एमाले महाधिवेशन बहस: हामी कहाँ छौ ? अव कता जाने ?

सिद्धिचरण भटराई

siddi-charan-bhattarai-lumbini-1212वर्तमान अर्थ व्यवस्थालाई के भन्ने ? समाजव्यवस्था केहो ? अव हामी कता जाने र वर्तमानमा के गर्ने ? क्रान्तिको बाटो ? चरण ? कसरी अगाडि बढने ? पार्टी निर्माण कसरी गर्ने ? नवौ महाधिवेशनका सन्दर्भमा एमाले भित्र यीनै प्रश्नहहरुले सताई रहेका छन । नेता देखि कार्यकर्ताहरुलाई चिमोटिरहेका छन । वैचारिक जडता, यथास्थिती, निरासापूर्ण राजनीतिमा यसले नयाँ आशा र तरंग पैदा गरेको छ । यसको निकास कसरी निष्कन्छ । यो प्रतिक्षाको बिषय हो । तर बहसको छाँटकाँट हेर्दा दुई तत्वहरु सिादान्तको जगमा भन्दा पुर्वाग्रहको जगबाट प्रेरित भएको पनि देखिँदैछ । यसलाई सिद्धान्तको जगमै बहस चलाउन यी पक्षहरुलाई ध्यान दिनु जरुरी छ ।

व्यवस्थालाई बताउने माक्र्सवादी पद्धति केहो ?

माक्र्सवाद एउटा विश्व दृष्टिकोण हो । यसका आधारमा समाज व्यवस्थालाई निम्न कुराका आधारमा त्यो समाज के हो भनेर छुटाउनु पर्दछ । समाज बुझन आधार संरचना र उपरी संरचना बुझनु पर्दछ । मानिसको ‘श्रम’ र ‘उत्पादनका औजार’ मिलेर ‘उत्पादन शक्ति’ बन्दछ । यही आधारमा समाजमा बिचारधारा, संस्था, संगठन निर्माण हुन्छ, यसलाई उपरी संरचना भनिन्छ । उत्पादन शक्ति संगको सम्वन्ध उत्पादन सम्बन्ध समाजमा कस्तो छ, त्यसले युगको नामाकरण गर्दछ । उत्पादक शक्ति उत्पादक सम्वन्ध टकराउन थाले पछि समाजमा क्रान्तिको शुरुवात हुन्छ । त्यो क्रान्तिले उपरी संरचनामा ल्याउने बदलाव नै क्रान्ति हो । समाजको अवस्था र राजनीतिक घटनाक्रम आन्दोलन र संघर्षलाई बुझने माक्र्सवादी सामाजिक पद्धति यहि हो । यसरी नै आदिम साम्यवाद देखि पुँजीवादी समाज र समाजबाद सम्मको व्यवस्थाको परिवर्तन भएका हुन र हुन्छ ।

कार्ल माक्र्सले ‘दर्शनको दरिद्रता’ मा प्रुँधोका विचारको आलोचना गर्दा भनेका छन ‘सामाजिक सम्वन्धहरुको उत्पादक शक्तिसँग गहिरो सम्वन्ध हुन्छ । नयाँ उत्पादक शक्तिहरु प्राप्त गर्ने प्रक्रियामा मानिस आफना आफनो उत्पादनको पद्धतिलाई बदल्छन र आफनो उत्पादन पदतिलाई बदल्दै उनि आफना सम्पूर्ण सामाजिक सम्वन्धहरुलाई पनि बदल्छन । हाते मिल स्वयंले सामन्त मालिक भएको समाज दिन्छ । वाफ मिल तपाईलाई औद्योगिक पुँजीपति भएको समाज दिन्छ ।’ तिनै मानिस जो आफनो भौतिक उत्पादकताको अनुरुप आफनो सामाजिक सम्वन्ध बनाउँछन, तिनै आफनो सामाजिक सम्वन्ध अनुरुप विचार र प्रवर्गहरुलाई पनि जन्म दिन्छन ।’

