ठालू गणतन्त्र
● आनन्दराम पौडेल
पुराणको नारद झैं सधैं भ्रमणमै रम्ने भएकोले उस्लाइ यायावर भनिएको थियो । नव बर्षको पूर्वसन्ध्यामा यायावरले विगतको सिंहावलोकन गर्ने निधो गर् यो । र, आफ्नै पुराना डायरी पल्टाउन थाल्यो । पहिलो पेजमै डडेल्धुरा पुग्दाको टिपोट रहेछ । पोहोर डडेल्धुराको आलितालमा रामबहादुर कुँवरसँग भेट भएको थियो । डायरीमा टिपेको रहेछ। रामबहादुर कुँवरले भन्नुभएको थियो, “लोकतन्त्र, गणतन्त्र आयो भनेर खुशी हुन पाइएको छैन । अन्याय, अत्याचार त झन् खपिनसक्नु बढेको छ। स्यालचौडी माबिका प्रधानाध्यापक महादेव भट्टले आफ्नो सम्पूर्ण जीवन यही स्कूललाइ समर्पण गरे । यिनकै अथक प्रयत्नले प्राथमिक बिद्यालय निमाबि र माबि भयो। देउता भगवान जस्ता हाम्रा यिनै हेडसरलाइ पोहोर अभिभावक भेलाको बैठकमै सभासदले चड्कन हाने । अल्लि अगाडीदेखि नै हेडसरले हामीसँग गुनासो पोख्दैहुनुहुन्थ्यो ।
माओवादी पार्टीका नेता तथा सभासद हरिलाल थापाले आफ्नो भाइलाइ शिक्षकमा नियुक्त गर्न चर्को दबाब दिएका रहेछन् । ‘कता-कताबाट मिलाएर सर्टिफिकेट ल्यायो । त्यस्तो आबारालाइ शिक्षक पदमा कसरी नियुक्ती गर्नु ? स्कूल त बर्बादै हुन्छ’ भन्दैहुनुहुन्थ्यो । पोहोर अभिभावक भेलाको बैठकमा मेरै अगाडी हरिलाल थापाले हेडसरलाइ दुइ चड्कन हान्नुभयो । त्यतिले नपुगेर घोक्र्याउनुभयो । ‘अहिले यहीं राजिनामा गर्छस् कि तँलाइ अरु चड्कन हानुँ’ भनेर कठालो समात्नुभयो । ‘हरामदेखि राम डरा’ भन्ने उखान चरितार्थ भएको मैले देखें । हेडसरले खुरुक्क राजिनामा गर्नुभयो ।” त्यहीं सँगसँगै थिए शिक्षक धनबहादुर देउवा । धनबहादुरले थपे, “सभासद हरिलाल थापाले आफ्नो मान्छेलाइ शिक्षकमा नियुक्त गर्न हाम्रो दुर्गा उच्च माबिमा पनि चर्कै दबाब दिएका थिए । योग्यता पटक्कै नभएका व्यक्तिलाइ कसरी शिक्षक बनाउनु ? शिक्षकमा नियुक्त गरेन भनेर रिसाएका रहेछन् । स्कुलको बार्षिकोत्सब थियो । ड्यासमा बसेका हरिलाल थापाले प्रधानाध्यापक प्रताप धामीलाइ देख्नासाथ जुरुक्क उठेर लम्किझम्कि गरे । अरुले नजोगाएको भए चड्कन हानिसकेका थिए । औंलो ठड्याएर, ‘राजिनामा दिइनस् भने तँलाइ जिउँदै जलाइदिन्छु’ भन्दै कुर्लिरहे । हरिलाल थापाको आतङ्क खप्न नसकेर प्रताप सरले राजिनामा दिनुभयो ।”
सदरमुकाममा आइपुगेर यायावरले त्यो क्षेत्रका बिद्यालय निरीक्षकलाइ भेट्न खोज्यो । लक्षमण गिरी रहेछन्। भेट भयो। घटना सबै थाहा रहेछ । भने, “गाउँसमाज सबैले आदर्श मानेका श्रद्धेय गुरुहरुमाथि पाशविक अत्याचार हुँदापनि हामीले केही गर्न सकेनौं । हाम्रो आफ्नै लाचारीमाथि टीठ लागेर आउँछ । हरिलाल थापा माओवादी नेता परे। माओवादी भन्नासाथ हाम्रा जिशिअ साहेबको सातो जान्छ । त्यसैभएर मैले यो घटनाको रिपोर्टसमेत् गरेको छैन । गाउँठाउँको वृतान्त सुनिसकेपछि त्यस्को मुनि टिप्पणिपनि लेख्न भ्याएको रहेछ – ‘बिहानको उज्यालोलाइ बाक्लो तुँवालोले ढाक्न भ्याइसकेछ ।’ यायावरले आफैंले लेखेको टिप्पणि पढ्यो ।
