कहाँ चुके नेपालका कम्युनिष्ट ?

बलबहादुर आचार्य / बुटवल

bal-bahadur-acharya-1मानिसले विचारको आधारमा दृष्टिकोण बनाउँछ र दृष्टिकोणका आधारमा मान्छेको व्यवहार हुन्छ । त्यसैगरी नेपालका राजनैतिक दलहरुका दृष्टिकोणहरु विचारका आधारमा बन्दछन् । पार्टीका दृष्टिकोणका आधारमा उनीहरुका क्रियाकलाप तथा व्यवहारहरु हुने गर्दछन् । जुनसकै राजनीतिक पार्टीले पनि आफ्नो सैद्धान्तिक विचारका आधारमा दृष्टिकोण बनाउँछ र सोही दृष्टिकोणका आधारमा उसको व्यवहार देखिने गर्छ ।

नेपालका कम्युनिष्ट पार्टीले मार्क्सवादी दर्शनको अध्ययन, संश्लेषण र कार्यान्वयन  ठिक किसिमले गर्न नसकेका कारण कहिले उग्रवामपन्थी भाषमा त कहिले दक्षिणपन्थी भाषमा पर्ने गरेकाछन् । नेपालमा कम्यूनिष्ट पार्टी स्थापना भएको करिब ६४ वर्ष पुगेपनि यी पार्टीहरुले नेपाली समाजलाई ठिकसँग बुझ्ने, अध्ययन गर्ने र मार्क्सवादी दर्शनलाई ठिक किसिमले व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा चुकेका छन् । जसका कारणले गर्दा डा।केशरजंग रायमाझीले २०१७ सालमा लिएको लाइन होस वा २०२८ सालमा नेकपा काकेले लिएको बाटो होस वा २०५२ मा नेकपा माओवादीले संचालन गरेको कथित जनयुद्ध नै किन नहोस् । यी सवै लाइनहरु व्यवहारमा असफल सावित भएका छन् । 

मार्क्सवादी दर्शन (द्धन्द्धात्मक भौतिकवाद) को तेस्रो नियम निषेधको निषेधलाई समाज रुपान्तरणको सापेक्षमा ठिकसँग बुझ्न नसक्दा कहिले दक्षिणपंन्थी अवसरवादको दल दलमा त कहिले उग्रवामपंथी भाषमा फसेका कारणले राष्ट्रले सही बाटो लिन सकेको छैन । जसका कारण हाम्रो देश २००७ सालको परिवर्तन पछि कहिले लामो त कहिले छोटो संक्रमणकालिन राजनैतिक अवस्थाबाट निरन्तर रुपमा अगाडि बढ्न बाध्य भएको छ ।

माक्र्सवादी दर्शनका तिन वटा नियमहरु अन्तरविरोधको नियम, परिवर्तनको नियम र रुपान्तरणको नियम मध्ये तेस्रो नियमको रुपमा रहेको रुपान्तरणको नियमलाई  निषेधको रुपमा लिईन्छ । यस नियमका पनि तिन वटा पक्षहरु हुन्छन् । जसको पहिलो पक्षको रुपमा अनिवार्य त्याज्य पक्ष हो । जो वस्तुमा हुने अनिवार्य परिवर्तित पक्ष हो । यो पक्ष अनिवार्य रुपमा समय र परिस्थिति अनुरुप परिवर्तन हँदै जान्छ । यदि यो पक्षलाई समय र परिस्थितिको साथमा रुपान्तरण नगर्ने र यथावत राख्न खोजियो भने समाजमा अन्तरविरोध देखा पर्दछ । यसले यथास्थिति पक्षको प्रतिनिधित्व गर्दछ जसले समाजलाई अगाडि जान अवरोध श्रृजना गर्दछ । जसले समाजमा विद्रोह निम्त्याउँछ र परिवर्तनकामी पक्ष यसको रुपान्तरणको पक्षमा अघि बढदा समाजमा द्धन्द्धको श्रृजना हुन्छ । यो दन्दले पुराना काम नलाग्ने पक्षलाई पछाडी छाड्छ । हामी जति चाहे पनि यसलाई रोक्न सकिन्न । हामीले हाम्रो समाजका राजनीतिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक पक्षहरुलाई गहिरिएर हेर्‍यौं भने सबैका पुराना पक्षहरु पतन हुँदै गएका छन् । यो रुपान्तरणको अनिवार्य पक्ष पनि हो । यस रुपान्तरणको गतिलाई कति बनाउने भन्ने विषय मात्र मानवीय व्यवस्थापनको पक्ष हो । हाम्रै घर परिवार र समाजमा रहेका चलन चल्ती र पुराना चाल चलन तथा व्यवहारलाई गहिरो गरी हेर्‍र्यौ भने त्यसले हामीलाई प्रष्ट पार्दछ । हाम्रो नेपालका विभिन्न सस्कृतिका कुराहरु नियाल्यौं भने हाम्रा बुवा आमाका बेलाका धेरै चलन चल्तीहरु अहिले छाडिईसकेका छन् ।

