सुशीलदाको दोश्रो एकान्त

आनन्दराम पौडेल

anandaram-paudel-33434“पार्टी हाँक्नुभन्दा सरकार चलाउनु धेरै कठीन र जटील रहेछ । निकै भारी र उकालो पो रहेछ । पार्टी त पेलपाल गरेरपनि हाँकिन्थ्यो, तर पेलपालकै शैलीमा मात्र सरकार चलाउँन खोज्दा १ इञ्च डेग नचल्ने रहेछ । सही बाटो र दिशामा दह्रोसँग पाइला नचाले प्रतिपक्षी पार्टी, सरकारमा साझेदार पार्टी र आफ्नै पार्टीभित्रको प्रतिपक्ष गुटले सिध्याउने रहेछ ।” प्रधानमन्त्री भएपछि सुशीलदाले आज दोश्रोपटक एकान्तबास बसे। विगतको दूर क्षितीजसम्मै पुगेर सिंहावलोकन शुरु गरे । फ्ल्यासब्याकमा अतीतका घटना झल्झलि देखिनथाल्यो । एक-एक गरेर सम्झे, “२०१२ सालको बैरगनियाँ अधिवेशनले पार्टीको गरिमा उच्च शीखरमा पुर्याएको हो । त्यही बेलामा पार्टीले बलियो सैद्धान्तिक धरातलमा टेक्यो । 

प्रजातान्त्रिक समाजवादलाइ अङ्गिकार गरेर पार्टी वैचारिक हिसाबले प्रष्ट मात्र हैन सम्पुष्टपनि भएको थियो । सान्दाज्यु कुनै एउटा वादमा मात्र झुण्डिएर त्यसैको वकालत गरिबस्ने मानिस थिएनन् । तर, त्यो कालखण्डमा सिद्धान्त र वादले राजनीति गर्माएको थियो । जताततै सिद्धान्त र वादका बौद्धिक बहस हुन्थे । एउटा विचार, सिद्धान्तको लाइन पक्डेर आफ्नो पहिचान प्रष्ट पार्नुपर्ने समयको माग र दबाब थियो । सान्दाज्युले सुक्ष्मदृष्टि राखी गहीरो अध्ययन गरेर, परिस्थितिको विश्लेषण गरेर र दूरदृष्टि राखेर यो विचारलाइ आत्मसाथ गर्नुभएको थियो । उहाँ छउञ्जेल पार्टीमा सैद्धान्तिक र वैचारिक बहस घनिभूत हुन्थे । बहस हुने भएकोले ठूलठूला ग्रन्थ खोजेर अध्ययन गर्थे । यही बहसले गर्दा धेरै कार्यकर्ता खारिए । सिके प्रसाईं, चक्रप्रसाद वाँस्तोला, प्रदीप गिरी, मनमोहन भट्टराई, भीमबहादुर तामाङ, ढुण्डिराज शास्त्रीहरु विश्वको जुनसुकै कुनामा गएर समाजवादको ब्याख्या गर्न समर्थ थिए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधी, जगन्नाथ आचार्य, रामहरि जोशी, बखानसिंह गुरुङ, बालचन्द्र शर्मा, रामनारायण मिश्र, शेख इद्रिशहरुले समाजवादलाइ जीवनपद्धति बनाएका थिए । उहाँहरुको जीवनशैलि हेर्दा महात्मा गान्धीको आदर्शबाट प्रभावित भएको भान हुन्थ्यो । त्यसबेला सम्बन्ध गाढा हुनु, पातलो हुनु र टाढिनुदेखि हरेक निर्णय र कदममा सैद्धान्तिक कारण नै प्रमुख हुन्थ्यो ।”

जीवन उत्तरार्द्ध चरणको अन्तिम मोडमा आइपुगेकोले होला धेरैबेरसम्म बसिरहन सुशीलदाको शरीरले गाह्रो मान्न थालेको थियो । डाक्टरको सल्लाह अनुसार वी-वीचमा एक्कैछिन टहल्न थालेका थिए । सोही अनुसार प्रमं निवासको पछाडिपटी एक्कैछिन टहले । फर्केर पुन अतीत सिंहावलोकनमै एकोहोरिए । विगत केलाउँदै गए, “विवेकविचार, सिद्धान्त, नैतिकता र मानवीय मूल्य त्यागेपछि मान्छे पूरै खोक्रो भएर स्वार्थको पुत्ला बन्न पुग्दोरहेछ । स्नेह, हार्दिकता र मानवीयता निख्रेर सुष्क र यान्त्रिक बन्न पुग्दोरहेछ । वहुदलको प्रारम्भिक कालमा गिरिजाबाबुले विजय गच्छेदार र जयप्रकाश आनन्दलाइ काखी च्यापेर अनावश्यक हदसम्म प्रमोट गरेको सम्झे । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाइ जति बढी किनारा लगाउन सकियो त्यति नै आफूले राजनीतिक अवसर र लाभ लिन सकिने भएकोले विजय गच्छेदारले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विरुद्ध घिनलाग्दो षडयन्त्र गर्थे । उहाँहरु विरुद्ध गिरिजाबाबुलाइ बनिबनाउ कुरा लाउँथे ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईको उम्मेदवारी विरुद्ध गिरिजाबाबुले रेडियो र टीभीमा बोल्नुभएको १७ मिनेट लामो बक्तब्य जयप्रकाश आनन्दले लेखेका थिए । गणेशमान सिंह र किसुनजीबाट गिरिजाबाबुको दूरी बढाउन यिनीहरु पूर्ण सफल भए । शक्तिकेन्द्रमा विराजमान रहेका पार्टीको लगाम समात्ने कमाण्डरले यस्ता छुस्करहरुलाइ काखी च्यापेर गणेशमान सिंह, किसुनजी, जगन्नाथ आचार्य, चक्रप्रसाद बाँस्तोला जस्ता हिराहरुलाइ डस्टबीनमा फालिदिंदा त्यस्को असर, प्रभाव र परिणाम तुरुन्तै देखिन थाल्यो । गणेशमान सिंहले युएन शान्ति पुरस्कार पाएको समाचारलाइ सरकारी सञ्चारमाध्यमहरुले पूरै ब्ल्याकआउट गरे ।