सामाजिक सम्वन्ध उत्पादन र विनिमय प्रणाली साथमा त्यसले निर्माण गर्ने सामाजिक न्यायको अवस्थाले त्यो समाजको व्यवस्था दर्शाउँछ । राज्य र राजनीति पनि उत्पादन सम्बन्ध (उत्पादन, विनिमय र वितरण प्रणाली) का संरचनागत परिपाटी मात्र हुन । कार्यपालीका, व्यवस्थापिका, न्यायालयका अतिरिक्त शाशकीय शक्ति बाँडफाँडको पद्धतिले युगको प्रतिनिधित्व गर्दछन । राज्य र त्यसले बोक्ने राजनीति वर्गिय पक्षधरतामा आधारित हुन्छ । सामन्तवादी उत्पादन सम्वन्ध भएको समाज सामन्ती यसले सामन्त वर्गको हित गर्छ र गर्नुपर्छ । पुँजीवादी उत्पादन सम्वन्ध भएको समाज पुँजीवादी हो, सामुहिक वा सार्वजनिक उत्पादन सम्वन्ध भएको समाज समाजवादी हो । कस्तो उत्पादन सम्वन्ध सामन्तवादी र कस्तो उत्पादन सम्वन्ध भएको समाज पुँजीवादी भन्ने कुरो निर्धारण भएपछि हाम्रो समाज के हो ? भन्ने टुंगो लाग्छ । सामन्तहरु मोहीहरुको कुतबाट चल्ने समाज वा राज्य सामन्तवादी हो । सामन्तले समाजको राजनीतिमा आफनो सम्पूर्ण हैकम कायम राख्दछ । उत्पादनका साधनमाथि मुख्य स्वामित्व लिएर किसान को शोषण गर्दछ । किसानसंग जमिन हुँदैन जमिन्दारकोमा श्रम दिएर जमिन्दारलाई अन्न दिन्छ र उसबाट उसले तोकेको अन्न लिन्छ र गुजारा चलाउँछ । श्रम दिएर बस्तु साटने वा बस्तुबाट बस्तु साटने, श्रम बाट श्रम साटने पद्धतिलाई सामन्ती भन्ने गरिन्छ त्यसको राजनीतिक संरक्षण र उत्पादन सम्वन्ध भने स्वामित्वमा आधारित हुन्छ त्यो स्वामित्व जमिन्दार वर्ग संग हुन्छ । जमिन्दार वर्ग संग शासकिय शक्ति निहित हुन्छ ।

वर्तमान समाजलाई तथ्यहरुले के भन्छन ?

त्यसो भए नेपाली समाजको अवस्था के हो त ? भन्ने बारेमा छलफल गरौ । केही व्यक्तिहरु अर्थतन्त्रमा कृषिको योगदानलाई लिएर नेपाली समाज सामन्तबादी हो भनेर बहसमा आएका छन । जबकी ००७ सालमा सुवर्ण समसेर अर्थ मन्त्री हुँदा भनेका थिए “हाम्रो अर्थतन्त्रको मुल आय मालपोत हो । त्यतिखेर ६२ प्रतिशत राजश्व आउँथ्यो । जिडिपिमा आव १९७४ र ७५ मा नेपालको करिब ७० प्रतिशत जिडिपि कृषिबाट थियो । ०८४ र ८५ मा पुगेपछि त्यो ५० मा झरयो । अहिले ३५ प्रतिशत भन्दा कम छ । त्यसभित्र पोल्ट्री उद्योग पनि परेको छ । पोल्ट्रीमा बैकिंग लगानी छ, आठघण्टे कार्यदिन छ । आधुनिक ह्याचिंग मेशिन छ । तर पनि यसलाई कृषि उत्पादनको रुपमा मानिएको छ । जिडिपीमा त्यसले ७, ८ प्रतिशत योगदान गरेको छ । यसलाई घटाउँदा कृषिको योगदान २७ प्रतिशतमा झरेको मानिन्छ । यसका अलावा, आधुनिक तरकारी खेति, व्यवासायिक खेति, पशुपालन फारामलाई घटाउँदा यो २० देखि २२ प्रतिशतमा आउँछ । यसरी परम्प्रागत कृषिको मुल चरित्र नै फेरिएको छ । यसमा ज्यालादारी श्रम, सामुहिक श्रम, र बजारको सम्वन्ध जोडिएको छ । आधुनिक प्रविधि मिसिएको छ । कार्ल माक्र्सले भने जस्तै हाते मिल र ढिकिमिलको ठाउँमा बिद्युतिय मिल र स्वाचालित इज्निनले चल्ने मेसिनहरु कृषिमा प्रयोग भएका छन । कृषिमा बैकिंग लगानी, एकल वा समुहगत रुपमा लगानी भएको छ । अनुदानहरु लगानी भएका छन । कृषिमा सामन्ती सम्वन्धहरु समाप्त भएका छन । कहि कतै भए ति मुल प्रबृतिमा देखा परेका छ्रैनन ।

