लोकमानको लाचारी

आनन्दराम पौडेल

anandaram-paudel-33434अख्तियार प्रमुख लोकमानसिंह कार्की सधैं झैं बिहान ४ वजे विउँझे । सधैं बीबीसी नेपाली सेवा सुनिसकेर सुत्नेगर्थे। हिजो आइतबार बीबीसी साझा सवाल भएकोले त्यो हेरिसकेर थोरै ढिला सुतेका थिए । अहिले निन्द्राले छोडेपनि तन्द्रामै थिए । तन्द्रामै लोकमानले धमीलो-धमीलो आकारमा आफ्नै प्रतिमूर्ति देखे । भय, आश्चर्य र रोमाञ्चका भावहरु एक्कैचोटी सञ्चारित भए । हतारिएर सोधे, “को हँ ?”

“म तेरै अन्तरात्मा हुँ ।” अन्तरात्माले जवाफ दियो ।
“आज अन्तरात्मा किन ?” लोकमानले सोधे ।
“तेरो कामको समीक्षा गर्न ।”

“मैले त मरी-मरी काम गरिरहेछु । थला परेर बसेको अख्तियारलाइ पुनर्जीवन दिएर गतिमा हाँकेको छु ।”

“अख्तियारलाइ पुनर्जीवन दिइस् । गति दिइस् । धेरै काम गरिस् । त्यहाँसम्म ठीक छ । तैंले लोभलालच गरेको छैन, त्यो मैले मानें । तर, दबाबमा परेर पक्षपात गरिस्, मोलाहिजा गरिस् ?”
“कुन-कुन बिषयमा मोलाहिजा गरें मैले ?” लोकमानले सोधे ।

“चारवटा बिषयमा मोलाहिजा गरिस् । १. अख्तियारमा आउनासाथ तैंले भ्याट छल्नेहरुको फाइल मगाएको थिइस् । नेताहरुले एकवचन भन्नासाथ तुरुन्त हात झिकिस् । २. क्याण्टोनमेण्टका लडाकुको नाममा अर्बौं भ्रष्टाचार भएको फाइलमा अनुसन्धान गर्न तिघ्रा कमाइस् । ३. हिजो मन्त्री, प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरी आर्जन गरेको अस्वाभाविक अकूत सम्पतिको बिषयमा परेका उजुरीमा छानबिन नगरी अलपत्र छाडिदिइस् । ४.युवा स्वरोजगार कोषको रकम दुरुपयोग गरेको बिषयमा आँखा चिम्लिस् । ” अन्तर्आत्माले भने ।

“हे अन्तर्आत्मा ! तपाईं अन्तर्यामी हुनुहुन्छ । तपाईंले सबै वुझ्नुभएको छ । तपाईंले जे औंल्याउनुभयो, त्यो मैलेपनि महसुस गरेकै बिषय हो । यो मबाट चुक भएकै हो ।” लोकमानले स्वीकारे ।

“यी माथी औंल्याएका काण्डमा उजुरी परेको थिएन र ?”
“उजुरी परेका थिए ।”

“उजुरीमा उल्लेखित बुँदाहरुलाइ केलाउने, वुझ्ने र अध्ययन गर्ने कामपनि भएन ?”
“कहाँ नगर्नु ? अध्ययन त गरेको हो नि ।”
“त्यसोभए, युवा स्वरोजगार कोषको रकम दुरुपयोग गरेको बारेमा सर्सर्ति बता त ?” अन्तर्आत्माले खोतले ।

“जुन पार्टी सरकारमा गयो त्यही पार्टीका झोलेहरुलाइ सहकारी खोल्न लगाए । कोषको रकम त्यही सहकारीहरुलाइ दिए । मकैभटमास बाँडेसरी मनलाग्दी बाँडेर खाए ।” लोकमानले सारमा भने । “त्यस्ता केही सहकारी संस्थाको नाम भन्न सक्छस् ?”

