कठैबरा, आफ्नै सहधर्मिणीलाइ !!

आनन्दराम पौडेल

journalist-ananda-ram-paudel-32345“तपाईंलाइ त ११ बर्ष कैद ठेकिएछ ?”  नन्दरामले पहिलो प्रश्न राखे । “त्यतिमात्र होइन, ५५ हजार जरिवाना र क्षतिपूर्तिको समेत् आदेश भएको छ ।” दीपक पण्डितले भने । दीपक पण्डितले आफ्नै श्रीमतिलाइ बेश्यावृत्तिमा लगाएको चर्चा सुनेकै बेलामा नन्दराम अचम्मित भएको थियो । पत्याउनै गाह्रो परेको थियो। कौतुहल र जिज्ञाशाले चिमोटिरह्यो । यो दिपक पण्डित कहाँ भेटिन्छन् भनेर सोधखोज गर्यो,  र पत्ता लगायो । जिल्ला प्रहरी कार्यालय, भक्तपुर अन्तर्गत प्रहरी हिरासतमा रहेछ । त्यहीं गएर भेट्यो। मुद्दाको किनारा नलागुञ्जेल वकीलले केही नबोल्नु भनेकाले दीपकले बोल्न चाहेनन् । साउन १२ गते मङ्गलबारका दिन भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलाशले फैसला गरेपछि दीपकजी बल्ल नन्दरामसँग वात मार्न राजी भए ।
“के तपाईंले आफ्नी पत्नीलाइ बेश्यावृत्तिमा लगाउनुभएको हो ?”  नन्दरामले कौतुहल मेटाउन चाहे ।
“हो ।”  दीपकले दबेको स्वरमा बिस्तारै बोले ।
“बेश्यालयमा लगेर बेच्नुभएको कि ?”
“हैन, आफैंले बेश्यावृत्तिमा लगाउँथें ।”
“कसरी यौनधन्दा गराउनुहुन्थ्यो ?”  नन्दरामले बयानकै ढाँचामा प्रश्न राखे । “मधेशी मूलका नेपालीहरुसँग मेरो परिचय भएको थियो। उहाँहरु पहाडे आइमाइसँग यौनसम्बन्ध राख्न चाहना गर्नुहुन्थ्यो । मैले सोचें, उहाँहरुको इच्छापुर्तिपनि हुने, आफूलाइ सजिलो कमाईपनि हुने भएकोले मैले आफ्नै श्रीमतिसँग यौनसम्बन्ध राख्न लगाएँ।”  दीपकले यथार्थ नै खोले। कुरा लुकाएनन् ।
“शारिरीक सम्बन्धको लागि उनीहरुलाइ घरमै ल्याउनुहुन्थ्यो कि अन्यत्र ब्यवस्था मिलाउनुभएको थियो ?”  नन्दरामको कौतुहल बढ्यो । “कृषि विकास बैंक, ठिमी शाखाबाट ऋण लिएर ठमेलमा ‘ओम युनिक बडी केयर मसाज सेण्टर’ खोलेको थिएँ । त्यहाँ शारिरीक सम्बन्ध राख्न अनुकुल नभएको स्थितिमा भक्तपुर, बालकोटको डेरामा ल्याउँथें। आफू बाहिर बसेर भित्र शारिरीक सम्बन्धको लागि सहज बनाउँथें । यहाँ बालकोटको डेरामा छोराछोरीपनि भएको र नाताकुटुम्बहरु पनि आइरहने हुनाले लैनचौरमा छुट्टै डेरा लिएको थिएँ ।”  आफूले मिलाएको बन्दोबस्त र चाँजोपाँजो वर्णन गरे । “बालकोटमा डेरा भन्नुभयो, घरचाहीं कता पर् यो  ?”
“साम्पालकोट, वडा नं-३, सिन्धुपाल्चोक हो ।”
“तपाईंकी श्रीमति दुइटा सन्तानकी आमा रहिछन्। अहिले कति बर्षकी भइन् ?” “अहिले २७ बर्ष लागिन्। दुइटी सन्तानकी आमा भएपनि कसीलो जिउ छ। दुटा सन्तानकी आमा होलिन् भनेर कसैले कल्पना गर्न सक्दैन। जिउडाल मिलेको चिटिक्क छिन। गोरी छिन्। हिस्सी परेको अनुहार छ। हरहिसाबले लोभलाग्दी छिन्। यही सम्भावना देखेरै मैले त्यसबेला निकै कोशिस गरेर बिहे गरेको हुँ।”  दीपकले भित्री रहस्यको छेउमा लगे ।
“ ‘यही सम्भावना देखेरै….’ भन्नुभयो । के सोच्नुभएको थियो र केकस्तो सम्भावना देख्नुभयो ?”
