नेपालमा शोषणको जालो फैलाउने र समाज रुपान्तरणको मुख्य बाधक को ?

बलबहादुर आचार्य / बुटवल 

bal-bahadur-acharya-1मानव समाज भनेको एउटा निश्चित भूगोल, मानव समुदाय र मानवीय जीवन निर्वाहका लागि गरिने उत्पादन प्रकृयाको समूच्चय रुप हो । अर्थात मानवले आफ्नो जीवन यापनका लागि एउटा निश्चित भूगोलमा रहि उत्पादन पकृयामा सहभागी भै गर्ने कृयाकलापको संर्पूण रुपलाई समाज भनिन्छ । आज हामीहरु यसै मानवीय समाजका अंग भएका छौं । ससार परिवर्तनशील छ र संसारका हरेक बस्तु परिवर्तशील हुन्छन् । त्यसैले मानव समाजपनि निरन्तर परिवर्तन भइरहेको छ । परिवर्तनका नियमहरु के हुन र मानव समाज कसरी परिवर्तित भईरहेको छ भन्ने बारेमा हामीले निरन्तर अध्ययन तथा विश्लेषण गरिरहनु पर्दछ ।

परिवर्तनशील मानव समाज

मानव समाजको इतिहासलाई हेर्दा विगतमा मानव जाती आफ्नो विकाससंगै पकृतिसंग निरन्तर संघर्ष गर्दै अहिलेको अवस्थामा आईपुगेको छ । यसका पछाडी ज्यादै ठूलो इतिहास छ । हामीले पढेका छौं, हिजो जतिवेला मानिस जंगलमा बस्ने, जंगली जनावर र जंगलका फलफूलहरु संकलन गर्ने, संगै बस्ने र मिलेर खादै जीवन निर्वाह गर्दथे । त्यस युगमा मानिसहरु जनावर मार्ने र फलफूल जम्मा गर्ने र मिलेर खाने जस्ता सामुहिक स्वामित्वमा आधारित उत्पादन प्रणाली भएको युगमा थिए । लाखौ वर्ष पछि मानव समाज क्रमशः दास यूगीन समाज, कृषिमा आधारित सामन्ती समाज, कल कारखाना तथा उद्योग व्यवशायमा आधारित पूँजीवादी समाज हुदै पूनः सामुहिक स्वामित्वमा आधारित समाजवादी समाजमा रुपान्तरण हुने प्रयत्नमा आईपुगेको छ । यो नै समाज विकासको निरन्तर यात्रा हो । यही यात्राको क्रममा आज नेपाली समाज कुन अवस्थामा आईपुगेको छ भन्ने विषय नै आज हाम्रा सामु अध्ययन मननको विषय भएको छ ।

कुनै पनि सामाजिक युगका मुख्य चार वटा पक्षहरु हुन्छन् । राजनितिक व्यवस्था, आर्थिक प्रणाली अर्थात उत्पादन प्रणाली, सामाजिक व्यवस्था र साँस्कृतिक अवस्था । यीनै पक्षहरुको विश्लेषणका आधारमा कुनैपनि समाज कुन युगमा रहेको छ भन्ने निश्कर्षमा पुग्ने गरिन्छ  । माक्र्सवादी विचारले पनि कुनैपनि वस्तुमा रुपान्तरण हुदाँ त्यस बस्तुभित्र अन्तरविरोध हुन्छ ।  अन्तर विरोधको मात्रा बढदै जान्छ । अन्तरविरोधको मात्रा विस्तारै बिकसित हुदै एउटा निश्चित विन्दुमा पुगे पछि गुणमा परिवर्तन हुन्छ । त्यस गुणात्मक परिवर्तनलाई नै त्यस बस्तुको रुपान्तरण भनिन्छ । यहि नै समाज विकासको नियम पनि हो र यही नियमको आधारमा समाजको निरन्तर रुपान्तरण भईरहन्छ ।

बहसमा प्रजातान्त्रिक सस्कार

संसार परिवर्तनशील छ र संसारका हरेक बस्तुहरु पनि परिवर्तन हुन्छन भन्ने वारेमा कसैको विमति नहोला । तर संसारका हरेक बस्तु कसरी परिवर्तन भईरहेका छन् र परिवर्तनका नियमहरु के हुन भन्ने वारेमा अध्ययन र विश्लेषण गर्ने बारेमा कमैले मात्र कलम चलाउने गर्दछन् । हामीले हाम्रो नेपाली समाज कसरी परिवर्तन भईरहेको छ भन्ने वारेमा पनि कमै बहस गर्दछौं । गहिरो गरी विश्लेषण गर्ने झंझट भन्दा अरुले विश्लेषण गरेका विषयमा बहस गर्न मन पराउने प्रवृति पनि हामीमा देखिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरुलेपनि अहिलेसम्म यस बारेमा सस्थागत रुपले गंभिरतासाथ अध्ययन एवं विश्लेषण गर्ने काममा कमै लागेको पाइन्छ ।