त्यस्तै नेपालको राजनीतिक इतिहासलाई हेर्‍यौं भने राजतन्त्रको व्यवस्था नेपाली राजनीतिको त्याज्य पक्ष हो । जति बेलासम्म राजतन्त्रले समय र परिस्थिति अनसार आफूलाई परिवर्तित गर्दै २०३६ सालको बहुदल निर्दल चुनाव होस वा ०४६ सालको बहुदलीय व्यवस्थाको स्थापना होस त्यतिबेलासम्म राजतन्त्र जीवित थियो । तर जव ०६२ सालमा समय र परिस्थिति अनुसार राजतन्त्रले चल्न चाहेन तव नेपालका राजनीतिक दल र राजतन्त्रका वीचमा ठूलो संघर्ष भयो । अन्त्यतः राजतन्त्र समाप्त भयो । यसरी समय र परिस्थिति अनुसार चल्न नसक्ने तत्व अनिवार्य रुपमा लोप भएर जान्छ ।

यसै गरी निषेधको दोस्रो पक्ष भनको निरन्तरताको पक्ष हो । समाजका हरेक क्षेत्रमा अघिल्लो पिडी, समाज, संस्कृति वा अन्य सबै पक्षमा दुइ अवस्थामा समानताका पक्षहरु हुन्छन् । यो दुइ अवस्थाको पुलको रुपमा कार्य गर्ने पक्ष निरन्तरताको पक्ष हो । यदि यो पुललाई भत्काउन खोजियो भने त्यसले रुपान्तरणमा असन्तुलन ल्याउँछ र विकासको गतिलाई नै धेरै पछाडि पुर्‍याँउछ । उग्र वामपन्थी चिन्तन राख्नेहरुले यस पक्षलाई देख्न नसक्दा समाजमा ठूलो ध्वंसात्मक घटनाहरु घटेका छन् । यसको पछिल्लो परिणाम नेकपा माओवादीको कथित जनयुद्ध र त्यसका ध्वंसात्मक गतिविधिहरु जिउँदो प्रमाणका रुपमा हामी सामु छन् । यस चिन्तनले पुराना सबै कुरा नष्ट गर्नुपर्दछ, पुराना बस्तु सवै नष्ट नगरीकन नयाँ निर्माण गर्न सकिन्न भन्ने उग्र चिन्तन राख्दछ । यो उग्रवादी चिन्तनले निरन्तरताको अनिवार्य पक्षको पनि नास गर्दछ । यसले समाजलाई पछाडि धकेल्छ । यही उग्र चिन्तनले हिँजो युद्धका बेला ऐतिहासिक मन्दिर, गाविस भवन, साँस्कृतिक महत्वका पुस्तकहरु, ऐतिहासिक शालिक तथा सामाग्रीहरु, पूल एवं सरकारी भवनहरु लगायतका भौतिक संरचना भत्काउने कार्यहरु भए ।