रुपन्देहीको पटखौली आइपुग्दा यायावरले चसक्क विझ्ने अर्को दृश्यसँग साक्षात्कार गर् यो। पटखौलीकै सण्डमुसण्डहरु खाजिल, सुनील, जितेन्द्र, आनन्द कुर्मी र धकधई गाविसका शङ्कर धोबीले २ बर्षअघि पटखौलीकी एउटी १४ बर्षीया मुस्लिम किशोरीलाइ सामुहिक बलात्कार गरेछन् । उजुरी गर्न प्रहरी कार्यालय जान लागेका बलात्कृत किशोरीका बुबा र नातेदारहरुलाइ मधेसी जनअधिकार फोरमले रोकेर “गाउँको केस गाउँमै मिलाउनुपर्छ” भन्दै फर्काएछ । अपराधीहरु प्रत्येकसँग रु।८० हजारका दरले उठाएछ । बलात्कृत किशोरीको बुबालाइ रु। ३५ हजार दिएछ । अपराधलाइ ढाकछोप गरी अपराधीलाइ जोगाएबापत फोरमका नेताले प्राप्त गरेको रु। ३ लाख ६५ हजार भागवण्डा लगाइरहेको बेलामा यायावर पुगेछन् । भागवण्डा लाउन ठीक्क पारेको ३ लाख ६५ हजारको थैलीलाइ यायावरले किशोरीको आँसुको घैला देखेछन्। यो घटना टिपिसकेपछि त्यस्को मुनि यायावरले, “आँसुमा तैरिरहेको गणतन्त्र” भनेर टिप्पणि लेखेछन् ।
२०७०\०१\०४ गते अपरान्ह ३ वजे धुलिखेल आइपुग्दा राजमार्गमा यातायात र पसलशटरहरु बन्द थिए । तरुण दल र नेविसङ्घका नेता, कार्यकर्ताहरु लाठो बोकेर जवर्जस्ति बन्द गराउँदै थिए। यायावरले बन्दको कारण वुझ्ने चेष्टा गरे । सधैं हान्ने, चुट्ने र जवर्जस्ति असुली गर्ने अपराधिक कर्ममा होलटाइमर लागेका सञ्जीव लामा (स्याल)ले गौशाला स्थित म्यानपावर कम्पनिका मालिकलाइ धम्काएछन् । हप्तावार असुलीको रकम थोरै दियो भनेर १ हप्ताअघि कार्यालयमै गएर तोडफोड सम्पन्न गरेछन्। पुलिसले पक्डेछ र सार्वजनिक अपराध अभियोगमा केस बनाएछ। यी सञ्जीव लामा (स्याल)लाइ कार्यवाही गर्नुहुँदैन भनेर नेविसङ्घ र तरुण दलले अर्निको राजमार्ग बन्द गरेका रहेछन् । यी सञ्जीव लामा (स्याल) २०६६\१०\०६ गते भएको गोठाटार हत्याकाण्डका मुख्य नाइके रहेछन्। घटनाविवरणको मुनि यायावरले टिप्पणि लेखेछन्- “घेराबन्दीमा गणतन्त्र ।”
यस वीचमा यायावर धेरै ठाउँमा पुग्यो। सबै वर्णन यहाँ उतार्न थाल्योभने सम्पादकले लौरो बजार्नेछन् भनेर झस्क्यो। चैतको तेश्रो हप्तामा रत्नपार्क पुगेको थि यो। कृष्ण पहाडीजी अनसन बसिरहेका रहेछन् । कानुन मन्त्री नरहरि आचार्यजी रोम विधानलाइ अनुमोदन गराउने प्रकृया अघि बढाउन अनिच्छुक रहेको चर्चा सुन्यो। सत्यनिरुपण आयोग ऐन र वेपत्ता छानबिन आयोग ऐन छुट्टाछुट्टै बनाउन नचाहेको थाहा पायो । गम्भीर अपराधमा माफी दिन नपाइनेगरी नेगेटीभ लिस्ट बनाउन र पीडितले न्याय पाउने हिसाबले ऐनको मस्यौदा गर्न नमानेको, बरु पीडकलाइ नै होलोखुकुलो गरिदिन खोजेको चर्चापनि सुन्यो। यो टिप्पणिसँगै यायावरले टिप्पणि लेख्यो- “ठालू गणतन्त्र ।”




