बाबुरामको कैलाशचिन्तन

आनन्दराम पौडेल

anandaram-paudel-33434बैशाखको चौथो हप्ता लागिसक्दापनि कैलाश-मानसरोवरमा खपिनसक्नु चीसो थियो । झन् सिरेटो चलेको बेलामा त मुटु नै झर्लाजस्तो हुँदोरहेछ । जति चीसो भएपनि चाइनीजहरुले कोठाहरु सधैं तताइराखेका र गाडीमा पनि एसी भएकोले कठिनाइ महसुस भएन । नत्र त, बृद्ध बुबाको प्राण जोगाउन सकिंदैनथ्यो । कैलाशमा पुग्दापनि डा. बाबुराम भट्टराईको दिमागभरी विराटनगरकै दृश्यहरु खेलिरहे । सम्झे, “आखिर मैले केनै माँगेको थिएँ र ! भक्ति पाण्डेलाइ केन्द्रीय कमिटीमा र टोपबहादुर रायमाझीलाइ पदाधिकारीमा राखौं भनेको थिएँ । बरु, त्यो अशोक जयसवाल र एमबी थापा (न्यौपाने) लाइ अहिले केन्द्रीय कमिटीमा नराखुँ भनेको थिएँ। त्यति सानु कुरोपनि मानेनन् । मानेनन् हैन, सुन्दै सुनेनन् । 

अशोक जयसवाललाइ अलि बढी नै काखी च्यापे। समानुपातिक सभासदको छनौट गर्नुअघि प्रत्यक्षमा जितेको जिल्लाबाट समानुपातिकमा नलिने नीति तय भएको थियो । त्यसबेला नीतिलाइ मिचेरै अशोक जयसवाललाइ सभासद बनाए । त्यस्मा मैले चर्को विरोध गरिन । विराटनगरमै केन्द्रीय समितिको बैठकमा अध्यक्षले केन्द्रीय समितिको नामावली पेश गर्दा ९९ जनामा सप्तरीकी रामकुमारी चौधरीको नाम थियो । मोरङ जिल्ला कमिटीका अध्यक्ष शिवकुमार मण्डलले आफूलाइ केन्द्रीय कमिटीमा नपारे पार्टी परित्याग गर्छु भनेर हल्ला मच्चाए । हल्ला मच्चाए मात्र हैन, सम्मेलनस्थलमै पत्रकार सम्मेलन गर्ने तैयारी गरिसकेका

थिए । उनको हल्लाले हाम्रा अध्यक्ष तर्से र हत्त-न-पत्त रामकुमारी चौधरीको नाम काटेर शिवकुमार मण्डललाइ राखे । तर्साएर, धम्क्याएर पद हत्याउने यस्तोपनि क्रान्तिकारी कम्युनिष्ट पार्टी हुन्छ ? खोई, कहाँ रह्यो कम्युनिष्ट अनुशासन ?”

मानसरोवरको होटेलमा बाबुरामजीको लागि छुट्टै कोठाको व्यबस्था थियो । ओछ्यानमा पल्टेका त थिए, तर विगतका दृष्यहरु जीवन्त भएर जुर्मुराउँदै अगाडी आइरहेकाले निन्द्रा पर्न सकेको थिएन । विगतमै लहसिए । सम्झे, “राष्ट्रिय सम्मेलन गर्ने पूर्व तैयारीदेखि नै म चेपुवामा पर्दै गएको थिएँ । आफ्ना मान्छे भर्ने होडमा अध्यक्षले समानान्तर कमिटीलाइ समेत् मान्यता दिए । एसम्यानहरुको हूल जम्मा गरिसकेपछि निर्वाचनमा जाने प्रस्ताव गरेकापनि हुन् । निर्वाचनमा जानुपर्छ भन्ने आवाज सरल सहयात्रीलगायत युवापङ्क्तिले जोडदार तवरले उठाइरहेका थिए । सम्मेलन शुरु हुनु अगावैदेखि ‘हामी चुनाव चाहन्छौं’ भन्ने नारा लेखेको प्लेकार्ड बोकेर उभिएका थिए । निर्वाचनको माग गरेर हस्ताक्षर सङ्कलन भएको रहेछ । ७०० भन्दा बढी प्रतिनिधिहरुले हस्ताक्षर गरिसके भन्दैथे । प्रतिनिधि छनौटदेखि नै प्रचण्डले एकलौटी बनाउँदै ल्याएकाले निर्वाचनमै जाँदापनि मेरो हैसियत नाजुक देखिने प्रष्टै थियो । त्यसैले, निर्वाचनपटि रुचि देखाइन ।”

एकपल्ट मानसरोबर हेर्ने चाहना भयो। उठेर झ्याल खोले । निस्पट्ट अन्धकार भएकोले केहि देखिएन । बरु, चीसोले सन्न पार् यो। झ्याल बन्द गरेर पुन बिछ्यौनामै पल्टे, र घोत्लिए । सोचे, “यता आएपछि नेपालतिर खासै सम्पर्क गर्न पाएको छैन । बाबुरामले पार्टी फुटाउने भयो भनेर हल्ला चलेको होला ! मबाट अर्को पार्टी निर्माण हुनसक्ने सम्भावना छैन । साङ्गठनिक

कौशलता नै छैन । अर्कोतिर, यो वर्तमान पार्टी विकृतिले ग्रस्त भैसक्यो । यस्पालि सम्बिधानसभा निर्वाचनमै कस्ता-कस्ता दृष्य देख्नुपर्यो !

