निराश छन् हरि फुँयालहरु
● आनन्दराम पौडेल
हरि फुँयाल जतिपटक उत्साहित भए त्योभन्दा कैयौंगुना बढी निराश भए । पार्टीराजनीतिमा लाग्ने विचार दिमागमा कहिल्यै पलाएन । पञ्चायतकालमा नेपाल विद्युत कर्पोरेशनमा जागिरे थिए । आफ्नो पेशागत कर्ममा निष्ठापुर्वक समर्पित भएर काम गरिरहेका थिए । कर्मचारीहरुमध्ये पनि टाठाबाठा र धूर्तहरुले शक्तिकेन्द्रमा सम्पर्क बढाएर तथा आफ्ना नाताकुटुम्बहरुमध्ये त्यस्तै चलाक, छट्टुहरुले दरबारियाहरुसम्म पहूँच पुर् याएर फाइदा लिएको, तर कर्तव्यलीनहरुलाइ पाखा पारिएको दृष्यहरु खट्किंदै गयो । पक्षपात खपिनसक्नु भएरै वहुदलीय नेताहरुलाइ सहयोग गर्न थालेका थिए । ब्यबस्थाकै कारणले यो विसङ्गती देखिएको ठहर गरेर २०४६ सालको आन्दोलनमा खुलेरै लागे । आन्दोलनको बलमा प्राप्त बहुदलले न्याय गर्ला तथा पाखा पारिएका र पिल्सिएर रहेकाहरुको दिन फिर्ला भनेर विश्वास गरेका थिए । विश्वास गर्नुको कारण थियो- २०१५ सालमा ‘नेपाल पुकार’ मा प्रकाशित वीपी कोइरालाको सानो लेख । आफ्ना कार्यकर्ताहरुलाइ सम्बोधन गरी लेखिएको उक्त लेखमा वीपीले पार्टीभित्रका ७ओटा खराबीलाइ रोगको रुपमा औंल्याएर डाइग्नोसिस गरेका थिए ।
कांग्रेसका नेताहरु हरेक बिषयवस्तुलाइ आत्मकेन्द्रित भएर सोच्दछन् । प्रस्तुत बिषयलाइ अगाडी बढाउँदा आफ्नो स्थान कहाँ रहन्छ, त्यस्को लेखाजोखा गरेर मात्र पहल गर्छन् भनेर वीपीले एउटा रोग डाइग्नोसिस गरेका थिए । नेपाली कांग्रेसका नेताहरुमा जिम्मेवारीवोधको अभाव र उत्तरदायित्वप्रति तत्परता नभएको दोश्रो खराबी उनले औंल्याएका थिए । चाकरीमा आउनेसँग सधैं घेरिएर बस्ने र तिनीहरुकै सल्लाहमा चल्ने शैलीलाइ तेश्रो कमजोरी भनेका थिए । नेताहरुले आफूलाइ माथिल्लो तहको र पार्टीका साधारण र सोझा कार्यकर्तालाइ तल्लो तहको सम्झेर सोही मुताविक गर्ने ब्यबहारलाइ वीपीले चौथो दोष भनेका थिए । जनतासँग घुलमिल भएर जनताकै माझमा रहन नसक्ने जीवनशैलीलाइ उनले पाँचौं त्रुटी भनेका थिए । अध्ययन नगर्ने बानिलाइ छैठौं खराबी भने । र नैतिकताको अभावलाइ गम्भीर मान्दै उनले नैतिकहीन राजनीतिलाइ अलिनो र खोक्रो भनेका थिए । २०१५ सालमा ‘नेपाल पुकार’ मा प्रकाशित उक्त लेख मात्र ह्वैन, २०१२ सालमा बैरगनियाँ अधिवेशनबाट पारीत दस्तावेजबाट पनि हरि फुँयाल प्रभावित भएका थिए ।