यसका अतिरिक्त नेपालका रोजगारी सम्वन्धि तथ्यांकहरुले करिब ८ लाख सरकारी कर्मचारी छन । जसमा १ लाख नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी गरेर १ लाख, ३ लाख शिक्षक छन । सरकारी निजामति कर्मचारी ८० हजार छन र ८० हजार आसपास संस्थानका र २० हजार बिश्व बिद्यालयका प्राध्यापक, २० हजार कर्मचारी, १८ हजार उच्चमाविका शिक्षक र केही विकासका कर्मचारी छन । यी ८ लाखको मुख्यथलो गैर कृषि नै हो । यी ८ लाखबाट प्रति परिबार ४ का दरले ३२ लाख परिबार जनसंख्या सरकारी रोजगारीबाट आश्रित छन । यसैगरी बैदेशिक रोजगारीमा १९ लाख रहेको राष्ट्रिय जनगणनाले नै देखाएको छ । २५,३० लाख रहेको अनुमान तथ्यांक बाहिरको छ । २० लाख मान्दा पनि २० लाख बराबर ४ जनाका दरले ८० लाख भयो । अघिको ३२ लाख जोडदा १ करोड १२ लाख जनसंख्या गैर कृषि क्षेत्रबाट आश्रित छ । यो बाहेक नीजि क्षेत्रका उद्योग धन्दा, व्यापार, ज्याला मज्दुरी, निर्माँण मज्दुरमा काम गर्नेको संख्या र भारत प्रवासमा सिजनमा काम गर्न जाने सिजमा घरको खेतिबारीमा काम गर्न फर्कनेको संख्या जाडनुस यसले तलव र ज्यालादारी पुँजीबाट जीविकोपार्जन गर्ने सबै भन्दा बढि छन । यसरी हेर्दा सामन्तबादी उत्पादन र जीविकोपार्जनको आर्थिक आधार कहिँ देखिदैन । राजनितिक संरचना पनि ०६२ को जनआन्दोलनबाट खतम भईसकेपछि सामन्तबादका जरा र नेतृत्व दुवै समाप्त भएका छन ।

यसरी गैरकृषिबाट जीवन धान्ने मानिसको प्रतिशत नै सबै भन्दा बढि छ । कृषि उत्पादनले अन्नपातको केही अंश पुरा गरे पनि अहिलेको जीविकोपार्जन भित्र पढाई, स्वास्थ्य, बास, लत्ता कपडा पनि पर्दछ । यसरी कृषि उत्पादनले एउटा नागरिकको कुल खर्च मै कति योगदान गर्ला त्यसको राष्ट्रिय योग देशको अर्थतन्त्रमा पनि देखिन्छ । यसका आधारमा अहिले व्यवस्थालाई सामन्ती वा अर्ध सामन्ती भन्ने कुनै पनि आधार देखा पर्दैन ।

