माओवादी झैं एमाले सिद्दिने मेसो
माओवादीलाई पहिलो संविधान सभाको निर्वाचनमा जनताले सबैभन्दा बढि मत दिए । पहिलो पार्टी बनाए । त्यसको मात लाग्यो । सरकारमा गएपनि उसले जनताको पक्षमा, जनताको सेवा र सुबिधाकालागि सिन्कोसम्म भाँच्न सकेन । बरु दोस्रो निर्वाचनमा उसले जनताको अपमान गर्दै हेलिकोप्टर यात्रा शुरु गर्यो । महँगा गाडी दौडायो । त्यसैको परिणाम निर्वाचनमा जनताले तह लगाए । तेस्रो पार्टीमा झारिदिए । संविधान सभाको पहिलो निर्वाचनमा एमाले तेस्रो स्थानमा थियो । दोस्रो निर्वाचनमा माओवादीलाई भन्दा बढि विश्वाश दिएर दोस्रो बनाए । हो त्यसैको मात अहिले एमालेलाई लागेको छ । उसले झन दुई घण्टाको मोटरबाटोलाई हेलिकोप्टरको ताँतीमा सवार भएर जनताको अपमान गरेको छ ।
एमाले धादिङ क्षेत्र नम्बर १ को अधिवेशन हिजो थियो । अधिबेशनस्थल टाढा थिएन । सल्यानकोट-८ मा भएको त्यो कार्यक्रममा काठमाडौंबाट गाडीमै दुई घण्टामै पुग्न सकिँदो रहेछ । तर उद्घाटनमा शनिबार काठमाडौंबाट अतिथिहरू उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम त हेलिकोप्टरमा गए नै । सभासद राजेन्द्रप्रसाद पाण्डेलगायतका प्रतिनिधीपनि हेलिकोप्टरमै पुगे । त्यहाँ पैदल हिँड्नुपर्ने अवस्थापनि थिएन । मोटरबाटो नपुगेर हेलिकोप्टरमै जानुपर्नेपनि थिएन । अझ अचम्म त के भने शुक्रबार साँझसम्म जिल्लामै रहेछन् सभासद राजेन्द्र पाण्डे । उनी शनिबार दिउँसो भने हेलिकप्टर चढेर त्यहिँ गएछन् ।
एमाले धेरै पटक सरकारमा गएको हो । यस अघिपनि उसले जनताका लागि गतिलो काम गर्न सकेको थिएन । एमालेको नौ महिने सरकारका पालामा आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभियान घोषणा गरेको थियो । गाउँमा सिधै विकास बजेट थोरै भएपनि दिने निति बनाएको थियो । त्यो अभियान बहुदलिय प्रजातन्त्र आएपछिको सर्वाधिक लोकप्रिय मानिन्छ । माओवादीले जनातको अपमान गरेको देखेपछि जनताले त्यहि नौ महिने एमाले सरकारको गुन संझिएर एमालेलाई मत दिए । तर एमालेले त्यसालैइ अहिले अपमान गरिरहेको छ ।
आफ्नो पार्टी पहिलो भएपछि माओवादीले जिम्मेवारीबोध गर्नु भन्दा जनमतको अपहेलना गरेको थियो । जनतालाई राहत दिन नसक्दा माओवादीका नेता भने हेलिकोप्टरमा सवार भएका थिए गाउँ गाउँ र जिल्लाजिल्ला । जनताले आफूलाई अपमान गरेको महसुस गरेका थिए । जनतालाई महँगी, असुरक्षा, अशान्ति र भ्रस्टाचारको मारमा राखेर सर्वहारा पार्टी भनिएका दलका नेता शामान्ति शानमा हेलिकोप्टरमा भोट माग्दै हिँडेको जनताले पचाउन सकेनन् । त्यसको सजायँ दोस्रो संविधान सभाको निर्वाचनमा देखियो ।
