हत्याभन्दा चर्को

● आनन्दराम पौडेल 

journalist-ananda-ram-paudel-32345“हामीले लेखेको कस्ले पढ्छ ? हाम्रो कुरा कस्ले सुन्छ ?” भनेर पन्छाउँदापन्छाउँदै पनि गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी फेरि आए । विपनामा त के आउँथे, सपनामा आए । यस्पालि पनि हेटौंडा, नवलपुरमा भिनाज्यु (बैकुण्ठ बलामी) को घरमा राती अर्धनिन्द्रामा थिएँ, कृष्णप्रसाद छेउमै टुसुक्क बस्न आएपुगे ।

कृष्णप्रसाद हत्याको चर्चा अचाक्लि भएपनि घटनाबिबरण थाहा थिएन । यसैले मैले सोधें, “त्यसदिन के-के भएको थियो, डिटेल स्टोरी सुनाउनुहोस् न त ?” पार्थिव शरीर नभएकोले होला, कृष्णप्रसादको अनुहार त्यति प्रष्ट थिएन । भावभङ्गिमा अध्ययन गर्न गाह्रो परेपनि अनुहार मुर्झाएको थियो । यो प्रश्नको जवाफ दिन सकस परेको वुझ्न सकिन्थ्यो । एकछिन अड्केर भन्नथाले, “९ बर्षअघि १६ पुगेर १७ मा टेकेको थिएँ । एसएलसी सकेर मावली हजुरबुबालाइ भेट्न चितवन आएको थिएँ। २०६१\ ०२\ २४ गते दिउँसो हजुरबुबा र उहाँको साथिसँगै रत्ननगर-१, बकुलहर चोकको चौतारीमा बसेका थियौं । २ जना सरासर आए, र ‘तँ अहिल्यै हिंड’ भन्नथाले । जवर्जस्ति गर्न लागेपछि उम्केर कराएँ, चिच्याएँ । गुहार मागें । वरिपरीका मान्छेहरुले तमासा हेरिरहे । कोही अघि सरेर आएन ।

मकैबारीको छेउमा झाडी थियो । त्यही झाडीतिर दौडें । ती आततायीहरु मलाइ लखेट्दै त्यहीं आए । म भागिरहें, तिनीहरुले लखेटिरहे । लखेट्दालखेट्दै मलाइ पक्रे । र, एउटा ह्याचरीभित्र हुले । त्यहाँ मलाइ चरम यातना दिए । म अर्द्धबेहोस भैसकेको थिएँ । त्यहाँ ३-४ जना अरु थपिएका थिए । तिनीहरुले २ तिर समातेर मलाइ बकुलहर चोकमै ल्याए । बकुलहर चोकमा सबैको सामुन्ने एकछिन लात्तैलात्ताले गोदेपछि त्यहाँबाट नजिकै खोलाको किनारमा लगे । म उठ्न नसक्ने भैसकेको थिएँ । लम्पसार परेको मेरो जिउमाथि मोटरसाइकल कुदाए । ढुङ्गाले हानेर मेरो हातखुट्टा भाँचिदिए । त्यति गर्दापनि मेरो धुकधुकी सास बाँकि नै थियो । साँझ मेरो अर्धमृत शरीरलाइ घिसार्दै पुन बकुलहर चोकमैं ल्याए । त्यहाँ सबैको अगाडी रुद्र आचार्यले गोलि हाने ।”

यहाँसम्मको घटनाबिबरण कृष्णप्रसादले एकसासमा सुनाए । कुदिरहेको गाडीमा ब्रेक लागेको जस्तै एकछिन झ्याप्प रोकिए । रोकिएको बेलामा उनीतिर हेरें, त्यही १६ बर्षे पातलो लिखुरे केटोको झलक आउँथ्यो । “तिमीलाइ अपहरण गर्ने, यातना दिने र हत्या गर्ने को-को थिए ?” शिलशीला अघि बढाउन मैले हतारिएर सोधें । मेरो प्रश्न सुनेर एकछिन घोत्लियो र भन्न थाल्यो, “ती हत्याराहरुले एकअर्कालाइ सम्बोधन गरे अनुसार केही नाम सुनेको थिएँ । रुद्र आचार्य, ऋषिराम लामिछाने, मदन पौडेल ‘अटल’ र ज्ञानबहादुर श्रेष्ठहरु थिए ।”

“तिनीहरुले तिमीलाइ मार्नुपर्ने कारण के रहेछ ?”

