चीनकाजिको बयान

आनन्दराम पौडेल 

anandaram-paudel-33434संसदीय समिति सदस्यको हैसियतले सम्बैधानिक पदमा नियुक्त हुने व्यक्तिलाइ कठघरामा उभ्याउँदै आएका चीनकाजी श्रेष्ठ आज आफैं कठघरामा उभिए । प्रमुख सचेतकको हैसियतले कांग्रेसी सभासदहरुमाथि कमाण्ड गरिरहेका व्यक्ति आफैं बयान दिन उभिनुपर्दा कताकता अहंमा ठेस लाग्न पुगेपनि आफ्नै अन्तर्आत्माको अगाडी बयान दिने भएकोले असहज महसुस भएन । यस्तो बयान दिएको अनुभव नभएकोले थोरै नर्भस भएका थिए । सरकारी अड्डाअदालतमा दिइने बकपत्र नभएकोले वकीलहरुको सल्लाह लिइने कुरो भएन । कानुनी दाउपेच मिलाएर काइतेरकमी पाराले बयान दिनुपरेन । यी प्रदुषणबाट जोगिएकोले चीनकाजीको बकपत्र विशुद्ध रह्यो । स्वच्छ ब्रह्मबाट निसृत भएर तोडमरोड नगरी राखिएकोले ‘क्रिष्टल क्लियर’ सत्य थियो । बौद्धिक चातुर्यता र दाउपेचलाइ पन्छाएर स्वच्छ ब्रह्मबाट बयान प्रवाह हुन थाल्यो । 

-“के न्यायपरिषदको कार्यसम्पादन प्रशंसनीय छ ?” अन्तर्आत्माको जिज्ञाशा प्रष्ट वुझे । अन्तर्आत्माको आवाज मसीनो थियो, तर तिब्र महसुस गर्न सकिन्थ्यो ।

-“छैन हजुर । प्रशंसा गर्नलायक त छैन ।” आफ्नै अन्तर्आत्मालाइ के भनि सम्बोधन गर्नुपर्ला भन्ने ज्ञान-अनुभव नभएकोले अनायास “हजुर” भन्न पुगे ।

-“के त्यसोभए गलतै गरेका रहेछन् ?”

-“गलत मात्र हैन, निकृष्ट नै गरे । २०६८ जेठदेखि २०७१ बैशाखसम्म सर्वोच्चमा स्थायी न्यायाधीश सिफारिश गरेनन् । प्रकाश वस्ती, केशरीराज पण्डित जस्ता अति योग्य न्यायाधीशहरुलाइ सर्वोच्चको स्थायी न्यायाधीश नबनाउने एक सूत्रीय अभियानमा पूरा कसरत गरिरहे । पोहोर पार्टीका झोलेहरु टिपेर जिल्ला अदालत र पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त गराए । जिल्ला अदालतमा त आवश्यकता भन्दा यति धेरै न्यायाधीश बनाए कि अब भविष्यमा १० बर्षसम्म न्यायपरिषदले सिफारिश गर्नै नपर्ने गरिदिए ।

जिल्ला र पुनरावेदन अदालतका कतिपय भ्रष्ट न्यायाधीशका विरुद्ध सप्रमाण उजुरीहरु परेका रहेछन् । ती घीनलाग्दा उजुरीमाथि कार्यवाही गर्नु सट्टा भित्रभित्रै मिलाएर दबाए ।” चीनकाजी श्रेष्ठले ब्रह्मनिसृत बयान एकसासमा दिए ।

-“सर्वोच्च अदालतको न्यायाधीशको लागि भर्खरै सिफारिश गरिएका ८ जना न्यायाधीशहरु के स्वच्छ, इमान्दार र न्यायाधीश बनाउन लायक थिए ?”

-“बैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्र बाहेक सबै बिबादास्पद छन् । कोही त

डुङ्डुङ्ति गन्हाएका छन् ।”

-“कोही बिबादास्पद र कोही डुङ्डुङ्ति गन्हाएका बिषयमा उदाहरणसहित् प्रष्ट पारौं त ?”

-“उदाहरणसहित् भन्नुपर्दा, पुनरावेदन अदालत ललितपुरको न्यायाधीश हुँदा गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठले २०६६\ ०१\ २० गते साँझ ६ वजेपछि गरेको निर्णय र फैसला डरलाग्दो छ । फिल्डबुक, लगत, ७ नं फाँटवारी, तिरो तिरेको रसिद जस्ता अत्यावश्यक र महत्वपूर्ण मात्र हैन अनिवार्य हुनैपर्ने तथ्य प्रमाणहरुलाइ नजरअन्दाज गरी थानकोट गाविस वडा नं ३’क’, कित्ता नं १ को १६ रोपनी, १० आना पर्ती-सरकारी जग्गा प्रेमबहादुर बस्नेतको नाममा गरिदिएछन् । देवेन्द्रगोपाल श्रेष्ठले २०५८ मा काठमाडौ जिल्ला न्यायाधीश हुँदा ५३२ किलो चरेस तस्करी गर्ने अभियुक्तलाइ तारेखमा छाडिदिएका थिए ।