अहिले एमालेलाई त्यहि मात लागेको छ । माओवादी भन्दा ठूलो दल बनेको एमाले ऊभन्दा के कम भन्ने मानसिकताले हेलिकोप्टर प्रतिस्पर्धामा उत्रिएको छनक दिएको छ । माओवादीहरु एउटा हेलिकोप्टरमा दगुरेका थिए । एमालेले एउटै कार्यक्रममा तिनवटा हेलिकोप्टर लिएर माओवादीलाई चुनौति दिँदै नदी किनारमा ओर्लियो । जनताका अगाडि नेताहरु कम नभएको । एमालेमा समाहित जनता गरिव भएपनि एमाले पार्टी भने धनी, सक्षम र सबल रहेको हाँक दियो ।
एउटै हेलिकोप्टर यात्रामा लाखौं लाग्ने रकम माओवादीले कहाँबाट ल्यायो ? घण्टाको लाख भन्दा बढि भाडा तिरेर दिनदिनै हेलिकोप्टर उडाउने रकमको स्रोत के हो ? न माओवादीले जनतालाई बताएको थियो । न तिन वटा हेलिकोप्टरको खर्चको स्रोत एमालेलेनै खोलेको छ । वामदेव गौतम ग्रिहमन्त्री भएपनि एमालेका होइनन् । समग्र राज्यका हुन् । उनले पार्टीको जिल्ला स्तरको राजनितिक सम्मेलनमा राज्यकोष खर्च गर्न पाउन्नन् । उनले चढेको बाहेक अन्य दुई हेलिकोप्टरको खर्च कहाँबाट कसले तिर्यो ? तिन हेलिकोप्टर उडाउँदा लाग्ने दश लाख भन्दा बढिको खर्चको स्रोत के हो ? के बाट जम्मा भयो एमाले जिल्ला कमिटिमा त्यत्रो रकम ? जिल्लास्तरको पार्टीको जिल्ला कमिटी के त्यस्तो हेलिकोप्टर दौडाउने आर्थिक हैशियत राख्छ ? होइन भने एमालेले सार्वजनिक गर्नु पर्दैन ? कुन तस्करसित कुन शर्तमा लिएको रकम हो ? वा राज्यकोष दुरुपयोग गरिएको हो ?
सडक बाटोले नछोएका, नभेटेका हाम्रा गाउँ अझै निकै छन् । जोडिएपनि यातायातको सुबिधा छैन् । गाउँमा स्वास्थ्य चौकीसम्म नहुँदा सुत्केरी हुन नसकेर, ब्यथालागेपछि बेलैमा अस्पत्ताल पुर्या्उने सुबिधा नभएर हाम्रा आमा, दिदी बहिनीहरु गाउँमै प्राण त्याग्न बाध्य हुन्छन् । तिनको ध्यान त्यता छैन । गाउँका जनतालाई सुबिधा दिउँ, खोलामा सानो भएपनि पूल हालिदिउँ भन्ने मानसिकता छैन । दुई घण्टाको मोटरबाटोमा लाखौं तिरेर हेलिकोप्टरमा उड्छन् नेता । यस्ता लम्पट, भ्रस्टहरुबाट जनताले के आशा गर्ने ?
निर्वाचनमा हेलिकोप्टर मोह, जनताको अपमान र माओवादी तामझामले गर्दा माओवादी पराजित भएको द्रिस्टान्त हुँदा हुँदै एमाले नेताले त्यसबाट सिकेको, हेक्का राखेको देखिएन । भोट पाएपछि जनताको मानसिकता, अपेक्षा जे सुकै होस् । हामीलाई मत दिनेले हामीले जे गरेपनि रुचाउँछन् भन्ने उहि माओवादीको अधोगति मानसिकता देखियो एमाले नेतामा पनि । नेताहरुमा पटक्कै जनताप्रतिको जिम्मेवारी बोध नभएको संकेत हो यो । पारदर्शिताको अभाव छ । अनियमितता छ भन्ने उदाहरणपनि हो । माओवादी यहि हेलिकोप्टर मोह र जनतालाई गरेको अपमानले सिद्दियो । अहिले ऊ मसिना पार्टी खोज्दै हिँडिरहेको छ, अस्तित्वकालागि । ठूलो देखिन । एमालेको हालत त्यहि हुने छ । जनताले यस्तो अपमान सहँदैनन् ।





