गोल्ड र सिल्भर पाटनरका नाममा युरो कांग्रेस रकम उठाउँदै, अर्काथरीको आपत्ती
नेपालीहरु पैसा उठाउन पर्यो भने कति सिपालु । कति जानेका । कस्ता कस्ता अक्किल आउने दाम उठाउनु पर्दा । मे २७ का दिन नेदरल्याण्ड्समा हुन लागेको भनिएको नेपाली कांग्रेस युरोप (युरो कांग्रेस) ले अनेक नाममा पैसा उठाउन थालेको छ । उसले अब गोल्ड पाटनर, सिल्भर पाटनर लगायतका अनेक शिर्षक राखेर रकम उठाइरहेको छ । युरोप भरिका कांग्रेसको भनेर डाकिएको यो भेलाका नाममा अनेक नाममा रकम उठाएपनि कांग्रेसकै केहिले भने बिरोध जनाएका छन् । भेला जस्तै यसरि हाँस्यास्पद नाममा रकम उठाएको भन्दै कांग्रेसमा अर्को बिबाद देखिएको छ । नेपाली जनसंपर्क समिति निर्माण गरिँदा संस्थापक रहेका, युरोपमा नेपाली कांग्रेसका इमान्दार र बैचारिक हिसाबले उच्च श्रेणीका भनेर चिनिने बेल्जियम निवासी ध्रुव पौडेलले यो गोल्ड प्रायोजन, सिल्भर प्रायोजनको बिरोध गरेका छन् । नेपालप्लसलाइ नेदरल्याण्ड्सका एक कांग्रेस कार्यकर्ताले रकम माग्ने पत्र र ध्रुव पौडेलको बिरोध दुबै पठाएका थिए । पत्रमा ध्रुव पौडेलले प्रश्न गरेका छन् ‘यो कहाँको शब्द चयन हो गोल्ड पाटनर र सिल्भर पाटनर भन्ने ? हामीले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भोग्दै गर्दा पनि सुनेका छैनौं भने यो शब्द कहाँबाट सापटी लिनु भयो ?”
साधारण सभा तथा युरोपियन भेला आयोजना आर्थिक समितिका संयोजक तथा जनसम्पर्क समिति नेदरल्याण्डका सल्लाहकार हरि पौडेलले साझेदार रकम भन्दै गोल्ड पाटनरका नाममा पाँच सय युरो, सिल्भर पाटनरका नाममा तिन सय युरो, नेपाली जनसंपर्क समिति कन्ट्री सपोर्ट (एन जे एस एस) सपोर्टका नाममा दुई सय युरोको सहयोग मागेर पत्राचार गरेका छन् । पत्र नेपालप्लसलाई प्राप्त छ । पत्रका अनुसार संस्थागत रुपमा यो शिर्षकमा रकम दिनेको नाम ब्यानरमा उल्लेख हुने छ । त्यस्तै उनको प्रस्ताव अनुसार ब्यक्तिगत रुपमापनि दुई सय युरोका दरले रकम दिए तिनको नाम ब्यानरमा नाम उल्लेख हुने छ । तर ब्यानरमा नाम उल्लेख नभएपनि ब्यक्तिगत इच्क्षा अनुसार जतिपनि सहयोग र चन्दा दिन सकिन्छ ।
कार्यक्रमबाट बचेको रकम जनसंपर्क समिती नेदरल्याण्ड्सको बैक खतामा जम्मा गरी परोपकारी कृयाकलाप तथा भविस्यमा आयोजना गरिने अन्य कार्यक्रममा प्रयोग गरिने हरी पौडेलको पत्रमा उल्लेख छ । प्रायोजनको लागि बैक खाताको विवरण “नेपाली जनसम्पर्क समिति ” खाता नम्बर : NL28INGB0006465924 दिईएको छ ।
हरी पौडेलले यसरि गोल्ड र सिल्भर लगायतका अनेक नाम र शिर्षकमा रकम उठाउन थालेपछि ध्रुव पौडेलले त्यसरि उठाउन लागिएको रकमबारे प्रश्न गरेका छन् “नेपाली कांग्रेसका कार्यकर्ता भनेका भोको पेटले पनि पार्टीमा अहोरात्र खटेको देखिएको छ । यो मोलमोलाई के को लागी हो ? दोश्रो कुरा, अहिलेसम्म यूरोप जनसम्पर्क समिति भन्ने संस्थाको आयोजक को हो र किन अहिलेसम्म सबै कुरा खुलस्त हुँदैन ? जनसम्पर्क समिति नेदरल्याण्डको साधारण सभाको हामी सफलताको कामना गर्दछौं र यूरोप भरिका साथीहरुको नेदरल्याण्ड जनसम्पर्क समितिले राखेको हो भने उपस्थित हुने प्रयासपनि गर्दछौं । तर आदरणीय हरी दाई संगठनको नाममा एक्लो व्यक्तिको रबैया कदापी हामी हुन् दिँदैनौ र हुँदैन पनि । यो खर्च केको लागी जुटाइँदै छ कृपया खुलस्त पारिदिनु होला ।”
हरी पौडेलको पत्राचारमा हाँसो लाग्दो अर्को पक्षपनि छ । त्यो हो, नेदरल्याण्ड्समा युरो कांग्रेसको भेला गरेर नेपालको लोकतन्त्रलाई बलियो बनाउँछ रे । आफ्नै पार्टी, युरोपका कांग्रेसबिचमै यो भेला बारे बिबाद छ । असहमती छ । अनि कसरि युरोपमा गरेको बिबादास्पद भेलाले नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने होला ? हरी पौडेलको पत्राचारमा उल्लेख छ “यो भेलाले नेपाली काङ्रेसको आस्था र सिद्धान्तलाई अंगिकार गरी लोकतन्त्रको मुल मर्मलाई आत्मसात गरेका युरोपका बिभिन्न भागमा छरिएर रहेका नेपाली जनसंपर्क समितिहरुले आफ्नो लोकतान्त्रिक अभियान दौरानमा देखिएका समस्या, भोगेका तिता मिठा अनुभवहरु, चुनौती तथा समितिहरु बिचका साझा सवालहरुमा साझा दृष्टिकोण बनाउँदै समन्वय र सहकार्यका आधारमा अगाडि बढि सामुहिक लक्ष्य र कार्यक्रम तय गर्ने आशा राखेका छौं जसबाट नेपालमा हाल भईरहेको प्रजातन्त्र तथा लोकतन्त्र संस्थागत गर्ने प्रकृयालाई योगदान दिने हामीले विश्वाश लिएका छौं ।” तर नेपालको लोकतन्त्रलाई संस्थागत गर्न कसरि यो भेलाले सहयोग गर्छ भन्ने स्पष्ठ उल्लेख भने छैन ।
युरोपको कांग्रेस भित्रै यो भेलाका विषयमा बिबाद त चुलिएकै छ । भेला भन्दै अनेक शिर्षकमा रकम उठाउन थालेपछि त्यसले झन बिबाद तताएको छ । यसलाई कतिपयले गैह्र कानुनी भनेका छन् । कतिपयले मनोमानी र कांग्रेसको निति बिरुद्द, बेइज्जतीपूर्ण भनेका छन् ।