मिनबहादुर रायमाझीजी प्रधानन्यायाधीश भएको बेलामा न्यायपरिषदले गोपाल पराजुली, दीपकराज जोशी र गोविन्द उपाध्यायलाइ पुनरावेदन अदालतको मुख्य न्यायाधीश बनाउनुहुँदैन भनेर सिफारिश रोकेका रहेछन् । तिनै व्यक्तिलाइ भविष्यमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेगरी रोलक्रमको सेटिङ मिलाएर वर्तमान न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिश गर्यो । चोलेन्द्र राणाले विशेष अदालतको न्यायाधीश हुँदा भ्रष्टको पक्षमा गरेका निर्णय र फैसला घिनलाग्दा छन् । चोलेन्द्र राणालाइ कार्यवाही गर्नु भनेर सर्वोच्चबाटै दुइ-दुइ पटक आदेश भएको रहेछ । वर्तमान न्यायपरिषदले कार्यवाही गर्नुसट्टा भित्रभित्रै मिलाएर दबाएछन् ।

दीपकराज जोशीजीको बिषयमा भन्नुपर्दा २०५५ सालमा पुनरावेदन अदालत, इलामको न्यायाधीश हुँदा जिल्ला अदालत झापाले १५ किलो लागुऔषध केसमा दोषी ठहर गरेका हर्क बहादुर लिम्बू लगायतलाइ सफाइ दिएका थिए । यही केस सर्वोच्चमा आइपुग्दा भैरवप्रसाद लम्साल र बलराम केसीले “यस्तो गलत निर्णय गर्ने दीपकराज जोशीलाइ कार्यवाही गर्नु” भनि कैफियत लेखेका थिए । पुनरावेदन अदालत, दिपायलमा मुख्य न्यायाधीश हुँदा गरका कर्तुत पनि त्यत्तिकै घीनलाग्दा छन् ।”

-“तपाईंहरु यस्ता न्यायाधीशको पक्षमा किन उभिनुभएको ?”

-“दुइटा कारणले उभिनुपर्ने भयो। एउटा त यी न्यायाधीशहरु हाम्रो पार्टीनजिक छन् । अर्को, यिनीहरु विरुद्ध माओवादी र एमाले एकढिक्का भए ।”

-“अब के गरेर मिलाउनुहुन्छ त ?”

-“भाग नपाएको झोंकमा माओवादी र एमालेले विरोध गरेका हुन्। त्यसैले, यसो भाग दिएर मन्छाउने निश्चय गरेका छौं ।”

-“कसरी दिनुहुन्छ ?”

-“सर्वोच्च अदालतमा डा।युवराज सङ्ग्रौलालाइ स्थायी न्यायाधीश र अरु २ जनालाइ सर्वोच्चको अस्थायी न्यायाधीश बनाइदिउँला भनेर एमालेलाइ फकायौं । उनीहरुले सतीशकृष्ण खरेललाइ पनि बनाइदिनुपर्छ भनिरहेछन् । त्यस्तै, तुलसी भट्टलाइ सर्वोच्चको स्थायी र अर्को एकजनालाइ अस्थायी न्यायाधीश बनाइदिउँला भनेर फकाएका छौं । त्यहीपनि, एमालेको हकमा त त्यति गाह्रो थिएन । साविकदेखि नै उस्को शैलि यही हो कि, हरेक इस्युमा शुरुमा बुर्लुक्क उफ्रन्छ, १ हप्तामै लत्रक्क लत्रिन्छ। माधव नेपालले त, ‘यी सिफारिश भएका न्यायाधीशहरु डुङ्डुङ्ति गन्हाएका भएपनि, नाक थुनेरै किन नहोस् , सिफारिश सदर गरिदिनु’ भनेर शुरुदेखि नै खुलेरै लबिङ गरिरहेका थिए । ‘भागशान्ति जयनेपाल’ गरिदिएपछि अहिले वामदेव गौतम, बिष्णु पौडेलहरु समर्थनमा हामीभन्दा अगाडी देखिइसके । यसरी, ‘मिलिजुली बसौं, बाँडिचुँडी खाउँ’

सूत्रलाइ प्रयोग गरेर मिलाइयो ।” चीनकाजी श्रेष्ठले सबिस्तार व्याख्या गरे ।

-“ए …..! नीति, सिद्धान्त, मूल्यमान्यता, सिष्टमको कुरो होइनरहेछ । भागवण्डा नमिलेर पो रहेछ। वुझियो ।” चीनकाजीको अन्तर्आत्मा शान्त भयो । अन्तर्आत्मालाइ सन्तुष्ट पारेर चीनकाजी केबी गुरुङलाइ भेट्न हिंडे ।

तपाइँको प्रतिक्रिया