सञ्जयको भूमिगत जीवन
● आनन्दराम पौडेल
भूमिगत भएपनि भारतको सीतामढीमा सञ्जय साह ‘टक्ला’ सँग भेट्न जगदीश महरालाइ कठिन भएन। सञ्जय बसेको घरमा पुग्दा घाम डुब्नैलागेको थियो । टाढाको नाता पर्ने व्यक्तिको घरमा बस्नेखाने बन्दोबस्त मिलाएकै रहेछन् । त्यहाँपनि त्यत्तिकै बसेका रहेनछन्। राम्रै नेटवर्क भएको ‘अण्डरवर्ल्ड’ समूहसँग सम्बन्ध जोडेछन् । नयाँ योजनाको तानाबुना बुन्नथालेको भनकपनि जगदीशले पाए । ‘अण्डरवर्ल्ड’ समूहसँगको छलफल सकिएपछि सञ्जयले जगदीशलाइ इशारा गरेर बोलाए र भित्र अर्को कोठामा लगे । एउटा केटालाइ बोलाएर खाजा मगाए र ह्विस्कीको बोतल फोरे ।
“मेरो बिषयमा के-के भैरहेछ ?”, ह्विस्किको चुस्कीसँगै सञ्जयले सोधे ।
“प्रहरीको बिषयमा त त्यही नै हो । त्यहाँभन्दा फरक र थप केही छैन ।” जगदीशले जवाफ दिए ।
“मेरो पक्षमा राजनीतिक पहलकदमी केही भएको छैन ?”
“मैले आफ्नै प्रयत्न र प्रयासमा केहि नजिकका साथिहरुलाइ, ‘यो मधेशी विरुद्ध अर्को ठूलो षडयन्त्र हो’ भन्न लगाएँ । म आफैंले पनि ‘मधेश आन्दोलन विरुद्ध हो’ भनेर ठूलै होहल्ला मच्चाएँ ।”
“मेरो टीमको, त्यस्मापनि यति नजिकको, तपाईंजस्ता मित्रले मेरो पक्षमा गर्जेर जति चिच्याएपनि त्यस्को प्रभाव बढी पर्दैन । ‘आफ्नै नजिकको मित्रलाइ बचाउनको लागि भनेको’ ठान्छन् सबैले । दर्जनभन्दा बढी मधेसी पार्टी छन्, तिनीहरुले विरोधका कार्यक्रमहरु ल्याएनन् ?”
“कहाँ विरोधका कार्यक्रम भन्नुहुन्छ ? एउटा वक्तव्य त कसैले निकालेन । आफ्नै पार्टीले त वक्तव्य निकालेको छैन। बरु, लक्ष्मणलाल कर्ण बुढाको घरमै गएर बेलुका र बिहान दबाब दिएपछि अस्ति बिहीबार संसदमा बोले ।”
“के बोलेछन् बुढाले ?” अनुहार उज्यालो पारेर सञ्जयले सोधे ।
“सन्तुलित नै बोलेछन् । ‘अपराधमा संलग्न होभने त माफी दिनुपर्छ भन्ने पक्षमा हामी छैनौं । सत्यतथ्य के हो ? गृहमन्त्रीले प्रष्ट पारिदिनुपर् यो’ भनेछन् ।”
“कडिकडाउ कुरा राख्नुपर्ने ! यो त झारा टार्न मात्र बोलेको भयो ।”
“त्यही त, २ बर्ष अघिसम्म मधेसी नेताहरु बाघ थिए, ४-५ महिना यता स्याल भएका छन् । किन यसरी भस्याकभुसुक् निभे ? ओइलाएको साग पो भए त !” जगदीशले जिज्ञासा राखे ।
“हामीबाट पनि धेरै कमिकमजोरी भयो । देख्नुभएन, ‘२४० बर्षदेखि पहाडे बाहुनक्षेत्रीहरुले मधेशीहरुमाथि विभेद गरेका छन्’ भनेर हामी कुर्लिरह्यौं। त्यही बेलामा हटौंडातिर घर भएको स्तम्भलेखकले युएनडिपी लगायत धेरै सर्वेक्षण रिपोर्टका तथ्यहरु अगाडी सारेर तराईका कायस्थ, भूमिहार, राजपूत र बाहुनहरु पहाडे बाहुनक्षेत्री भन्दा आर्थिक लगायत् हर पाटोमा धेरै माथिल्लो हैसियतका देखिए । मध्यपश्चिम र सुदूरपश्चिममा त तराईभन्दा पहाड झन् दयनीय हालतमा देखियो । तराईका यी समुदाय मात्रै ह्वैन पहाडे बाहुनक्षेत्री भन्दा नेवार, थकाली, मनाङे, गुरुङ, मारवाडी समुदायहरु आर्थिक, शैक्षिक, चेतना, पहूँच सबै पक्षमा माथिल्लो हैसियतमा देखिए । विकासका आधारभूत संरचनाहरु पनि तराईमै निर्माण भएका रहेछन्। भावनादोहनको लागि झुठमुठका हल्ला धेरै चलाएछौं । सत्यतथ्यको अगाडी के टिक्न सक्थ्यो ? एउटा कारण यो भयोभने अर्को कारणचाहीं हामी मधेशीहरु सिद्धान्तहीन र नैतिकहीन रहेछौं । जुट्न नजान्ने, फुटेकोफुट्यै गर्ने रहेछौं । पतनको लागि योभन्दा ठूलो कारण के चाहियो ?”
