मानहानिको क्षेप्यास्त्र

आनन्दराम पौडेल

journalist-ananda-ram-paudel-32345आज नरहरि आचार्यजी निकै हल्का भए । पीलो निचोरेपछि र पैतालामा बिझेको काँडा निकालेपछि हुने सञ्चो महसुस गरे । न्यायाधीश पदमा बसेका ब्यक्तिले गरेका सबै कर्म, ब्यवहार र चरित्र आलोचना र टिप्पणिमुक्त हुन्छ भन्ने विधेयक पेश गरेकोमा चौतर्फी आलोचना खेपिरहेका थिए । जता जाँदापनि यही बिषयमा प्रश्न, जिज्ञाशा र आलोचनाको सामना गरिरहनुपर्दा आगोको भुङ्ग्रोमा पसेको भान भैरहेथ्यो । अस्तिमात्र कान्तिपुर एफएमको हेडलाइनर्सले कस्तो घोचिघोचि प्रश्न सोधेथ्यो । हिजो बिहान महेन्द्र बिष्टको अन्तर्वार्ता र हेटौंडा घर भएका स्तम्भलेखकको अन्तर्वार्ता निकै खरो थियो ।

नेपाल पत्रकार महासङघका अध्यक्ष महेन्द्र बिष्टको ब्यहोरा कडा भएपनि प्रस्तुती शालीन थियो, तर स्तम्भकारले त आगो ओकलिरहका थिए । तर, आज बामदेव गौतम र विपिन अधिकारीले विधेयकको पक्षमा बोलिदिएकाले नरहरिजीले राहत महसुस गरे । दुइ गाँस भात बढी नै खाए । बीबीसी नेपाली सेवा सुनिसकेर बिछ्यौनामा पल्टेका थिए । पूरा निदाइनसकेकोले तन्द्रामै थिए । तन्द्रामै नरहरिजीले धमीलो-धमीलो आकारमा आफ्नै प्रतिमूर्ति देखे । भय, आश्चर्य र रोमाञ्चका भावहरु एक्कैचोटी सञ्चारित भए । हतारिएर सोधे, “को हँ ?” “म तेरै अन्तरात्मा हुँ ।” अन्तरात्माले जवाफ दियो ।

“त्यस्तो के प्रयोजन आइपर्यो र आज मेरो अन्तर्आत्माले प्रकट हुनुपर्यो?” नरहरिले सोधे ।
“तेरो कामको समीक्षा गर्न जरुरी भयो ।”
“मैले त फटाफट काम गरिरहेछु ।”

“गर्न त गरिस्, तर सबै प्रत्युत्पादक गरिस् । एउटा लोकतान्त्रिक छबि बनाएको ब्यक्तिले सोच्नसमेत् नसक्ने उल्टापाल्टा काम गरिस् ।”

“मेरो हातबाट केकस्ता अलोकतान्त्रिक काम भएछन्, थोरै खुलासा गर्न मिल्छ कि ?”
“एउटा उदाहरण त अदालतको मानहानी विधेयक नै भयो ।”
“यस्मा आलोचना गर्नुपर्ने बिषयबस्तु के छ र ?”

“दुइटा प्रश्न उठेका छन् । एउटा, त्यस्मा समावेश केही अतिरिक्त प्रावधान र
दोश्रो, यस्को प्रस्तुती ।” अन्तर्आत्माले ध्यानाकर्षण गरे ।
“कुनचाहीं प्रावधानलाइ भन्न खोज्नुभएको हो ?”
“न्यायाधीशको कुर्सीमा बस्ने ब्यक्तिले न्यायसम्पादनबाहेक त्यसबाहिर गरेका अन्य कृयाकलाप र गतिविधिका बिषयमा समेत् कसैले चर्चा गर्न पाईंदैन भन्ने प्रावधान ।”