सामन्तबाद सकियो कि छ ? छ भने कति मात्रामा छ ? पुरै सकियो कि सकिएन भन्ने बहस हुन सान्दर्भिक भएपनि त्यसले अर्थ व्यवस्थाको मुल चरित्र सामन्तबादी रहेन भन्ने कुरा नै स्पष्ट छ । यसो भएको हुनाले अहिलेको समाज पुँजीवादी चरित्रमा रुपान्तरण भईसकेको छ भन्ने कुरामा दुई मत छैन । बरु अवको बहस पुँजीवादको चरित्र कुन प्रकृतिको छ भन्ने कुरामा बढि बहस गरयौं भने हाम्रो पुँजीकरणको प्रक्रियालाई बढि सामाजिक न्यायमुखि बनाउँदै अगाडि बढन बाटो खुल्नेछ भन्ने मलाई लाग्छ । हामीले पुँजीवादको विकास भन्दा बढि राष्ट्रिय पुँजीको विकासमा ध्यान दिनु पर्दछ ।

एमाले नेताका भनाई र बहसमा आएका कुरा 

एमालेका नेताहरु अहिले बहसमा छन । बिचारको बहस सकियो हामी भित्र विचारको कुनै लडाई छैन, त्यसको आवश्यकता पनि छैन भनेर निधाउन खोज्नेहरुलाई अहिलेको बहस टाउको दुखाइको बिषय भएको छ । सबै समाधान जबजमा छ भनेर बहसमा रहेका गंभिर सैद्धान्तिक मुद्धाहरुलाई नजर अन्दाज गर्ने प्रबृति घातक छ । जबजलाई हिजो कार्यक्रमबाट सिद्धान्त बनाई सकेपछि सिद्धान्तलाई थप पुष्टि गर्ने किसिमले बहसलाई अगाडि बढाउन जरुरी छ तर परिवर्तनशिल समाजमा यस भित्र पनि आवश्यक परिमार्जन र विकासको आवश्यकता पनि छ । जबजलाई नछोइकन बहस गर भन्नुको अर्थ बहस नगर भन्नु नै हो । जबजलाई जड बनाउनु हो । यसरी जबजलाई बचाउन चाहनेहरुले यसको बिकासका लागि अझ बढि बहसमा उत्रिनु जरुरी छ ।

नेकपा एमाले भित्र दुई बैचारिक धार देखा परे, एउटा सामन्तबाद पुरै सकिएको छैन भन्ने र अर्को पुँजिवादी जनवादी  क्रान्ति सम्पन्न भई सक्यो, हामी पुँजीवादमा प्रवेश गर्यौं भन्ने । एमाले सचिव शंकर पोखरेलले एक अनलाइनमा भनेका छन ‘नेपाली समाज अहिले पनि सामान्त बिरोधी पुँजीवादी जनवादी क्रान्तिको चरणबाटै अघि बढिरहेको छ । त्यसलाई जनताको बहुदलीय जनवादले सैद्धान्तिक र कार्यक्रममिक दुवै रुपमा मार्गदर्शन गरिरहेको छ । यस्तो अवस्थामा विकसित भएको नेपाली समाज पुँजीवाद तर्फ जानु हुँदैन गइरहेको पनि छैन । त्यसमाथि जनताको क्रान्तिकारी पहलकदमी पछिको समाजको प्रमुख चरित्र दलाल नोकरशाी भयो  भन्नुत झनै त्रुटिपूर्ण  र मनोगत विश्लेषण हो । यस अर्थमा नेपाली समाज सामन्तबाद कमजोर हुंदै गएको र पुंजीवादी जनवादी रुपान्तरणको प्रारम्भीक अवस्थामा छ ।

