डरलाग्दो सँगै घीनलाग्दो

आनन्दराम पौडेल

anandaram-paudel-33434क्षेत्रीय वन कार्यालय, सुर्खेतको निमित्त प्रमुखको कार्यभार सम्हालेको आज २ हप्ता भैसकेको थियो । तर, डिएफओ रामानन्दन साहको मनचित्त र दिमाग जुम्लामै रुमल्लिरहेको थियो । पानी नपरेकोले होला, यस्पालि सुर्खेतमा जेठ महिनाभरी खपिनसक्नु चर्को गर्मी थियो । साँझ छिप्पिसकेको थियो । घरभित्र बढी गर्मी महसुस भएर रामानन्दन बाहिर पटाङ्गिनीमा कुर्सी राखेर बसेका थिए । फ्रीजबाट जुस मगाए । र, जुस पिउँदै सोच्नथाले, “हुन त केही महिना अघिमात्र जुम्ला वन कार्यालयमा पोष्टिङ भएका हुँ । त्यहाँ वन तस्करहरुले डिएफओ, सहायक वन अधिकृत, रेञ्जरहरुकै सामुन्ने हाक्काहाक्की रूख काट्दारहेछन् । एउटा-दुइटा हैन शयौं रूख, र एक-दुइ दिन हैन महिनौं लगाएर जङ्गलमा आरा चलाउँदारहेछन् । 

डेढ महिनाअघि गुठीचौर गएको थिएँ । गुठीचौर गाविस वडा नं ६, माथचौर घारी राष्ट्रिय वनमा रुख ढालिरहेको देखें । रुख काट्नेहरु रामेछापका रहेछन् । काठ काट्न शिपालु मान्छे चाहियो भनेर खबर पुगेकोले आएका रहेछन् । रूख कटाउने मुख्य ठेकेदारहरु चन्दननाथ गाविस वडा नं ८ बस्ने अशोककुमार श्रेष्ठ र गर्ज्याङ्गकोट गाविस वडा नं २ बस्ने प्रेमबहादुर बुढा रहेछन् । प्रेमबहादुर बुढा वाइसिएल इञ्चार्ज रहेछन्। अशोककुमार श्रेष्ठपनि माओवादीका ठूलै नेता रहेछन् । रेञ्ज वन कार्यालयमा सहायक वन अधिकृत, रेञ्जरहरु सबैलाइ बोलाएँ । ‘यहीं छेउमै, आँखै अगाडी भस्मासुर रुख काटिरहँदा किन नरोकेको’ भनेर सोधेको थिएँ । ‘यसअघिका डिएफओसाहेबहरुले त्यता हात नहाल्नु, बबाल हुन्छ’ भनेका रहेछन्, त्यही सुनाए । ‘सिडिओ, सरकारी वकील र पार्टीका नेताहरु तिनै तस्करको पक्षमा एकजुट हुनेछन् । हामीलाइ एक्लै पारेर टिक्नबस्नै नसक्ने स्थितिमा पुर् याउनेछन् । ज्यान जोगाउनै मुस्किल छ ’ भनेर सम्झाएका रहेछन् । ‘जे पर्छ म ब्यहोर्छु, निरन्तर तिमीहरुसँगै रहन्छु’ भनें । राम्ररी सम्झाएपछि तिनीहरुमा आँटहिम्मत बढ्यो ।

हेटौंडा नवलपुरतिर घर भएकी रेञ्जर अन्शु ढकाल, पर्वत फलेवास घर भएका सहायक वन अधिकृत शिव परियार र कीर्तिपुर घर भएका रेञ्जर रमेश बुढाथोकीहरु काम गर्न जोशिए । जुम्ला जिल्ला, गुठीचौर गाविस वडा नं ६, माथचौर घारी राष्ट्रिय वनमा अवैध रुखकटानी गर्नेलाइ कानुनी कार्यवाही गर्नको लागि रेञ्जर अन्शु ढकाललाइ अनुसन्धान अधिकृत नियुक्त गरें । सहायक वन अधिकृत शिव परियार र रेञ्जर रमेश बुढाथोकीहरु अन्शुलाइ साथ दिन र सहयोग गर्न तत्पर भए । हुन त, अन्शु ढकाल बीएस्सी (फरेस्ट्री) को अध्ययन सक्नासाथै तात्तातै रेञ्जरमा नियुक्ति लिएर आएकी नयाँ कर्मचारी रहिछन् । तर, तिनको काम गर्ने जोश, जाँगर, उत्साह, आँट र हिम्मत देखेरै, र रमेश बुढाथोकी र शिव परियारको सल्लाहबमोजिम अन्शुलाइ अनुसन्धान अधिकृत बनाएको थिएँ ।”

