अजासु बाहुन

आनन्दराम पौडेल

anandaram-paudel-33434“पुष्पलालको सच्चा उत्तराधिकारी हामीमात्रै ह्वौं भनेर दावी गर्नुभयो नि ? के आधारमा भन्नुभयो ?”  नन्दरामले सोधे । “जस्ले हिजो पुष्पलाललाइ ‘कांग्रेसको पुच्छर’ भनेर खेदे । ‘गद्दार पुष्पलाल’ पुस्तिका दशौं हजार छपाएर बाँडे । पुष्पलालको नीति पारित हुँदापनि नेतृत्व अर्कैलाइ दिए। पुष्पलाललाइ किनारा लगाए, खुइल्याए, लखेटे । तिनीहरुलाइ त पुष्पलालको नाम लिनपनि अधिकार छैन।” प्रचण्डले कारण प्रष्ट्याए ।

“तपाईंहरुमाथि पनि, ‘पुष्पलालको नाम भजाएर फाइदा लिन खोजेको’ आरोप छ नि ?” “के आधारमा यस्तो आरोप लगाए ?” प्रचण्डले उल्टै सोधे । “पुष्पलालको सच्चा अनुयायी हुँ भन्नेले पुष्पलालको विचारलाइ पक्रनुपर्थ्यो । पुष्पलालले देखाएको बाटो र दिशामा हिंड्नुपर्थ्यो । पुष्पलालको मिशन र गोललाइ बोक्नुपर्थ्यो ।  तपाईंहरु त पुष्पलालको विचार टक्टक्याएर उल्टो बाटोमा हिंडिरहनुभएको छ।” नन्दरामले प्रष्ट्याइदिए । “यो त गम्भीर आरोप भयो। उल्टो बाटो हिंडेको एउटा उदाहरण दिन सक्नुहुन्छ ?” प्रचण्ड नै प्रश्नकर्ता बने ।

“तपाईंहरु जातीय, साम्प्रदायिक राजनीति गरिरहनुभएको छ। एउटा उदाहरण यै भयो ।” नन्दरामले छोटकरीमा राखे । “त्यो हाम्रो बाध्यता हो।” निकै अड्केर प्रचण्डले यत्तिमात्र बोले । “त्यो बाध्यता थाहा पाउन सकिन्छ कि ?”

“समाज विकासको जुन नियमलाइ पक्रेर हाम्रो समाजले विकास गर्दैआएको छ ती नियमलाइ नखल्ब्याइ अगाडी बढोस् भन्ने चाहना राख्नेहरु नेपाली कांग्रेस पार्टीको नजिक हुँदैगए । आधुनिकताको हावाले छोएर समाजवादतिर आकर्षित भएकाहरुलाइ नेकपा एमालेले समेट्यो। हाम्रो लागि राजनीतिक फिल्ड नै बाँकि रहेन । जसरी एउटा अनुभवी किसानले सर्वप्रथम मलीलो खेत खोज्छ, त्यसैगरी राजनीति गर्नेले पनि फिल्ड त खोज्छ नि ? हामीले यही फिल्ड भेट्टायौं ।” प्रचण्डले बिबशताको ब्याख्या गरे ।

“सबैले, ‘तपाईंहरु साम्राज्यवादको भरौटे बन्नुभयो’ भनिरहेछन् । के भन्नुहुन्छ ?”  “त्यसो भन्नुको आधार के हो ?” “विश्वबाट कम्युनिष्ट आन्दोलनलाइ उन्मुलन गर्ने अमेरिकाको घोषित कार्यसूचीको पहिलो प्राथमिकता हो । राजनीतिमा जातपात, धर्म, सम्प्रदायलाइ घालमेल गरिदिनासाथ वर्गसङ्घर्ष निस्तेज हुन्छ। वर्गसङ्घर्ष कमजोर भएपछि कम्युनिष्ट आन्दोलन ध्वस्त हुन्छ भन्ने उहाँहरुको निस्कर्ष छ। ठ्याक्कै त्यही सूत्रलाइ तपाईंहरुले प्रयोग गरिरहनुभएको छ।”  नन्दरामले यथार्थको मर्म नै राखिदिए ।

“तपाईंले भनेको सत्यसाँचो हो । तर के गर्नु, नेपालमा विचारमा आधारीत राजनीति टाक्सिंदैगएको र सङ्गठन र शक्तिमा आधारीत राजनीति फस्टाउँदैगएको छ । विचार, सिद्धान्तलाइ स्थगित राखेर भएपनि सङ्गठन विस्तार गर्नु बाध्यता बनेको छ । तर, यो बिषय पुष्पलालसँग कहाँनिर, कसरी जोडियो ?”  प्रचण्डले ठाडै प्रश्न राखे । “निर्वासनकालमा पुष्पलालजी बनारसमै बसेर राजनीतिक कृयाकलाप सञ्चालन गरिरहेका थिए। नेपालबाट कट्टर जातिवादी, साम्प्रदायिकहरु हूलकाहूल जान्थे । र, ‘तपाईंले राजनीतिमा जात, सम्प्रदायलाइ मिसाइदिनुहोस् अनि
हेर्नुहोला, पार्टीसङ्गठन ह्वात्तै बढेर कहाँ पुग्नेछ’ भन्थे । उहाँले ती जातिवादीहरुलाइ शुरुमा सम्झाइवुझाइ गरेर पठाउनुभयो। पछि हप्काउनुभयो । र, ‘जाति जनिने भएकोले म अव उप्रान्त नामसँग ‘श्रेष्ठ’ लेख्नेछैन ।

