गुण्डाराज्य
● आनन्दराम पौडेल
“त्रिबिका उपकुलपति हीराबहादुर महर्जन र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाइ छाडिदिनुभएछ त ?” नन्दरामले सोधे ।
“हीराबहादुरजी मधुमेहको रोगी हुनुहुन्छ । औषधि ल्याउन भुल्नुभएछ । मधुमेहले साह्रै च्यापेर गाह्रो परेको देखेर छाडिदिएका ह्वौं ।” उदयकिशोर तिवारीजीले भने ।
असार ३० गते २ बजे आफूलाइ विश्वबिद्यालयका शिक्षक भन्ने एउटा हूल एक्कासि उपकुलपतिको कार्यकक्षमा पस्यो । उपकुलपति हिराबहादुर महर्जनलाइ चारैतिरबाट घेरे । अर्को हूल शिक्षाध्यक्ष गुणनिधि न्यौपानेको कार्यकक्ष भित्र पस्यो । गुणनिधि न्यौपानेलाइ कार्यकक्षबाट उठाएर, प्रहरीले अपराधीलाइ पक्डेसरी, भाग्न उम्कन नसक्नेगरी घेराबन्दी गरेर उपकुलपतिकै कार्यकक्षमा ल्याए । उपकुलपतिको कार्यकक्षमा साँझ अबेरसम्म होहल्ला र नारावाजी भैरह्यो । ८ बजेपछि कल्याङमल्याङ गर्दै निस्के । त्रिबिबिको प्राङ्गणमै एकछिन रोकेर उदयकिशोर तिवारीसँग नन्दरामले सम्बाद गरे ।
“तपाईंको परिचय पाउँ न ?” नन्दरामले वुझ्न खोजे ।
“मेरो नाम उदयकिशोर तिवारी । लोकतान्त्रिक प्राध्यापक सङ्घको अध्यक्ष हुँ ।”
“यस्ता विशेषता बोकेका सङ्घहरु धेरै छन् । पार्टी-पार्टीका प्राध्यापक सङ्घ छन् । तपाईंहरुको यो सङ्घचाहीं कस्तो हो ?”
“हो, पार्टी-पार्टीका प्राध्यापक सङ्घ छन्। हाम्रो यो प्राध्यापक सङ्घपनि तराईमधेश लोकतान्त्रिक पार्टीसँग सम्बन्धित छ ।”
“तपाईंहरुले त हूलै बाँधेर कुलपति र शिक्षाध्यक्षलाइ रातिसम्मै कोठाभित्र थुनेर राख्नुभयो । किन यस्तो गर्नुभएको ?
“हाम्रा माँग पुरा गराउन ।” उदयजीले छोटकरी जवाफ दिए ।
“छ-छ घण्टासम्म के गरिरहनुभयो ?”
“के गर्नु ? हाम्रा कुरा राख्यौं । करायौं । धम्कायौं । नारावाजी गर्यौं । ट्वाइलेट जानेबाहेक अरु कुनै काम गर्न दिएनौं ।”
“तपाईंहरुका माँग के-के हुन् ?”
“त्रिभुवन विश्वबिद्यालयमा पदाधिकारीहरु नियुक्त गर्दा २५ प्रतिशत पदमा हामीले रोजेका मान्छे नियुक्त गर्नुपर्ने । चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज र त्यसका आङ्गिक क्याम्पसहरुमा एमबिबिएस तथा एमडीमा भर्ना लिंदा हामीले तोकेका मान्छे भर्ना गर्नका लागि कोटा छुट्याइदिनुपर्ने । आंशिक शिक्षकहरुलाइ करारमा नियुक्त गर्ने । यसअघि कागज गराएका बिषयलाइ कार्यान्वयन गर्नुपर्ने लगायत छन्।” हतार भएकोले होला उदयजीले छोटकरी राखे ।
“आंशिक शिक्षकहरुलाइ सोझै करारमा नियुक्त गर्नुपर्छ भन्नुभयो। करारमा नियुक्ती पाएकाहरु अब हामीलाइ सोझै स्थायी गरिदिनुपर्छ भनिरहेछन्। तपाईंहरुले भन्नुभएका यी आंशिक शिक्षकहरुले पनि करारमा नियुक्ति पाएपछि स्वत स्थायीको माँग गर्ने होलान् नि ?” नन्दरामले खोतल्न चाहे ।
“त्यो माग त अवश्य हुनेछ । हुने नै यही हो ।”
“कसैको फेर समातेर आंशिकमा छिर्ने, दबाब दिएर करारमा उक्लने र घेराबन्दी गरेर स्थायी हुने, यो ‘ब्याकडोर’ को बाटो भन्दा स्वस्थ प्रतिस्पर्धाको बाटो उत्तम हुथ्योहोला ? तपाईंहरुले त, ‘त्रिबिबि सेवा आयोगलाइ सकृय बनाउ’ पो भन्नुपर्थ्यो । होइन र ?” नन्दरामले अझै अँठ्याएर सोधे ।
“तपाईंसँग म सहमत छु। सही बाटो त्यही हो। त्यस्तै हुनुपर्थ्यो । तर, नेपालको राज्यब्यवस्थाले सही बाटो उहिल्यै छाडिसकेको ह्वैन र ?” उदयजीले उल्टै प्रश्न राखे ।
“केही उदाहरणहरु दिनुहोस् त ?”