चीसो वतास मन्द-मन्द चल्न थालेकोले रामानन्दन साहले राहत महसुस गरे । कफि मँगाए, र कफिको चुस्कीसँगै पुन जुम्लातिरै फर्किए । सोचे, “कामको अनुभव नभएको २१-२२ बर्षकी कलिली केटी भएपनि अन्शुले गज्जब काम गरिन् । त्यत्रो तैयारीसँग रूख काटिरहेका सबैलाइ बैशाख २४ गतेका दिन १०२२ क्युफिट काठसहित् पक्डिछिन् । ४५ केजीकी च्याँसी केटीले यत्रो आँट गर्लिन् भनेर तिनीहरुले पत्याएका रहेनछन् । पक्डेर हिरासतमा त राखिन्, तर मुद्दाको अरु प्रकृया अघि बढाउन निकै कठिन भयो । चौतर्फी घेराबन्दीमा परिछन् । रमेश बुढाथोकी र शिव परियारले साथ नदिएको भए तिनले काम फत्ते गर्न किमार्थ सक्ने थिइनन् । जिल्लाका माओवादीहरु सबै ओइरिएर आए । तर्साउने, धम्काउने र आतङ्कित गर्ने सबै गरे । अत्यन्तै दुःखद र चित्त कुँढिने कुरो के भयोभने सरकारी वकील, राष्ट्रिय अनुसन्धानका डिएसपी र आफ्नै अड्डा (जिल्ला वन कार्यालय) का नासु नै ती अपराधी तस्करको एजेण्ट भएर उनीहरुको पक्षमा खुलेर लागे ।

नवलपरासी घर भएका, पुनरावेदन अदालतका वकील लक्ष्मण घिमिरेले पटक-पटक रेञ्जर रमेश बुढाथोकीलाइ बोलाएर बिगो घटाउन दबाब दिएछन् । तनहुँ घर भएका, राष्ट्रिय अनुसन्धानका डिएसपी पप्पु शर्मा पौडेलले सहायक वन अधिकृत शिव परियारलाइ पटक-पटक फोन गरेर अभियोगपत्रबाट अशोककुमार श्रेष्ठको नाम हटाइदिन आग्रह गरेछन् । नाम हटाउन नसकिने भएपछि बिगो घटाउन दबाब दिएछन् । बिगोपनि के भन्नु ? यहीं जुम्लामा प्रति क्युफिट हजार भन्दा बढी मूल्यमा बिक्ने काठलाइ सरकारी नियम अनुसार हामीले प्रति क्युफिट रु. शयका दरले बिगो दाबी गर्छौं । सिडिओ कति चलाक रहेछनभने हामीसँग लोलोपोतो राखेजस्तो गर्ने, तर भित्रभित्रै तिनै अपराधीलाइ सहयोग पुर् याइराख्ने गर्दारहेछन् । जुम्लामै घर भएका वन कार्यालयका नासु मीनबहादुर रावलले जब ती अपराधीहरुको एजेण्ट बनेर काम गरेको देख्नुपर् यो, तब म निकै रन्थनिएँ । नासु मीनबहादुर रावल जब वाइसिएल भन्दा चर्को रुपमा प्रस्तुत भयो, तब स्थिति डरलाग्दो मात्र हैन घीनलाग्दो नै भैसकेको महसुस गरें ।”

रामानन्दन साहजीले सर्रर चलेको चीसो बतासको आनन्द लिइरहेका थिए । तर, मन-मस्तिष्कचाहीं जुम्लामै केन्द्रित थियो। सोचे, “त्यस्तो डरलाग्दो परिस्थितिमा पनि विचरी अन्शुले कत्ति नडराई र नडग्मगाई काम गरिन् । र, जेठ ११ गते मुद्दा दायर गरिन् । यही बेलामा म क्षेत्रीय वन कार्यालयको प्रमुख भएर काम गर्न सुर्खेत आउनुपर्यो । ती अपराधीबाट अन्शुलाइ जोगाउन कठिन होला भनेर सुर्खेत आउँदा सँगै लिएर आएँ र सरुवा गरिदिन विभागमा सिफारिश लेखि पठाएँ । उता,रमेश बुढाथोकीको अत्तोपत्तो छैन भनेर आज सुन्दैछु । विभाग र मन्त्रालयमा सबै रिपोर्ट गरेको छु । सरकारले केही गर्ला ।”

चिन्ताको वोझ विभाग र मन्त्रालयमा बिसाएपछि रामानन्द साहजी हलुका भए । रात छिप्पिसकेछ । बेडरुमतिर लागे ।

 

तपाइँको प्रतिक्रिया