पार्टी फोड्न देउवालाइ उकास्ने यिनै विजय गच्छेदार र जयप्रकाश आनन्द थिए । चक्रप्रसाद बाँस्तोलालाइ किनारा लगाउनकै लागि कृष्णप्रसाद सिटौलालाइ प्रमोट गरियो । गगन थापाहरुलाइ ठेगान लगाउन नेविसंघ भङ्ग गरियो । विश्वप्रकाश शर्मा, गगन थापाहरु जस्ता होनहारहरुले हाँकेर उँचाईमा पुर् याएको नेविसङ्घमा हामीले रञ्जित कर्ण जस्ता सजिलो मान्छेलाइ जवर्जस्ति स्थापित गर्न खोज्यौं । अमरेशकुमार सिंहहरुलाइ शिरमा विराजमान गराइराखेका छौं । ‘कहाँ भोजराजा, कहाँ गङ्गु तेली’ भनेजस्तै भैरहेछ । हामी कहाँसम्म पुग्यौंभने कुनै कमिटी वा भातृसङ्गठनले थोरै मतमतान्तर राख्दा त्यो कमिटीलाइ नै भङ्ग गरिदिने ट्रेण्ड बस्यो। केही बर्ष पहिले प्रकाशमान सिंह काठमाडौं जिल्ला कमिटीको सभापति थिए । त्यसबेला गिरिजाबाबुलाइ मनाएर मैले नै जिल्ला कमिटी भङ्ग गरिदिएको थिएँ । यत्ति कारणले गर्दा प्रकाशमान सिंह हामीबाट टाढिएका थिए  सैद्धान्तिक आधारभूमी छाडेकोले अहिले नेपाली कांग्रेस पार्टी नभएर गुटहरुको महासङ्घमा रुपान्तर भएको छ । चाकरिवाज छट्टु स्यालहरुको कोटरी बनाएर बस्दा उच्च मूल्यवान हिराहरु छुट्दै गए ।

२००७ सालको क्रान्तिमा हामीसँगै सकृय रहेका फणिश्वरनाथ रेणुलाइ आज कसैले सम्झदैन । बीपीलाइ अन्तर्राष्ट्रिय जगतमा स्थापित गराउने काम पत्रकार भोला चटर्जीले गरेका थिए । बीपीबारे उनले लेखेका लेख र बीपीसँग लिएका अन्तर्वार्ताहरु त्यसबेला अन्तर्राष्ट्रिय पत्रिकाहरुमा प्रकाशित हुन्थ्यो । उनले लेखेको ‘अ पोट्रेट अफ रिभोल्युसनरी’ नै अहिलेसम्म बीपीको बिषयमा लेखिएकामध्ये गहकिलो कृति मानिन्छ । त्यस्ता भोला चटर्जीको बिषयमा आज एउटा कांग्रेसीलाइ पनि जानकारी छैन ।

हाम्रो पार्टीका संस्थापक सदस्य श्री दयाशङ्कर मुन्सीजी कपिलवस्तुको तौलिहवामा बस्नुहुन्थ्यो । पञ्चायतकालभरी प्रजातन्त्र पुनर्स्थापनाको लागि आन्दोलनमा सकृय रहनुभयो । बहुदल आएपछि पार्टील कहिल्यै सम्झेन । दीपकुमार उपाध्यायजीले व्यक्तिगत तवरले बेलाबखतमा सहयोग गर्नुभएको सुनिएको थियो । २०५० सालतिर उहाँको देहान्त भएछ । कुकुर म-यो कि बिरालो म-यो कसैले पत्तो पाएन ।”

एकान्तवासमा बसेर अतीत सिंहावलोकनमा लीन थिए । गोडा निदाएछ । “हिरा छाडेर किराहरु समातेपछि यस्तै हो” भनेर उठे । गोडा तन्काए । र, लक्ष्मण ढकाललाइ खोजे ।

 

 

तपाइँको प्रतिक्रिया