न्यायपरिषदको आत्मा

आनन्दराम पौडेल  

anandaram-paudel-33434 “आज अलि बढी नै जङ्गिएँ। प्रश्न सोध्ने पत्रकारले मलाइ नचिनेको हो र ? त्यो पत्रकारले मेरो आनिबानि सबै वुझेकै थियो। प्रश्नदेखि रीस उठ्ने मेरो पुरानो स्वभावको बिषयमा पनि उस्लाइ राम्रो ज्ञान थियो ।” खेमनारायण ढुङ्गानाजी केही दिनदेखि टेन्सनमा थिए । आज त झोक्किएपनि । साँझ घरमा आएर एकान्त खोजे । दिमाग तातेकोले एक ग्लास चीसो लस्सी पिए। कौसीमा बसेर दूर क्षितीजमा नियालिरहँदा पनि दिमाग सेलाएन। एक कप कफि मँगाएर चुस्कि लिंदैजाँदा रीस मर्दैगयो। दिमाग शान्त र मनचित्त स्थीर भएपछि आत्म समीक्षामा घोत्लिए । सोचे, “यो न्यायिक क्षेत्रको ‘अण्डर करेण्ट’ गतिविधिमा अपडेट थिइन । त्यसैले यो क्षेत्रको भित्री चुरोको जानकारी मलाइ थिएन । जमानामा अधिवक्ताको लाइसेन्स लिइराखेको हुँदा औपचारिक तवरले आफूलाइ कानुनव्यबशायी दाबी गर्न त जीवनभरी नै पाइने नै भयो । यही आधारमा टेकेर कमरेड झलनाथ खनालजीले कृपा गरेर मलाइ न्यायपरिषदको सदस्य बनाइदिनुभएको थियो । नत्र त, पार्टीकाम र घरव्यबहारमै मग्न थिएँ । पार्टीले केन्द्रीय अनुशासन विभागको जिम्मेवारी दिएको थियो। त्यसैमा व्यस्त थिएँ ।” 

खल्तिमा मोवाइलको घण्टी टि..री..ङ्ग बज्यो । ध्यान भङ्ग भयो । मोवाइललाइ स्वीचअफ गरेर बैठककोठाको टेबुलमा राखे । कौसीमै फर्केर पुन घोत्लिए । सोचे, “यही अनभिज्ञताकै कारणले गर्दा जानिनजानि म उपेन्द्रकेसरी न्यौपानेको ग्राण्ड डिजाइनभित्र पर्दै गएछु कि ? नत्र, विचरा प्रकाश वस्तीजी विरुद्ध हात धोएर पछि लाग्नुपर्ने थिएन। प्रकाश वस्तीजी अति योग्य न्यायाधीश हुन् । ५ बर्ष सर्वोच्चमा रहँदा धेरै मुद्दा फर्छौट गरे, र जति गरे न्याय पर्नेगरी गरे । प्रकाशजीको बिषयमा सबैले भनेजस्तै मेरो आत्माले पनि यही भनिरहेछ । दुइ-दुइपटक संसदीय सुनुवाईमा राखेरपनि उहाँलाइ स्थायी नियुक्ति दिने बेलामा पन्छाइयो । प्रकाशजीलाइ स्थायी नियुक्ति नदिनकै लागि २०६८ जेठदेखि करिब ३ बर्ष सर्वोच्चमा स्थायी सिफारिश गर्न रोक्यौं । हाम्रो हातबाट यो अलि बढी नै अत्याचार हुन गयो । आफ्नै आत्माले धिक्कारेको भित्रभित्रै महसुस गरिरहेछु ।

प्रकाशजी २०५९-२०६० सालतिर अख्तियारमा कानुनी सल्लाहकार थिए क्यार ।  त्यहीबेलामा गोविन्दराज जोशी, खुमबहादुर खँड्का लगायत धेरै कांग्रेसी नेता र पदाधिकारीहरु भ्रष्टाचारको छानबिनमा परे। तिनीहरुलाइ जोगाइदिन प्रकाशजीबाट अपेक्षा राखेका थिए होलान् । जोगाइदिनु सट्टा अभियोग लगाउने तिर लागे भनेर रुष्ट भएका थिए कि ? उपेन्द्रकेशरी न्यौपानेजी हात धोएरै पछि लाग्नुको कारण यही होला भन्ठान्छु । कथंकदाचित् प्रकाश वस्तीलाइ सर्वोच्च अदालतको न्यायाधीशमा स्थायी नियुक्ती दिनैपर्ने भयोभने कुनैपनि हालतमा प्रधानन्यायाधीश बन्नै नदिने भयङ्कर षडयन्त्र भएको रहेछ । प्रधानन्यायाधीशको कुर्सीमा विराजमान भएका तर धर्मअनुष्ठानमै एकाग्र भैरहने र मठमन्दिरतिरै धाइरहने दामोदर शर्माजीले भित्री तात्पर्य खोलेरै भनिदिनुभएछ। ‘रोलक्रममा गोपाल पाराजुली भन्दा पछाडी राखेर सिफारिश गर्दा तपाईंले स्वीकारिदिनुहोस् है’ भनेर सम्झाउनुभएछ । सोझो मान्छेको प्रष्ट कुरा नि ।”