यति मात्र होइन शान्ति प्रक्रियामा आएर पनि संसदमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुँदा समेत  नयाँ संविधान निर्माण गर्न पाएको महत्वपूर्ण अवसरहरुलाई समेत चिन्न नसकी उग्र चिन्तनका कारण देशलाई पुनः दशक पछाडि धकेल्ने काम गरे । कम्यूनिष्ट पार्टीलाई जनताले दिएको सुवर्ण अवसरबाट बञ्चित गर्ने काम गरेर त्यसको सजाय स्वरुप अहिले संविधानसभाको दोस्रो निर्वाचनमा जनताको अदालतबाट सजाए समेत पाए । अझै पनि समयमा चेत खुल्न सकेन र संविधान निर्माण गर्ने कार्यमा आफ्नो भूमिका देखाउन सकेनन् भने यो चिन्तनले आफ्नो अस्तित्व समाप्त गर्ने दिशामा पार्टीलाई लानेछ । यसरी रुपान्तरणमा अनिवार्य रुपमा निरन्तरताको पक्ष हुन्छ भन्ने पक्षलाई ख्याल गर्न आवश्यक हुन्छ । हामीले पंचायती व्यवस्थाको अन्त्य भए पनि पंचायती कालमा भएका कतिपय ऐतिहासिक कला सस्कृति, वैज्ञानिक उपलव्धि र सामाजिक मुल्य मान्यता लगायतका समाजलाई काम लाग्ने विषयवस्तुलाई केही समयसम्मका लागि निरन्तरताको रुपमा उपयोग गर्नेछौं जुन बेला उक्त विषयवस्तु अव्यवहारिक हुन्छन त्यसवेला मात्र त्यसलाई त्याज्य पक्षको रुपमा त्याग्नेछौं ।

त्यसैगरी निषेधको तेस्रो महत्वपूर्ण पक्ष भनेको नविनतम पक्षको प्रतिनिधित्व हो जसले नयाँ युग र नयाँ अवस्थाको प्रतिनिधित्व गर्दछ । यस पक्षलाई राम्रोसँग बुझ्न नसक्ने र सधैं पुराना तथा निरन्तरताको पक्षको वकालत गर्दै यथास्थितिवादी र पुरातनपन्थी सोचमा रमाउने गर्दछन् । तसर्थ जुनसुकै रुपान्तरणको मुटु भनेको नविनतम पक्ष हो । नयाँ समय र परिस्थितिले माग गरेको विषय बस्तुलाई ठिक समय र परिस्थिति अनुसार जसले उठाउने र कार्यान्वयनमा जान सक्दछ त्यसले मात्र रुपान्तरणको अगुवाई गर्दछ र त्यस व्यक्ति वा पार्टीले मात्र समाजको नेतृत्व गर्न सक्दछ । नेपालको पंचायती व्यवस्थाले कहिले पनि नयाँ पक्षको पक्षपोषण गर्दै समयको मागलाई संम्वोधन गर्न सकेन जसको परिणाम आफूलाई पतनको वाटोमा पुर्यायो ।

हालसम्मका विभिन्न घटनाक्रमले यी सबै पक्षको प्रयोगात्मक कार्य समेत गरेका छन् र यसलाई गंभीरताको साथमा लिँदै नेकपा एमालेले लिएको जनताको बहुदलीय जनवादलाई ठिक किसिमले कार्यान्वयन गर्न सकिएन भने नेपाली समाजको सम्बृद्धिले ठीक दिशा र गति लिन सक्नेछैन । यस कार्यका लागि नेकपा एमालेको नेतृत्व अत्यन्त सुझबुझका साथ अगाडि बढ्न आवश्यक देखिन्छ । त्यसैले अब ध्वंसात्मक होइन निर्माणको बाटोमा जुटौं, नकारात्मक होइन सकारात्मक बाटोमा अगाडि बढौं । पुरानोको संरक्षणका नाममा यथास्थितिमा रमाउने र नयाँको विकासका नाममा सवै पुराना भत्काउने अतिवादी सोचवाट बच्दै काम नलाग्ने त्यागौं । आवश्यकलाई अगाडी बढाऊँ र समयको माग बमोजिम नयाँलाई समाजमा स्थापित गरौं भन्ने माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै नेपाली समाजको आमुल परिवर्तनमा अगुवाई गरौं । यहि मार्क्सवादी दृष्टिकोणका आधारमा नेकपा एमालेको नयाँ नेतृत्व र केन्द्रिय कमिटीको निर्माण गरौ र नेपाली समाज रुपान्तरणको अभियानमा तीव्र गतिका साथमा लागौं  ।

तपाइँको प्रतिक्रिया