प्रहरी सुध्रिएको समाचार

आनन्दराम पौडेल  

journalist-ananda-ram-paudel-32345जनकपुरमा दिउँसो पानी परेकोले गर्मीको रापतापबाट मुक्ति मिलेको महसुस हुन्थ्यो । ५ जना मिलेर एक झोला आँप बुत्याइसकेपछि ६ बजेतिर रामानन्द चोकमा जम्मा भएका थिए । एउटा पत्रिकाले प्रहरी प्रशासन सुध्रिएको लामो रिपोर्टिङ प्रकाशित गरेको रहेछ, नन्दरामले त्यही पढ्दैथिए । एकजना बृद्ध छेउमै बसेर ध्यानपुर्बक सुनिरहेका रहेछन्, जुरुक्क उठे । “केही बोल्न मिल्छ हजुर ?” बृद्धले सोधे ।

“मिल्छ, भन्नुहोस ।” नन्दरामले भने ।

“हजुरहरुले प्रहरीको प्रशंसा गर्नुभयो। खुब सुध्रियो भन्नुभयो । तर प्रहरीले हामीलाइ त्राहिमाम पारेको छ । बाँच्नै कठीन भैरहेछ हजुर ।” बृद्धले हात जोडेर भने ।

“अहिले अरुको छाड्नुहोस्, तपाईंको आफ्नो भन्नुहोस् । पहिला आफ्नो परिचय दिनुहोस् ।” रामानन्दले हस्तक्षेप गरे ।

“मेरो नाम उचित मण्डल हो । मेरो घर यहीं मिथिलेश्वर गाविस, वडा नं ८ मा छ । ६० बर्ष पुगें ।”

“ल भैगो, अहिलेलाइ यति परिचय नै काफी छ । अब सुनाउनुहोस्, प्रहरीले तपाईंमाथि के अत्याचार गर्यो ?” नन्दरामले पुन हस्तक्षेप गरे ।

“डेढबर्ष अघि मेरी कान्छी छोरी सुलोचना बेपत्ता भई । त्यसबेला १४ बर्ष पुगेर १५ लागेकी थिई । हामी बुढाबुढीले चौतर्फी खोज्यौं । सबैले राधेश्याम मण्डलमाथि शङ्का गरे । हुनत राधेश्याम मेरो टाढाको नाता पर्छ । राधेश्यामकी दिदी सङ्गीतादेवीको बिवाह सितामढी जिल्ला, बृन्दावन मुसहरनिया गाउँ, विहारमा भएको छ । यिनै दिदीभाइ मिलेर, यता भाइले गाउँका चेलीहरु लैजाने र उता दिदीले वेचविखनको चाँजो मिलाउने गर्छन् भनेकाले गएको बैशाखमा मेरी श्रीमति  जसोधिया देवी त्यही गाउँमा पुगी । नभन्दै, हाम्री छोरी सुलोचनालाइ राधेश्यामले त्यही मुसहरनिया गाउँका रामबिलास यादवलाइ रु.६५ हजारमा वेचिदिएको रहेछ । वेपत्ता भएकी छोरी खोजेर ल्याएपछि मैले बैशाखमै राधेश्याम विरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दर्ता गराएँ । जिल्ला प्रहरी कार्यालयले बैशाख २१ गते १ दिन पक्डेको जस्तो गर्यो । १ रात हिरासतमा राखेको भान पार्यो । कार्यवाही गर्नु त परको कुरो, बैशाख २२ गतेका दिन जिल्ला प्रहरीका हाकीमहरुले राधेश्यामलाइ चिया ख्वाएर र हात मिलाएर ससम्मान पठाइदिएछन् ।

यता जिल्ला प्रहरीका हाकीमहरुले राधेश्यामलाइ ससम्मान बिदा गरे, त्यही दिन साँझ ललिया प्रहरी चौकीका असई बैजुलाल यादवले मलाइ घरैबाट पक्डेर लग्यो । रातभरी चुट्यो । बदमास राँगो र बहरलाइ पनि यति निर्दयी भएर चुट्दैनन्, त्योभन्दा बढी क्रुर राक्षस बनेर मलाइ चुट्यो । कहिले बुटले हान्थ्यो, कहिले लठ्ठीले पिट्थ्योभने कहिले पाइपले चुट्थ्यो । मलाइ हिरासतमा राखेको कोठामा पटक-पटक आउँथ्यो र लात्तैलात्ताले गोद्थ्यो । प्रत्येकपटक नयाँ-नयाँ अत्तो थाप्थ्यो र निहुँ खोज्थ्यो । ‘यहाँ गाउँमा प्रहरी चौकी हुँदाहुँदै तँ बडो जान्ने भएर एसपी कार्यालयमा उजुरी हाल्न जाने ? कस्ले दियो यत्रो बुद्धि ? त्यहाँ उजुरी दिएर के कार्यवाही भयो ?’ भन्थ्यो र लात्तैलात्ताले भकुर्न थाल्थ्यो । ‘उजुरी कस्ले लेखिदियो ? वकील कस्लाइ राखिस् ?’ भन्थ्यो र चड्कन लगाउँथ्यो । असई बैजुलाल यादवको कुटाईले म अर्धबेहोस अवस्थामा पुगिसकेको थिएँ । हिरासतमै मर्नेभयो भनेर छाड्यो । चल्नचल्मलाउनै नसक्ने भएको थिएँ । केही दिन अञ्चल अस्पतालमा उपचार गराएँ ।”