सञ्जय साह ‘टक्ला’ को ब्याख्याबिश्लेषणबाट जगदीश सन्तुष्ट भए । केही दिनदेखि अरु कौतुहल थिए । आज मौका परेकोले सोध्ने विचार गरे ।
“ब्यक्तिगत कुरा सोधौं है ?” जगदीशले अनुमति माँगे ।
“अरे..रे ! सोध्नुहोस् न । तपाईं त मेरो सबैभन्दा नजिकको मान्छे। मेरो बिषयमा तपाईंले थाहा पाइराख्न जरुरी पनि छ। ल सोध्नुहोस्, के सोध्न मन छ।” सञ्जय खुले।
“जनकपुरमा बमबिष्फोट तपाईंले नै गर्न लगाउनुभएको थियो त ?” धेरै दिनदेखि घाँटीमा अड्किएर बसेको ज्वलन्त प्रश्न मौका पाउनासाथ जगदीशले सोधिहाले ।
“हो, मैले नै गर्न लगाएको थिएँ।” सञ्जय आज इमान्दार बने ।
“किन गराउनुभयो ?”
“जीवनाथ चौधरीलाइ सिध्याउन जरुरी थियो । त्यो घटनाभन्दा केही महिनाअघि त्यस्को मुटुलाइ ताकेर हानेको गोली अन्यत्र लाग्यो । इण्डियामा उपचार गराएर आयो। त्यसदिन जीवनाथ चौधरी धर्नामा बस्दैछ भन्ने पक्का खबर थियो । त्यसैलाइ त्यहीं सिध्याउनको लागि बम बिष्फोट गर्न लगाएको थिएँ ।”
“यस्ता घटना पहिले पनि भएका थिए कि ?” जगदीशको जिज्ञासा अरु बढ्यो ।
“गराएँ नि । यो लाइनमा लागेपछि गर्नैपर्छ । सर्वप्रथम धीरापुर गाविस, महोत्तरीका तत्कालीन गाविस अध्यक्ष हेमचन्द्र यादवका छोरा पप्पुलाइ २०५७ चैत्र १७ गते अपहरण गरें, र रु.१० लाख फिरौती लिएर छाडिदिएँ । त्यसबेला मलाइ पैसाको निकै खाँचो परेको थियो । आफ्नै ड्राइबर जनकपुर-१४, मुजेलियाका नन्दुकुमार राउतको हत्या गर्नुपर् यो । त्यो भित्रभित्रै जीवनाथ चौधरीसँग मिलेको रहेछ ।” मुख्यमुख्य घटना राखे ।
“तपाईंसँग मेरो सङ्गत २०६४ पछि हो। त्यसअघिको तपाईंको जीवनयात्रा कसरी आयो भन्ने बिषयमा म अनभिज्ञ छु ।”
” लोहना-७, धनुषामा घर हो । सम्पति खासै थिएन । पहिले यही जीवनाथ चौधरीसँग मिलेर ठेक्कापट्टामा हात हालें। चुँगीकरको रकम हिनामिना गर् यो भनेर ममाथि आरोप लगाएपछि उसँग सम्बन्ध बिग्रयो । २०५४ सालमा एमालेको टिकटबाट रामचरित्र साह धनुषाको सभापति भए। उनी सभापति भएपछि सबै काम मैमार्फत् हुनथाल्यो । उनकै सहयोगबाट मैले सामान्य बन्दोबस्त मिलाइसकेको थिएँ। २०५८ सालतिर धनुषामा एसपी भएर आएका विश्व राणाजीले मलाइ अपराध जगतमा स्थापित गराए। २०६४ सालको तराई आन्दोलनपछिको धमिलो वातावरणको फाइदा लिंदै म राजनीतिमा छिरें । बाँकि त तपाईंले देखिराख्नुभएकै छ ।” यति भनेर सञ्जय चुप लागे ।
रातको १० बजिसकेछ । सञ्जयको आँखा लोलाएको जगदीशले देखे । निन्द्रादेवीको काखमा लुटुक्क सुत्नु नै बुद्धिमानी देखेर जगदीशपनि आफ्नो बिछ्यौनातिर लम्किए ।




