कोभन्दा को कम ? बनायो आदिवासी जनजातीलेपनि युवा दस्ता

young-organization

को भन्दा को कम ? माओवादीको वाई सि एल छँदै थियो । नेपाली कांग्रेसको तरुण दल । एमालेको युव संघ नेपल । ड्यास माओवादीले युवा स्वयं सेवक दस्ता बनाइहाल्यो । मधेशी दल र राप्रपाकापनि थिए । अब अशोक राई अध्यक्ष रहेको संघिय समाजवादी पार्टीलेपनि युवा दस्ता बनाएको छ । युवा दस्ता बनाउँदा संघिय समाजवादी पार्टी आदिवासी जनजातीहरुलेपनि माओवादीले झैं टाउकोमा चट्ट रातो रिबन बाँधेको बनाएको छ । महिलाहरुलाईपनि समेटेको छ । त्यसको नाम आदिवासी युवा दस्ता राखिएको छ । पहिचान र सङ्घीयताका लागि युवा दस्ता गठन गरेको संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले जनाएका छन् । दोश्रो संविधासभाबाट पहिचान र सङ्घीयता सुनिश्चित हुनेमा आशंका पैदा भएकोले नयाँ संविधानमा लिम्बुवान, किरात, शेर्पालुङ, तामसालिङ, नेवाः, तमुवान, मगरात, थरुहट, कोचमा सुनिश्चित गर्नको लागिपनि युवा दस्ता चाहिएको शेर्पाको फेसबुकमा उल्लेख छ ।

भन्न त सबैले युवा दस्तालाई स्वयंसेवा गर्ने, जनताको सेवा गर्ने भन्छन् तर यस्तो दस्ता खासगरि भिड पन्छाउन, राजनितिक पार्टीका कार्यक्रममा स्वयंसेवक बन्न र भिडन्त गर्न खटिने गरेका छन् ।  त्यसैले धेरैले यस्ता युवा दस्तालाई पाखुरे दस्ता भनेर पनि चिन्छन् । संघिय समाजवादी पार्टी    आदिवासी जनजातीहरुले आफ्नो युवा संघलाई कसरि प्रयोग गर्ला ?

ठूला राजनितिक दल, सरकारमा जानेहरुले समेत युवा दस्ता परिचालन गर्ने र युवाहरुलाइ अनेक खाले तालिम दिने । कार्यक्रममा खटाउने । यसो गरेपछि अरु दललेपनि कसरि छोडुन ? यदि युवा दस्ता भएन भने त पछाडि परिन्छ भन्ने पार्टीहरुलाई छ । बिपक्षी, बिरोधी दलले भिड्न आयो भने कसरि प्रतिकार गर्ने ? चुनावमा कसरि मत माग्न, कार्यक्रम गर्न जाने ? बुथ कब्जा गर्ने ? प्रहरीसित कसरि भिड्ने ? स्कूल क्याम्पसमा कसरि ढुंगा मुढा वर्षाउने हडताल र वन्द आव्हान गरेको बेला ? सडक जाम गर्न खटाउने । त्यसैको  प्रतिकार गर्नका लागि युवा दस्ता बनाउने गरेका छन् । युवाहरुलाई संगठित गर्ने, समाज सेवामा लगाउने र राजनितिक ज्ञानले पूर्ण बनाएर देशको हितमा प्रयोग भन्दा तिनको पाखुराको बललाई प्रयोग गर्ने काममा युवाहरु प्रयोग भैरहेका छन् । त्यसैकालागि दलहरुले युवा दस्ता बनाउने गरेको देखिएको छ ।

युवाहरुलाई अनिवार्य सैनिक तालिम दिने पक्षको बिरोधी देखिन्छन् धेरै दलहरु । तर आफ्नो पार्टीको नेत्रित्वमा भने भटाभट लडाकु दस्ता बनाएर सैनिक तालिम जस्तो दिन्छन् । यो आफैंमा बिरोधाभास छ । सैन्य तालिमको आवश्यकता नभए राजनितिक दलहरुलेपनि युवा दस्ता बनाएर सुरक्षा तालिम नदिनुपर्ने हो । स्वयंसेवक बनाउनु र युवा दस्ता एकै होइन । हाम्रा राजनितिक पार्टीहरुले  बनाएका युवा दस्ता स्वयंसेवामा सिमित छैनन् । बरु भिडन्तमा बढि केन्द्रित छन् ।

ठूला दलहरुले बनाएपछि अरु साना दलहरुले नबनाउने कुरै हुन्न । युवाहरुलाई संगठित गर्नु नराम्रोपनि होइन । तर कस्तो काममा लगाउँछन् त्यो महत्वपूर्ण हो । आदिवासी जनजातीहरुले कस्तो काममा लगाउँछ आफ्नो युवा दस्तालाई त्यो भविष्यमा देखिने छ ।

तपाइँको प्रतिक्रिया