सीपीजीको एकान्तचिन्तन
● आनन्दराम पौडेल
“मनमस्तिष्कमा तरङ्गिरहेको विचार फुत्त निस्किहालेछ। के-के न स्कुप भेट्टाएको ठानेर मेडियाले टपक्क टिपेर फिंजाएछन्। बबालै गरे नि। त्यस्तो नीतिगत र ठूलो सैद्धान्तिक कुरा बोलेको पनि होइन। यो क्रिकेट भन्ने खेललाइ, साँच्चै भन्नुपर्दा, मैले त डण्डिबियो भन्दा फरक सोचेको थिइन। हामी केटाकेटी छँदा डण्डिबियो खेल्नेलाइ समाजले, ‘बिग्रेका केटाहरु’ भन्थे। हुनपनि पढाईमा मन नलगाउने, आवारा केटाहरु नै डन्डिबियो खेलिरहेका भेटिन्थे। त्यहीबेलादेखि डण्डिबियोप्रति मेरो नकारात्मक धारणा बन्यो।
हाम्रो गाउँघरको डण्डिबियो तथा सहरिया, धनिमानी, सुकिलामुकिलाहरुलेखेल्ने क्रिकेटमा सादृश्य लागेर नै यो भावना व्यक्त हुन पुगेको हो।” आज सीपी गजुरेलजी एकान्तचिन्तनमा मग्न भए। केही दिनअघि क्रिकेटको बिषयमा आफूले बोलेको सम्झे। “त्यस्तो बढी बोलेको पनि होइन। क्रिकेटसिकेटमा केटाहरुले जिते’रे भन्दैमा के-के न कायापलटै भएछकि भनेर पूरै राष्ट्र हर्षबडाईंमा उत्रनुहुँदैन भनेको थिएँ। जिन्दगीभरी राजनीति गरेर कपाल फुलाएका हामी यत्रा नेताहरुको पछि नलागेर कहाँ त्यो डण्डिबियो खेल्ने केटातिर पूरै राष्ट्र झुम्मिएको त ? के तिनीहरुले राष्ट्र निर्माण गर्छन् ? के तिनीहरुले समाज परिवर्तन गर्छन् ? भनेको हुँ। त्यत्रो भयङ्कर जनयुद्ध लडेर आएका हामी नेतालाइ चाहीं घृणा गर्ने, अनि ती ठ्याउके केटाहरुलाइ चाहीं शीरमै चढाउने ! अनि कसरी खप्न सकिन्छ ? मनको कुरा त्यति के ओकलेको थिएँ, मेरो विरुद्ध होहल्ला मच्चाए। आँधिबेरी नै ल्याए।”
आज सीपी गजुरेलजीले आत्मसमीक्षा गर्ने सूर कसे। आफू कहाँ-कहाँ चुकियो र कहाँ-कहाँ गलत गरियो, त्यस्को लेखाजोखा गर्ने सङ्कल्प गरे। सोचे, “प्रचण्डलाइ सधैं कति गालि गर्नु ? हिजो प्रचण्डलाइ कस्ले देवत्वकरण गर्
यो ? २०५७ सालमा भारतमा भएको पार्टीको सम्मेलनमा हामीले नै ‘प्रचण्डपथ’ पारीत गरेका ह्वौं। हाम्रो नेता मोहन बैद्य ‘किरण’ नै ‘प्रचण्डपथ’ को प्रवर्तक हुनुहुन्थ्यो। प्रचण्डलाइ देवत्वकरण मात्रै गरिएन, सर्वशक्तिमान बनाउनको लागि एउटै व्यक्तिलाइ पार्टी, सेना र मोर्चा तीनवटैको सर्वोच्च कमाण्डर बनाइयो। बरु, त्यसबेला बाबुराम भट्टराईले भएभरको सम्पूर्ण शक्ति सोहोरेर केन्द्रिकृत गरी एउटै व्यक्तिको हातमा सुम्पनु घातक हुन्छ भनेका थिए। ‘प्रचण्डपथ’ प्रस्तावमाथि पनि उनको ‘रिजर्भेशन’ थियो। त्यहीबेलादेखि प्रचण्ड सर्वशक्तिमान मात्रै भएनन्, मध्ययुगीन सम्राट भन्दापनि बढी चरम निरङ्कुश बन्दैगए। आन्दोलनले स्थापित गरेका र सङ्गठनमा प्रभावशाली देखिएका व्यक्तित्वलाइ सखाप पार्न थाले। हामी कतिसम्म निरीह बन्दैगयौं भने रामबहादुर थापा ‘बादल’ लाइ ‘लिनपियाओवादी’ भनि लाञ्छित गरिरहँदा समेत चुईंक्क बोलेनौं।