यति बृतान्त बताइसक्दा उचित मण्डलको हृदय भरिएर आयो । आँखा रसाए । घुँक्क-घुँक्क गरेर रुनथाले । बलिन्द्रधारा आँसु बग्यो । वातावरणमा एकछिन सन्नाटा छायो । सबै हेरेकोहेर्यै भए । एकजनाले पकेटरुमाल दिए । उचितले लिएनन् । आफ्नै काँधको गम्छा निकालेर आँसु पुछे । एकछिनपछि शान्त भए, र पुन आफ्नो ब्यथा पोख्न थाले । “यता म उपचार गराएर घर फिरें । यही छेकोमा त्यही राधेश्यामले मेरी जेठी छोरी २५ बर्षकी सुगनी देवीलाइ झुक्याएर बेचिसकेछ । असई बैजुलाल यादवको अत्याचार र छोरीचेली बेच्ने राधेश्यामका कर्तुतहरु खुलाएर मैले केन्द्रदेखि जिल्लासम्म उजुरी हालें । नागरिक समाजका अगुवा भन्नेहरुसँग पनि हारगुहार गरें । सबैले, ‘गाउँको समस्या गाउँमै मिलाउनुपर्छ’ भन्छन् । तर, गाउँमा पञ्चायती बसाल्योभने राधेश्यामहरुका विरुद्ध कसैलेपनि मुख खोल्दैन । उसैको डाँको ठूलो हुन्छ । मैले धेरै पत्रकारहरुसामु आफ्नो पीडा पोखें । विनोद महतो नामको पत्रकार र अरु स्थानीय पत्रकारबाहेक ठूला पत्रकारले मेरो पीडाको मर्म वुझेनन् । मभित्र ज्वालामुखि दन्किरहेछ । त्यही प्रहरीको अत्याचारले दन्काएको भर्भराउँदो आगो बोकेर हिंडिरहेको बेलामा तपाईंहरुले, ‘प्रहरीप्रशासन कर्तव्यनिष्ठ भयो’ भनेको सुन्ननसकेर मैले तपाईंहरुलाइ यति डिस्टर्ब गरें । मलाई माफ गर्नुहोस् ।”

यति भन्दै उचित मण्डलले हात जोडे । उचितले हात जोडेको देखेर सबैले हात जोडे । त्यही समूहबाट एकजना बोले, “उचित मण्डलजी, प्रहरीप्रशासनले तपाईंमाथि गरेको अत्याचार मध्ययुगीन बर्बरतालाइ बिर्साउने खालको रहेछ । हामी द्रवित भयौं । पार्टीको मान्छे होइन भने, शक्तिकेन्द्रमा छैन भने र ठूला मेडियाले काखी च्याप्दैनभने यो नेपाल भन्ने देशमा त्यस्को अस्तित्व छैन, स्थान छैन र गणनामा पनि आउँदैन । यहाँ भएका हामीपनि ती योग्यताबाट वञ्चित रहेका पर्यौं । त्यहाँमाथि हामी पहाडे बाहुनक्षेत्री परेकाले राज्यले नै किनारा लगाइदिएको छ । ‘अन्य’ मा फालिदिएको छ ।

हाम्रोपनि हैसियत तपाईंको भन्दा भिन्न छैन । ‘बसेर बोल्यो कसैले सुन्दैन, उठेर बोल्यो हावाले उडाउँछ ।’ हामीमध्ये यो नन्दरामको कलम चल्छ । यस्ले तपाईंको ब्यथाकथा लेखेर प्रकाशित भयोभने दुनिञाले थाहा पाउनेछन् ।” यति भनेर उनी उठे र उचित मण्डलसँग हात मिलाए । सङ्कोच मानि-मानि उचितले पनि हात मिलाए, र सबैलाइ हात जोडेर चुपचाप टाउको निहुर् याएर हिंडे । प्रहरी प्रशासन सुध्रियो भनि प्रकाशित लामो रिपोर्ट पढ्ने जाँगर अब कसैसँग रहेन । त्यो पत्रिकालाइ त्यहीं छाडेर समूहपनि प्रस्थान गर्यो ।

तपाइँको प्रतिक्रिया