“समाज कल्याण मन्त्रालय अन्तर्गतका महिला विकास कार्यालयहरुमा ठाडो निवेदन लिएर तोकआदेशबाट नियुक्त भएका ९४३ जना कर्मचारी थिए । भित्रभित्रै प्रकृया मिलाएर स्थायी गरियो । स्थायी मात्र गरिएन, पुरानो नोकरी (ठाडै तोकआदेशबाट नियुक्त भएको) अवधीलाइ समेत पेन्शनको लागि जोडियो । टेलिकममा ठाडो तोकआदेशबाट पार्टीका झोलेहरु भर्ति गरिएको थियो । त्यस्ता १३०० झोलेहरुलाइ त्यसैगरी भित्रभित्रै प्रकृया मिलाएर स्थायीमा पुर्याइयो । त्रिबिबिकै प्रसङ्गमा भन्नुपर्दा, २०४७ सालअघि फेर समातेर छिरेका लेक्चररहरुलाइ स्वत स्थायी गरिदिने भनेर २०४७ सालमा उपकुलपति बीसी मल्लजीले नै निर्णय लिएका हुन् । वहुदल आउनासाथ पार्टीका झोलेहरुलाइ सोझै पुनरावेदन अदालतको स्थायी न्यायाधीशमा हुल्न थालियो । धेरैभन्दा धेरै पार्टीका झोलेहरुलाइ खपत गर्नुपरेकोले ९-१० महिनाअघि जिल्ला न्यायाधीशमा दरबन्दीभन्दा चौखण्ड बढी कोचेको ‘भल्गर’ दृश्य त हाम्रो सामुन्ने नै छ । कति बर्णन गरुँ ? हजार जिब्रा भएका शेषनागले समेत् बर्णन गर्ननसकिने छ ।” अहिलेचाहीं उदयजीले आगोजत्तिकै भर्भराउँदो सत्य बोले ।
“यसअघि कागज गराएका बिषयलाइ कार्यान्वयन गर्नुपर्ने भन्नुभयो । त्यो कहिले गराउनुभएको थियो ?”
“२०६९ साल असोजमा ।”
“त्यसबेला त सौहार्द्रपूर्ण वातावरणमै छलफल गरेर सम्झौतामा पुग्नुभएको थियोहोला नि, होइन ?” नन्दरामले पुरानो प्रसङ्ग जोडे ।
“कहाँ सौहार्द्रपूर्ण वातावरणमा हुन्छ ? यो राज्यब्यवस्थामा कहाँ छ संस्कार, सभ्यता, भद्रता, विवेक र अनुशासन ? तपाईं सभ्य तवरले पेश हुनुहोस् त, तपाईंलाइ कुकूर-बिरालोजति पनि गन्दैनन् । हूल बाँधेर हा….हू…. गर्दै घेराबन्दी गर्नुहोस्, अझ ढुङ्गामुढा गर्नुहोस्, गर्नैनहुने र सोच्नसमेत् नसकिने नाजायज काम सबै गरिदिन्छन् । हामीले पनि त्यसबखत यही सुत्र अपनायौं । यिनै उपकुलपति हिराबहादुर महर्जन, रजिष्ट्रार चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाइ बल्खुकै सेरिड कार्यालयमा खानसुत्नै नदिएर २२ घण्टा थुनेर राख्यौं । मानमर्दन गर्यौं । हप्कायौंदप्कायौं, तर्सायौं, आतङ्कित नै गर्यौं र गलायौं । थकितगलित भएर अन्तमा केहीशिप नलाग्ने भएपछि मात्र हामीले तैयार गरेर लगेको कागजमा सही गरेका हुन् । त्यसबखत यति आतङ्कित पारेका थियौं कि तिनीहरुको दिमाग अझै रन्थनिएको होला ! त्यसपछि त लामै समयसम्म हामीलाइ देख्नासाथ झसङ्ग हुन्थे ।” उदयजीले आफ्नो पुरुषार्थको बर्णन गरे ।
“यो त गुण्डा, अपराधीहरुले गर्ने काम होइन र ? शिक्षक, प्राध्यापकहरुले यसरी कसैलाइ थुनेर, आतङ्कित गरेर आफ्नो काम निकाल्ने भएपछि अब गुण्डा र अपराधी गिरोहले के काम गर्ने ?”
“तपाईंको चिन्ता जायज हो । तर, के गर्ने ? राष्ट्रका अगुवाहरु नै गुण्डा, अपराधी भन्दा भयङ्कर ‘महागुण्डा’ छन् । ‘जसो-जसो बाहुनबराजु उसै-उसै स्वाहा’ भनेको सुन्नुभएको छैन ?” उदयजीको पछिल्लो अभिव्यक्तिले नन्दरामको बोल्ति बन्द भयो । यसपछि बोल्ने ठाउँ बाँकि रहेन । नमस्कार गरेर हिंड्यो ।