जुन पार्टीको मुख्य नेताले आफ्नो कमिकमजोरीलाइ आफैंले निर्ममतापुर्वक अप्रेशन गर्न सक्छभने त्यस्तो नेताले निर्माण गरेको पार्टी तथा तिनीबाट प्रशिक्षित नेताहरु परिस्कृत र खारिएका होलान् भनेर हरिले निस्कर्ष निकालेका थिए । पञ्चायतकालमा दरबारियासँग सम्पर्क बनाएका छट्टु, चलाक र धूर्तहरुको हालिमुहाली देखेर वाक्क भएका हरिले वहुदलीय पार्टीलाइ साथ दिएका थिए र आन्दोलनमा होमिएका थिए । त्यतिमात्र हैन, २०४८ सालको निर्वाचनमा त्यही पार्टीलाइ जिताउन कम्मर कसेरै भिडे।
सरकारमा पुगेपछि हरिले देखे, पार्टी त गुट-गुटमा विभाजित छ । आफ्नो गुटलाइ भ्रष्टाचार र मनपरी गर्न पूरै छुट छ । सातखत माफ छ । छत्तिसे र चौहत्तरे वीच कौरव र पाण्डवको युद्ध छ । प्रजातान्त्रिक समाजवाद भनेपनि पार्टीले सिद्धान्त र दर्शनलाइ तिलाञ्जली दिइसकेको छ । विचारको राजनीति बिसाएर मनि, मसल र हूलमूलको राजनीति हावी भएको छ । आफन्तवाद र गुटवादको दबदबा छ । नेपाली कांग्रेसका जगहरु बालचन्द्र शर्मा, सुवर्ण शमशेर, टङ्कप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्रहरुको सम्झना लेसपनि वाँकि छैन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ, महेन्द्रनारायण निधी, शेख इद्रिसहरुलाइ किनाराबाट पनि पर अँध्यारो कुनातिर धकेल्दै छ । यी सब दृष्य छ्याङ्गै देखेपछि हरि फुँयालको मन भरङ्ग भयो ।
वितृष्णा उम्लिएर आक्रोश हुँडलिइरहेको अवस्थामा माओवादी नामको तेश्रो शक्तिको उदय भयो । २०५८ सालको आधाआधीसम्म त्यो शक्तिलाइ हरिले निकै आशालाग्दो नजरले हेरेका थिए । त्यसबेलासम्म त्यो शक्ति सामाजिक विकृतिको विरुद्ध तथा सामाजिक न्यायको लागि मोर्चा कसेरै लडिरहेको थियो । त्यसबेलासम्म अनावश्यक हिंसाको प्रयोग भएको पनि थिएन । २०५८ सालको उत्तरार्द्धदेखि जब मनपरी पासविक हिंसामा उत्र्यो, तब त्यो पार्टीप्रतिको आकर्षण स्वाट्टै घट्यो । एउटा कम्युनिष्ट पार्टीले वर्गसङ्घर्ष छाडेर जब समाजलाइ जात-जातमा विभाजित गरी भिडाउने खेल शुरु गर् यो तब त्यो पार्टीप्रति घृणाको हदसम्म वितृष्णा जाग्यो ।
२०७० साल मङ्सीरको निर्वाचनपछि आशा र उत्साहका मुना टुसाएका थिए । सरकार बनेपछि हरि दुइतीनजना ठूला नेताको क्वार्टरमा पुगे। हरेक नेताको दरबारमा समाजका तिनै छट्टु, धुर्तहरु तथा ठेकेदार, माफिया, कमिशनखोर र घुस्याहा हाकीमहरु (समग्रमा भन्नुपर्दा पुराना चोरहरु) टनाटन भरिएका थिए । हरेकले आफ्नो फाइदाको कुरा गरिरहेका थिए । हाम्रा नेताजीचाहीं, “कस्लाइ भन्नुपर्छ ? फोन नम्बर छ ?” भन्दै फोन हानिरहेका थिए। यो सब हरि फुँयालको लागि जीवनभरीलाइ पुग्ने दृष्यहरु थिए । “अब यो जिन्दगीमा यी नेताहरुतिर फर्केर पनि हेर्ने छैन” भन्ने सङ्कल्प गर्दै हरि फुँयाल घर फिरे ।