मोहन बैद्य ‘किरण’ अहिले मेरो नेता हुन् हुन ता, तर के गर्नु पष्पकमल दाहाल ‘प्रचण्ड’ लाइ ‘पुल एण्ड पुश’ गरेर अस्वाभाविक ‘प्रमोट’ गर्ने उहाँ नै हो। त्यसअघि सेक्टर काण्ड असफल हुनासाथ मोहन बैद्यजीले केन्द्रीय कमिटीको बैठक बोलाएर राजिनामा दिनुभयो र एक्कासि पुष्पकमल दाहाललाइ महामन्त्री बनाउने प्रस्ताव राख्नुभएको थियो। प्रस्ताव मात्र राख्नुभएन, ‘अद्वितीय चमत्कारिक व्यक्तित्व हुन्, त्यसैले यो सङ्कटको घडीबाट यिनले मात्र पार लगाउन सक्छन्’ भनेर अस्वाभाविक महिमामण्डन नै गर्नुभयो। त्यसबेला म त हेरेकोहेर्यै भएँ । मोहनबैद्यले राजिनामा दिएपछि जेष्ठतालगायत हरहिसाबले सरासर म महामन्त्री हुनुपर्थ्यो। त्यसबेला मैले आफू अपमानित भएको र किनारा लगाइएको महसुस गरें। महसुस गरेर के गर्नु, त्यसपछि चुनबाङ बैठकसम्म उहाँले प्रचण्ड लाइअन्धसमर्थन मात्र गर्नुभएन, एकनिष्ठ भएर मलजल मात्र गरिरहनुभयो।”
आज सीपी गजुरेलजी एकान्तचिन्तनमा यति एकाग्र भएछन् कि सासै फेर्न बिर्सेजस्तो भयो। लामो सास ताने। र पुन सिंहावलोकनमै एकाग्र भए। “पहिले नेकपा मसाल पार्टीको पाँचौं महाधिवेशनमा बैद्यजी माथि भयङ्कर उजुरी आएको थियो। महेन्द्रले भूमिसुधार लागू गर्नलाग्दा जमिनदारहरु रातारात जग्गा लुकाइरहेका थिए। बैद्यजीको नाता पर्ने दाङका एकजना जमिनदारले धेरै जग्गा बैद्यजीको बुबाको नाममा राखेछन्। त्यो लुकाएको जमिनको बिषयमा पछि मोहीहरुले विवाद गरे। मोहन बैद्य ‘किरण’ जीले बुबाको वारेस बनेर त्यो जमिनबाट मोहीहरुको हकअधिकार वञ्चित गर्नको लागि लामो समयसम्म अड्डा धाउनुभएछ। हदभन्दा बढि रहेको जग्गाबाट मोहीहरुको हक खोस्नको लागि आफैं वारेस बनेर लामो समयसम्म अड्डा धाइरहेको दृष्य मोहनविक्रम सिंह लगायत साथिहरुलाइ अपाच्य भएछ। यो बिषय पार्टीभित्र चर्कैरुपमा उठ्यो र पाँचौं महाधवेशनमा प्रस्ताव नै पेश भएको थियो। अध्यक्षमण्डलमा लबीङ गरेर उहाँले
यो प्रस्तावलाइ तुहाइदिनुभएको थियो। त्यही अधिवेशनमा मोहन बैद्यहरु विरुद्ध, “उहाँहरुमा देखा परेको मध्यपन्थी एवं ढुलमुले चरित्रले पार्टीलाइ नोक्सान पुर् यायो” भन्ने अर्को प्रस्ताव पनि आएको थियो। उहाँले रामसींह श्रीस लगायत केही व्यक्तिलाइ हात लिएर यो प्रस्तावलाइ पनि फेल गराइदिनुभएको थियो।”
सीपी गजुरेलजी विगतको सिंहावलोकनबाट वर्तमान धरातलमा टेक्न आइपुगे। सोचे, “पार्टी त फुटाइयो। अलग्गै पार्टी पनि भनियो। तर, सिद्धान्त, दर्शन, नीति, कार्यक्रम के आधारमा भिन्न भनेर प्रश्न उठेकोउठ्यै छ। सबैभन्दा चर्को त यो जातपातको राजनीतिले पारेको छ। नेकपा-माओवादीको अधिवेशनमा मकवानपुरकी कुमारी मुक्तानले, ‘जातपातको राजनीतिमा लाग्दा वर्गसङ्घर्ष ध्वस्त भयो। वर्गसङ्घर्षकै अधीनस्थ रहेर जातपात लगायत समाजमा बिद्यमान
समस्याको हल खोज्नुपर्छ’ भनेर प्रस्ताव पेश गरेकी थिइन्। सुरेश आले मगर, देव गुरुङ हरु मान्नुहुन्न। जातपातकै राजनीति गर्ने भन्नुहुन्छ। के गर्नु ?” एकान्तचिन्तनले सीपी गजुरेललाइ उत्साह थपेन। तैपनि, “कुनै-न-कुनै निकास
निकाल्नुपर्छ” भन्दै जरुक्क उठे ।