अर्कोतिर झलनाथ पार्टी अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमहरु खुलेरै नेपाली समाज पुँजीवादी चरित्रमा प्रवेश गरेको र ०६२ को जनक्रान्ति पुँजीवादी जनवादी क्रान्ति भएको निष्कर्ष निकालेका छन । अवको मुख्य काम भनेको क्रान्तिका उपलब्धीलाई संस्थागत गरी राष्ट्रिय पुँजी निमार्णको प्रक्रियाबाट समाजबाद तिर जानु हो भन्ने मुख्य निष्कर्ष अर्को पक्षको छ ।

यहाँनिर ध्यान दिनु पर्ने कुरा के हो भने बिश्लेषण गर्दा व्यष्टि र समष्टिको भेद छुटाउन सक्नु पर्दछ । पुरै पुँजीवादी भयो भन्नु र अलिअलि सामन्तवाद छ । त्यसैले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भाछैन भन्नुको के अर्थ हुन्छ ? आजको व्यवस्थाको चरित्रलाई व्यष्टिमा बिश्लेषण र समष्टिमा नामकरण गर्ने हो भने यो समाज पुँजीवादी नै हो । अलि अलि सामन्तवाद छ भन्नुको अर्थ समाज पुँजीवाद नै छ भनेको होइनर ? अलि अलि सामन्तबाद विकसित पुँजीवादी समाजमा पनि छ ।

समाजमा रहेका अन्तरबिरोधहरु के के हुन ?

एउटा माक्र्सवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टीले समाज परिवर्तनका लागि समाजका अन्तरबिरोधहरुको सहि पहिचान गरेर समाजका समस्याहरुको पहिचान र समाधान निकाल्न सक्दछ । सक्नुपर्दछ अन्यथा त्यो पार्टी अग्रगामि बन्न सक्दैन ।

अहिलेको समाजको चरित्र पुँजीवादी भएपनि पुँजीवादको चरित्र औद्यौगिक उत्पादनमा आधारित छैन र हाम्रो आन्तरिक स्थिती र पुँजीवादको बिश्वव्यापी सम्वन्धले गर्दा हाम्रो पुँजीवाद उत्पादनशिल बन्न सकेको छैन । यसले राष्ट्रिय पुँजी निर्माणमा योगदान गर्न नसकेकाले नेपाल सिमान्तकृत र गरिब छ । समाजमा विभिन्न खालका आयश्रोत र सम्पतिको सञ्चयका आधारमा विभिन्न वर्गहरु छन । वर्गहरुका विचमा आपसी अन्तरबिरोध छन । माक्र्सका अनुसार वर्ग छुटाउने आधार उसको आयको श्रोत नाफा र श्रम हो । यो पद्धति बैज्ञानिक छ । नेपालमा युरोपमा जस्तो सर्वहारा मजदुर र पुँजीपति विचको ठिक दुई ध्रुवको प्रतिनिधित्व गर्दै यसमा केही मिसावट सहितको अवस्था छ । नेपालमा वर्ग बिश्लेषणलाई नाफा र श्रमको विभाजनको र बाँडफाँडको वा बिनिमयको चरित्र हेर्दा निम्न वर्गहरुमा विभाजन गर्न सकिन्छ ।