“मजदुर शहीद स्मृति सहकारी संस्था, केन्द्रीय जडिबुटी सहकारी संस्था, हिमशिखर बचत तथा ऋण सहकारी संस्था ललितपुर, हिमालय फाइनान्स सुन्धारा, मधुवन बचत तथा ऋण सहकारी संस्था गुल्मी हरुले करोडौं करोड डुबाएका छन् । मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्थालाइ २०६८ मङ्सीर १ गते ५ करोड रुपैयाँ दिएको रहेछ । हिमशिखर बचत तथा ऋण सहकारी संस्थालाइ २०६८ मङ्सीर ५ गते २ करोड र २०६८ फागुन ३० गते ३ करोड गरी ५ करोड दिइएको रहेछ । मधुवन बचत तथा ऋण सहकारी संस्थालाइ २०६८ मङ्सीर ७ गते ३ करोड दिएका रहेछन् ।”

लोकमानले सम्झेजति फेहरिस्त पेश गरे । “यी सहकारी संस्थाका मुख्य अगुवा व्यक्ति को हुन् ?” “हिमशिखर सहकारी संस्थाका मुख्य अगुवा शिव कट्टेल हुन् । मजदुर शहीद स्मृति सहकारी संस्थामा शालिकराम जमकट्टेल र गणेश रेग्मीहरु अगुवा हुन् । केन्द्रीय जडिबुटी सहकारीमा भक्तबहादुर शाह अगुवा हुन् ।” लोकमानले सम्झँदै भन्दै गरे ।

“राज्यकोषको रकम हिनामिना गर्ने सहकारीहरुलाइ केही कार्यवाही नगर्नेरहेछन् कि के हो ?”
“ठूला नेताहरुले प्रत्यक्ष संरक्षण नगरेका, निम्छरा संस्थाहरुलाइ मात्र कार्यवाही गरेका रहेछन् ।”
“त्यस्ता निम्छरा संस्थाको नाम भन्न सक्छस् ?”

“छिमेकी साना किसान कृषि सहकारी संस्था लगायत तीनवटा सहकारी संस्था शक्तिसालि नेताको संरक्षणमा रहेनछन् । तिनीहरुलाइ मात्र लखेटेका छन् ।” लोकमानले भित्री सत्य खोले ।
“यो युवा स्वरोजगार कोषको उद्देश्य के हो ?”

“शीप भएका तर वेरोजगार रहेका युवाहरुलाइ आफ्नो शीप अनुसारको व्यबशाय सञ्चालन गर्न सप्पोर्ट गर्ने यस्को उद्देश्य हो ।” “त्यसोभए यो कोषबाट गएको रकम वेरोजगारहरुले नै पाएका छन् त ?”

“के पाउँथे ? जम्मै पार्टीका झोलेहरुले हारालूट गरिहाले नि ! शहीद स्मृति उपभोक्ता सहकारी मार्फत् रकम हात पार्नेहरुकै बिषयमा भन्नुपर्दा धनबहादुर विक अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष हुन् । प्रकाश श्रेष्ठ अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर सङ्घका उपाध्यक्ष हुन्। सोमबहदुर तामाङ अखिल नेपाल यातायात मजदुर सङ्घका कोषाध्यक्ष हुन् । उषा देवकोटा अखील नेपाल स्वास्थ्य श्रमिक सङ्घकी अध्यक्ष हुन् । जगतबहादुर सिम्खडा अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव हुन् । राजन तिमिल्सिना पनि त्यही महासङ्घका उपमहासचिव हुन् । यिनीहरु कोहीपनि वेरोजगार होइनन् । पहिल्यैदेखि पूर्ण रोजगारमा थिए ।” लोकमानले अन्तरकुन्तर सबै निकाले ।

“तैंले ठूला नेता मुछिएका केसहरु कुनैमा पनि हात हालिनस् । गाविस सचिव, जिशिअ र मध्यम तहका अधिकृतहरु मुछिएका केसमा मात्र हात हाल्दोरैछस् । यसरी ‘सानालाइ ऐन, ठूलालाइ चैन’ भन्ने नेपाली उखानलाइ चरितार्थ गरिस् ।” अन्तर्आत्माले आरोप लगाए ।

“हे अन्तर्आत्मा, तपाईंले भनेको सत्य हो  । यो अपराध मबाट भएकै हो  । म दबाबमा परेकै हुँ । ठूला नेताहरु मुछिएका केसमा मैले हात हाल्न नसकेकै हो । तपाईंलाइ थाहै छ, प्रचण्डजीसँग कुरा मिलाएर बल्ल म यहाँ छिर्न सकेको हुँ  ।  नत्र यो अवसर मैले यो जुनीमा भेट्टाउने थिइन । त्यो गुन मैले तिर्नैपर्थ्यो ।  ” लोकमानले भित्री गाँठो नै खोलिदिए ।  लोकमानले लाचारी प्रकट गरेपछि अन्तर्आत्माले केही भन्न आवश्यक ठानेनन् । एकछिन घोरिएर अलप भए ।

तपाइँको प्रतिक्रिया