यतिवेला नेकपा एमाले नवौं महाधिवेशनको संघारमा उभिएको छ र यस महाधिवेशनमा भने यस विषयले प्राथमिकता पाएको देखिन्छ । यतिवेला नेपाली समाज युगीन रुपमा कहाँ पुगेको छ र समाजको अग्रगमन र समृद्धिमा कु्न कुन विषय समस्याका रुपमा देखा परेका छन् । यी समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल भएका कुरा समाजको अग्रगनका लागि खुसिको विषय पनि हो । यस्ता बैचारिक छलफल तथा बहसलाई लोकतान्त्रिक सँस्कारको रुपमा विकास गर्दै लैजानु पर्दछ । पार्टीका नेताहरुमा रहेको सामन्ती चिन्तन र संस्कारका कारण विगतमा कम्युनिष्ट पार्टीभित्र बहसलाई उच्च प्रजातान्त्रिक वाताबरणका साथमा लान नसक्दा धेरै पटक पार्टीहरु विभाजन पनि भएका छन् ।

नेपाली समाजको वर्तमान अवस्था

नेपाली समाजको वारेमा विश्लेषण गर्दा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापनाको बेलामा नेपाली समाजलाई अर्धसामन्ती समाज भनिनु र अहिले २०७१ सालमा पनि अर्धसामन्ती समाज भनिनु उपयूक्त देखिँदैन । वास्तवमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको समयमा नेपाली समाजमा भरखरै कल कारखानाहरु खोलिदै र व्यापार व्यवशायले पनि विस्तारै पाइलाहरु अगाडी बढाईरहेको थियो । त्यसबेला देशमा हुकुमी शासन थियो र देश चरम सामन्ती शोषणको पंजामा जकडिएको थियो भने राजनितिक रुपमा विदेशि शक्तिहरुको पनि शासनमा हस्तक्षेप थियो । वास्तवमा त्यतिवेला नेपाली समाज भरखरै पूँजीवाद समाजतर्फ उन्मुख सामन्ती समाज थियो । त्यसैले, त्यतिवेला नेपाललाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक समाज भन्नुको सट्टा पूँजीवाद उन्मुख सामन्ती तथा अर्धऔपनिवेशिक समाज भनिनु उपयूक्त हुन्थ्यो ।

विगत पंचायती शासनकाल र ०४६ पछिको बहुदलीय शासनकालमा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रका विविध क्षेत्रमा पूँजीवादी उत्पादन प्रणाली विकास हुँदै गएका छन् । ०४६ सालको राजनितिक शक्ति सन्तुलनका कारण राजा समेत राजनितिको अंग बन्ने र उत्पादनका विविध क्षेत्रहरु पूँजीवादी उत्पादन प्रणालीमा विस्तार भईरहेका कारण नेपाली समाजलाई अर्धसामन्ती तथा अर्धपूँजीवादी समाजको रुपमा उल्लेख गर्नु उपयूक्त देखिन्छ ।

०६२।०६३ सालको आन्दोलनले नेपालको राजनितिक क्षेत्रमा आमूल परिवर्तन भएको छ । सामन्ती समाजको प्रतिनिधिको रुपमा रहेको राजतन्त्रको समूल रुपमा अन्त्य भई गणतन्त्र नेपालको स्थापना भएको छ । अर्को तर्फ नेपालका ग्रामिण क्षेत्रमा पनि उद्योग तथा व्यापार व्यावशायले तीव्रता लिइरहेको छ । नेपालका विभिन्न ग्रामिण इलाकाहरु व्यवशायिक कृषि उत्पादनका केन्द्रका रुपमा विकास भईरहेका छन् ।  होटल, यातायात, संचार लगायतका विविध सेवामूलक उद्योगहरु पनि गतीवान रुपले स्थापना र संचालनमा आइरहेका छन् । यस कारणले अव नेपाली समाजलाई विकासवान पूँजीवादी समाजको रुपमा उल्लेख गरिनु उपयूक्त देखिन्छ ।

अहिलेको अवस्थामा नेपालको सामन्ती समाज तीव्र गतिका साथ विघटन तर्फ अगाडी बढेको छ । सामन्ती समाजको राजनितिक प्रतिनिधिको रुपमा रहेको राजतन्त्रको समुल नष्ट भएको छ । कृषिमा क्षेत्रमा रहेको कमजोर पूँजीवादी उत्पादन प्रणालीपनि तीव्र गतीले व्यवशायीक र औधोगिकरण तर्फ अगाडी बढेको छ।  सामन्ती समाज व्यवस्था पनि ऐन कानूनका आधारमा संचालन भईरहेका छन् भने समाजमा रहेको सामन्ती संस्कार तथा सस्कृति पनि विस्तारै परिवर्तन हुँदै गएका छन् । अन्य पक्षको तुलनामा सांस्कृतिक पक्षको रुपान्तरण धेरै लामो समय लाग्ने गर्दछ । यसरी नेपालमा अव सामन्ती समाज अवशेषको रुपमा रहेको छ र सामन्ती समाजको अन्तरविरोध नेपाली समाजको रुपान्तरण प्रमुख समस्याका रुपमा देखिँदैन ।