कपिलबस्तु – ४ को टिकट पाएकी सन्तोष पाण्डेयले कांग्रेस उम्मेदवार सुरेन्द्र आचार्यसँग रु ८ लाख लिएर मत वेचिछन् । त्यस्मध्ये आधा रकम खर्च गरेर सुरेन्द्रको पक्षमा कार्यकर्ता परिचालन गरिछन् । अर्का उम्मेदवार जावेद आलम खाँले पार्टीका प्रभावशाली नेतालाइ मोटरसाइकल र ठूलै रकम दिएर कपिलवस्तु ५ नं क्षेत्रको टिकट प्राप्त गरेका रहेछन् । यस्ता घिनलाग्दा विकृति त अनगिन्ती छन्। त्यसो त, दोश्रो सम्बिधानसभा निर्वाचनलगत्तै बसेको समीक्षा बैठकमा अध्यक्षले केही गल्तिकमजोरी महसुस गरेका थिए । १- गिरिजा कोइरालालाइ राष्ट्रपति नबनाउनु । २- रुक्माङ्गद कटवाललाइ हटाउने निर्णय गर्नु । ३- पाँचदिने आम हडताल आव्हान गर्नु । ४- दुइ लाइन सङ्घर्षलाइ चर्कन दिनु । ५- पहिलो सम्बिधान सभालाइ नवचाउनु । ६- मोहन बैद्यहरुलाइ निर्वाचनमा आउन नदिनु । ७- मध्यरातमा मतगणना प्रतिनिधि फिर्ता बोलाउनु । यी अध्यक्षले महसुस (रियलाइज) गरेका गल्ति भए । योभन्दा भयानक गल्तिहरु, जुन विगतदेखि गर्दै आयौं र जस्को कारणले पार्टी दिशाहीन बनेर रुमल्लियो, त्यो चाहीं अध्यक्षले ढाकछोप गरे । पार्टीलाइ जबर्जस्ति जातीय, साम्प्रदायिक राजनीतिमा होमेर हामीले भयङ्कर अपराध गरेका ह्वौं ।

अर्को थियो, हाम्रो अहङ्कार र जवर्जस्तिको कार्यशैलि । जातपातको राजनीति अँगाल्नासाथ सर्वप्रथम हामीले सैद्धान्तिक आधारभूमि त्याग्यौं, वर्ग सङ्घर्ष छाड्यौं र बस्तुनिष्ठता बिर्स्यौं । बस्तुनिष्ठता बिर्सेकोले तथ्यबाट सत्य पत्ता लगाउने सूत्र भुल्यौं । वैचारिक राजनीति छाडेर

पपुलिष्ट राजनीति अँगाल्यौं । अहिले पार्टीभित्र मौलाएका विकृतिहरु पपुलिष्ट राजनीतिसँगै आएका हुन् ।”

तलतल मेटाउन थर्मसबाट तातोपानी खन्याएर १ कप कफि बनाएँ । कफिको चुस्किसँगै अलिकति आत्मकेन्द्रित भए । सोचे, “सम्मेलन बहिस्कार गरेर त हिंडियो । अब के गर्ने ? भन्ने अजङ्गको प्रश्न अगाडी तेर्सिएको छ । केही महिनाअघि ‘नयाँ शक्ति निर्माणको लागि नयाँ विचार’ भनेर राष्ट्रिय बहसमा ल्याएको थिएँ । यथार्थमा त्यो कुनै नौलो विचार थिएन । त्योभन्दा समय सान्दर्भिक, बैज्ञानिक र उत्कृष्ट विचार डेढ बर्ष अघि राष्ट्रिय सभागृहमा वृहत् भेला गरेर मुमाराम खनाल र घनश्याम भूसालले बहसमा ल्याइसकेका थिए ।

यो नेपालको मेडियापनि विचित्रको छ । उनीहरुले त्यत्रो वृहत् भेला गरेर बहसमा ल्याएको उन्नत विचारलाइ मेडियाले स्थान दिएन । नेपालको मेडिया कि त ठूला पदाधिकारीतिर फोकस हुन्छ नभए, मेडिया आफैंले हाइलाइट गर्दै जवर्जस्ति प्रोमोट गरेका व्यक्तिमा केन्द्रित रहन्छ । ‘नयाँ शक्ति’ वा जे भनेपनि जनताले वुझ्ने भाषामा पार्टी नै हो । यो बाबुरामबाट नयाँ पार्टी निर्माण होला भनेर अरु त अरु म आफैंले पनि पत्याउँदिन । यो साङ्गठनिक कौशलता नभएको ‘इन्ट्रोभर्ट’ ले न त पार्टी निर्माण गर्न सक्छ, न त सञ्चालन । बर्षौंदेखि मलाइ साथ दिइराखेका राम कार्की, भरत साह, डोरप्रसाद उपाध्याय लगायत ६-७ जना बरिष्ठ नेताहरुले त साथ छोडिसके । पार्टीसङ्गठनमा असफल भए प्राज्ञिक कर्म गरौंला। अध्ययन, अनुसन्धानमा लागुँला। ‘झिल्को’ लाइ पुनर्प्रकाशन गरौंला। विकल्पहरु धेरै छन् ।”

गह्रुङ्गो भारी बिसाएसरि हलुका महसुस गरे । निन्द्राले झ्याप पार्न खोजेछ । बिछ्यौनातिर लम्के ।

 

 

 

 

तपाइँको प्रतिक्रिया