मोदी भाषण, नेपालको समस्या र भारतीय बहस

bharat-dahal

भरत दहाल

१ – नरेन्द्र मोदीले औपचारीकतामैं भएपनि सबै पहल कदमीको जिम्मा यहाँका शासकहरूको हातमा छोडिदिएका छन्। एउटा कुशल खेलाडीले प्रयोग गर्ने शैलि यहि हो । अब नेपालका शासकहरूले सिमाना, अतिक्रमित भूमी, १९५० को संन्धि, हतियार संझौता, असमान नदि संझौताहरू, समुद्री नाकासम्मको बाटो, खुला सिमाना, सिमाबर्ति गैर कानूनी बाँधहरूको उत्पात आदि स्थायी प्रकारका समस्याहरूका बारेमा आम विज्ञहरूसंग बहस चलाएर प्रस्ताव लैजानु पर्छ । यसबाट नै “मोदी मोदी” गर्ने आश्रित जमातका बीचमा मोदीको चिल्लो भाषण असलि परिक्षण हुनेछ । भित्रि नियत त परिक्षणबाट थाहा पार्इन्छ । तर बाहिरबाट भारतलार्इ भन्ने धेरै ठाउँ उनले दिएका छैनन् ।

२ – संसदमा मोदीको भाषा र प्रस्तुति राम्रो देखिएको छ । उनले धर्म निरपेक्षताप्रतिमौन रहेर काशी र पशुपतिका कुरा गर्दै हिन्दू मनोविज्ञान आकर्षित गर्ने प्रयास गरेका छन्, जो खतरनाक छ । भारतको आवश्यकताका रूपमा जलश्रोत र रामदेवको पतञ्जलि कंपनीका लागि जडिबुटीमा ध्यान केन्द्रीत हुनु मोदी भाषणको मूख्य विशेषता हो । हाल नेपालको विद्युत अभाव आफूले पूरा गरिदिने र १० बर्षपछि नेपालले भारतकाे अँध्यारो हटार्इदिने उनको कुराले भारत कुटनीतिक भाषामा नेपालकाे सबै पानी मागिरहेको छ भन्ने प्रष्टसंग बुझिन्छ, किनकि सबै पानीको अभावमा मोदीको अपेक्षा पूरा हुँदैन । यो यस अगाडी विवादमा आएको उर्जा तथा जलश्रोत संझौताको प्रस्तावकै अब्यक्त अभिव्यक्ति हो ।

३- नेपालसंग बल्झिएका सिमा स्तम्भ, भूमी अतिक्रमण, कालापानीमा भारतको सैन्य उपस्थिति, सिमाबर्ति बाँधहरूले पुर्याएको बर्बादी, अन्तर्राष्ट्रिय कानूनले पाउनुपर्ने सामुद्रीक नाकासम्मकाे बाटो, असमान प्रकारका आर्थिक, राजनीतिक, व्यापारीक, सुरक्षा संधि संझौताहरू, खुला सिमानाबाट उत्पन्न समस्याको व्यवस्थापन जस्ता नेपाललार्इ सँधैभरि पिरोलिरहेका खासखास समस्याहरूलार्इ मोदीले पूर्ण उपेक्षा गरेका छन् । यसबाट अन्दाज गर्न सकिन्छ कि भारतले यी कुराहरू सुन्न चाहन्न। यी कुराहरू समाधान नहुने हो भने मोदीको भ्रमण राजनीतिक होइन, व्यापारीक दाउपेचमैं सिमित रहन्छ।

४- मोदी भ्रमणकाे सर्वाधिक खतरनाक रणनीतिको एउटा पाटोलार्इ अब नयाँ ढंगले बहसमा लैजानुपर्ने भएको छ । उनको सुरक्षाका नाममा काठमाडौंमामा नानाथरि चटकहरू देखार्इए । सडक बन्द गरेर आक्रमणकारी समात्ने तालिम दिर्इयो । स्कूलहरू बन्द गरेर सनसनि पैदा गर्न खोजियो । यातायातका बाटाहरू अनावश्यक ठाउँमा पनि बन्द गरियो । भ्रमणका दिन यातायात बन्द गरेर मानिसहरूलार्इ सडकमा जम्मा हुने वातावरण बनार्इयो ।

तर मोदीले गल्ली गल्लीमा उत्रेर हात मिलाए । सडकका लार्इनमा अभिवादन गर्दै हिंडे। माेदीकाे पैदल यात्राले साबित गरिदियाे कि मोदीको सुरक्षाको तयारीको होहल्लाको कारण असुरक्षा थिएन । यसका विपरित थियो, उनको नामलार्इ अलौकिकरण गरेर भिड जम्मा गर्ने र त्यस भिडका बीचमा मोदीलार्इ खडा गरेर जयजयकार गर्न लगाउने । यो चाटुकारीताशास्त्रको प्रयोग थियो । यो प्रयास हिंजोका नेपालका राजाहरूको स्थानमा मोदीलार्इ राख्ने षडयन्त्रको एउटा अंग थियाे। धार्मिक मनाेविज्ञान भजाएर नेपालकाे सम्राट बन्न खोज्ने यो घृणित मनोबैज्ञानिक हमलाको सारतत्व त्यो बचन सुन्दा अझ स्पष्ट हुन्छ, जब मोदीले बारम्बार काशीमा नेपाली पुजारी र पशुपतिमा भारतीय पुजारीको कथा सुनाएर नेपालको जनजातिय सँस्कृति, जो नेपालको सबैभन्दा पुरानो र यहाँको सभ्यता विकासको आधार स्तंम्भहो, लार्इ केहि होइन भन्ने भावमा प्रस्तुत हुन्छन् ।

५-तत्कालको प्राथमिकता पानी र जडीबुटीको व्यापार भएपनि मोदी भ्रमणमा भारतको आधारभूत चासो सामरीक पक्ष हो । औपचारिक कार्यक्रममा औपचारिक कुराहरू नै उठ्छन् । यस्ता कुराले वास्तविकताको प्रतिनिधित्व गर्दैनन् । भारतमा मोदीको नेपाल भ्रमण सामरीक बहसमा केन्द्रीत छ, जसको मूख्य उद्देश्य नेपालमा बढ्दो चिनियाँ प्रभावलार्इ खुइल्याएर नेपाललार्इ आफ्नो प्रभावमा एकलौटी पार्नु हो भन्ने बहस भारतीयहरूले गरिरहेका छन् । नेपालसंग विकासमा साझेदारीको भारतीय नाराको मूल मर्म चीनलार्इ अघि बढ्न नदिनु हो भन्ने उनीहरूको प्रष्ट कथन छ । भारतमा भैरहेको बहसको सानाे अंश तलको भिडीयोमा हेर्नुहोस् र यी समग्र परिप्रेक्षमा मात्र नेपाल-भारत संबन्धका बारेमा बहस गर्नु पर्दछ । भारतले आफ्नो नीतिलार्इ पूरा बदले हाम्रा लागि पनि स्वागतयोग्य हुनेछ तर आजका दिनसम्म भोलीको आँकलनको मूख्य आधार हामीले भोग्दै आएको इतिहास नै हो ।
(दहालको फेसबूकबाट)

तपाइँको प्रतिक्रिया