तपाईंहरुले पनि मेरो नाम लेख्दा श्रेष्ठ नलेखिदिनुहोला’ भनेर सार्वजनिक तवरमै घोषणा गर्नुभयो । जातपातको राजनीतिले वर्गसङ्घर्षलाइ निस्तेज मात्रै हैन ध्वस्त नै पार्छ भन्ने उहाँको निस्कर्ष थियो । तर, तपाईंहरुले पुष्पलालको नीति, सिद्धान्तविपरीत जातपातको राजनीति गरिरहनुभएको छ । त्यसैले, तपाईंहरु गलत बाटो र उल्टो दिशातिर गैरहनुभएको छ।”  नन्दरामले छर्लङ्गै पारिदिए ।

“यो एउटा बिषयमा उल्टोपाल्टो पर् यो  होला । त्यत्तिकैमा पुष्पलालका विचार, नीति र सिद्धान्तबाट विमुख भएको भन्न त मिल्दैन नि ?”  प्रचण्डलेनै खोतले । “पुष्पलालजी बस्तुनिष्ठ हुनुहुन्थ्यो।  तथ्यबाट सत्य पत्तालगाउनुहुन्थ्यो । तर, तपाईंहरु  तथ्य र यथार्थलाइ पन्छाउनुहुन्छ । आत्मनिष्ठ भएर मनोमानि हिसाबले निर्णय लिनुहुन्छ।” नन्दरामले साङ्केतिक रुपमा राखे । “एउटा उदाहरण दिनुहोस् त ?”  प्रचण्डले जिज्ञासा राखे । “युएनडिपीको मानव विकास प्रतिवेदनको मानव विकास सुचकाङ्क र धेरै सर्वेक्षण रिपोर्टहरु हेर्दा पहाडे बाहुन-क्षेत्रीभन्दा अरु धेरै जातजातिहरु सूचकाङ्कमा धेरै माथि छन् । आर्थिक समृद्धि, शिक्षा, चेतना र पहूँचको हिसाबले नेवार, मनाङ्गे, थकाली, मारवाडी, गुरुङ र तराईका फर्वार्ड कास्ट (राजपूत, कायस्थ, भूमिहार र ब्राह्मण) हरुको हैसियत पहाडे बाहुन-क्षेत्रीको भन्दा कता-हो-कता माथि छ ।

रोल्पा, रुकुम, सल्यान, जाजरकोट, मुगु, हुम्ला, वाजुरा, वझाङका जैशीबाहुनको दयनीय हालत हामीले देखेका छौं । तर, तपाईंहरुले तिनीहरुलाइ नै आरक्षणबाट वञ्चित गरिदिनुभएको छ र हैसियतवालालाइ चाहीं आरक्षण प्रदान गर्नुभएको छ। नेपालमा ३५० बर्षअघि शेर्पा थिएनन्। तर, चाँगुनारायणको शिलालेख र अन्य शिलालेखको अध्ययन गर्दा नेपालमा १५०० बर्षअघिपनि पहाडे बाहुनहरुको बसोबास देखिन्छ । तपाईंहरुले शेर्पालाइ ‘आदिवासी’ मा राखेर पहाडे बाहुन-क्षेत्रीलाइ ‘अन्य’ मा फालिदिनुभएको छ ।”  नन्दरामले तथ्यतथ्याङ्क नै अघि सारे ।

“तपाईंले जे भन्नुभयो त्यस्मा खण्डन गर्ने ठाउँ छैन । ती अकाट्य हुन् । मुख्य भित्री चुरो कुरो के होभने यी बाहुनहरुमा टीमकल्चर छैन । अहङ्कार र घमण्डले चुलिएर बस्छन् । मारवाडी समुदायमा एउटा मारवाडीको कारोबार बिग्र्योभने सबै मारवाडी मिलेर उस्लाइ उकास्छन् । तर, ब्राह्मण समुदायमा एउटाको ब्यबहार बिग्र्योभने सबैले खुच्चिङ बजाउँछन्। थकालीहरुमा पनि सामुदायिक भावना प्रवल छ । यी आफैं मिल्ननसक्ने, सङ्गठित हुननसक्ने, अजासु (अति जान्नेसुन्ने पल्टने) बाहुनहरुलाइ कसैले काँध थाप्न सक्दैन । यी एक्लेवीरहरु आफ्नै कारणले सिद्धिने नै हुन्। त्यसैले, यिनीहरुको बिषयमा तपाईंले बढी चिन्ता नलिनुहोस्।” अहिलेचाहीं प्रचण्डले खाँट्टी कुरो नै बोले ।

आगोजत्तिकै सत्ययथार्थ भएकोले यो प्रसङ्गले नन्दरामको दाँतमा ढुङ्गा लाग्यो। गतिमा ब्रेक लाग्यो । सोचनीय मुद्रामा देखिए । नमस्कार टक्र्याएर बिदा भए ।

तपाइँको प्रतिक्रिया