पहिलो : दलाल पुँजीपति वर्ग- प्रत्यक्ष उत्पादनमा नलाग्ने, बिदेशी मुलुकका माल बेचेर उपभोक्ता र बिदेशीमालको पुलको काम गरेर नाफा सोहोर्छन र नगद बिदेश पठाउँछन र राष्ट्रिय पुँजी निर्माणलाई खुम्चाउँदछन । रोजगारी उत्पादन र पुनुरुत्पादन गर्दैन । व्यापारिक प्रतिष्ठानहरु, उपभोक्ता र सार्वजनिक संस्थाका आयातमा दलाल बनि काम गर्ने कम्पनिका मालिकहरु, रातारात धनि हुने रियलस्टेट व्यवसायीहरु, मन्त्रालय र उच्च ओहदामा बसेर नीति निर्माण माफल आयातमा दलाली गरी सहयोग गर्ने दलाल नोकरशाहरु दलाल पुँजीपति हुन । आर्थिक विनिमय प्रणालीबाट आउने अतिरिक्त मुल्य नाफा यस देशको पुँजी निर्माण वा पुर्नउत्पादनको प्रक्रियामा लगाउँदैनन यी दलाल पुँजीपति हुन । अहिलेको शासन व्यवस्थामा हरेक सत्तासिन पार्टीमा वा शक्तिशाली पार्टी यही वर्गको बढि बोलवाला बढदैछ ।

दोश्रो : राष्ट्रिय पुँजीपति वर्ग- एउटै प्रतिष्ठानको चरित्र दलाल पनि र राष्ट्रिय पनि हुने गरेको पनि पाइन्छ तर मुलुकुको आन्तरिक उत्पादन बढाउने पुँजीपति राष्ट्रिय पुँजीपति हो , जसले आन्तरिक रोजगारीहरु सिर्जना गर्छ । उत्पादनमा प्रत्यक्ष श्रम नगरेपनि व्यवस्थापकिय काममा संलग्न भई आफनो उद्योग श्रमिकहरुबाट गराउँछ । त्यो राष्ट्रिय पुँजीपति नै हो । यस बर्गको अन्तरबिरोध दलालपुँजीपतिसँग हुन्छ, साम्रज्यवादी पुँजी वा बैदेशिक कर्पोरेट उत्पादनहरुसँग हुन्छ । यो वर्ग राष्ट्रिय पुँजीनिर्माणको कालभर प्रगतिशिल वर्गको रुपमा रहन्छ ।

तेश्रो : मध्यम वर्ग- यो वर्ग आफै मेहनत गर्छ, आफै श्रमिक पनि हो मालिक पनि हो , कृषि उत्पादन र बैदेशिक रोजगार, जागिरबाट आउने उत्पादनले बाँच्दछ । आफ्नै जमिन, घर  उद्योग र आफै मजदुर पनि हुन्छ, केही ज्यालादारी मजदुर, श्रमिकहरु पनि राखेर उत्पादन र पुर्नउत्पादको प्रक्रियामा पनि सहभागि हुन्छ यो वर्ग नेपालमा सबै भन्दा बढि छ र शसक्त छ ।

चौथो : श्रमिक वर्ग- यो वर्ग शुद्ध कर्मचारी, संगठित मज्दुर हो, शिक्षक, पेशागत कर्मचारी, नेपाली उद्यममा काम गर्ने श्रमिकहरु यस वर्गमा पर्दछन । यीनको जीवन सिमान्तकृत मज्दुरको भन्दा राम्रो सबल हुन्छ ।

पाँचौ : सिमान्तकृत श्रमजिवी- यो वर्ग परम्पारगत कृषिबाट बञ्चित भएको सिमान्तकृत समुदाय जो ज्यालादारी मज्दुजदुआर्थिक वर्ग, गुजारामुखि कृषिले नधानेर ज्याला मजदुर बनेको श्रमिकहरु, निर्माण मज्दुर, रिक्साचालक, असंगठित क्षेत्रका मजदुरहरु, आवधिक समयका श्रमिकहरु, आधा कृषि र आधा मजदुरीमा बाँचेको वर्ग सिमान्तकृत कृषकहरु सबै सिमान्तकृत श्रमजिवी वर्गभित्र पर्दछन ।

बर्ग संघर्षको मुख्य अन्तरबिरोध को संग ?