“हाम्रो बुबासँग घरायसी रिस भएका व्यक्तिहरुले इबी साध्नको लागि माओवादीलाइ प्रयोग गरेका रहेछन् । मेरो हत्या गरेको बिषयमा माओवादी पार्टीभित्रै चर्को विरोध भएछ । व्यक्तिगत रीसइबी साध्न माओवादीलाइ प्रयोग गरेको भनेर एकोहोरो आवाज उठेछ । यसरी त पार्टी बदनाम हुनेभयो भनेर घोर चिन्ता ब्यक्त भएछ । पार्टीसचिव इन्द्रजित परियार, जनसरकार प्रमुख दण्डपाणि पौडेल इलाका प्रमुख (हाल इञ्चार्ज) घनश्याम दाहालहरुले, ‘गर्नुनगर्नु गरिहाले, पार्टीले गराएको भनेर जिम्मेवारी लिइदिउँ’ भनेछन । हत्या भएको पाँचौं दिनमा बल्ल-बल्ल इन्द्रजित परियारले हत्याको जिम्मेवारी लिए । चितवन पोष्टमा प्रकाशित पनि भयो । पार्टीगत हिसाबबाटै जिम्मेवारी स्वीकार गरेको त २०७० साउनमा हो ।”

कृष्णप्रसादले हत्याबिबरण रफ्तारमा बताइरहेका थिए। एउटा कौतुहलले मलाइ कुतकुत्यायो । कौतुहल रोक्न नसकेर वीचैमा सोधें, “घटनाबिबरण त घाम जत्तिकै छ्याङ्ग रहेछ । चितवनका एसपी प्रद्युम्न कार्की त केही अत्तोपत्तो पाइएको छैन भनिरहनुभएको छ त ?”

“तिनीहरुले वुझ्नै चाहेका छैनन् । नत्र, जिल्ला प्रशासन कार्यालयका अधिकृत टोलप्रसाद शर्मासँग माओवादीका सुदर्शन पौडेलले सबै खुलाइदिएकै थिए । ह्याचरीका कामदार र मालिकले देखेका छन् । खोलाको किनारामा यातना दिंदा गोठालाहरु र छेउका घरवालाहरुले देखेका छन् । बकुलहर चोकमा वरिपरी सबैले देखेका छन् । प्रहरीले यिनीहरुसँग सोधपुछको के कुरा भेटेको समेत् छैन । यो केसको अनुसन्धान गर्न भनेर नेपाल सरकारले जिम्मेवारी तोकेका डिआइजी गणेश राईले त आजको मितिसम्म मेरो बुबाआमालाइ भेटेका समेत् छैनन् ।”

कृष्णप्रसादले यति एकसासमा भनेजस्तो लाग्यो । सास फेर्न रोकिए जस्तै गरी एक्कैछिन टक्क रोकिए । र तुरुन्तै बोल्नथाले । भने, “यो हत्याको छानबिन हुनुपर्छ भन्दा तत्कालीन प्रम बाबुराम भट्टराईले मेरो बुबाआमालाइ अनाहकमा ४९ दिन थुने । त्यतिले नपुगेर हत्कडी लगाएर अड्डासार गरी गोरखा पुर्याए । पुन त्यही माँग लिएर जाँदा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले पागलखानामा जाकिदिए । मानसिक अस्पताल, पाटनले सद्दे मान्छेलाइ पागल बनाउन महिनौं दिनसम्म बेहोस पार्ने इञ्जेक्शन लगाइरह्यो ।”

“बुबाआमाको दु:ख सम्झेर तिमी बढी दुखी भएका ह्वौ ?” मैले सोधें ।

“त्यो त छँदैछ । त्योभन्दा बढी दुख ममाथि लगाइएको घीनलाग्दो लाञ्छनाले दिईरहेछ । मेरो हत्या गरेपछि ४-५ दिनसम्म पार्टीमा होहल्ला भएछ । निर्दोष मान्छेलाइ मारेको बिषयमा र पार्टीले जिम्मेवारी लिने होभने के आरोप लगाउने भनेर माथापच्ची भएछ । सबैभन्दा सजिलो आरोप भएकोले ‘सुराकी’ भनिदिने टुङ्गोमा पुगेछन् । मेरो हत्या गरेको भन्दा ममाथि लगाएको यो घीनलाग्दो लाञ्छनाले बढी दु:खी बनाएको छ ।”

यहाँसम्म रफ्तारमा बोलिरहेका कृष्णप्रसाद झ्याप्पै रोकिए । म आफैंपनि बिह्वल भइसकेको थिएँ । यति बिह्वल भएँ कि बक फुटेन । एकछिनपछि हेर्दा कृष्ण थिएनन् ।

 

 

तपाइँको प्रतिक्रिया