खेमनारायण ढुङ्गानाजीले लामो सास ताने। तर, चिन्तनशिलशिला भङ्ग गरेनन् । सोचे, “भन्नलाइ त हामीले जे गर् यौं ठीक गर् यौं भनिरहेछौं, तर ‘जे गर्नुपर्थ्यो त्यस्लाइ पन्छाइस् र नगर्नुपर्ने चाहीं खोजी-खोजी गरिस्’ भनेर मेरो आफ्नै अन्तर्आत्माले मलाइ बारम्बार धिक्कारिरहेछ। प्रकाश वस्ती, केशरीराज पण्डित जस्ता अति योग्य न्यायाधीशलाइ पन्छाएर चोलेन्द्र शमशेर राणा, गोपाल पराजुली, दीपकराज जोशीहरुलाइ ल्याएकोमा उस्ले आपत्ती गरेको म वुझ्छु । विशेष अदालतमा चोलेन्द्र राणाजीहरु (कोमलनाथ शर्मा, भूपध्वज अधिकारीसमेत् भएर) न्यायसम्पादन गर्दा अलि बढी नै नाङ्गिएका त हुन् । न्यायप्रणालीकै हुर्मत् लिएछन् । चोलेन्द्रको हकमा दुइ-दुइ पटक डिभिजन वेञ्चले र दीपकराज जोशीलाइ पनि सर्वोच्चले फैसलामै कैफियत जनाइ ‘कार्यवाही गर्नु’ भनि परमादेश समेत् गरेको थियो । सर्वोच्चबाट परमादेश नभएपनि गोपाल पराजुली विरुद्ध झन् धेरै डरलाग्दा र घिनलाग्दा उजुरी परेका थिए । पुनरावेदन अदालत ललितपुरको न्यायाधीश हुँदा गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठले २०६६\ ०१\ २० गते साँझ ६ वजेपछि गरेको निर्णय र फैसला डरलाग्दो छ । फिल्डबुक, लगत, ७ नं फाँटवारी, तिरो तिरेको रसिद जस्ता अत्यावश्यक र महत्वपूर्ण मात्र हैन अनिवार्य हुनैपर्ने तथ्यप्रमाणहरुलाइ नजरअन्दाज गरी थानकोट गाविस वडा नं ३’क’ , कित्ता नं १ को १६ रोपनी, १० आना पर्ती-सरकारी जग्गा प्रेमबहादुर बस्नेतको नाममा गरिदिएछन्। गोपाल पराजुलीलाइ स्त्रीलम्पट भन्दारहेछन् ।

भैगो, चरित्रतिर नजाउँ । मिनबहादुर रायमाझीजी प्रधानन्यायाधीश भएको बेलामा न्यायपरिषदले गोपाल पराजुली, दीपकराज जोशी र गोविन्द उपाध्यायलाइ पुनरावेदन अदालतको मुख्य न्यायाधीश सिफारिश गर्न नसकेको भनेर धेरैले सुनाएका थिए। तिनै व्यक्तिलाइ भविष्यमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेगरी रोलक्रमको सेटिङ मिलाएर आज सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको देखेर नै मेरो अन्तर्आत्मा तड्पेको मैले महसुस गरेको छु । हुनपनि, हामीले सिफारिश गरेका ८ जनामा बैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्र बाहेक अरु कोही डुङ्डुङ्ति र कोही हल्का गन्हाएका छन् ।”

कपासबाट धागो बाटेजस्तो अथवा धाराबाट पानी झरेजस्तो खेमनारायणजीको आत्मचिन्तनको शिलशिला अटुट थियो । थोरै पोजिशन बदले । र, चिन्तनप्रवाहमै सलल अघि बढे । सोचे, “यी कानुनव्यवशायीहरु पो अचम्मका छन् त । अरुबेला ३६ को आँकडामा रहनेहरु हाम्रो यो निर्णयविरुद्ध सबै एकजुट भएका छन् । सुशीलकुमार पन्त र शेरबहादुर केसी २ जनाले यो सिफारिशलाइ समर्थन जनाएपनि बौद्धिक जगतमा यी २ जनाको  खासै प्रभाव छैन। आ…! हल्ला गर्ने गरिरहुन । कराउने कराइरहुन्। कान थुनेर बस्ने हो । केही दिन कराउँछन्, थाक्छन् । इन्द्रको बाउ चन्द्र आएपनि हाम्रो निर्णयलाइ बदर गर्न सक्तैनक्यारे ।”

आत्मचिन्तनको अन्तिम धारोले खेमनारायणजीलाइ ढाढस दियो । आत्मविश्वास बढ्यो । तातेको दिमागपनि सामसुम सेलाएछ । साँझ छिप्पिएछ । भोकपनि लागेछ । कौशीबाट डाइनिङ रुमतिर लम्के ।

 

तपाइँको प्रतिक्रिया