राष्ट्रघातीहरुलाई जम्मा पारेर पहिचानबादीहरुको मोर्चा ?
माओवादी अध्यक्ष प्रचण्डले मधेशी दलहरुसित मिलेर अर्को मोर्चा बनाउन कानेखुशि गरेछन् । आफ्नै निवासमा डाकेर, मासु भात खुवाउँदै खुसामत गरेछन् । फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, तमलोपाका महन्थ ठाकुर, मधेसी जनअधिकार फोरमका उपेन्द्र यादव, सदभावनाका राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टी महेन्द्रराय यादवसित पहिचानवादीहरुको मोर्चा बनाउने छलफल गरेछन् । अचम्म त्यसमा संघीय समाजवादीका अध्यक्ष अशोक राई पनि सहभागी भए । तर पहिचानको मुद्दा दह्रोसित उठाउने नेकपा-माओवादीलाई भने अल्ग्याएछन् । जसले पहिचानको मुद्दा उठाउँछ त्यहि पार्टीलाई अलग राखेर बनाउने मोर्चाको उद्देश्य, सार्थकता कसरि सिद्द होला ?
फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, तमलोपाका महन्थ ठाकुर तराईलाई अलग राज्य बनाउन चाहन्छन् । मधेसी जनअधिकार फोरम र संघिय समाजवादी पार्टी बाहेक प्रचण्डले मोर्चा बनाउन कानेखुशि गरेका दलहरु राष्ट्रवादीसम्म छैनन् । सदभावनाका राजेन्द्र महतोले हाकाहाकि भारतका पक्षमा अभिब्यक्ति दिने गरेका छन् । तिनले मधेश टुक्रा पार्ने र भारतीय स्वार्थका पक्षमा आवाज उठाउने गरेको छर्लंग छ । तराई मधेस सदभावना पार्टीपनि राष्ट्रियताको मामिलामा कमजोर देखिँदै आएको छ । नागरिकता बितरणका नाममा गैह्र नेपालीलाई नेपाली नागरिकता बाँडेर नेपालीलाई आफ्नै मुलुकमा अल्पमतमा पार्ने षडयन्त्र र योजनामा प्रचण्डको पार्टीसहित उनले मोर्चा बनाउन अघि सरेका अधिकांश पार्टी थिए । यसमा संघिय समाजवादी पार्टी मात्रै मुछिएको थिएन ।
नागरिकता बितरणका नाममा बिदेशीलाई नागरिकता दिने । पहिचानका नाममा देश टुक्र्याउन खोज्ने, अलग राज्य बनाउन खोज्ने, प्रान्तिय राज्य भन्दै तराईलाई टुक्रा पार्न खोज्ने, आफ्नो राष्ट्रिय हित भन्दा बिदेशी हितलाई प्रमुखता दिने फोरम लोकतान्त्रिक, तमलोपाका, सदभावना पार्टी, तराई मधेस सदभावना पार्टीसित मिलेर बन्ने मोर्चा शंकास्पद छ । हुने छ । बिगतमा राष्ट्रघात गरेका, राष्ट्रघाती अभिब्यक्ति दिने दलहरुको मोर्चाले झन बिपत्ती निम्त्याउन सक्छ । राष्ट्रघाती काममा हातेमालो गर्न सक्ने त्रास रहन्छ ।
यतिखेर हाम्रो राष्ट्रिय कमजोर भएको अवस्था छ । राष्ट्रियता कमजोर भएका बेला राष्ट्रवादी दलहरुसितको हातेमालो मुख्य आवश्यकता हो । हाम्रा नदीनाला आफ्नो कब्जामा पार्ने । हाम्रो भूमी मिचेर आफ्नो बनाउने । हाम्रा बस्तिहरुका सामुन्ने अग्ला अग्ला बाँध बनाएर आफूले पानी लैजाने र हाम्रा बस्ति डुबाइदिने । चाहिने नचाहिने राष्ट्रघाती सन्धी गरेर हामीलाई अप्ठेरोमा पार्ने हरकतका बिरुद्द राष्ट्रबादी दलहरुको एकता मुख्य आवश्यकता हो । हाम्रा दलहरु राष्ट्रिय मुद्दामा एक हुनु अहिलेको मुख्य आवश्यकतापनि हो । आफ्नो देशको राष्ट्रियता बलियो भएपछि बल्ल कस्तो शासन ब्यवस्था, कसको पक्षमा कस्तो सरकार बनाउने भन्ने विषय प्राथमिकतामा पर्छ । त्यसैले राष्ट्रवादी शक्तिहरुको मोर्चा बनाउनु अहिलेको मुख्य आवश्यता हो । नेपाल सद्भावना पार्टी, फोरम लोकतान्त्रिक लगायतका दल भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी, मात्रिका यादवको नेकपा माओवादी लगायतका अन्य धेरै साना दलहरु राष्ट्रिय मुद्दामा अगाडि छन् । नेकपा-माओवादीको त मुख्य मुद्दामध्ये प्रमुखनै राष्ट्रियता रक्षाको छँदै छ । त्यसैले राष्ट्रघाती दलहरुलाई साथमा लिनु भन्दा राष्ट्रिय मुद्दामा गम्भिर दलहरु एक हुनु जरुरि छ ।
पहिचानको वास्तविक मुद्दा उठाउने, राष्ट्रिय मुद्दामा गम्भिर दलहरुलाई अलग राखेर प्रचण्डले बनाउन खोजेको मोर्चाको मुख्य उद्देश्य पहिचानको मुद्दाकालागि भन्दा सरकारमा कसरि जाने, नेपाली कांग्रेस र एमालेको सरकारलाई कसरि चुनौति दिने भन्ने भित्रि उद्देश्यले बन्न खोजेको देखिन्छ । मोर्चामा लाग्ने मधेशी दलहरुले तराईलाई अलग पार्ने माग राखेर बाँकि दलहरुलाई प्रयोग गर्ने छन् । यस्तो मोर्चा राष्ट्रियताकालागि बधि खतरा हुन सक्छ । अहिलेको मोर्चाले बरु फेरिपनि नागरिकता बितरण झैं राष्ट्रघाती काम गर्न सक्ने संभावना बढि छ । यस्तो मोर्चामा कम्तिमा संघिय समाजवादी पार्टी दिर्घकालिन रुपमा अटाउनपनि सक्दैन । गतिलो संविधान बनाउन भूमिका खेल्नपनि सक्दैन । बरु सरकारमै भागबण्डाकालागि केन्द्रित हुने छ । बरु सत्ताका लागि मोलमोलाई गर्न उद्दत हुने छ, यो मोर्चा । अहिलेको खाँचो कसको सरकार बनाउने भन्ने होइन । देशले निकास पाउने जनताका पक्षमा गतिलो संविधान बनाउनु र राष्ट्रियताको रक्षा गर्नु हो । त्यसलाइ संवोधन गर्ने खालका दल र बास्तविक मुद्दा उठाउनेहरुलाई बाहिरै राखिएकाले यस्तो मोर्चाले पहिचानका मागहरुलाई स्थापित गर्न सक्दैन ।