अन्त्यमा

हामीले यस विकासवान पूँजीवादी समाजलाई अत्याधुनिक, विकसीत र सामुहिक स्वामित्वमा आधारित समाजवादी समाज तर्फ उन्मुख भएको विकसित पूँजीवादमा रुपान्तरण गर्ने कार्यमा केन्द्रित गर्नु पर्दछ भने अर्का तर्फ पूँजीवादी विचार बोकेका राजनीतिक पार्टीहरु नेपाली समाजलाई व्यक्तिवादी स्वछन्दवादी समाजमा आधारित विकसीत पूँजीवादी समाज निर्माणको कार्यमा क्रियाशील छन जो साम्राज्यवादी समाजतर्फ उन्मुख हुन्छ ।

यतिवेला हाम्रो देश कानूनी रुपमा एउटा स्वतन्त्र राष्टको रुपमा रहे पनि कमजोर अर्थतन्त्रका कारण अप्रत्यक्ष रुपमा बैदेशिक दवाव एवं हस्तक्षेपको सामना गर्नुपर्ने अवस्थामा छ । यसलाई नवउपनिवेश वा अर्धऔपनिवेशिक समाज भन्न पनि सकिन्छ । यसलाई यस रुपमा भन्न उपयूक्त छ कि छैन भन्ने बारेमा चर्चाको विषय बन्नसक्छ । किनभने यतिवेला कुनैपनि विस्तारवादी तथा साम्राज्यवादीहरु गोला बारुद वा सेनाको रुपमा भन्दा पनि विभिन्न अन्तराष्टिय बित्तिय संस्था, सरकार वा राजनिति दलका नेता तथा उनीहरुको दलका नीतिमा आफ्नो विषयलाई प्रवेश गराई आफ्नो देशको स्वार्थ सिद्ध गर्दै आएका छन् ।

यतिवेला नेपाली समाजको रुपान्तरणमा सामन्ती समाजको प्रतिनिधिका रुपमा रहेको सामन्ती विचार तथा सस्कृति एवं कृषि तथा प्राकृतिक संपदाका क्षेत्रमा रहेको निर्वाहमूखि उत्पादन पद्धति र पूँजीवादी समाजको प्रतिनिधिका रुपमा रहेको दलाल पूँजीवाद र नोकरशाही पूँजीवाद वाधक शक्तिका रुपमा रहेको छन् । सामन्ति समाजको प्रतिनिधिपात्रको रुपमा रहेको तर तिव्र रुपमा लोप हुदै गएको जमिन्दार वर्ग, सामन्ती सोच तथा सस्कृति र पूँजीवादी विचारको प्रतिनिधिको रुपमा रहेको दलाल पूँजीपति र नोकरशाह (ओहदावाल) पूँजीपति वर्ग नै यतिवेला समाजको रुपान्तरणमा बाधक शक्तिका रुपमा देखिएका छन् । समाजका यीनै पात्रको बूई चढेर नेपालमा बैदेशिक पूँजीपति वर्ग नेपालका हरेक क्षेत्रमा शोषणको जालो फिजाईरहेको छन् भन्ने विषयमा पनि हामी सधै सजक रहनुपर्दछ ।

तसर्थ अव नेपाली समाजको आर्थिक समृद्धिका लागि नेपाली समाजमा रहेको कृषि, फलफुल, जडीबुटी, पशुपालन तथा अपार प्राकृतिक संपदालाई भरपुर उपयोग गर्नेगरी नेपाली उधोगको विकास गर्ने र यसलाई अन्तराष्टिय बजारमा समेत पुरयाउने गरी दलालपूँजीको प्रतिस्थापनमा केन्द्रित रहनु पर्दछ । यसरी नेपाली समाजमा पुँजीवादको विकास गरीरहेका बेला हाम्रो पूँजीवादीको लक्ष्य समाजवादी अर्थतन्त्रको आधार तयार गर्ने हो भन्ने बारेमा अत्यन्त सचेत बन्नु पर्दछ । यसको मतलव यतिवेला नेपालको सामन्ती समाज तीव्र रुपमा विघटन तर्फ गईरहेको छ । ग्रामिण क्षेत्रमा वाँकी रहेको निर्वाहमूखि कृषि उत्पादन र अपार प्राकृतिक संपदाहरुलाई तीव्रताका साथमा व्यवशायिक तथा औधोगिकरणमा लैजानु पर्दछ । जसले बेराजगारीका कारण विदेशका भूमिमा पुगेका र नेपालमै राजगारीका लागि छटपटाईरहेका नेपाली युवाहरुलाई ठूलो संख्यामा रोजगारी प्रदान गर्ने र नेपाली अर्थतन्त्रलाई सुदृढ गर्दै राष्टिय पूँजीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

(लेखक नेकपा एमाले रुपन्देही जिल्लाका पार्टी स्कूल विभाग प्रमुख हुन् )

तपाइँको प्रतिक्रिया