली ०५४)मा कुनै प्राविधिक खराबी देखिएको हो ? उस्तै रङ रुपको ट्वीन (जुम्ल्याहा) जहाज रातारात झिकाइनुको मतलब सोमबार पाहुनालाई त्यसैमा फर्काउने योजना त थिएन ? सिन्धुपाल्चोकमा पहिरो झरेर सुनकोशी थुनिँदा त्यसले विकराल बाढीको रुप लिएर चतरा हुँदै बिहारसम्मैै भ्याउने खतरा देखा परेपछि नेपाल सरकारले राष्ट्रिय विपद् घोषणा गरी छिमेकी राष्ट्रहरुसँग मद्दत मागेको थियो । सोहीअनुरुप सि १३० जहाजमा ५ जना विपद् व्यवस्थापकहरु दक्षिणबाट नेपाल आए भने प्रधानमन्त्री चढ्ने खालको अर्को जहाजमा १२ जना मध्यराति नेपाल ओर्लिए । त्यसमा आएकाहरुले दुई घण्टा लगाएर आफ्ना प्रधानमन्त्री चढेको जहाज मर्मत गरे । अस्ति साँझ मोदीले नेपाल छाड्नु २५ मीनेटअगाडि मात्रै उक्त जहाज दिल्लीतर्फ उड्यो । विपद् व्यवस्थापकहरु चाहिँ हिँजो बुलेटप्रुफ २ वटा कार र फ्रिक्वेन्सी जामर जीपसँगै रुसनिर्मित इलुसिन जहाजबाट स्वदेश फिर्ता भए । गृह मन्त्रालयअन्तर्गतको बिपद् व्यवस्थापन समितिले प्राकृतिक प्रकोपको भयावहतालाई ध्यानमा राख्दै भारत र चीनसँग सहयोग मागेको पृष्ठभूमिमा राजनीतिक तहको सहमतिअनुरुप दक्षिणबाट टोली आउन लागेको सूचना प्राप्त हुनासाथ सेनापति गौरव समशेरले आपत्ति जनाएका हुन् ।
यसक्रममा मौसम खराब भएको कारण देखाउँदै भारतीय विज्ञ टोली चढेको जहाजलाई काठमाडौंमा अवतरण गर्न नदिनेसम्मको छलफल चलेको थियो । जस्तोसुकै दैवी प्रकोपमा उद्धार गर्न आफू सक्षम रहेको बताउँदै कुलोजत्रो खोलो थुनिँदैमा आफूसँग भएको क्षमतालाई कम आँकेर विदेशी गुहारेको र राष्ट्रिय विपत्ति घोषणा गर्दा नसोधिएको भन्दै सेनाले सरकारसमक्ष आपत्ति जनाएको हो । विपद् व्यवस्थापनका निम्ति माओवादी लडाकूलाई समेत समेटेर सेनामा विकास निर्माण तथा विपद् व्यवस्थापन महाशाखासमेत गठन गरिसकिएको छ । यसअघि २०४९ सालमा यस्तै विपत्ति पर्दा गिरिजाप्रसाद कोइरालाले सहयोग मागेबमोजिम भारतीय सेनाले २ वटा हेलिकोप्टर र १७ जनाको उद्धारक टोली पठाएको थियो । जसलाई नेपाली सेनाले काठमाडौं एयरपोर्टबाट हलचल गर्न दिएन र ती त्यत्तिकै फिर्ता भए । मोदीले संसदमा गरेको भाषणमा समेत ‘तपाईंहरुलाई हिजो कोशी नदी थुनिँदा विपद् परेकोमा मलाई पनि दुखेको छ’ भन्दै आफूले उद्दारमा सहयोग गर्ने संकेत दिएका थिए ।