स्वभाविक छ कि मुलुकको अर्थतन्त्र उत्पादनशिल छैन । आन्तरिक उत्पादनको दायरा फराकिलो छैन । स्वदेशी उद्योग टाट पल्टने र आयातित बस्तुहरुले नेपालको आन्तरिक बजार कब्जा गरेको स्थिती छ । जसले गर्दा देशभित्र आउने भन्दा बाहिर जाने प्रबृति अर्थतन्त्रको अत्यधिक बढि छ । यस हिसावले मुलुकको टाटपल्टाई भई सकेको स्थिती हो । मात्र रेमिटयान्सले यहाँको बजारमा नगदको प्रबाह बढाएका छन । यसको मुलकारण पुँजीबादको प्रबृति दलाल चरित्रको हुनु हो । दलालपुँजीवादले उत्पादनशिल पुँजिलाई निष्तेज गर्छ । गरिरहेको छ । बैकहरु पनि दलाल पुँजीमै मौलाएका छन । उनिहरुको ध्यान औद्योगिक पुँजी निर्माणमा छैन । निति निर्माताहरु पनि नेपालमा आन्तरिक उद्योग भन्दा बैदेशिक बस्तुहरुलाई छुट र प्रोत्साहन गर्ने नोकरशाहहरु नै बढि छन उनिहरुको बोलवाल छ । राजनीति, कर्मचारी तन्त्र, उद्यम व्यापारमा दलाल पुँजीको बर्चश्व बढदै गएको छ । (राजनीतिमा दलालपुँजीको प्रबेश बारे एकपटक भर्खरै सम्पन्न चुनावी खर्च र उम्मेदवार चयनमा पार्टी नेताहरुको भुमिका संझदा पुग्छ ।) यसले गर्दा स्वदेशी उद्यमी, मध्यम बर्ग, श्रमजिवि र सिमान्त श्रमजिवि ४ वटावर्ग को दलालपुँजीपति संगको अन्तरबिरोध नै अहिलेको प्रधान अन्तरबिरोध हो । यसर्थ दलालपूँजीलाई घटाउन र राष्ट्रिय पुँजीलाई बढाई यो अन्तरबिरोधको राजनीतिक र उत्पादन सम्वन्धका समस्याहरुलाई समाधान गर्नु पर्छ ।

अव कस्तो पार्टी बनाउने त ?

अबको पार्टी भनेको राष्ट्रिय पुँजी बढाउने खालका उद्यमहरुलाई बढाउने गरी माथि देखि तलसम्म लाग्ने योजना सहितको पार्टी हुनुपर्छ । हामीले पुँजीवादको विकास होइन पुँजीको विकासमा ध्यान दिनु पर्दछ । स्वाभाविक छ कि नेपाली कांग्रेस र दक्षिणपन्थी शक्तिहरु पुँजीवादको अझ खासगरी मरणशिल उदार पुँजीवादको पक्षमा वकालत गर्नेछन गरिरहेका छन । यसका लागि बैचारिक रुपमा तयार भएको विचारधारात्मक पार्टी जसले राष्ट्रिय पुँजीको विकास गर्दै राष्ट्र र समाजलाई समाजबाद उन्मुख बनाउन मद्धत गरोस । अब प्रत्येक जिल्ला कमिटी संग आर्थिक विकासको योजना, पुर्वाधार विकासको योजना, समाजमा रहेका पछौटेपनका बिरुद्ध संघर्षको योजना, सामाजिक न्याय र विनिमय प्रणालीलाई सहभागितामुलक र सहकारितामा आधारित भई प्रत्येक नागरिकको जीवनस्तर उठाउने योजना सहितको पार्टी बन्नु पर्दछ । प्रत्येक कमिटीलाई यही अनुसार कार्यमुल्यांकन मापदण्ड बनाउनु पर्दछ ।

अबको कार्यक्रम के हो ?