“डेढमहिना अघि सर्वोच्च अदालतमा नियुक्त भएका ८ जनामध्ये ६ जना न्यायाधीशको लागि सुरक्षाकवचको जरुरत पर्न गएको हो । उहाँहरुले विगतमा जे-जे गर्नुभएको थियो त्यस्मा धेरै कर्म जनसमक्ष प्रकट गर्न नहुने खालका थिए । त्यस्ता कामकार्यवाहीलाइ खोतल्दा समाजले घीन मान्नसक्थ्यो, नाक थुन्थ्यो र थु-थु गर्थ्यो । नियुक्त हुनुअघि प्रेसले एकदुइटा कर्तुतलाइ
कोट्याउँदासमेत् उहाँहरु निकै तर्सेका र भयभित थिए । उनीहरुका भोलिका गतिविधिपनि अपाच्य हुनसक्थ्यो । त्यस्ता ब्यक्तिलाइ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न म आफैंसमेत् भएर सिफारिश गरें । जनताले विवादास्पद भनेपनि, डुङ्डुङ्ति गन्हाएका भनेपनि र खुङ्खार भनेपनि आफैंले सिफारिश गरेका ब्यक्तिलाइ संरक्षण गर्नुपर्छ भन्ने दायित्ववोधले प्रेरीत गर्यो ।” नरहरिजीले अन्तर्निहीत भित्री मनशाय नै खुलाइदिए ।

“पर्चा खडा गरेर ठाडो कार्यवाही गरी कडा दण्डसजायँ ठोक्ने प्रावधान छ । ठाडो कार्यवाही गरी तोकिएको दण्डसजायँमा चित्त नवुझे पुनरावेदन दिन पाउने ब्यवस्थाबाटपनि बञ्चित गरिएको छ ।” अन्तर्आत्माले कोट्याए ।

“१ बर्ष कैद र १० हजार जरिवाना बढी नै कडा भयो कि भनेर मलाइपनि लागेको हो । त्यस्माथि ठाडो कार्यवाहीबाट दिइने सजायँमा पुनरावेदन गर्न नपाउँने प्रावधान त निरङ्कुश मात्र हैन गैरन्यायिक नै हो भनेर नराख्न खोजेको थिएँ, तर सकिन । बाध्य भएर राखेको हुँ ।” नरहरिजीले लाचारी प्रकट गरे ।
“कस्ले बाध्य पार्यो ?”

“तिनै ६ जना न्यायधीशहरुले रुञ्चे अनुहार बनाएर रोइकराइ गरिरहे । तिनीहरुको रुवावासी खप्न सकिन ।” नरहरिजीले थप लाचारी दर्शाए । “यो अदालतको मानहानी बिषयमा विश्वमान्यता के छ ?” अन्तर्आत्माले अर्को जिज्ञाशा राखे ।

“एउटा, न्यायसम्पादनको कामकार्यवाहीमा बाधा-विरोध, अवरोध गर्योभने र दोश्रो, फैसला कार्यान्वयन गर्न बाधा-विरोध, अवरोध गर्योभने यही दुइटा सन्दर्भमा मात्र अदालतको मानहानी हुन्छ भन्ने विश्वव्यापी मान्यता छ ।” नरहरिजीले प्रष्ट्याए ।

“यो विधेयकमा त न्यायाधीशको पदमा रहेको कुनै ब्यक्तिले गरेका अन्य कामकार्यवाहीका बिषयमा समेत् चर्चा गर्न पाईंदैन भनेको छ । तिनीहरुले गरेका अन्य कृयाकलापको बारेमा गरेका टिप्पणि समेत् किन अदालतको मानहानी मानिने छ भनेको ?” अन्तरात्माले अँठ्याए ।

“गाँठी कुरो नै यही हो । ती ६ जना न्यायाधीशको मुख्य चाहना र लक्ष्यको केन्द्रबिन्दु नै यही थियो । उनीहरु आफ्ना सबै गतिविधिहरु छोपियोस्, ढाकियोस् र अँध्यारोमा राखियोस् भन्ने चाहन्थे ।” नरहरिजीले भित्री कुरोको चुरो नै खोलिदिए ।

“तिनीहरु किन यति सङ्कुचित छन् ?” “तिनीहरुलाइ आफ्नै विगतले लखेटिरहेछ र आफ्नै प्रवृत्तिले ङ्याकिरहेछ ।” “तेरो बध्यता बुझें ।”

यो सम्बादसँगै अन्तरात्मा आफैंभित्र लीन भएको महसुस नरहरिजीले गरे । नरहरीजी एकछिन घोत्लिए । कुन सड्को निन्द्राको गहिराईमा पुगे, पत्तो भएन ।

तपाइँको प्रतिक्रिया