“यत्तिकी सुन्दरी केटीलाइ भित्र्याउनपाए यिनको सुन्दरतालाइ नै कमाउने माध्यम बनाउन सकिन्छ भनेर सोचेको थिएँ।”  दीपकले एउटा भित्री पोको खोले। “निकै कोशिस गरेर यिनीसँग विवाह गरेको हुँ भन्नुभयो। विवाह गर्नुअघि केटी फकाउन निकै गाह्रो परेको थियो कि क्याहो ?” “यिनी त सानै थिइन्। यिनका बाउआमाले पहिले त छोरी सानै छ भनेर इन्कार गरे। पछि हाम्रो घरमा छोरी दिन आनाकानी गरे। त्यसैले, उनका नाताकुटुम्बहरुलाइ प्रयोग गर्नुपर्यो । ” “परपुरुषसँग यौनसम्बन्ध राख्न तपाईंकी श्रीमति तैयार भइन् त ?” “कहाँ मान्नु ? कतिपटक चुटें, पिटें। सल्काएकै चुरोटले पोलें। एकपल्ट त मैनबत्ति नै झोसिदिएको थिएँ। पूरै आतङ्कित पारेर बल्लतल्ल करणीको लागि तैयार पार्थें।”
“ओ…हो ! बलिरहेको मैनबत्ति नै झोसिदिने ?” “बलिरहेको मैनबत्तिको ज्वालाले योनीमा पोल्नखोजेको थिएँ। योनीको रौं नै डढेका थिए । सल्केको चुरोट छातिमा झोसें। देब्रेपटी दुधको मुण्टो दागिएको थियो। पाइपले चुट्थें। लात्तैलात्ताले भक्कुमार गोद्थें।”  दीपकले अन्तरकुन्तर नै खोले । “तपाईंले भन्नुभए अनुसार त्यति राम्री केटी, तपाईंका सन्तानकी आमा, आफ्नै जीवनसङ्गिनीमाथि त्यत्रो अत्याचार गर्न कसरी सक्नुभएको ? तपाईंको हृदय ढुङ्गाको होकि क्या हो ?” “कोमलहृदय बनाएर के गर्नु ?  बेलुका यसो खानपिन गर्ने बानि परिहाल्यो । अरु आम्दानी केही छैन ।”  दीपकले स्वीकारे । “समाजले यस्लाइ पाप भन्छ। कानुनले अपराध भन्छ। यत्रो अत्याचार गर्ने आँट कसरी आयो ?” “म मान्छु, यो ठीक काम होइन। तर, हामीबाट भएका गलत काम मात्रै न पापपनि हुन्छ, अपराधपनि हुन्छ । ठूलाबडाले जे गरेपनि सदर हुँदोरहेछ।”  दीपकले नै प्रसङ्ग कोट्याए ।
“एकदुइटा उदाहरण दिनुहोस् त ।”
“मेरो साथि पाँचथरको फिदिममा लेखन्दासको काम गर्छ। म एकपटक त्यहाँ पुगेको थिएँ । मालपोत अधिकृत केशव न्यौपानेले मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशनदेखि लेनदेन तमसुक पास गर्न आउने क्लाइण्टहरुसँग क्याम्पसको नाममा मूल्याङ्कनको सयकडा २५ पैसाको दरले अलग्गै शुल्क जम्मा नगरुञ्जेल निवेदनफाइल नै छुँन दिंदैनन्। पाँचथर क्याम्पसका प्रमुख खेमनाथ खतिवडा र मालपोत कार्यालयका अधिकृत केशव न्यौपाने मिलेर यसरी हाक्काहाक्की अवैध रकम असुलिरहेछन् । पोहोर उठाएको रकम हिसाबकिताब गरेका थिए, १६ लाख ३० हजार भएछ भन्दैथिए । त्यस्तै, रेडक्रसका अध्यक्ष, र रेडक्रस अधिकृत रुद्र अधिकारीले सिडिओसँग मिलेर पासपोर्ट लिन आउने ब्यक्तिसँग दरखास्त फारामसँगै प्रतिब्यक्ति रु.५०० असुल्छन् । ठूलाबडाले हाक्काहाक्की अवैध असुली गर्दासमेत् कसैले औंलो ठड्याउँदैनरहेछ। त्यही देखेर मेरो हौसला बढेको हो ।”  दीपक पण्डितले भित्रको अन्तरकुन्तरका खल्याकखुलुक् सबै निकाले ।
ठूलाबडाका अपराध कोट्याउन थाल्ने होभने यो जमिन सर्लक्कै भासिन्छ। बरु, नन्दरामले बीट मारेर हिंड्न उचित ठाने। कारागारका कर्मचारीले पनि कैदीबन्दीसँग धेरै भलाकुसारी गरेको मन पराएका थिएनन्। नन्दराम विदावादी भएर हिंडे ।

तपाइँको प्रतिक्रिया