पार्टीसँग अवधारणा भएर मात्र हुँदैन तदनुरुप कार्यक्रम पनि चाहिन्छ । संगठनात्मक काम, राजनीतिक कामलाई संगसगै लैजाने कुरालाई अगाडि बढाउनु पर्दछ । पार्टीका कार्यक्रमसँग देखिने खालका सूचकहरु बनाएको पार्टी कमिटीले मात्र आफु कहाँ पुँगे भन्ने थाहा पाउँछ । व्यक्तिगत प्रतिष्ठाका लागि पार्टीको पदमा रहन चाहने प्रबृतिलाई पुरै निरुत्साहित गर्दै योजना केन्द्रित  हुनु पर्दछ । जुन कमिटीसंग  केन्द्र, जिल्ला र क्षेत्रका विकास सूचकहरुलाई माथि उठाउने  योजना पारित लिखित दस्तावेजका रुपमा हुनु पर्दछ । सार्वभौम ठानिएको कार्यकर्ताले त्यसको आधारमा मुल्यांकन गर्न पाउनु पर्दछ । त्यसो भए कार्यक्रम  के हुन सक्छ त ? जनताको बहुदलीय जनवाद कार्यक्रमको ढाँचाको हिसावले स्प्रीट ठिक छ नै, अव भनेको यसको बुझाई सहित जबजको क्रान्तिकारी सारलाई पक्रदै त्यसलाई जीवनमा लागु गर्ने पार्टी बनाउने हो । सपनाको बहुदलीय जनबादलाई वास्तविक जीवनमा उतार्नु आजको प्रमुख कार्यक्रम हुनु पर्दछ । पार्टीको संगठनमा लाग्ने कार्यकर्ताले उत्पादनमा पनि लाग्नु पर्दछ, पार्टीको नेता अदृश्य आयबाट बाँच्ने प्रबृतिमा समुल अन्त्य गर्दै नेताहरुको पारिश्रमिक तोकिनु पर्दछ, त्यसबाट धानिनु पनि पर्दछ, नेताहरुको जीवन पारदर्शि भयो भने मात्र सेवा प्रदायक निकाय, सार्वजनिक संस्था वा सरकारी निकाय पारदर्शी हुने नैतिक धरातल तयार हुन्छ । पारदर्शिता, जवाफदेहिता, सुशासन, जनवाद अर्ति मात्र उपदेश बन्नु हुँदैन ।

महाधिवेशन र नयाँ नेतृत्व 

नवौ महाधिवेशन नजिकिँदै गर्दा एमाले भित्र बैचारिक बहस तिब्र हुँदै जाँदा अध्यक्ष को बन्ने वा नेतृत्वमा को जाने? भन्ने कुराले बहसमा अशोभनिय लाञ्छना जस्ताकुरा अगाडि आएका छन । एउटा विचार समुहको नेतृत्व केपि ओली र एउटा समुहको नेतृत्व माधब कुमार नेपालले गर्नु भएको छ र दुवै विच एक अर्कामा लाञ्छनायुक्त कुराहरु बाहिर आएका छन । अहिलेको विचारको स्वामित्वको कुरा गर्दा शिर्ष नेताहरु यो विचारमा सहमत भएको धेरै भएको छैन, बैचारिक निष्ठा र समर्पण नभई अध्यक्ष जस्तो पदमा पुग्नका लागि विचारको पक्षमा उभिएजस्तो गर्ने कुराले स्थितीलाई फेर्न सक्दैन । यसर्थ अध्यक्ष पदमा देखिएको जुँगाको लडाईलाई कार्यकर्ताले बेलैमा चिन्नेछन । महाधिवेशनको बैचारिक बहसको समयमा नेतृत्वको कुरा ल्याएर महाधिवेशनले पास गर्नुपर्ने नेतृत्वलाई प्रभावित पार्न खोज्नु गलत अभ्यास हो । कमसेकम बैचारिक बहसमा बढि जोड गरौं तर नेतृत्वमा पुग्ने आग्रह भन्दा माथि उठेर गरिने बहसले मात्र सहि निष्कर्षमा पुग्न मद्दत गर्ने छ ।

तपाइँको प्रतिक्रिया