जनजनको मनमा प्रभाव छाडे पनि मोदी भ्रमणलाई नेपालले आफ्नो हितमा जसरी प्रयोग गर्न सक्ने सम्भावना थियो त्योचाहिँ पूरा भएन । उनले अर्ति दिए, कथा हाले, लोकप्रिय बन्न जे जे गर्नुपथ्र्यो त्यो गरे तर भारतले गरिरहेको सुक्ष्म व्यवस्थापनबाट दिक्क भएका नेपालीले अबउप्रान्त स्वतन्त्र ढंगले निर्णय गर्न पाउने हुन् वा होइनन् त्योचाहिँ हेर्न बाँकी छ । उनको भ्रमणबाट नेपालले तुरुन्तै धेरैभन्दा धेरै ठोस उपलब्धी हासिल गर्न नसक्नुमा तयारीका क्रममा नेपाली पक्षले गरेको ढिलासुस्ती र कमजोरी पक्कै पनि जिम्मेवार होला तर भारतीय पक्षले जसरी पिटिए र पिडिएमा अध्ययन गर्न सहयोग माग ग¥यो त्यसबाट नेपालको समेत हित हुनेगरी सम्झौता गर्ने पक्षमा उनीहरुलाई द्विविधा छ कि भन्ने आशंका बढाएको छ ।
यो भ्रमणका क्रममा मोदीले नेपालसँग राजनीतिक तहमा संवाद घनिभूत गराइनुपर्छ र कर्मचारीतन्त्र अझ विशेषगरी खुफिया एजेन्सीहरुको सक्रियतालाई घटाइनुपर्छ भन्ने बुझेर गए वा भनांै नेपाली पक्षले त्यसका लागि आग्रह गरेर पठाएको रहेछ भने यो भ्रमण नेपालको विकास, प्रगति र राजनीतिक स्थायित्वका लागि समेत कोसेढुंगा सावित हुनसक्छ । नत्र, संसदमा भाषण गर्दा पटक–पटक ‘गौतम बुद्ध’ को नाम लिएर खाएको ताली र सडकमा सर्वसाधारणसँग हात मिलाउँदा पाएको वाहवाही फगत पानीको फोका झैं बन्नसक्छ । स्मरण रहोस्, पूर्व भारतीय राजदूत राकेश सुदले अनावश्यक सक्रियता देखाउँदा नेपालमा विकास भएको भारतविरोधी लहरको ज्वारभाटाको प्रभाव अझैसम्म निकै जब्बर रुपमा नेपालीको दिल दिमागमा घर गरेर बसेको छ ।
नेपालमा इण्डियाको पहिलो प्राथमिकता संविधान नै रहेको देखियो । त्यसो हुँदा पुस, माघसम्म यो सरकार रहने भो । एजेन्सीका कर्मचारी लागे पनि मोदीले खुद्रा मसिना राजनीतिक मामिलामा चासो राख्ने देखिएन । भारतको निम्ति काम गर्ने नेपालीहरु हाक्काहाक्की भन्छन्, ‘एमालेले समर्थन फिर्ता लिएर हुन्छ र ? कामचलाउ बनेर यही सरकार चलिरहन्छ ।’ मोदीले पनि पहाड, हिमाल र तराईको नाम पटक–पटक लिए तर झुक्किएर पनि मधेश भनेनन् । उनी शब्दमा समेत सचेत भएको देखियो । सिटौलालाई एजेन्सीसँग मिलेर उपप्रधानमन्त्री तथा गृहमन्त्री हुने हतारो छ । यसबीच यसैनिम्ति प्रचण्डसँग समेत उनले वार्ता गरेको स्रोतको दाबी छ । मोदीले कमा र फुलस्टपको कारणले समेत पछि समस्या नपरोस्, विषवृक्ष नबनोस्, भनेर संविधानको सम्बन्धमा आफ्नो रुचि देखाए । यसमार्फत् नेपाली दलहरुलाई अधिकतम सम्झौता गर नै भनेका हुन् । के हुन सक्छ त त्यो मिलनबिन्दु ? त्यो भनेको पोहोर जेठ २ गते सम्पन्न प्रदेश सभाले नै नाम राख्ने गरी ११ प्रदेशको गठन, तराईमा ३ प्रदेश उत्तर र दक्षिण नचिरिने सहमति हो ।
(जनआस्था, २०७१ साल साउन २१ गते बुधवारको अंकबाट)




